annapurna add

new igp of nepal police

एआईजी हरि पालले एआईजी शैलेस थापा क्षत्री नेपाल प्रहरीको प्रहरी महानिरीक्षक भएको खुसी व्यक्त गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी क्षत्रीलाई आईजीमा नियुक्त गरेको थियो ।

सरकारले आफ्ना प्रतिद्वन्द्वीलाई आईजीमा नियुक्त गरेपछि उनले सरकारले गरेको निर्णय स्वागतयोग्य भएको बताएका छन् । उनले भने, ‘मेरो सबैभन्दा मिल्ने साथी आईजी भयो यसमा मलाई गर्व लागेको छ । सरकारले गरेको यो निर्णयमा म एकदमै खुसी छु ।’

त्यस्तै उनले आफूहरुले पहिले पनि जो आईजी भए पनि मिलेर काम गर्ने प्रतिबद्धता गरिसकेको बताएका छन् । एआईजी पालले सरकारले सुझबुझ पूर्ण निर्णय गरिसकेकाले अब मिलेर काम गर्ने बताए । यसअघि थापा र पालले जो आईजीपी भएपनि मिलेर काम गर्ने तर एक अर्काले आईजीपी बन्न पहल गर्ने सहमति गरेका थिए ।

‘हामीले पहिले नै प्रतिबद्धता गरिसकेका छौं । आईजी बन्न दुवैले प्रतिस्पर्धा गर्ने । जो आईजी बन्छ त्यसमा पूर्ण सहयोग गर्ने’, एआईजी पालले भने । सरकारले वरियता अनुसार पहिलो नम्बरमा रहेका क्षत्रीलाई आईजीपीमा नियुक्त गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गरेका हुन् । पाल र थापा नेपाल प्रहरी भित्र व्यवसायिक, काबिल र उच्च कार्यसम्पादन मुल्यांकन भएका अफिसरका रुपमा चिनिन्छन ।

२०५८ वैशाख १८ गते डीएसपीमा बढुवा हुँदा थापा २ नम्बर र पाल १३ औं नम्बरमा झरे। तर त्यसको ८ वर्षपछि एसपीमा बढुवा हुँदा थापा एक अंक पछि धकेलिँदा पाल ८ अंक अगाडि आए। २०६६ साल पुष २० गतेको एसपी बढुवामा थापा तेस्रो नम्बर र पाल पाँचौं नम्बरमा बढुवा भए। यही समूहका राजेशलाल कर्ण भने मंसिर ३ गते नै एसपीमा बढुवा भएका थिए।

एसपीमा हुँदा चौथो नम्बरमा निरज शाही र छैठौं नम्बरमा प्रद्युम्न कार्की थिए। तर एसएसपीमा यो वरियता कायम रहेन। २०७४ साउन १९ गते एसएसपीको बढुवा सूची सार्वजनिक भएको थियो। जसको पहिलो नम्बरमा थापा आइपुग्दा पाल चौथो नम्बरमा झरे। शाही र कार्की दोश्रो र तेश्रो नम्बरमा एसएसपी भएका थिए। उनीहरुको बढुवा वरियतामा उत्तरचढाव रोकिएन। २०७५ असोज २० गते सरकारले ११ डीआईजीको बढुवा सूची निकाल्यो, जसमा थिए, विनोद घिमिरेदेखि हालका आईजी ठाकुर ज्ञवालीसम्म।

तर थापा र पालका ब्याची ४ जना मात्रै थिए। त्यसमा पनि अहिलेका यी दुई प्रतिस्पर्धी थापा छैठौं र पाल सातौं नम्बरमा आइपुगे। उनीहरुभन्दा पछाडि निरज शाही र प्रद्युम्न कार्की आठौं र नवौं नम्बरमा बढुवा भए। दुईमध्ये जो भए पनि २०७९ वैशाख १९ गतेसम्मका लागि आईजी हुनेछन्।

थापाले धेरै समय फिल्डको कमान्ड गरेका छैनन्। तर जति गरेका छन् निष्कलंक छन्। पालको धेरै समय फिल्डमै बितेको छ। उनी अनुसन्धान र अप्रेसनमा अब्बल मानिन्छन्। दार्चुलाका पालले सूदुरपश्चिमबाटै सेवा सुरु गरे। भक्तपुरका थापाले प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सेवा सुरु गरेका थिए।

पालले अपराध महाशाखा, जिल्ला प्रहरी परिसर काठमाडौं, बौद्ध, नुवाकोट, डडेलधुरामा काम गरे। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला बालुवाटारको सुरक्षा जिम्मेवारी पनि पाए। पाल दुई र थापा तीन देशमा मिसनमा गएका छन्। पाल पूर्वी टिमोर र इराक गएका थिए भने थापा बोस्निया, पूर्वी टिमोर र सुडान सिनमा गएका थिए।

प्रहरी निरीक्षक हुँदा थापाले उपत्यकाबाहिर सिन्धुपाल्चोकमा मात्रै काम गरेका थिए। त्यसबाहेक प्रहरी प्रशिक्षण प्रतिष्ठान र महानिरीक्षकको सचिवालयमा बिताएका थिए। यस्तै डीएसपी हुँदा धादिङ र एसपी हुँदा कास्की तथा झापा प्रहरीको नेतृत्व उनले गरेका छन्। प्रहरी प्रवक्ता भएका थापाले महानगरीय प्रहरी कार्यालयको नेतृत्व पनि सम्हालेका छन्। एआईजीमा बढुवा भएपछि थापा मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्।

पालले एसपी हुँदा महानगरीय प्रहरी कार्यालय काठमाडौं, जनकपुर, रुपन्देही र कास्कीमा काम गरे। एसएसपी हुँदा अञ्चल प्रहरी कार्यालय कोसी र डीआईजी हुँदा प्रदेश २ को नेतृत्व गरेका छन्। यस्तै विशेष ब्युरोमा रहँदा उनको भूमिका प्रशंसनीय छ। एआईजीमा बढुवा भएपछि कार्य एवं अनुसन्धान विभागको नेतृत्व पाए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...