annapurna add

church in nepal holi wineनेपालमा कसरी भित्रिए इसाई ?

राज्यका काममा धर्म र धार्मिक सङ्घसंस्थाहरूको हस्तक्षेपले सीमा नाघ्न थालेपछि युरोपेली मुलुकहरूमा धर्मनिरपेक्षताको अवधारणालाई कार्यान्वयनमा ल्याउन दबाब पैदा भएको जानकारी हामीमध्ये धेरैमा हुनुपर्दछ । धर्मनिरपेक्षताको सीधा अर्थ राज्य धर्म र धार्मिक विषयप्रति निरपेक्ष रहनु मात्र होइन, शासकीय कर्म र सामाजिक जीवनका हरेक पाटोमा धर्म, संस्कृति र परम्परागत मूल्यमान्यताको प्रभाव शून्यतालाई धर्मनिरपेक्षता भनिन्छ ।

युरोपियनहरू जो राज्यमा धार्मिक सङ्घसंस्थाहरूको व्यापक हस्तक्षेपबाट हैरान थिए, तिनले धर्मनिरपेक्षताको परिभाषा यसरी नै गरेका छन् । तथापि युरोप र अमेरिकाका कैयन मुलुक जो धर्मनिरपेक्षताको पक्षमा वकालत गर्छन्, तिनले पनि इसाई धर्मसम्मत व्यवहारबाट आफूलाई अलग राख्न खोजेका छैनन् ।

संयुक्त राज्य अमेरिकाजस्तो विज्ञानसम्मत सर्वशक्तिमान र समृद्ध मुलुकका राष्ट्रपतिले बाइबलमाथि हात राखेर कसम खानु या बेलायतजस्तो मुलुकमा इसाईमध्ये पनि प्रोटेस्टेन्टले मात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था हुनुलाई धर्मनिरपेक्षता मान्न सकिँदैन । पश्चिमा मुलुकहरू आफैँले धर्मसापेक्ष व्यवहार गर्ने गर्दछन् र अन्य मुलुकलाई धर्मनिरपेक्ष बन्न अर्ती दिन्छन् । अर्ती मात्र होइन, अर्थको व्यवस्थासमेत गरिदिने गरेका छन् धर्मनिरपेक्षताका लागि । एसिया, अफ्रिका र दक्षिण अमेरिकी महादेशका अल्पविकसित मुलुकहरूमा धर्मनिरपेक्षताको एजेण्डा प्रवेश गराएर सम्बन्धित देशले परापूर्वकालदेखि अवलम्बन गरिआएको मौलिक धर्म, परम्परा र संस्कृतिलाई पाखा लगाउने काम पश्चिमा मुलुकहरूले नियोजित रूपमा नै गर्दै आएका छन् ।

धर्मनिरपेक्षताका नाममा सम्बन्धित मुलुकले अवलम्बन गरिआएको धर्म, संस्कृति र परम्परालाई निरुत्साहित गर्ने क्रमसँगै उनीहरूले धर्मान्तरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउँदा रहेछन् । धर्मनिरपेक्षताको परिभाषा एउटा रूपमा गर्ने र आफैँले चाहिँ धर्मसापेक्ष व्यवहार गर्ने, अल्पविकसित तथा विकासोन्मुख मुलुकहरूमा चाहिँ धर्मनिरपेक्षतालाई ‘कभर’ बनाएर धर्मान्तरण गराउने पश्चिमा रणनीतिको सिकार विश्वका धेरै मुलुकले हुनुपरेको छ र नेपाल पनि त्यसरी नै सिकार बन्ने दिशामा लामबद्ध हुन पुगेको छ ।

धर्मनिरपेक्षताको परिभाषा पश्चिमाहरूले यसरी गरेका छन्, ‘Religion loses its authority in all aspects of social life and governance is Secularism.‘ राजकीय शासन र सामाजिक जीवनका सबै पक्षहरूबाट धर्मको उन्मूलनका रूपमा धर्मनिरपेक्षतालाई परिभााषित गर्नेहरूले अल्पविकसित मुलुकमा धर्मान्तरणका लागि ठूलो लगानी गर्नु र आफूहरूले चाहिँ धर्मसापेक्ष व्यवहार गर्नुले उनीहरूमा रहेको दोहोरो चरित्र उजागर गरेको छ । नेपाल मात्र नभई विश्वमै र वर्तमानमा मात्र नभई शताब्दीअघिदेखि नै पश्चिमाहरूले धर्मनिरपेक्षताको आवरणमा धर्मान्तरणलाई अभियानका रूपमा योजनाबद्ध ढङ्गले सञ्चालन गर्ने गरेको पाइएको छ ।

कुनै समय ब्रिटिस उपनिवेशको रूपमा रहेको अफ्रिकी मुलुक नाइजेरिया (जसको आफ्नै धर्म, संस्कृति र परम्परा थियो, छ) लाई सबैभन्दा पहिले धर्मनिरपेक्षतासहित गणतन्त्रात्मक मुलुक बनाइएको र त्यसपछि इसाईकरणलाई तीव्रता दिइएको ऐतिहासिक तथ्यहरूले देखाउँछ । ब्रिटिस उपनिवेश कालमै नाइजेरियामा धर्मपरिवर्तनलाई प्राथमिकता दिइएको थियो र, दक्षिणी तथा मध्यनाइजेरियामा धर्मान्तरणको निकै बलियो असर परेको थियो । सन् १९६३ मा संवैधानिक राजतन्त्रको उन्मूलन गरी सङ्घीय लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्रात्मक मुलुकका रूपमा नाइजेरियालाई संविधानतः लगिएपछि इसाईकरणले तीव्रता पाएको हो । एक प्रतिवेदनले नाइजेरियामा साढे आठ करोड इसाई पुगिसकेको देखाएको छ ।

इसाईकरणलाई तीव्रता दिइएपछि सुरु भएको धार्मिक युद्धले नाइजेरियालाई नराम्रोसँग प्रभावित गरेको छ । एकीकृत इस्लामिक राष्ट्र माग गर्दै आएको हिंसात्मक सङ्घर्षका क्रममा त्यहाँ दशकभित्र करिब चौध हजार चर्चहरू ध्वस्त पारिएका छन् भने पाँच वर्षभित्र दश लाख इसाई मारिएको बुझिन्छ । साठी वर्षअघि दुई प्रतिशतभन्दा कम इसाईधर्मी रहेको दक्षिण कोरियामा अहिले तीस प्रतिशतभन्दा बढी इसाईधर्मी जनसङ्ख्या पुगिसकेको छ । जब कि कोरियनहरू आफूलाई कुनै पनि धर्मावलम्बी नरहेको दाबी गर्दछन्, यद्यपि कोरियामा बौद्धमार्गीहरूको पनि बसोवास रहेको छ ।

सन्तानब्बे प्रतिशत बौद्धमार्गीको बसोवास रहेको कम्बोडियामा वार्षिक ६ प्रतिशतका दरले इसाईधर्मीहरू बढिरहेका छन् । यही रफ्तारमा धर्मान्तरण भएमा आगामी केही वर्षभित्रै कम्बोडिया इसाई मुलुकमा रूपान्तरित हुने सम्भावना छ । मुस्लिम तथा स्थानीय धर्म अवलम्बन गर्ने बसोबासीहरू भएको बुरुण्डीमा यतिबेला छयासी प्रतिशत मानिसलाई इसाई बनाइएको छ । धर्म परिवर्तनलाई गम्भीर अपराध मानिने अफगानिस्तानमा समेत भूमिगत रूपमा चर्चहरू सञ्चालनमा ल्याएर धर्मान्तरणलाई प्रोत्साहन गरिएको छ । अफगानिस्तानमा समेत कम्तीमा पाँच सयदेखि आठ हजारसम्म इसाई धर्म प्रचारकहरू सक्रिय भएको अनुमान छ ।

इरान र अफगानिस्तान इसाईहरूको लागि निकै जोखिमपूर्ण भूमि मानिन्छ । यी मुलुकमा समेत भूमिगत चर्चहरू सञ्चालनमा ल्याइनुले पश्चिमा मुलुकहरूका निम्ति इसाईकरण कति महत्वपूर्ण विषय हो भन्ने स्पष्ट गर्दछ । छिमेकी मुलुक चीनमा उदारीकरणसँगै धर्मान्तरणले प्रवेश पाएको थियो । यस अवधिमा चीनमा भएका पुराना चर्चहरूको गतिविधि बढेको र प्रशस्त मात्रामा नयाँ गिर्जाघरहरू निर्माण गरिएको थियो । इसाई सङ्घसंस्थाहरूले सन् २०३० सम्ममा दुई सय सतचालीस मिलियन अर्थात् चौबीस करोड सत्तरी लाख चिनियाँ नागरिक इसाई बन्ने प्रक्षेपण गरेका थिए । अहिले राष्ट्रपति सी जिनपिङले धर्मान्तरणप्रति कठोर नीति अवलम्बन गर्दै चर्चहरू ध्वस्त बनाउने अभियान चलाएपछि इसाईकरण अवरुद्ध हुने विश्वास गर्न थालिएको छ ।

