annapurna add

कोरोना संक्रमणको हटस्पट बनेको नरैनापुरमा लकडाउनसँगै सुरु भएको दु:ख र हैरानी अझै सकिएको छैन । कोरोना संक्रमितको संख्यामा कमी आएको छैन भने क्वारेन्टाइनको व्यवस्थापन अझै प्रभावकारी बन्न सकेको छैन ।

narainapur nepalgunjबाँके : कोरोना संक्रमणको हल्ला चले पनि गत जेठ १ गते नरैनापुर–५ नयाँ बस्तीका लजिम नाउ करिब ९ किमि परको वडा १ स्थित इँटाभट्टामा काम गर्न डेढ घण्टा हिँडेर पुगेका थिए । एक हजार इँटा पोलेबापत पाइने ५ सय रुपैयाँले घर–भट्टा आउजाउ गर्नाको दु:खले उनी उतै बसेका थिए ।

४ गते बिहानैदेखि उनी इँटा पोल्ने काममा खटिएका थिए । गाउँबाट आएको खबरले उनी भट्टाको आगोछेउमा पनि शीतांग भए । खबर लिएर आउनेले उनलाई ‘बहुत बुरा’ समाचार सुनाएको थियो । नरैनापुरस्थित आफ्नै घरको आँगनमा लजिमले कान्तिपुरलाई सुनाए, ‘विश्वासै गर्न नसकिने खबर थियो ।’ खबरीलालले उनलाई भनेको थियो, ‘बड्का लड्का खत्म होई गा ।’

२५ वर्षीय लक्का जवान छोरा अनिश नाउको समयमा उपचार नपाएर क्वारेन्टाइनमै मृत्यु भएको खबर उनलाई अपत्यारिलो लाग्यो । पत्याउन् पनि कसरी ? भट्टा आउनुभन्दा अघिल्लो दिन अर्थात् वैशाख ३१ मा उनले छोरालाई दीपेन्द्र आधारभूत विद्यालयस्थित क्वारेन्टाइनमै पुगेर भेटीवरि फर्केका थिए । एक दिनअघिमात्रै छोरासँग फोनमा बात मारेका थिए, सन्चो बिसन्चो सोधेका थिए । अनि अनिशले ५ वर्षीय छोरा र १ वर्षीया छोरीको हालखबर सोधेका थिए ।

दसैं मनाएर गएका अनिश कोरोना संक्रमण सुरु भएपछि र पराठा बनाउने होटलको काम नभएपछि वैशाख ३० गते घर फर्किएका थिए । भारतमा रहेका तीनै छोरा नेपाल आउने कुराले लजिमको मन ढुक्क भएको थियो । तर भारतबाट आएकाहरूबाट संक्रमणको जोखिम हुने भएकाले सोझै घर जान नदिई क्वारेन्टाइनमा राख्न थालिएपछि अनिश दीपेन्द्र आधारभूत विद्यालयमा बस्न पुगेका थिए ।

हट्टाकट्टा छोराको मृत्युको खबर एक्कासि आउँदा लजिमले दायाँबायाँ सोच्नै सकेनन् । गाउँपालिकाका अनुसार अनिशको मृत्यु बिहान ६:४० मा भएको थियो । अघिल्लो रातिदेखि उनलाई टाउको दुख्ने र बान्ता हुने भएको थियो । रातभरिमा उनको स्वास्थ्य यसरी बिग्रियो कि उनलाई अस्पताल लैजानेसमेत कोही भएनन् । स्थानीयका अनुसार उक्त क्वारेन्टाइनमा रहेका ३९ मध्ये चार जनामा संक्रमण पुष्टि भइसकेका कारण अनिशलाई अस्पताल लैजान कोही अघि सरेनन् ।

