tealaya add

rangashala marmatचर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेले गायको एउटा गीत सदावहार रुपमा चर्चित छ ‘घाँस काट्ने खुर्केर...आयो जोवन...’ नेपाली खेलकुदमा भने युवाहरूको हैन पदाधिकारीहरूको जोवन हुर्केर आएको पाइएको छ । किनकि नेपाली खेलकुद यस्तै यस्तै कारणले चर्चित हुने गर्दछ । माथिको गीत गाउँदै नेपाली खेलकुदका एक वरिष्ठ विज्ञले आक्रोश पोख्दै भने, ‘जुन ठाउँमा जे हुनुपर्ने थियो त्यो हुँदैन । चर्चामा आउन अनेक तरहका काम गर्छन् । खेलाडीलाई निरुत्साहित गरेर चर्चामा आउन आफूहरू उत्साही भएको नाटक गर्छन् ।’ 

उनको आक्रोश त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालाको स्थिति र त्यसमाथि गरिएको राजनीतिप्रति केन्द्रित थियो । उनको भनाइलाई मान्ने हो भने २०७२ सालको भूकम्पले रंगशालालाई क्षति पुर्याएपछि रंगशालाका नाममा राजनीति गर्ने बढे । 

रंगशालाको पुनर्निर्माण साढे चार वर्षसम्म पनि पूरा हुने देखिएको छैन । योबीचमा थुप्रै उतारचढाव भयो । काम गर्नेभन्दा घाँस काट्नेहरू बढी भए । रंगशालाको पुनर्निर्माण भइरहँदा मैदान र प्यारापिटमा त्यही ‘घाँस’ उम्रेकाले चर्चामा आउन पदाधिकारीहरूलाई मद्दत मिल्यो । 

राखेपका एक अवकाशप्राप्त वरिष्ठ अधिकारीले सम्झिँदै भने, ‘तीन वर्षअघि एक जना मन्त्रीले नाटक गर्नुभयो । अहिले फेरि सदस्यसचिवज्यूले नाटक गर्नुभएको छ । उहाँहरूलाई कामसंग हैन समाचारमा आउन रुची छ ।’ तीन वर्षअघि तत्कालीन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइली दशरथ रंगशालामा उम्रेको झार सफा गर्न दलबलसहित पुगेका थिए । 

श्रीपाइलीले तत्कालीन माओवादी केन्द्रका कार्यकर्तालाई नै लगेर भोलि नै रंगशालाको मुहार फेरिन्छ कि जस्तो गरी हल्ला पिटेका थिए । एक काँग्रेस निकट राखेपका कर्मचारीले सुनाए, ‘मलाई पनि बोलाइएको थियो । कर्मचारीलाई अनिवार्य उपस्थितिमात्र हैन कि मलाई त तपाईलाई विशेष उपस्थितिका लागि अनुरोध छ है यो माओवादीको मात्र हैन सबै दलको भविष्यसंग जोडिएको छ ।’

उनले थपे, ‘यस्तो लाग्थ्यो कि पार्टीका कार्यकर्ता नै मिल्ने हो भने त रंगशालालाई ६ महिनाभित्रै तयार गर्न सकिन्छ । तर के हुन्थ्यो त्यही घाँस उखेल्नमात्र रै’छ । अहिले पनि त्यस्तै भयो प्रधानमन्त्री रोजगार कार्यक्रममा घाँस काट्नु, मकै गोड्नु र अहिलेको रंगशालाको घाँस गोड्नु उस्तै होला ।’ 

यसरी घाँस काटेर मन्त्री श्रीपाइली आलोचित भइसकेका अवस्थामा अहिले तिनै मन्त्रीको दलसंग मिलेर नयाँ पार्टी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले पनि त्यसै गरे । २०७६ भदौ १६ गते उनले दशरथ रंगशालाको मैदानको घाँस काटे । 

आगामी मंसिरमा नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद सागको प्रमुख आयोजनास्थल हो दशरथ रंगशाला । त्यही रंगशाला नै अहिलेसम्म तयार नहुँदा भौतिक पूर्वाधारको आधारप्रति गम्भीर प्रश्न खडा भएको छ । यो मैदानमा २०७६ मंसिरको पहिलो साता विश्वकप छनोट फुटबल पनि खेलाउनु पर्नेछ । 

यही रंगशाला नभएरै नेपालले २०७६ भदौ १९ गते कुवेतविरुद्ध विश्वकप छनोटको खेल रंगशालाको सट्टा कुवेतमा खेल्यो । अब सदस्यसचिव सिलवालले नै मैदानको घाँस काटेपछि काम छिट्टै फत्ते होला त ? तर एउटा मैदानको घाँस रोप्नेदेखि लिएर त्यसलाई खेल्न योग्य बनाउन कम्तीमा दुई महिना त लागिहाल्छ । 

उनले पक्कै पनि पुनर्निर्माण समयमै सकिने दावी गरिरहेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले मैदानको जिम्मा लिएपछि समयमै सकिने दावी पनि गरेको छ । एन्फाले नै जिम्मा लिएपछि कथंकदाचित् काम सकिएन भने त्यसको जिम्मा उसकै थाप्लोमा जानेछ । 

बुद्धिकृष्ण लामिछानेले वर्षौंअघि गाएको ‘घाँस काट्ने खुर्केर....गीतको सार्थकता सदस्यसचिव सिलवालले कहिले पूरा गर्लान् त्यसमा चासो रहने नै भयो । तर फेरि पनि रंगशालाको काम पूरा भएन भने एन्फा कार्वाहीमा पनि पर्न सक्छ । फिफाले घरेलु मैदानमा खेल नगराएपछि डिस्क्वालिफाइ पनि गर्न सक्छ ।

सदस्यसचिव सिलवाल अन्य बाँकी रहेको काम मैदानको काम सकिनुअघि नै चिनियाँ कम्पनीले पूरा गरी हस्तान्तरण गर्ने बताउँदै आएका छन् । साग र विश्वकप छनोटका लागि पनि मैदान छिटोभन्दा छिटो तयार भएमात्र उनको युवा जोश झल्किने छ । होइन भने फेरि घाँस काट्ने दिन पनि आउन सक्छन् । (साँघु साप्ताहिक)

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...