छिमेकी मित्रराष्ट्र भारतमा ब्रिटिसहरूले शासन शुरु गरेसँगै त्यहाँ धमान्तरणलाई अभियानका रूपमा चलाइएको थियो । गरिब, अल्पसङ्ख्यक र जनजाति समुदायलाई लक्षित गरेर सन् १८४२ देखि सञ्चालन गरिएको इसाईकरण अभियानले भारतको मणिपुर, अरुणाचल, उडिसा, त्रिपुरा, पश्चिम बङ्गाल, केरला र अण्डमानद्वीपलाई निकै प्रभावित ग¥यो । नागाल्याण्ड त सन् १९६० मै इसाई राज्यमा रूपान्तरित हुन पुगेको हो । नागाहरू दशौं शताब्दीदेखि उत्तरबाट भारतमा प्रवेश गरेको विश्वास गरिन्छ । उनीहरू प्रकृतिपूजक थिए । ईश्वरद्वारा जगत सिर्जना भएको विश्वास गर्ने उनीहरू ढुङ्गालाई देवता थापेर बलिपूजा गर्थे र भूत अस्तित्वमा भएको उनीहरूको ठम्याइ थियो । समग्रमा उनीहरूको आफ्नै मौलिक धर्म थियो ।

सन् १८४२ मा बाप्टिस्ट मिसन (ABM) ले धर्मान्तरणको अभियान चलाएपछि अहिले नागाहरू आफ्नो धर्म, संस्कृति र परम्पराबाट धेरै टाढिएका छन् । धर्म परिवर्तन गराइसकेपछि नागाहरूलाई स्वतन्त्र मुलुक निर्माणको निम्ति उक्साइयो र १९४७ को अगस्ट १५ मा भारत स्वतन्त्र भएको घोषणा गरिनुभन्दा अघिल्ला दिन (अगष्ट १४) मै नागाल्याण्ड स्वतन्त्र भएको घोषणा ब्रिटिस शासकहरूद्वारा गराइएको थियो । पहिले बाइबल भिराएर शुरु गरिएको विभाजन–प्रक्रियालाई पश्चिमाहरूले हातहतियार उपलब्ध गराएर उत्कर्षमा पुऱ्याइदिएका थिए । सन् १९६० मा नागाल्याण्डलाई भारतीय सङ्घअन्तर्गत राखिएको भए पनि त्यहाँ इसाई पृथकतावादीहरूले धेरै पछिसम्म हिंसात्मक सङ्घर्ष गरिरहेका थिए । नागाल्याण्डलाई काबुमा लिन भारतले धेरै ठूलो मिहिनेत गर्नुपरेको थियो ।

आफ्नै मौलिक धर्म, संस्कृति र परम्परासम्पन्न मुलुक दक्षिण अफ्रिकामा पनि पश्चिमाहरूले सन् १६५२ देखि धर्मान्तरणको प्रक्रिया शुरु गरेका थिए । सन् १७३७ मा इसाई मसिनरीको प्रवेशपछि उक्त मुलुकमा इसाईकरणले तीव्रता पाएको थियो । शुरुमा बाइबल थमाएर दक्षिण अफ्रिकीहरूलाई प्रभावित गर्न शुरु गर्ने इसाईहरूले बीसौं शताब्दीसम्म आइपुग्दा त्यहाँको स्रोतसाधन र राज्यसत्तामाथि समेत नियन्त्रण कायम गरिसकेका थिए । धेरै लामो लडाइँपछि दक्षिण अफ्रिका तीन दशकअघि स्वतन्त्र त भएको छ, तर उनीहरूले आफ्नो मौलिक पहिचान पूरै गुमाइसकेका छन् ।

नेपालमा पनि इसाईकरणको प्रयास सत्रौँ शताब्दीको आखिरतिरबाट भएको थियो । काठमाडौं उपत्यकाका मल्ल राजाले चर्च स्थापना गर्न अनुमति दिएसँगै अठारौं शताब्दीमा इसाईकरणले नयाँ गति लिँदै थियो । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानले सफलता प्राप्त गरेपछि उनले काठमाडौंमा रहेका चर्च बन्द गराई पादरीहरूलाई देश निकाला गरेपछि इसाईकरणमा रोक लागेको थियो । तर, २००७ सालको परिवर्तनपश्चात् सेवाका नाममा यहाँँ इसाईहरूको सक्रियता बढ्न थाल्यो र पञ्चायतकालमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी गर्दै उनीहरूबाट सचेततापूर्वक धर्मान्तरणको प्रक्रिया शुरु भयो । २०६३ को राजनीतिक परितर्वनपश्चात् नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाइयो र धर्मनिरपेक्षताको आवरणमा यहाँँ धर्मान्तरणलाई अभियानका रूपमा सञ्चालन गरिएको छ ।

बितेका दश वर्षभित्र नेपालमा करिब पन्ध्र हजारको सङ्ख्यामा नयाँ चर्चहरू खोलिएका छन् । इसाईकरणको यो प्रक्रियालाई नियन्त्रण गरिएन भने अर्को एक दशकभित्र नेपालीले पनि आफ्नो मौलिक धर्म, संस्कृति र परम्परा गुमाउने र मुलुकमा धर्मकै नाममा गृहयुद्ध हुन सक्ने खतरा बढाएको छ । हालै मात्र नेपाललाई हिन्दूराज्य कायम गराउन सक्रिय एक धर्मगुरु श्रीनिवासाचार्यमाथि ज्यान लिने उद्देश्यबाट गोली प्रहार भएको छ । विश्वमा भएका घटना र इसाईहरूको नियत एवम् उद्देश्यको विवेचना गर्दा यस घटनालाई सामान्य रूपमा लिन मिल्ने देखिएको छैन । यसलाई भविष्यको नेपालको साङ्केतिक चित्रका रूपमा बुझियो भने यो मुलुकले अब कस्तो प्रकारको सङ्कटबाट गुज्रनुपर्ने हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । गाउँ–गाउँमा इसाईकरणले सामाजिक सद्भाव र एकतामा सङ्कट पैदा गरिसकेको छ ।

जुन दिन इसाईहरूले आफू बलियो भएको महसुस गर्नेछन्, त्यसपछि धर्मका नाममा गृहयुद्ध शुरु हुनेमा अब शङ्का गरिरहनुपर्ने हुँदैन । इसाईकरणका निम्ति माओवादीले मुख्य योगदान पुऱ्याएको यथार्थमाथि समेत विचार गर्दा नेपाललाई किन धर्मनिरपेक्ष मुलुक बनाइएको रहेछ भन्ने खुलासा मात्र हुँदैन, यो मुलुक रक्तपातपूर्ण धार्मिक युद्धको भुमरीमा फस्न सक्ने अनुमान पनि सजिलै गर्न सकिन्छ । विश्वका कुनै पनि मुलुक जहाँ बाइबल बोकेर इसाईहरू छिरेका छन् ती मुलुक शताब्दी–शताब्दीसम्म पनि शान्ति बहाल गर्न असमर्थ भएको देखिन्छ । समयमै नेपाली जनताले उचित र आवश्यक कदम चाल्न सकेनन् भने पशुपतिनाथको मन्दिरमा इसाई ब्रान्डको भोटेताल्चा लाग्न अब धेरै लामो समय प्रतीक्षा गर्नु नपर्ने देखिएको छ ।

पृथ्वीनारायण शाहले किन धपाए इसाई ?