उनी त्यही खबरीलालको मोटरसाइकल चढेर सोझै क्वारेन्टाइन पुगे । छोराको शव स्कुलको आँगनमा बेवारिसे थियो । उनले स्कुलछेउकै खेतको आलीमा बसेर परैबाट छोराको शव हेरे । चर्को घाममा छोरा पल्टिरहेको देखेपछि उनलाई उधुम गर्मी भएजस्तो भयो । उनले सुनाए, ‘बहुत बुरा लाग्यो ।’ उनलाई छोराको शव प्रहरीले मनलाग्दी तरिकाले डोजरको बाँकेटमा राखी राप्ती किनारमा लगेर खाडल खनी गाडिदिएको पनि मन परेको छैन । मरैकै छोराको भए पनि संस्कारअनुसार दफन गर्न मन थियो उनलाई । उनले भने, ‘गरिब आदमीको मनको बातको के अर्थ ?’

छोराको मृत्युले भन्दा पनि मृत्युको कारणले लजिमलाई बेलाबखत झस्काइरहन्छ । छोराको तबियत (स्वास्थ्य) खराब भएपछि क्वारेन्टाइन व्यवस्थापन गर्ने सरकारी मान्छेहरूले दबाइमुलो गर्नुपथ्र्यो, त्यो किन गरिदिएनन् भन्ने प्रश्न उनको मनमा खिलझैं गडेको छ । अनिशका माइला भाइ फरिदले अस्पताल नलैजानाले दाइको मृत्यु भएको सुनाए । उनले भने, ‘अब हामीले कसलाई भन्नु ? कसले हाम्रो कुरा सुन्नु ?’

६ वर्षअघि १९ वर्षको उमेरमा लजिमले सीमावर्ती भारतीय गाउँ नासिरगन्जकी किशोरी हिनासँग छोराको बिहे गरिदिएका थिए । यतिबेला उनलाई विधवा बुहारी र नाति–नातिनी देख्नेबित्तिकै छोराको यादले सताउँछ । अनिश मुम्बईको भारतनगरस्थित होटलमा पराठा बनाउँथे । जवान छोरा गुमेकाले उनले अनुहारबाट खुसी त खोसिएको छ नै, भारतमा मजदुरी गर्ने तीनै छोराहरू कामविहीन भएपछि र आफ्नो पनि कमाइ शून्य भएपछि परिवारको गर्जो कसरी टार्ने भन्ने चिन्ताले सताइरहेको छ ।

उनलाई ५ नम्बर वडाले ४० केजी धान सहयोग दिएको थियो । एकजना मनकारीले २० केजी चामल दिए । अनि उनले परिवारको गर्जो टार्न उधारोमा ३२ सय रुपैयाँमा एक क्विन्टल धान र ५ हजारको ६० किलो गहुँ किनेर ल्याए । ३ छोरा र ३ छोरीका बाबु लजिमले भने, ‘अब यतिले कतिन्जल चल्ने हो, अनि त्यसपछि के खाने हो कुनै टुंगो छैन ।’ कान्तिपुरसँगको कुराकानीका गाउँपालिका प्रमुख इस्तियाक अहमद साहले मृतक परिवारलाई सहयोग दिनेबारे छलफल भइरहेको बताए । उनले भने, ‘आर्थिक सहयोग नै गर्ने गरी तयारी बढाएका छौं ।’

जवान छोराको मृत्युको शोक लजिम अनुहारमा गढेजस्तो देखिन्छ । तर त्योभन्दा प्रखर उनको घाँटीमा बेरिएको एउटा मालाजस्तो धागोमा कनकर्नो र सँगसँगै झुन्डिएको तबिज (बुटीजस्तै) पनि परैबाट देखिन्छ । जुन एक वर्षअघि उनले सीमावर्ती भारतीय गाउँ नासिरगन्जस्थित एक मौलानाकहाँ गएर त्यो तबिज बनाएका थिए । उनले भने, ‘यो झुन्ड्याएपछि भूतप्रेत बिमार सब भगाउँछ ।’

मौलानाले भनेजस्तो बिमार र भूतप्रेत भाग्यो कि भागेन भन्नेचाहिँ उनलाई थाहा छैन । तर राज्यको चरम अव्यवस्था र मापदण्डविपरीतको क्वारेन्टाइनका कारण लजिमले लक्का जवान छोरा भने गुमाए । कुराकानीको अन्त्यमा हामीले सोध्यौं, ‘सरकारलाई केही सोध्नु छ ?’

