tealaya add

pm

घोराही । बेरोजगारलाई लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिएका धेरैलाई कामकै समस्या भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा करोडौं रकम आएपछि स्थानीय तहलाई हतारमा बजेट सक्नुपर्ने बाध्यता छ ।

रोजगारका लागि फारम भरेकालाई काम लगाएर मात्रै रकम दिनुपर्ने भएकाले तत्काल उपलब्धिमूलक काम दिन कठिन भएको हो ।

अधिकांश पालिकाले बजार सरसफाई गर्ने, बजारका झार उखेल्ने, बगैंचाका फूल गोडमेल गर्ने, बजारका छाडा गाईगोरु नियन्त्रण गर्ने, सडकमा ढुंगा, गिट्टी हाल्ने जस्ता काम दिएका छन् । छोटो समयमा विकास निर्माणका काममा लगाउन समस्या भएपछि तत्काल केही न केही काममा व्यस्त बनाउनुपर्ने बाध्यता स्थानीय तहलाई भएको हो ।

छोटो समयमा करोडौं बजेट खर्च गर्नुपर्ने भएकाले उक्त रकमको सदुपयोग हुनेमा धेरैलाई आशंका छ।संघीय सरकारले घोराही उपमहानगरपालिकामा एक महिनाका लागि एक करोड बजेट पठाएको छ ।

उक्त बजेटबाट ७० लाख कामदारको ज्याला, २५ लाख औजार खरिद, ४ लाख आयोजना सुपरभाईजर तथा व्यवस्थापन र एक लाख कन्टेन्जेन्सीमा खर्च गर्ने गरी बजेट बाँडफाँड भएको नगर प्रमुख नरुलाल चौधरीले बताए ।

बिहीबार घोराहीमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गर्दै चौधरीले श्रमको सम्मान गर्ने सोंचको विकास हुन जरुरी रहेको बताए। ‘यहाँ श्रमलाई हेयको दृष्टिले हेरिन्छ । अब श्रमको सम्मान हुनुपर्छ,’ उनले भने, ‘श्रम गरेर स्वावलम्वी बन्न सक्नुपर्छ। काम गर्न लाज मान्नु हुँदैन । काम गरे अनुसारको पारिश्रमिक पाइन्छ ।’

उनले कुनै पनि काम सानो ठूलो नहुने भन्दै सरकारले ल्याएको अवसरलाई सदुपयोग गरी नगरको विकासका जुट्न युवालाई आग्रह गरे । ‘सडकमा निस्किएर काम गर्न लाज मान्ने र डराउने प्रवृत्तिकै कारण जीवनस्तर सुधार हुन सकेको छैन,’ उनले भने, ‘हामी आवश्यक कामहरु लगाउँछौ । जुनसुकै काम पनि गर्न तयार हुनुपर्छ।’ इमान्दारीपूर्वक काम गरेमा रकमको दुरुपयोग नहुने उनले दाबी गरे । कान्तिपुर दैनिक 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...