सन् १८७७ मा प्रकाशित ‘हिस्ट्री अफ नेपाल'मा डेनियल राइटले लेखे, ‘अन्ततः कीर्तिपुरमा कपट र असभ्य विजेता (पृथ्वीनारायण शाह/गोरखा)को प्रवेश भयो (पृ. १८) ।' त्यसको तीन वर्षपछि प्रकाशित ‘स्केचेस फ्रम नेपाल-भाग १'मा हेनरी एम्बोर्स ओल्डफिल्डले लेखे, ‘डरछेरुवा, चतुर र अमानवीय राजा थिए, पृथ्वीनारायण । नेपाल (काठमाडौं)को राजगद्दी जितेपछि उनले बर्बरताको हद प्रस्तुत गरे (पृ. २७५) ।'

काठमाडौंस्थित बेलायती कूटनीतिक नियोग (रेसिडेन्सी)का यी दुई कर्मचारीले पृथ्वीनारायण शाहबारे यस्तो टिप्पणी गरेयता बागमतीमा थुप्रै पानी बगिसकेको छ । तर, पृथ्वीनारायणप्रतिको पश्चिमको मूल्यांकन ज्यूँ का त्यूँ छ । रिचार्ड बर्घर्टदेखि जोन ह्वेल्पटनसम्मका पश्चिमाले आफ्ना पुर्खाकै शैलीमा पृथ्वीनारायणमाथि अन्धाधुन्ध हमला गर्ने क्रम अझै जारी छ ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकाका राज्यहरूमाथि विजय हासिल गर्नुअघि उपत्यकाका मल्ल राजाहरू पश्चिमप्रति उदार थिए । राजा लक्ष्मीनरसिंह मल्लले पादरी जुवान क्याब्राललाई ‘दर्शनभेट' र ताम्रपत्र ‘बक्सेर' आफ्नो राज्यभित्र क्रिस्चियन मतको प्रचारप्रसार गर्ने छुट दिएका थिए ।

काठमाडौंका अर्का राजा प्रताप मल्लले सन् १७६६ मा तिब्बत हुँदै नेपाल आएका बेल्जियन र अस्ट्रियाका दुई इसाई मिसनरी एल्बर्ट डी अर्भिल र जोहन ग्रुबरलाई काठमाडौंमा स्वागत गरेर आफ्नो राज्यमा स्थायी बसोबास गरी इसाई मतको प्रचारप्रसार गर्ने अनुमति दिएका थिए ।

इसाई धर्मप्रति मल्ल राजाहरूको यस्तो उदारताकै कारण पादरी ट्र्यंक्युलियसले सन् १९६० मा काठमाडौंको वटु टोलमा चर्च स्थापना गरेरै मिसनरी गतिविधि सञ्चालन गरेका थिए (इभान साडा, हिस्ट्री अफ द चर्च इन नेपाल, अगस्ट २७, २०१०, ईसीएस नेपाल) ।

राजा जयप्रकाश मल्लको पालामा काठमाडौंमा दुईजना इसाई पादरी थिए- पादरी जिसेप्पी र पादरी माइकल एन्जेलो । त्यति बेलासम्म उपत्यकाका सबै मल्ल राज्यले भारतमा आधिपत्य जमाउँदै गएको बेलायती उपनिवेशको आर्थिक तथा संस्कृतिक आकांक्षालाई आआफ्ना सरहदभित्रबाट टेवा पुर्‍याउने नीति लिएका थिए ।

फलतः इसाई पादरीहरूले निर्विघ्न रूपमा काठमाडौंमै धर्मान्तरण गराउने छुट पाएका थिए । उनीहरूले नेवार समुदायमा इसाई मतावलम्बीको एउटा सानो समूह नै तयार पारिसकेका थिए ।

त्यत्तिकैमा गोरखाले काठमाडौंमा हमला गर्‍यो । काठमाडौंको सेना गोरखाविरुद्ध टिक्न नसक्ने अवस्था आयो । त्यही बेला ‘इस्ट इन्डिया कम्पनी'ले कलकत्ताबाट बेलायतको ‘कोर्ट अफ डाइरेक्टर'लाई एउटा चिठी लेख्यो, जसको आशय यस्तो थियो, ‘धेरै वर्षदेखि बिहार राज्य र नेपालबीच नाफाको व्यापार चलिआएको थियो ।

नेपालबाट हामीले ठूलो मात्रामा सुन र अन्य बहुमूल्य सामग्री आयात गरिरहेका थियौं । अहिले काठमाडौंका नेवार राजा गद्दीच्यूत छन् र काठमाडौंभित्रै बन्दीजस्तै बनाइएका छन् । व्यापार निरन्तर ओरालो लागिरहेको बेला गोरखा काठमाडौंसम्म आइपुगेपछि हाम्रो व्यापार अवरुद्ध हुन पुगेको छ ।' (नगेन्द्र कु. सिंह, नेपाल एन्ड द ब्रिटिस इन्डिया, पृ. ८९)

पृथ्वीनारायणले स्थायी रूपमै काठमाडौं उपत्यकामा शासन सञ्चालन गरे नेपालमार्फत बेलायतले गर्ने अन्तरहिमाल व्यापारमा धक्का लाग्ने निष्कर्ष निकाल्दै यस्तो अवस्था आउन नदिन बेलायतले दुईवटा योजना बुनेको थियो ।

पहिलो, गोरखा र काठमाडौंबीच युद्ध चलिरहेका बेला जयप्रकाश मल्लको पक्षमा लड्न बेलायती फौज पठाएर गोरखालाई काठमाडौंबाट धपाउने । बेलायती फौजलाई यस मिसनमा सघाउन नेपालमा रहेका पादरीहरूलाई प्रयोग गर्ने ।

अन्ततः पादरीद्वय जिसेप्पी र माइकल एन्जेलोको गुप्त सहयोगमा जयप्रकाश मल्लको सहयोगार्थ इस्ट इन्डिया कम्पनीले क्याप्टेन किनलकको नेतृत्वमा एउटा सैन्य टोली नेपाल पठायो । यसको भेउ पाएपछि पृथ्वीनारायणले काठमाडौंमा केन्द्रित आफ्ना फौजलाई बेलायती फौजविरुद्ध लड्न सीमाक्षेत्रमा खटाए । सिन्धुलीगढीमा दुई फौजविरुद्ध भीषण लडाइँ भयो । युद्धमा किनलक पराजित भएपछि कम्पनी सरकारको पहिलो योजना तुहिन पुग्यो ।

पृथ्वीनारायणले काठमाडौं उपत्यकामाथि विजय हासिल गरे । यसबाट तिलमिलाएको कम्पनी सरकार पृथ्वीनारायणलाई काठमाडौंबाट धपाउने दोस्रो योजनामा अग्रसर भयो ।

दोस्रो योजना थियो- काठमाडौंका नेवार समुदायलाई गोरखाली शासकविरुद्ध विद्रोह गराउने । र, विद्रोहको आधार तयार गर्न पादरीद्वय र क्रिस्चियन धर्म अँगालेका नेवारलाई प्रयोग गर्ने (सिंह, ८९) । यसको भेउ पाएपछि पृथ्वीनारायणले काठमाडौंमा रहेका इसाई पादरी र उनीहरूका चेलाचपेटाबाट आफ्नो राजनीतिक आकांक्षामा ठेस लाग्नसक्ने देखे । फलतः दुई पादरीसहित ६२ क्रिस्चियन नेवार (५७ लेख्ने पनि छन्)लाई उनले देशबाट निकालिदिए ।

देश निकालामा पर्नेमध्येका पादरी जिसेप्पीले पृथ्वीनारायणविरुद्ध विषवमन गर्दै बेलायतबाट प्रकाशित हुने ‘एसियाटिक जर्नल'मा ‘एन एकाउन्ट अफ द किङडम अफ नेपाल' शीर्षकको लामो लेख लेखे । पृथ्वीनारायणलाई खुनीको रूपमा चित्रण गर्दै कुनै पश्चिमाले लेखेको त्यो पहिलो आलेख थियो । नेपालभित्र धर्मप्रचार गर्न नदिई आफूहरूलाई देशनिकाला गरेको रोषमा उनले पृथ्वीनारायणविरुद्ध वमन गरेको विषलाई पछि नेपालमा बेलायतको सैन्य प्रभुत्व सुनिश्चित गर्न नसकेको पीडाले छटपटाएका बेलायती सैनिक तथा प्रशासकहरूले उद्धृत गर्दै थप किताब लेखे ।

त्यस्ता कुण्ठाग्रस्त लेखकमध्ये एक थिए, कर्णेल कर्कपेट्रिक । बहादुर शाहको पालामा नेपाल र चीनबीच युद्ध हुँदा बहादुर शाहले कम्पनी सरकारसँग सैन्य सहयोग मागे पनि सहयोग गर्न कम्पनी सरकारले अस्वीकार गर्‍यो । तर, चीन र नेपालबीच शान्ति स्थापनाका लागि मध्यस्थता गरिदिन भन्दै उसले कर्णेल कर्कपेट्रिकलाई काठमाडौं पठायो ।

कर्कपेट्रिकलाई काठमाडौं पठाउनुको वास्तविक ध्येय भने अर्कै थियो- काठमाडौंमा कम्पनी सरकारको रेसिडेन्सी स्थापना गर्ने, दरबारभित्रको अन्तरविरोध बुझेर कम्पनी सरकारलाई षड्यन्त्र बुन्न सहयोग गर्ने, नेपालको भौगोलिक तथा फौजी सामथ्र्य बुझ्ने, नेपालमा रहेका बहुमूल्य प्राकृतिक संसाधनको उपलब्धताबारे जानकारी हासिल गर्ने आदि ।