उनले मधुरो स्वरमा भने, ‘हमार औलाढ होइत तो ।’

संक्रमणको चित्र

कोरोना संक्रमणको हटस्पट बनेको नरैनापुरमा लकडाउनसँगै सुरु भएको दु:ख र हैरानी अझै सकिएको छैन । कोरोना संक्रमितको संख्यामा कमी आएको छैन भने क्वारेन्टाइनको व्यवस्थापन अझै प्रभावकारी बन्न सकेको छैन । लकडाउन सुरु भएयता नरैनापुरमा ९ सय ७८ जना क्वारेन्टाइनमा बसिसकेका छन् । जसमध्ये ७ सय ९ जना संक्रमण पुष्टि नभएपछि घर फर्किसकेका छन् । १ सय ५३ जना क्वारेन्टाइनमै छन् । क्वारेन्टाइनमा बस्नेको संख्या कम भए पनि नरैनापुर संक्रमणको डरबाट मुक्त भइसकेको छैन । त्यसका पछाडि क्वारेन्टाइनको अव्यवस्थापन, भारतबाट लुकीछिपी आउनेको सानो संख्या र सरकारले तोकेकै नाकाबाट नेपाल भित्रिएकाको समयमै परीक्षण नहुनु हो ।

लजिमको घरबाट केही सय मिटरको दूरीमा छ– श्री नमुना प्राथमिक विद्यालय । जहाँ ३७ जनालाई चार दिनअघि आरडीटी पोजिटिभ देखिएपछि गाउँमा संक्रमण फेरि फैलिने भो भन्ने डर बढेको थियो । लगत्तै स्थानीय प्रशासनले तीन दिनअघि ती सबैको स्वाब पीसीआर विधिबाट परीक्षण गर्‍यो । बुधबार कान्तिपुरकर्मी उक्त क्वारेन्टाइन पुग्दा हल्लाखल्ला भइरहेको थियो । परीक्षणको तीन दिनपछि सबैको पीसीआर नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेकाहरू खुसी देखिएका रहेछन् । चर्को गर्मी, होचो जस्ताको छाना र पर्याप्त सुविधाको अभावमा क्वारेन्टाइनमा बसेकाहरू आत्तिएका थिए । उनीहरू घर जान पाउने खुसीले हल्ला गरिरहेका रहेछन् ।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार सुरुसुरुमा पीसीआर रिपोर्ट भोलिपल्टै आए पनि पछिल्ला दिनमा ढिलो गरी रिपोर्ट आउने क्रम बढेको छ । जसले खोरजस्ता जस्ताको टहरमा बनेका विद्यालयभित्र चर्को गर्मी र अव्यवस्थामाझ बसिरहेकाहरू आत्तिइरहेको देखिन्छ । स्थानीयका अनुसार पछिल्ला दिनमा पीसीआर रिपोर्ट आउन ५ देखि ७ दिनसम्म लाग्ने गरेको देखिन्छ ।

समयमै भारतबाट गाउँ भित्रिनेहरूको यकिन अनुमान हुन नसक्दा र सोहीअनुसार क्वारेन्टाइनलगायतको व्यवस्थापन गर्न नसक्दा नरैनापुर संक्रमणको हटस्पट बन्यो । ५ चैतमै भारतबाट भित्रिनेहरूका लागि भन्दै ४ स्थानमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको नरैनापुरले त्यतिबेला भारतबाट अन्दाजी ५ सयको हारहारीमा गाउँ फर्किन्छन् भन्ने अनुमान थियो । गाउँपालिकाको तयारी पनि त्यतिका लागि मात्रै थियो । लकडाउनको सुरुवाती सातामा त नरैनापुरमा एक सय ५० जना मात्रै क्वारेन्टाइनमा थिए । कतिसम्म भने एकैचोटि तीन दिनमा ९ सय व्यक्ति भारतबाट आएपछि गाउँपालिकाको क्वारेन्टाइनले धानेन ।

