सडक बालकहरुको उद्दार एवम् पालनपोषण गर्दै आएको संस्था मामाघर नेपालको हेटौैंडा–११ स्थित डाङडुङेमा निर्माण भईरहेको नयाँ भवनको काम अन्तिम चरणमा पुगेको छ । यहि असारको १५ गते नयाँ भवनमा सर्ने तयारीसहित तीव्र गतिमा काम भईरहेको मामाघर नेपाल संरक्षक अर्पण पराजुलीले जानकारी दिए । ‘भवन निर्माणको सम्पूर्ण काम सकिसक्यो । हामी वैशाख महिनामा सर्ने लक्ष्य लिएका थियौँ ।’ उनले भने –‘ मार्वल, टाइल हाल्ने काम भइरहेको छ । हामीले विशेष किसिमले घरको छानो छाउनको लागि अडर गरेको यूभिपिसी जस्ता समयमा नआउँदा नयाँ भवनमा सर्नमा ढिलाइ भएको हो ।’

mayaghar kantipathnews


सहयोगी सिद्धिलाल श्रेष्ठले उपलब्ध गराएको ३ कठ्ठा २ धुर जग्गामा मामाघरको भवन निर्माण भएको हो । ३ तले भवनमा १७ वटा कोठा र एउटा हल निर्माण भएको छ । २०७२ सालबाट निर्माण कार्य सुरु गरिएको भवनका लागि स्पेनको फन्डाकेसन हेरेज संस्थाले एक करोड ४७ लाख ३३ हजार ६ सय २० रुपैयाँ नगद उपलब्ध गराएपछि भवन निर्माणलाई अन्तिम रुप दिन सकिएको संस्थाले जनाएको छ ।


भवन निर्माणको लागि मकवानपुरका विभिन्न संघसंस्था तथा व्यक्तिसंग ‘एक व्यक्ति एक ईट्टा’ अभियान समेत सञ्चालन गरिएको थियो । ‘मकवानपुरलाई चीरस्थायी रुपमा सडक बालबालिका मुक्त बनाउने अभियानमा छौँ । केही समयअघि जिल्लालाई सडक मानवमुक्त घोषणा गरिएपनि त्यसलाई जोगाइराख्न चुनौती छ’, मामाघर नेपालका संरक्षक पराजुलीले भने, ‘२०७५ सालमा हेटौंडाको सडकमा दुईजना मात्रै नयाँ फेला परेका छन् । सडकमा आएका बालबालिकाको उद्दार र संरक्षण भन्दा पनि कसरी बालबालिका सडकमा आउने अवस्था हुन नदिने भन्ने बिषयमा चिन्तित छौँ ।

यस बिषयमा स्थानीय तहसंग समन्वय गरिरहेका छौँ ।’ भाडामा बसेर सेवा दिँदै आएको संस्थाको भवन निर्माण गर्न सक्नुलाई उपलब्धीको रुपमा लिएको उनले बताए । मामाघर नेपालको स्थापनादेखि हालसम्म १६२ जना बालबालिकालाई सडकबाट उद्दार गरिएको संस्थाले जानकारी दिएको छ । जसमध्ये एकसय १८ जनालाई परिवारमा पुर्नस्थापना गराएको छ । हाल संस्थामा १९ जनाले आश्रय लिइरहेका छन् । संस्थाको पर्खाल निर्माणका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...