कर्कपेट्रिक काठमाडौं आइनपुग्दै नेपाल र चीनबीच युद्ध समाप्त भयो । काठमाडौं बसाइ लम्ब्याउन चाहेका कर्कपेट्रिकलाई काठमाडौं दरबारले प्रोत्साहन नगरेपछि उनले कलकत्तास्थित कम्पनी सरकारलाई पत्राचार गरे, ‘काठमाडौं दरबारमा मेरो रेसिडेन्सी रहन नसक्ने निश्चित छ । अब कुन अवस्थामा मैले मेरो मिसन समाप्त गरूँ, कृपया सुझाव पाऊँ ।'

काठमाडौंबाट खाली हात फर्किन बाध्य बनाइएका कर्कपेट्रिकले पछि गएर ‘एन एकाउन्ट अफ द किङ्डम अफ नेपाल' शीर्षकको किताब लेखे, जसमा उनले काठमाडौंका शासक र उनीहरूका पुर्खा पृथ्वीनारायणविरुद्ध विषमन गरे । यसका लागि उनले पादरी जिसेप्पीको नेपालसम्बन्धी आलेखबाट पनि सहयोग लिए ।

कर्कपेट्रिकको शैलीलाई पछ्याउँदै नेपालको संस्थापन र पृथ्वीनारायणविरुद्ध विषवमन गर्ने अर्का पात्र हुन्, काठमाडौंस्थित बेलायती रेसिडेन्ट ब्रायन हड्सन । सन् १८८३ ताका अफगान युद्धमा बेलायत नराम्रोसँग फँसेको मौका छोपी पाँडे खलकको प्रोत्साहनमा काठमाडौं दरबारले तेहरान, लाहोरलगायत बेलायतका शत्रुराष्ट्रमा बेलायतविरुद्ध संयुक्त सैन्य मोर्चा गठनको प्रस्ताव राख्दै पठाएको मिसनप्रति रुष्ट भएर हड्सनले लेखेका किताब, पत्राचार आदिमा पनि पृथ्वीनारायण र गोरखालीलाई तथानाम भनिएको छ ।

पृथ्वीनारायण र उनका सन्ततीका कारण बेलायतको उपनिवेशवादी ध्येयमा धक्का लागेपछि क्रुद्ध भएका बेलायती सैनिक र प्रशासकले आफ्ना किताब र पत्राचारमार्फत पृथ्वीनारायण र उनले निर्माण गरेको राष्ट्र नेपालविरुद्ध चरम रोष व्यक्त गरेका छन् । अफसोच, नेपालप्रति दुर्नियत राख्ने ती फिरंगीका लेखाइहरू त्यस बखतको नेपाली इतिहासका मूल दस्तावेज बन्न पुगेका छन् ।

नेपालीलाई धर्मनिरपेक्षता सिकाउने पश्चिमीहरू लेख्दैछन्- नेवार इसाईहरूलाई देश निकाला गर्ने पृथ्वीनारायण हिन्दुइतरका धर्मावलम्बीप्रति हदैसम्म असहिष्णु हिन्दु धर्मान्ध थिए । तर, उनीहरू लेख्दैनन्- धार्मिक ध्येयबाट प्रेरित भएर पृथ्वीनारायणले नेवार इसाईहरूलाई देश निकाला गरेका थिएनन् ।

गोरखाली सत्तालाई काठमाडौं उपत्यकाबाट मिल्काउने बेलायती योजना कार्यान्वयन गराउन इसाई पादरी र उनीहरूका नेवार चेलाचपेटा अग्रसर भएको बुझेपछि मात्रै पृथ्वीनारायणले सबैलाई देशनिकाला गरेका थिए । नत्र त्यसअघि पृथ्वीनारायण काठमाडौंको राजा भइसकेपछि पनि उनीहरूले काठमाडौंमा रहेर इसाई धर्म पालन गरिरहेका थिए ।

पृथ्वीनारायणका कान्छा भाइ सुरप्रतापले कीर्तिपुर युद्धका क्रममा फुटेको आफ्नो आँखाको उपचार चिकित्सकसमेत रहेका पादरी माइकल एन्जेलोबाट गराएका थिए ।

काठमाडौंका इसाईहरूले धार्मिक सीमा नाघेर गोरखाको शत्रु पक्षसँग गठजोड गरेपछि मात्रै नेपालमा रहने उनीहरूको दिन समाप्त हुन पुगेको थियो । तर, अहिलेका पश्चिमी क्रिस्चियनहरूको कुरै छोडौं, भारतका नेपाली भक्तहरू पनि ‘पृथ्वीनारायणले नेवारहरूलाई देशनिकाला गरे' भन्दै रुवाबासी गर्छन् ।

अर्कोतर्फ उनीहरूका आराध्यदेव जवाहरलाल नेहरूले सबाब उद्दिनदेखि गज्नीका महमुदसम्मले भारतका मठमन्दिर, बौद्धगुम्बा भत्काएको र इतर धर्मका मानिस मारेको एतिहासिक तथ्यलाई पनि ‘यो मुस्लिमले हिन्दु मारेको होइन, बाहिरको एउटा विजेताले विजित क्षेत्रका मानिसको आत्मविश्वासलाई धराशयी पारेको हो' भनेको तथ्यलाई नेपाली सन्दर्भमा वास्तै गर्दैनन् (ग्लिम्सेज अफ वल्र्ड हिस्ट्री, पृ १८० र २४२) ।

जब कि पृथ्वीनारायणले नेपालबाट निकालेको समुदाय इसाईमात्र थिएन । मल्लकालमा भारत र तिब्बतबीचको व्यापारमा काश्मीरी मुस्लिम र गोसाईं (पशुपतिको जात्रा, सिद्राको व्यापार गर्ने हिन्दु व्यापारी) पनि संलग्न हुने गर्थे ।

काठमाडौंमा पृथ्वीनारायणको नियन्त्रणपछि भारत-तिब्बत व्यापारमा विराम लाग्ने देखेपछि किनलक नेतृत्वको फौजलाई सघाएको आशंकामा पृथ्वीनारायणले उनीहरूलाई पनि कारबाही गरेका थिए । इसाईसँगै गोसाईंहरूलाई पनि देश निकाला गरिएको थियो । काश्मीरी मुस्लिमहरूलाई चाहिँ देश निकाला नगरी उनीहरूका व्यापारिक केन्द्रहरूमाथि अनेक खालको प्रतिबन्ध लगाइएको थियो (लियो ई रोज, नेपालः स्ट्राटेजी फर सर्भाइभल, पृ. २५) ।

पृथ्वीनारायणविरुद्ध त्यति बेलाका बेलायतीहरू क्रुद्ध हुनुका अन्य कारण पनि थिए । भारत र तिब्बतबीचको व्यापारमा भारतस्थित कम्पनी सरकारको मुख्य आकर्षण थियो । काठमाडौं हुँदै तिब्बत जाने नाका सहज भएकाले र काठमाडौंमा आफू अनुकूलका मल्ल राजाहरू भएकाले कम्पनी सरकारलाई हाइसन्चो थियो ।

पूरै उपत्यका विजय गर्ने गरी पृथ्वीनारायणको विजययात्रा अघि बढेपछि र गोरखाली सत्तालाई काठमाठौंबाट च्यूत गर्ने सबै प्रयत्न असफल भएपछि कलकत्तास्थित गभर्नरले आफ्ना प्रतिनिधि जेम्स लोगानलाई १७६९/७० तिर दुईवटा चिठी थमाएर नेपाल पठाए । त्यति बेलासम्म काठमाडौंमा युद्ध पूर्ण रूपमा अन्त्य भइनसकेकाले उनले एउटा चिठी पृथ्वीनारायण र अर्को चिठी जयप्रकाश मल्लको नाममा लेखेका थिए । युद्धमा विजयी हुने पक्षलाई उसको नामको चिठी दिनू भन्ने उर्दी लोगानलाई दिइएको थियो ।

लोगान काठमाडौं पुग्दा गोरखा विजयी भइसकेको थियो । लोगानले पृथ्वीनारायणलाई गभर्नरको चिठी दिए । चिठीमा उल्लेख गरिएको नेपालमार्फत कम्पनी सरकारले तिब्बतसँग व्यापार गर्नेसम्बन्धी प्रस्तावलाई पृथ्वीनारायणले अस्वीकार गरिदिए (रोज, पृ. २९) ।