त्यतिबेला कमैलाई लागेको थियो, नरैनापुर संक्रमणको व्यापक विस्तारतिर पुग्दैछ भन्ने । तर भारतबाट आउनेहरूको क्रम बढेपछि गाउँपालिकाले वैशाख ३० बाट दोस्रो चरणको क्वारेन्टाइन निर्माण सुरु गर्‍यो । भारतबाट आउनेको संख्या बढेपछि गाउँपालिकाले १९ स्थानमा क्वारेन्टाइन बनाएको थियो । परीक्षणपछि ठूलो संख्यामा घर फर्किएपछि र क्वारेन्टाइनमा बस्नेको संख्या कम भएपछि अहिले ३ वटा मात्रै क्वारेन्टाइन सञ्चालनमा छन् ।

लकडाउन लम्बिँदै जाँदा र पछिल्ला दिन सीमावर्ती भारतीय सहरहरूमा लकडाउन खुकुलो हँुदा त्यसको सोझो मार नरैनापुरजस्ता सीमावर्ती गाउँपालिकाहरूमा पर्‍यो । बुधबारसम्म नरैनापुरमा एक सय १६ जनामा संक्रमणको पुष्टि भइसकेको छ । तीमध्ये क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका एक जनाबाहेक अरू सबै भारतबाट आएकाहरू नै हुन् । जेठ ११ गतेयता भारतबाट आउने क्रम रोकिए पनि लुकीछिपी आउने रोकिएका छैनन् । नरैनापुरको भगवानपुरस्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक मानबहादुर जिसीका अनुसार एकाध लुकेर आएपछि पहिलेजस्तो लुकीछिपी आउने क्रम नियन्त्रणमा आइसकेको छ । प्रहरी निरीक्षक जिसीको अनुमानमा लकडाउनका सुरु भएयता नरैनापुरमा मात्रै अनुमानित १२ सय जति भारतबाट आइसके । गाउँपालिकाका अनुसार करिब तीन सय जति त अझै आउनै बाँकी छन् ।

संक्रमितको संख्या बढ्दै गएको र भारतबाट आउनेहरूको क्रम पनि नरोकिएपछि जेठ १० मा त नरैनापुर गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र नै लेखेर संक्रमण नियन्त्रणभन्दा बाहिर जाने अवस्था देखिएको भन्दै उच्चस्तरीय चिकित्सकको टोली पठाइदिन र थप सुरक्षाकर्मी परिचालन गरिदिन भन्दै पत्र लेख्यो । गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयको नाममा लेखिएको उक्त पत्र बोधार्थ गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि गृह मन्त्रालय र प्रदेश ५ सरकारलाई पनि पठाइएको थियो । संक्रमणको दरमा कमी आए पनि नरैनापुर भयमुक्त भइसकेको छैन ।

वडा ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले आफूलाई क्वारेन्टाइनमा बस्नेका परिवारका सदस्यले र सीमा नाकामा अड्किएकाहरूको फोन तारन्तार आउने गरेको सुनाए । १७ जेठमा सरकारले सीमावर्ती २० नाकाबाट मात्रै नेपालीहरू छिर्न पाउने नियम ल्याएपछि झनै समस्या सुरु भएको उनले बताए । उनले भने, ‘घर नजिकैको सीमा नाकामा आएकालाई फर्काएर रुपौडिया नाकातिर पठाइएको छ । त्यताबाट छिरेकाहरूलाई व्यवस्थित तरिकाले गाउँमा ल्याउने काम हुन नसक्दा झनै संक्रमण फैलिने हो कि भन्ने डर कायमै छ ।’ वडाध्यक्ष मौर्यका अनुसार व्यवस्थित क्वारेन्टाइन बनाउन नसक्दा र क्वारेन्टाइनभित्र पनि भौतिक दूरी कायम राख्न नसक्दा संक्रमणको दर ह्वात्तै बढ्यो ।

कान्तिपुरसँगको कुराकानीमा केही स्थानीय बासिन्दाले अझै पनि समुदायमा व्यापक परीक्षण नगर्दासम्म ढुक्क हुन सक्ने अवस्था नरहेको बताए । एक स्थानीयले त अहिले पनि क्वारेन्टाइनमा बसेकाले लुकाइलुकाई घरका व्यक्तिले मोबाइल चार्ज गर्न पठाउने गरेको, केहीले लुकाएर घरमा पैसा पठाउने गरेको बताए । यस्तो अभ्यासले संक्रमणको जोखिम समुदायस्तरसम्म फैलिन सक्ने डर कायमै रहेको बताए । गाउँपालिका प्रमुख साहले भारतबाट आउनेको संख्यामा अझै कमी नआएका कारण तयारीमा कमी गर्न नहुने बताए । उनले बिहीबार मात्रै मुम्बईबाट ४० जना गाउँ आइपुग्ने बताए । उनले अनुमान सुनाए, ‘अझै पनि एक हजारको हाराहारीमा भारतबाट आउन सक्ने अनुमान छ ।’

गाउँपालिकाको अहिलेसम्मको ध्यान भनेकै भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्ने र उनीहरूको परीक्षण गराउनमै केन्द्रित छ । लुकीछिपी आएकाहरू र क्वारेन्टाइनबाट बेलाबखत भागेर परिवारको सम्पर्कमा पुगेकाहरूबारे पालिका उतिधेरै जानकार देखिँदैन । गाउँपालिका प्रमुख साहले अहिलेसम्म आएका बाहेक ११ जना स्थानीयको मात्रै परीक्षण गरिएको बताए । उनले भने, ‘जोखिममा रहेको हुन सक्ने स्थानीयहरूको पनि परीक्षण गराउनुपर्ने हो तर सकिएको छैन ।’

कान्तिपुरसँग सम्पर्कमा आएका एक क्वारेन्टाइनको सुरक्षामा खटिएका प्रहरी अधिकारीले संक्रमण पुष्टि भएका कैयनको ट्रेसिङ प्रभावकारी नभएको बताए । उनले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘स्थानीय अधिकारीहरू यस्तो कुरा स्विकार्न तयार नभए पनि समुदायस्तरमै व्यापक परीक्षण नगरेसम्म ढुक्क हुन मिल्दैन ।’

नरैनापुर : एक चित्र

नेपालगन्जको त्रिभुवन चोकबाट कालोपत्रै मूल सडक हुँदै ३४ किलोमिटरपूर्व उत्तर लागेपछि तपाईं दायाँ वा बायाँका जुनसुकै बाटो पक्रे पनि तपाईंभन्दा अघि तपाईंको गाडी वा मोटरसाइकलले उडाएको धूलो तपाईंभन्दा अघि नै नरैनापुरमा पुगिहाल्छ । राप्ती नदीको कटानलाई मात्रै छोड्ने हो भने भारतको उत्तरप्रदेशको श्राबस्ती जिल्लासँग जोडिएको नरैनापुर दुर्गम गाउँ होइन । तर दुर्गम देखिनका लागि यो गाउँपालिकासँग पर्याप्त विशेषताहरू छन् ।