पृथ्वीनारायणलाई गभर्नरले दोस्रो चिठी लेखे । चिठीमा ‘हजुरको सौर्यसम्बन्धी कीर्ति सबैतिरबाट सुन्नमा आएको छ, त्यही भएर हजुरसँग मित्रता गर्न बेलायत आतुर छ' भन्दै पृथ्वीनारायणलाई फुक्र्याउन खोजिएको थियो । साथै ‘जयप्रकाशलाई सहयोग गरेर विगतमा हामीले गल्ती गरेछौं, गल्ती महसुस हुनेबित्तिकै हामीले आफूलाई सुधारिहाल्यौं' भनेर माफी पनि मागिएको थियो (सिंह, पृ. ८१) । तर, विनय र अनुग्रहका यस्ता चिल्ला शब्दले पृथ्वीनारायणलाई पगाल्न सकेन । कम्पनी सरकारको प्रस्तावलाई उनले फेरि पनि अस्वीकार गरे ।

पृथ्वीनारायणलाई सहमत गराउन नसकेपछि बेलायतलाई काठमाडौंइतरका वैकल्पिक मार्गबाट मात्रै तिब्बतसँग व्यापार गर्न सम्भव छ भन्ने महसुस भयो । त्यसपछि उसले मोरङमाथिको पहाडी क्षेत्र र टिष्टा नदीबीचको नाकामार्फत तिब्बतसँग व्यापार गर्ने सोच बनायो ।

नाका पर्ने राज्यमा आफू अनुकूलको सरकार गठन गर्न देशनिकालामा परेका मोरङ क्षेत्रका राजासँग बेलायतले सम्पर्क बढायो । त्यत्तिकैमा पृथ्वीनारायणले मोरङ र दार्जिलिङलाई नेपालअन्तर्गत ल्याएपछि बेलायतको यो योजना पनि तुहिन पुग्यो ।

त्यसपछि बेलायतले भुटानमार्फत तिब्बतसँग व्यापार गर्ने अर्को योजना बनायो । त्यति बेला भुटानले कुच बिहारसँग युद्ध गर्ने बहाना खोजिरहेको थियो । कुच बिहारका राजालाई भुटानविरुद्ध गरिने सैन्य कारबाहीमा सहयोग गर्ने आश्वासन बेलायतले दियो । भुटानले कुच बिहारमाथि गर्ने दखलको परिणामबारे जानकार पृथ्वीनारायणले भुटानी राजालाई चिठी लेखेर बेलायतसँग आमनेसामने हुने गरी कुच बिहारमा दखल नगर्न सुझाव दिए ।

तर युद्धमा भुटान पराजित भइसकेपछि मात्रै पृथ्वीनारायणको सन्देश भुटान पुग्यो (रोज, पृ. ३०) । पृथ्वीनारायणको सन्देश सुरुमै पुगेको भए र भुटानी राजाले यसलाई शिरोपर गरेको भए हिमाली क्षेत्रमा दह्रो पाइला राख्ने बेलायती ध्येयमा विराम लाग्ने थियो । दक्षिण एसियाको हिमाली क्षेत्रमा पकड जमाउने बेलायती आकांक्षामा यसरी एकपछि अर्को झड्का दिने पृथ्वीनारायणबारे त्यसताका र त्यसपछिका बेलायती प्रशासक तथा सैन्य अधिकारीले विषवमन गर्नु स्वाभाविक पनि थियो ।

त्यति बेला गरेको विषवमनलाई पश्चिमले अझै निरन्तरता दिइरहेछ । झट्ट हेर्दा यो अस्वाभाविक देखिन्छ । तर, अन्तर्य खोतल्दा पृथ्वीनारायणमाथि पश्चिमको प्रहारमा ध्वंसात्मक उद्देश्यमुखी संगती भेटिन्छ ।

सन् १४९२ मा अमेरिका पत्ता लगाउन हिँड्नुअघि क्रिस्टोफर कोलम्बसले भनेका थिए, ‘इस्लाम र सबैखाले मूर्तिपुजक तथा शास्त्रविरोधीका शत्रु युरोपका क्याथोलिक राजाहरूले मलाई नयाँ ठाउँका राजा, त्यहाँका जनता, त्यहाँको भूभि र तिनीहरूको मनस्थिति बुझेर तिनीहरूलाई हाम्रो पवित्र आस्था ग्रहण गर्ने गरी धर्म परिवर्तन गराउन पठाइबक्सनुभएको छ (द वल्र्ड इज फ्ल्याट, थोमस एल फ्रायडम्यान, पृ. ३) ।' अर्थात्, पश्चिमको आरम्भका ट्रान्सओसिएनिक अग्रसरतापछाडि धार्मिक अभीष्ट निहित थियो । यसलाई संयोग मान्नु हुँदैन- नेपाल छिर्ने पहिला पश्चिमी पनि क्रिस्चियन मिसनरी थिए र ती तिब्बततिरबाट छिरेका थिए ।

हिमाली क्षेत्रमा पकड जमाउन प्रयत्नरत बेलायतले तिब्बतसँग सम्बन्ध बढाउन खोजेपछि पृथ्वीनारायणले दलाई लामाका प्रतिनिधिलाई एउटा आदेशात्मक चिठी लेखेका थिए, जसको एक अंश यस्तो थियो, ‘म तिब्बतसँग लडाइँ गर्न चाहदिनँ, तर तिब्बत चाहन्छ भने यसका लागि म तत्पर छु भन्नेचाहिँ प्रस्ट पार्न चाहन्छु । तिब्बतले फिरंगी (बेलायती) र मुगलसँग सम्बन्ध नराखोस्, उनीहरूलाई तिब्बतभित्र छिर्न नदेओस् र आफ्नै परम्परागत कुलधर्म अनुसरण गरोस् (सीके मार्खाम, न्यारेटिभ्स अफ द मिसन अफ जर्ज बोगल टु टिबेट एन्ड द जर्नी अफ थोमस म्याजिङ टु ह्लासा, पृ. १५८) ।'

तिब्बतलाई पृथ्वीनारायणको यस्तो सन्देश ‘आफ्नो कुलधर्म नछोड्नू' भन्ने उनको ‘दिव्य उपदेश'कै विस्तारित रूप थियो । अर्थात्, उनी नेपालमात्र नभएर एसियाको यो भूखण्डभरि स्थानीय धर्मसंस्कृति प्रवद्र्धन गर्ने पक्षमा थिए । र, यसरी उनी यस भेगको इसाईकरणविरुद्ध बलियो अवरोधक बन्न पुगेका थिए ।

पृथ्वीनारायणले भारतबाट तीनजना मुसलमान कालीगढलाई नेपाल ल्याए । किनलकको हमलालाई सहयोग गरेको भन्दै इसाई र भारतीय हिन्दुलाई सीमा कटाए । यस्तै अभियोग लागेका मुसलमानलाई चाहिँ यतै रहन दिए । भारतीय राष्ट्रिय स्वयंसेवक दल (आरएसएस)को असन्तुष्टि पनि यही छ- पृथ्वीनारायणले मुसलमानलाई जानाजान नेपालमा फैलिन दिए ।

पृथ्वीनारायणको स्थानीय धर्मसंस्कृतिप्रतिको अनुराग र क्रिस्चियनप्रतिको कडा रवैयाका कारण रिसाएका पादरी जिसेप्पीले पृथ्वीनारायणलाई इतिहासमा बदनाम गराउने उद्देश्यले लेखे, ‘नुवाकोटबाट पृथ्वीनारायणले आमाको काखमा नरहेका बालबालिकालगायत सबै कीर्तिपुरेलाई मार्न र उनीहरूको नाक तथा जिब्रो काटेर एकै ठाउँ जम्मा गर्न आदेश दिए ।

र, बर्बरतापूर्वक उनको आदेश कार्यान्वयन गरियो ।' जब कि जिब्रो काट्ने आदेश दिइएको थिएन । र, कीर्तिपुरका सबैको नाक पनि काटिएको थिएन । कीर्तिपुर जितेपछि सुतिरहेका गोर्खाली सैनिकहरूको हत्या गर्ने कीर्तिपुरका केही युवाको मात्र नाक काटिएको थियो (डा. जगमान गुरुङ, नेपालको एकीकरण र राष्ट्रिय एकता, अन्नपूर्ण पोस्ट्, २०७२ चैत ६) ।