गाउँवासीले बिजुलीको पोल देखेको दुई दशकभन्दा बढी भइसक्यो तर अहिलेसम्म गाउँपालिकाका ६ मध्ये ५ वडामा बिजुली सुविधा छैन । १५ शय्याको प्राथमिक स्वास्थ्य केन्द्र छ तर त्यहाँ मुस्किलले दरबन्दीसहितको चिकित्सक भेटिन्छन् । अनि स्थानीयवासी आधारभूत स्वास्थ्य सुविधाका लागि पनि नेपालगन्ज धाउनुको विकल्प छैन । सामान्य दिनमा नरैनापुरबाट नेपालगन्ज जाने दैनिक पाँचदेखि ६ वटा बस छुट्छन् । कालोपत्रे सडक भए पनि नरैनापुरको अन्तिम सिमाना सुइया बघौडाबाट गाउँलेहरूले ४४ किमिको भाडा १ सय ६० रुपैयाँ तिर्नुपर्छ । खेतीबाली त हुन्छ तर कुलो र नहरको राम्रो सुविधा छैन । अनि नुनदेखि तेलसम्म खरिद गर्न सीमावर्ती भारतीय बजार जमुनाहा बजार धाउनुको विकल्प छैन ।

रोचक त यो छ कि, कुनै कमजोर सरकारी सुविधा भए पनि यो गाउँका धेरैजसो चोकमा कोरियन भाषा वा जापानिज भाषा सिकाउने प्राइभेट इन्स्टिच्युटका फ्लेक्स हावामा फरफराइरहेको देख्न सकिन्छ । मूलबाटो हुँदै नरैनापुर छिर्दा देखिने होडिङबोर्डमा बाल विवाहलाई नाइँ भनौंदेखि सुत्केरी भत्ता लिउँ भन्नेसम्मका सन्देश पोतिएका छन् ।

मुस्लिम बाहुल्य नरैनापुरलाई नेपालगन्जवासीहरू बाँकेको कर्णाली भन्छन् । व्याप्त गरिबी, भूमिहीनको ठूलो जनसंख्या र कमजोर साक्षरताका कारण भूगोलले विकट नभए पनि नरैनापुरको दु:ख चर्को छ । राप्ती नदीको बर्सेनि कटान र नदी बढेपछि सालिन्दा एकाध हप्ता देखि एकाध महिनासम्म बाँकी जिल्लासँग सम्पर्कविहीन भएर बस्नुपर्ने दु:खले नरैनापुरलाई वर्षार्ंैदेखि सताएको छ । जस्तो कि, लजिम नाउको घर भएको वडा नम्बर ५ स्थित टोललाई नयाँबस्ती भन्छन् । करिब एक दशकअघि राप्तीको कटानले भगवानपुरस्थित एक बस्ती नै उठीबास लागेपछि उक्त बस्ती सरेर त्यहाँ पुगेको थियो । त्यति मात्रै होइन, सालिन्दा राप्तीमा बाढी आएका बेला स्थानीयहरू नरैनापुरबाट सीमावर्ती लक्ष्मणपुर बाँध भएर भारतको बाबागन्ज हुँदै रुपौडिहा भएर नेपालगन्ज आउने लामो बाटो तय गर्नुपर्छ । इक्रा एजुकेसन फाउन्डेसनका अध्यक्ष अशोक हरिजनले सुनाए, ‘दुर्गम हैन, दुर्गम बनाइएको हो ।’

गरिबी र अभावको सनातनी दु:खमा रहेको नरैनापुर यतिबेला कोरोना कहर झेलिरहेको छ । बुधबार बिहान नरैनापुर पुग्दा गाउँलेहरू बाख्रा र अन्य बस्तुभाउ चराउन हिँडिरहेका देखिन्थे । राप्ती किनारबाट बालुवा बोकेर नेपालगन्जतिर हुइँकिरहेका दर्जनौं ट्याक्टर कुदिरहेका देखिन्थे । बाटोमा देखिएका अधिकांश स्थानीयहरूको मुखमा मास्क थिएन । एकाध स्थानीयले मुखमा कपडाको हरियो रंगको मास्क लगाएको देखिए पनि धेरैजसोले नाक र मुख छोप्ने गरी मास्क लगाएका थिएनन् । खाली खुट्टा नै केटाकेटीहरू सडक छेउछाउको धूलोमा खेलिरहेका थिए ।