अहिले जारी पृथ्वीनारायणमाथिको प्रहार सफल भए यसबाट पश्चिमको दुईवटा उद्देश्य एकसाथ पूरा हुन्छ । पहिलो, नेपाल बनाउने पात्रप्रति घृणा फैलाउन सके भौगोलिक अखण्डताप्रति नेपालीको मोह भंग हुन्छ । दोस्रो, यस भेगमा प्रचलित स्थानीय धर्मसंस्कृति पक्षधरका विराट् विम्बलाई ढाल्नसके इसाई धर्म विस्तारका निम्ति उर्वर भूमि निर्माण हुन्छ ।

नेपालको पुरानो मूल धर्म बोन हो । यो धर्म मासिएमा योसँगै गाँसिएर आउने सैव, बौद्ध धर्मको बज्र्रयान र किरात धर्म पनि नष्ट भएर जान्छन् । त्यही बोन धर्मलाई धर्म परिवर्तनद्वारा योजनाबद्ध रूपमा नेपालमा विनाश गरिँदैछ (सौरभ, गेरुको गन्तव्य, अन्नपूर्ण पोस्ट्, मंसिर २५, २०६३) । पश्चिमले पृथ्वीका अन्य क्षेत्रको स्थानीयनलाई शत्रु देख्छ नै । अमेरिकी नीतिका परामर्शदाताहरू खुलेआम भनिरहेका छन्, ‘जापानको एसियाकरण, नेहरू मतको अन्त्यपछि भारतको हिन्दुकरण र बोरिस येत्सिनको देशको रुसीकरणले पश्चिममाथि चुनौती सिर्जना गरेको छ (स्याम्युअल पि. हन्टिङटन, क्ल्यास अफ सिभिलाइजेसन, फरेन अफेयर्स, १९९३ समर अंक) ।' यसैकारण एसियाको यो भूखण्डमा बाहिरी धर्मसंस्कृतिको प्रवेशलाई बर्जित गरी स्थानीयपन प्रवद्र्धन गर्ने ऐतिहासिक पात्रमाथि सुनियोजित रूपमा प्रहार केन्द्रित गरिँदैछ ।

उपनिवेशकालमा डच, बेलायत र फ्रान्सले उपनिवेश विस्तार गर्न र टिकाउन खटाएका विद्वान्लाई अमेरिकाले उपनिवेशकालको अन्त्यपछि आफ्ना सल्लाहकार बनायो । उपनिवेशवादी मानसिकता बोकेका त्यस्ता सल्लाहकारले पेन्टागन र ह्वाइट हाउस छिरेर ‘ओरियन्ट'प्रतिको अमेरिकी नीतिलाई निर्देश गरे (एडवर्ड सइद, ओरियन्टालिजम, पृ. १६) । र यसरी पृथ्वीनारायणप्रतिको उपनिवेशवादी पश्चिमी दृष्टिकोणले अहिलेको नवउपनिवेशवादी समयमा पनि निरन्तरता पाइरहेको छ । साथै जिसेप्पीका उत्तरआधुनिक मानसपुत्रहरूबाट पृथ्वीनारायणमाथि निरन्तर हमला पनि भइरहेको छ । 

के हो क्रिसमस ?

प्रत्यक बर्ष डिसेम्बर २५ तारिखमा विश्वभरी क्रिसमस मनाइन्छ । येशु ख्रिष्टको जन्मदिनको अवसरमा आज विश्वभरका क्रिश्चियन धर्मालम्बीहरुले क्रिसमस डे मनाउँदै आएका छन् । आज २५ डिसेम्बर अर्थात् क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव । क्रिसमसडेका रुपमा विविध कार्यक्रम गरी मनाइँदैछ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

नेपालमा हजारौं चर्च तथा ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान छ । ०६४ अघिसम्म क्रिसमसडे चर्चमा मात्र सीमित हुने गरेकोमा केही वर्षदेखि सार्वजनिक स्थलमै विविध सांगीतिक कार्यक्रम गरेर मनाउने गरिएको छ ।

क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, बौद्धमा कार्यक्रम हुने गरेको छ । त्यस्तै ललितपुर, भक्तपुर, पोखरालगायत स्थलमा पनि सांगीतिक कार्यक्रम गर्ने गरिएको छ । क्रिसमस ट्रीलगायतका सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ ।

क्रिसमस-जुन दिन जिससको जन्म हुनेवाला थियो । त्यसबेला म्यारी र जोसेफ बेथलेहतिर जाँदै थिए । त्यसबेला बेथलेहम निकै भिड हुन्थ्यो । उनीहरुले बस्ने ठाउँ पाएनन् । त्यसैले त्यस रातका लागि घोडाको तबलामा बसे । त्यही जिससको जन्म भयो । यहि कथालाई आधार मानेर क्रिसमस मनाइन्छ ।

इशाई समूदायमा प्रचलित उत्सव हो । ईशाई अर्थात क्रिसमस डे । तर, अहिले अन्य समुदाय पनि यस पर्वमा रमाउन थालेका छन् । हिँउद महिनाको सुरुवाततिर क्रिसमसको रौनक चढ्छ । यतिबेला पश्चिमा मुलुकमा हिँउ पर्न थालिसकेको हुन्छ । २५ डिसेम्बरमा प्रभु जिसस क्राइस्टको जन्म भएको मानिन्छ । त्यही आधारमा क्रिसमस मनाउने गरिएको बुझाई छ । अर्थात जिससको जन्मदिन ।

यस्तो छ कथा : 

क्रिसमसको कथा आजभन्दा करिब २ हजार बर्षअघिको हो । बाइबलमा उल्लेख भए अनुसार त्यसबेला रोम शासन थियो । रोम शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए ।

जुन दिन जिससको जन्म हुनेवाला थियो । त्यसबेला म्यारी र जोसेफ बेथलेहतिर जाँदै थिए । त्यसबेला बेथलेहम निकै भिड हुन्थ्यो । उनीहरुले बस्ने ठाउँ पाएनन् । त्यसैले त्यस रातका लागि घोडाको तबलामा बसे । त्यही जिससको जन्म भयो । यहि कथालाई आधार मानेर क्रिसमस मनाइन्छ ।

क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन् । यसबेला घर घरमा क्रिसमस ट्रि सजाउने, त्यसमा रंगीचंगी बिजुली बाल्ने, खेलौनाहरु सजाउने जस्ता विधीहरु गरिन्छ ।के पनि भनाई छ भने, शान्त क्लज (जसलाई क्रिसमसको पिता भनिन्छ) यसबेला हरेकको ढोकामा आउँछन् ।

त्यही कारण पनि घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ । यस पर्वको खास विशेषता भनेको क्रिसमस टि्र, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्टभूमीमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ ।

क्रिसमससँग जोडिएको रोचक कथा पश्चिमा समाजमा प्रचलित छ, खासगरी बच्चाहरुका निम्ति । भनिन्छ, शान्त क्लजले आकासमा बसेर बच्चाहरुले गर्ने गतिविधि नियालीरहेको हुन्छ ।

बच्चाले के राम्रो गरेको छ, के नराम्रो गरेको छ, सबै लेखाजोखा गर्छ । अनि सुनको मृगले तानेको रथमा चढेर आकाशको बाटो हुँदै हरेकेका घरघरमा आउँछ । राम्रो काम गर्ने बच्चाका लागि खास उपहार लिएर छाडिदिन्छ ।

संभवत धर्मको माध्यामबाट बच्चाहरुलाई सत्मार्गमा लाग्नका लागि प्रेरित गरिएको हो । क्रिसमसले विश्व अर्थतन्त्रमै प्रभाव पार्छ । बजारको ग्राफ एकाएक आकासिन्छ । पसलमा नयाँ नयाँ सामग्री, खाद्यन्न, लताकपडा, सजावटको सामाग्री, उपहारको खरिद बिक्री हुने गर्छ । अमेरिकामा क्रिसमसको लागि किनमेलको मौसम नै मानिन्छ ।

यस दिनलाई ब्ल्याक फ्राइडे पनि भनिन्छ । यो दिन थ्यांक्स गिभिङसम्म आएर समापन हुन्छ । मनोरञ्जनदेखि ठूलठूला उद्योगले आफ्नो उत्पादनका लागि विशेष मौकाको रुपमा क्रिसमसलाई उपयोग गर्ने गरेका छन् ।

के हो बाइबल ?

बाइबल इसाईहरूको पवित्र किताब हो । धर्मशास्त्रलाई धेरै इसाईहरू यसमा भगवानका पवित्र शब्दहरू रहेको मान्दछन् ।

बाइबलका धेरै नामहरू छन्; कोही पवित्र लेख भन्दछन्, कोही राम्रो किताब मात्र पनि भन्दछन् । यो धेरै बर्ष पहिले हिब्रु, एरमेइक र ग्रीक भाषामा लेखिएको हो । पछि यो अन्य भाषामा पनि अनुवाद गरियो । अहिले यो २००० भन्दा पनि बढी भाषाहरूमा अनुबाद भइसकेको छ ।

पहिले इसाई धर्मशास्त्रलाई पवित्र पुस्तक (ग्रिक भाषामा τὰ βιβλία τὰ ἅγια ता बिब्लिया ता हागिया) भनिन्थ्यो । अनुबाद नगरीकन बिब्लिया भन्ने शब्द अङ्ग्रेजीमा पस्यो । उच्चारणको परिवर्तन भएर, बाइबल भयो । अङ्ग्रेजीबाट नेपालीमा पस्यो ।

वास्तवमा बाइबल धेरै किताबहरूको समिश्रणबाट बनेको छ । यसको पहिलो भागलाई पुरानो नियम भनिन्छ । यसमा चहीं जम्मा ३९ किताबहरूको समिश्रण गरिएको छ, जसले इजरायलीहरूलाई कसरी भगवानले "आफ्ना मान्छेहरू " भनेर भने - भन्ने बारेमा लेखिएको छ । यहुदीहरू पनि यसलाई धर्मशस्त्र मान्दछन् ।

यसको दोस्रो भागलाई नयाँ नियम भनिन्छ । यो २७ किताबहरूको संग्रह हो, जसमध्ये प्रायजसो पहिले पहिले ग्रीक भाषामा लेखिएका थिए । यो किताबको मुख्य भागमा यशुको जीवनको वारेमा लेखिएको छ । यसमा सुसमाचार नाम भएका चार भागहरू छन् । नयाँ नियममा पुराना इसाईहरूले लेखेका चिट्ठीहरू पनि छन्, प्रायजसो पावलद्वारा लेखीएका चिट्ठीहरू छन् ।

बाइबलमा धेरै थरीका किताबहरू छन् । कुनैमा यशुका इतिहास, कुनैमा यशु र यहुदीहरूमा कथाहरू छन् । कुनैमा विद्धानहरूका भनाइहरू छन् । कुनैमा भगवानले आफ्ना मान्छेहरूलाई गर्न भनेका कुराहरू छन् । कुनैमा भगवानको गुनगान भएका भजनहरू छन् । कुनै आकाशवाणीका किताबहरू छन्, जसमा भगवानले आफ्ना छानिएका मान्छेलाई दिएका सन्देशहरू छन् ।

यस्तो छ इतिहास :

इसाई बाइबल विद्वानहरूले बाइबलको विश्वस्तता देखाउनलाई बाइबलका पाण्डुलिपिहरूको “सप्रमाणताको जाँच” लाई प्रमुख आधारशिलाको रूपमा औंल्याउने गरेका छन् । सप्रमाणताको जाँच (Authenticity Test) अनुसार कुनै लेखोटको सकलीपन, मूल हस्तलिखित गुरुकापीबाट उतारिएका प्रतिलिपिहरूको संख्या, मूल गुरुकापी तथा प्रतिलिपिहरूका बीचको समयावधि र प्रतिलिपिहरूका बीचको असङ्गतिको परिमाणको आधारमा निर्धारण गरिन्छ । यस जाँचअनुसार दौंतरी लेखोटहरूको तुलनामा बाइबलको नयाँ नियम सबभन्दा सकली लेखोट ठहर्दछ । हालसम्म नयाँ नियमका २०,००० हस्तलिखित प्रतिलिपिहरू अस्तित्वमा रहेका छन् भने पाण्डुलिपि संख्यामा नयाँ नियमपछि दोस्रो स्थान ओगट्ने होमरको इलियदको मात्र ६४३ प्रतिलिपिहरू छन् ।

अझ, नयाँ नियम पाण्डुलिपिहरूमध्ये सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचना गरिएको समयको अत्यन्तै नजिकका छन् । साथै पाण्डुलिपिहरूबीच मात्र २% भिन्नता रहेको पाइन्छ जुनचाहिँ अधिकांशरूपमा हिज्जे र बिराम चिन्ह (punctuation) जस्ता सामान्य कुरामा सीमित छन्! पाण्डुलिपिहरूबीचको कुनै पनि अन्तरले इसाई विश्वासको एउटै पनि आधारभूत बुँदालाई फेरफार गर्दैन । यसैकारण ब्रिटिश म्युजियम (सङ्ग्रहालय) का भूतपूर्व निर्देशक तथा नयाँ नियम लेखोटका विद्वान, सर फ्रेडरिक जी केन्यनले यसरी भनेका छन्:

मौलिक रचना र त्यसको सबभन्दा पुरानो प्रमाणका मितिहरूबीचको समयावधि यति सानो छ कि त्यो वास्तवमै नगण्य छ जसको कारण पवित्र शास्त्र हामीकहाँ दुरुस्तै आइपुगेको छ भन्ने तथ्यमाथि उठ्न सक्ने शंकाको रहलपहल अंश समेत अब हटिसकेको छ । नयाँ नियमका पुस्तकहरूको सप्रमाणता र साँचोपना (integrity) दुवै अपरिवर्तनीयरूपमा स्थापित भएको मान्न सकिन्छ ।

तसर्थ, सप्रमाणताको जाँचले बाइबलको नयाँ नियमलाई प्राचीन उत्कृष्ट साहित्यमा सबभन्दा विश्वसनीय लेखोटको रूपमा रहेको प्रमाण दिन्छ! तर अन्य प्रतिष्ठित साहित्यको पाण्डुलिपिहरूलाई हेर्दा उल्लेखनीय अन्तर पाउँदछौं । उदाहरणको लागि, ट्यासीटसको एनल्स (Tacitus’s Annals) को सबभन्दा पुरानो प्रतिलिप त्यसको मौलिक रचनाभन्दा १,००० वर्ष पछिको छ अनि जम्मा प्रतिलिपिहरू संख्यामा आज २० ओटा मात्र छन् ।

त्यस्तै गरी सुटोनीयसको द ट्वेल्भ सिजर्स (Suetonius’s The Twelve Ceasars) को सबभन्दा पुरानो प्रतिलिपि त्यसको मौलिक रचनाभन्दा ८०० वर्ष पछिको छ अनि प्रतिलिपिहरू संख्यामा जम्मा ८ ओटा मात्र छन् । तुलनामा नयाँ नियमका सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचनाको ५० वर्षभित्रै लेखिए अनि पाण्डुलिपिहरूको जम्मा संख्या आज झण्डै २४,००० पुगिसकेको छ ।

होलि वाईन काण्ड के हो ?

क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टका अधुरा काम पूरा गर्न आएको र जिससले समेत गर्न नसकेको ‘पवित्र बिहे’ गरेर नयाँ युग सुरु गरेको दाबी गर्ने भन्दै सन म्युङ मुनले युनिफिकेसन चर्च स्थापना गरे। यही चर्चसँग आवद्ध विवादास्पद एनजिओले गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चा माताले आशिर्वाद दिँदै एक लाख डलर राशीको ‘लिडरसीप एण्ड गुड गर्भनेन्स’ अवार्ड प्रदान दिइन्।

युनिफिकेशन चर्चका संस्थापक मुनले सन् २००५ मा ‘युनिभर्सल पिस फेडेरेसन (युपीएफ)’ नामको संस्था बनाए जुन विवादास्पद आइएनजिओ हो।

कम्युनिस्टका कट्टर आलोचक, स्वघोषित मसिहा र अत्यन्तै विवादित व्यक्ति सन म्युङ मुनको सन् २०१२ मा निधन भयो। उनको निधनपछि उनकी श्रीमती हक जा हान मुन ‘म्याडम डाक्टर मुन’ले युनिफिकेशन चर्च र युपीएफको नेतृत्व गर्दै आएकी छिन्।

‘जिसस क्राइस्टले आफ्ना अधुरा काम गर्न मलाई खटाएको हो,’ भन्ने दाबी गर्ने मुनले आफ्ना अनुयायीहरुको जीवन सार्थी चुन्ने अधिकार आफूले राखेका थिए। उनको आर्शिवादविना विवाह सम्पन्न नहुने प्रचलन छ। विवाह पनि उनीहरुको अनुमतिविना हुँदैन। मुन ‘म्याचिङ’ विना विवाहसमेत हुन सक्दैन। उनले भने अनुसारको जोडीले बिहे गरेमात्र पापमुक्त रगतको नाता तयार हुन्छ भन्ने दावी उनको थियो।

विवाह गरे हुन्छ भनेर मुनले अनुमति दिएपछि के के गर्नुपर्ने भन्नेबारे मुनको युनिफिकेसन चर्चको निर्देशन छ। जसमध्ये एउटामा नवविवाहित दम्पतीले सबैभन्दा पहिला ब्याटले एक अर्कालाई हान्नुपर्ने र त्यसपछि मुनको चित्र अगाडि निर्देशन दिइएका आसनमा बसेर तीन दिनसम्म यौन सम्पर्क गर्नुपर्ने उल्लेख छ।

कसैले विवाह गरिसकेका छन् भने पनि उनीहरुले मुनसँग आर्शिवाद लिएपछि मात्र यो विवाहले मान्यता पाउने प्रावधान आफ्ना अनुयायीहरुलाई लगाइएको छ। युनिर्भसल चर्चले आयोजना गर्ने हरेक कार्यक्रमको मुख्य पाटो भनेको ‘सच्चा आमाको आर्शिवाद’ हो।

यसका हरेक कार्यक्रममा विवाह हुनु वा विवाह गरिसकेका जोडीलाई ‘होली वाइन’ खुवाएर आर्शिवाद दिनु हो। ‘होली वाइन’ खाएर सच्चा आमाको आर्शिवाद लिएपछि उनीहरु पापमुक्त हुन्छन् र यसरी पापमुक्त भएका जोडीबाट जन्मेका सन्तान असल र शान्तिका अग्रदुत हुन्छन् भन्ने विश्वास आफ्ना अनुयायीहरुलाई दिलाइएको छ।

आयोजकले देभरबाट ४ हजार जोडीलाई ‘होली वाइन’ खान निम्तो गरेको थियो। विश्वमा परिवार विखण्डन भइरहेका बेला आर्शिवाद दिएर नेपाली परिवारलाई विखण्डनबाट जोगाउनका लागि आर्शिवाद दिइएको आयोजक संस्था युपीएका नेपाल अध्यक्ष एक नाथ ढकालले दाबी गरे।

आर्शिवाद थाप्न र ‘होली वाइन’ खानका लागि देशैभरका मेयर र उपमेयरका जोडीलाई निम्तो दिइएको थियो। जसमध्ये १५ सय उच्च पदस्त अधिकारीका जोडी रहने बताइएको थियो जसमा प्रधानमन्त्री ओली र उनकी धर्मपत्नीसमेत रहने बताइएको थियो। तर, अन्तिम समयमा ओलीले ‘आर्शिवाद’ त लिएनन् तर ‘सच्चा आमा’को हातबाट लाख डलरको पुरस्कार थापे।

कार्यक्रममा ८ जोडी जनप्रतिनिधिहरु मञ्चमा पुगेर आर्शिवाद लिए भने सयौँ सर्वसाधरण आफ्नो स्थानबाट आर्शिवाद थापे।

यसरी ‘सच्चा माताको आर्शिवाद’ दिन अगाडि सबैलाई ‘पवित्र जल’ खुवाइयो। जसलाई होली वाइन भनिन्छ। त्यसपछि श्रीमतीलाई अघि सारेर पवित्र जल अभिषेक गरियो। र सबैलाई ‘डक्टर म्याडम मुन’ले आर्शिवाद दिइन। यसरी आर्शिवाद लिनु युनिफिकेशन चर्चमा सामेल हुनु पनि हो।

युनिफिकेसन चर्चले आफ्ना अनुयायीहरुलाई निर्देशन नै बनाएको छ। त्यस निर्देशनको आर्शिवाद तथा आदर्श परिवार खण्डमा वैवाहिक समारोहलाई राखिएको छ। युनिफिकेशन चर्चका अनुयायीहरुका लागि विवाहका तीन चरण उल्लेख छ। ‘इन्गेजमेन्ट’, ‘होली वाइन समारोह’ र विवाह समारोह।

इन्गेजमेन्टको समयमा ‘आदम’ र ‘इभ’लाई राखिएको छ। बाइबलअनुसार सृष्टिका पहिला पुरुष 'आदम' र महिला 'इभ' थिए। 'इभ'ले नखानू भनेको स्याउ टिपेर 'आदम'सित बाँडेर खाएको हुन्छ। त्यही पापमा उनीहरुलाई 'गार्डेन अफ इडन'बाट निष्कासन गरिन्छ।

आफ्ना पाप पखाल्नका लागि ‘होली वाइन’ समारोहमा सरिक हुनुपर्छ भन्ने मान्यता खडा गरिएको छ। यो समारोहमा सरिक नभए आफ्नो पाप पखाल्न सकिँदैन्। यदि यो पाप नपखालिए सच्चा सन्तान प्राप्त गर्न सकिँदैन। यो समारोहलाई ‘सैतान’ (राक्षस) बाट भगवानमा परिवर्तन हुने समारोहको रुपमा लिइएको छ। होली वाइन समारोहमा नयाँ जीवन पद्धती अपनाउने र सच्चा अभिभावक (ट्रु प्यारेन्ट) बन्ने पाटो तर्फ लाग्ने वाचा पनि हो।

‘मलाई जन्म दिने अभिभावक मेरा सच्चा अभिभावक होइनन् र मेरा भाइहरु पनि मेरा सच्चा भाइहरु होइनन्। भगवानले जे चाहेका छन् त्यसलाई प्राप्तिका लागि म पुरानो धरातललाई त्यागेर एउटा नयाँ धरातलमा व्यूझिनु आवश्यक छ। यो हाम्रो विश्वासबाट मात्र आउँदैन्। त्यसका लागि हामीले एउटा प्रतिवद्धता पूरा गर्नुपर्छ। जुन होली वाइन सेरेमोनी हो,’ युनिफिकेशन चर्चको निर्देशनमा भनिएको छ।

होली वाइनमा हरेक बस्तु र तहको प्रतिनिधित्व गर्ने २१ वटा तत्वहरु समावेश गरिएका हुन्छ। 'अभिभावकको मायाको सांकेतिक तत्वहरु समावेश हुन्छन्। त्यस्तै रगतको संकेतसमेत भएको केही बस्तु हुन्छ। जब तपाईँले यसलाई पिउनुहुन्छ। तपाई तपाईँ आफ्ना अभिभावकको माया र अभिभावकको रगतसँगै एक शरीर हुन सक्नुहुन्छ,' निर्देशनमा भनिएको छ, ‘होली वाइनमा पृथ्वी, समुन्द्र र स्वर्गको सांकेतिक तत्वका साथै सम्पूण जगतको सांकेतिक तत्व समावेश हुन्छ।'

होली वाइनमा तीन प्रकारका रक्सी हुन्छन्। यसभित्र सबै तत्वको सांकेतिक बस्तुहरु समावेश हुन्छन्। यो पिउनका तत्विक अर्थ शरीरसँगै आत्ममा पनि जन्म लिनु हो।

जो व्यक्तिले होलीवाइन पिउन अस्वीकार गर्छ त्यो व्यक्ति राक्षसभन्दा पनि खतरनाक स्थानमा पुग्ने दाबी गरिएको छ। ‘होली वाइन’मा अभिभावकको मासु र रगत पनि मिसाइएको भनेर दाबी युनिफिकेशन चर्चको निर्देशनमा भनिएको छ। त्यस्तै ‘होली वाइन’ ‘वाइन अफ लव’, ‘वाइन अफ हेभन’ र ‘आमाको दूध’को रुपमा पनि प्रस्तुत गरिएको छ।

नेपालमा कसले दिन्छ आर्शिवाद?

युनिफिकेशन चर्च र विवादित आइएनजिओ युपिएफमा आवद्ध सबैले विवाह अगाडि यो होली वाइन खानै पर्छ। नेपालमा पनि यसको शाखा छ। यो चर्चसँग आवद्ध नेपालीहरुले पनि अरुले जस्तै आफू खुसी विवाह गर्न पाउँदैनन्। युनिफिकेशन चर्चमा आवद्ध सबैले विवाहपूर्व आफ्ना ‘लिडर’ले म्याचिङ गरेपछि मात्र विवाह गर्न पाउँछन्। पहिला विवाहका लागि म्याचिङको काम मुनले नै गर्दै आएका थिए।

शाखा विस्तार र संगठन ठूलो हुँदै गए पनि यो काम मुनले मात्र नभ्याएपछि ‘लिडर’ बनाइए। नेपालमा दुई जना लिडरहरु छन्। एक हुन पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता एक नाथ ढकाल र अर्का सन्तोष पौडेल। नेपालमा युनिफिकेशन चर्चमा आवद्धहरुको जोडी यी दुई जनाले म्याचिङ गर्दै आएका छन्।

उनीहरुले म्याचिङ गरिदिएपछि विवाहित जोडीलाई व्लेसिङ पनि यिनीहरुले नै दिन्छन्। उनीहरुले म्याचिङ नगरी विवाह भए पनि यसलाई मान्यता दिइँदैन।  (विभिन्न पत्रपत्रिकाबाट साभार) ! 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...