नरैनापुर–६ का ७८ वर्षीय चन्द्र खाँ बाटोछेउको छहारीमा थिए । उनले गर्मीका कारण आफूले मास्क लगाउन नसकेको भन्दै गोजीमा रहेको मास्क झिकेर देखाए । ५ छोराछोरीका ३७ वर्षीय बाबु सकिर अलि कोरोनाकै कारण साइकल मर्मत पसल बन्द गरेर बसिरहेका थिए । उनले गाउँपालिकाले परिवारका ८ जनालाई नै मास्क दिएको बताए । भने, ‘आज धोएर राखेको भएर नलगाएको हो । नत्र लगाइहाल्थें ।’

धेरैजसो स्थानीयले नयाँ शब्द कोरोना सिके पनि यो कस्तो रोग हो भन्नेबारे जानकार देखिएनन् । ७५ वर्षीय त्रिभुवन कुर्मीले कोरोनालाई एउटा तकलिफका रूपमा व्याख्या गर्दै भने, ‘यो रोग हो कि दिक्कत हो थाहा छैन ।’ उनले जम्मा भएको अनाज सकिन लागेको र कहिलसम्म यस्तो हुने हो भन्दै प्रश्न गरे ।

रोजगारीको दक्षिण गन्तव्य

अनिश जस्तै नरैनापुरका सयौं युवाहरूको रोजगारीको गन्तव्य दक्षिण भारतका सहरहरू हुन् । अनिशकै दुई भाइ फरिद र रोज अली दुवै भारतमा रोजगारी गर्छन् । संक्रमणको विस्तार सुरु भएपछि तीनै जना फरकफरक समयमा भारतबाट घर हान्निएका थिए । क्वारेन्टाइनमै दाइको मृत्यु भएको केही दिनपछि फरिद घर आइपुगे भने रोज अली नरैनापुर–६ स्थित नैरा प्राविको क्वारेन्टाइनमै छन् ।

फरिदको भारत रोजगारीको गन्तव्य ५ वर्षअघिबाट सुरु भएको थियो । मासिक ८ हजार भारु तलबमा होटलमा आएका सेवाग्राहीको टेबल टेबलमा पानी पुर्‍याउने कामबाट सुरु भएको उनको जागिरे यात्रा यतिबेला बढुवा भएर किचन हेल्परमा पुगेको छ भने तलब मासिक दस हजार पुगेको छ ।

गुजरातको एक मिठाई कम्पनीमा सहयोगीको काम गर्ने लजिमका कान्छा छोरा १५ वर्षीय रोज अली नाउ अहिले पनि नरैनापुर–६ स्थित नैरा प्राविको क्वारेन्टाइनमै छन् । दुई दाइको बाटो पछ्याउँदै उनी तीन वर्षअघि गुजरात पुगेका थिए ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले नरैनापुरबाट मात्रै अनुमानित २ हजार युवाहरू भारतमा रोजगारीका लागि गएको हुन सक्ने अनुमान सुनाए । वडा नम्बर ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यका अनुसार नरैनापुरका अधिकांश युवा कि त भारतका मुम्बई, कानपुर, हैदरावाद, दिल्ली र पन्जाब जस्ता सहरहरूमा छन् कि त कतार दुबईमा छन् । उनले अनुमान सुनाए, ‘हाम्रो गाउँपालिकाबाट मात्रै करिब १५ सय युवा भारतमा काम गर्छन् ।’कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् । उनका अनुसार भारतमा काम गर्नेमध्ये अधिकांश होटल र निर्माण क्षेत्रमा काम गर्नेहरू छन् । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर