annapurna add

Rabilamichaneमहेन्द्रनगर । मंगलबार महेन्द्रनगरस्थित कञ्चनपुर जिल्ला अदालतको गेटबाट ‘सीधा कुरा जनतासँग’ प्रत्यक्ष प्रशारण गर्दा प्रस्तोता रवि लामिछाने पसिनाले निथु्रक्क थिए । महेन्द्रनगरको उखरमाउलो गर्मीले पसिना आउनु नौलो कुरा थिएन तर तुलनात्मक रुपमा चिसो दिनमा पनि उनी पसिनाले खल्खल् नुहाइरहेका थिए । हतास देखिएका उनले स्वीकार पनि गरे, ‘महेन्द्रनगरको गर्मीभन्दा मलाई अली ज्यादै पसिना आइरहेको छ ।’

स्वाभाविकभन्दा धेरै पसिना आउनु पनि स्वाभाविक थियो किनभने उनी आफ्नो टेलिभिजन कार्यक्रम प्रस्तोताको करिअरमा अहिलेसम्मकै विवादास्पद मुद्दामा फेरि एक पटक बोल्दै थिए, त्यो पनि निर्मलाको जन्मथलोमैं । निर्मला प्रकरणमा नेपाल प्रहरीबाट परिचालित भएको आरोप खेप्दै आएका लामिछानेले अतिरिक्त पसिनामा डुबेर चलाइरहेको कार्यक्रम छापामार शैलीको पनि थियो, त्यसैले उनी हतास पनि देखिएका हुनुपर्छ ।

देश दौडाहाको अन्तिम अंकका रुपमा मंगलबार कञ्चनपुर जिल्ला अदालतकै ढोकामा शरण परेर कार्यक्रम चलाउनु रविको बाध्यता पनि थियो । उनको महेन्द्रनगर यात्रा नै छापामार शैलीको थियो । कहाँ बस्ने, कार्यक्रम कहाँबाट गर्ने र कार्यक्रमका विषयवस्तु के हुने भन्ने उनले गोप्य राखेका थिए ।

न्यूज–२४ को धनगढी ब्यूरोका प्रमुख हिक्मत रावलले मंगलबार बिहान मात्रै छामिछाने महेन्द्रनगर आइपुगेको फेसबुकमार्फत् जानकारी दिए । रविको टोली सोमबार साँझ नै महेन्द्रनगर आइपुगेको थियो तर बासस्थानका बारेमा उनको टेलिभिजनका स्थानीय सम्वाददातालाई समेत थाहा थिएन । धेरैको अपेक्षाभन्दा फरक उनको टोली महेन्द्रनगरका नाम चलेका होटलमा बसेन, एकदमै नयाँ र पार्किङको पनि व्यवस्था नभएको होटलमा बस्यो ।

महेन्द्रनगर आइपुगेपछि रवि लामिछानेको सेवा सत्कारमा धेरै मान्छे देखिएनन्, एकदुई जना त्यो पनि निर्मलाको हत्या प्रकरणमा सोझै नाम जोडिएका मान्छेले उनको खातिरदारी गरे ।

मंगलबार बिहान हिक्मत रावलले फेसबुकमै कार्यक्रमस्थल र कार्यक्रममा प्रस्तुत हुने विषय सार्वजनिक गरे । कार्यक्रम स्थल थियो – होटल न्यू आनन्द जहाँ टोली अघिल्लो रात बसेको थिएन । कार्यक्रमका विषयमा निर्मला प्रकरण थिएन । बेलौरीमा भारतीय अतिक्रमण, वैज्ञानिक वन र महेन्द्रनगरको रिजर्भ एरियामा लिज माफियाको कब्जा तीन विषयमा मात्रै कार्यक्रम केन्द्रीत हुने उल्लेख गरियो । रावलले बिहान १० देखि १२ बजेसम्म होट न्यू आनन्दमा भेटघाट गर्न सकिने पनि फेसबुकमा लेखे ।

तर, घटनाक्रम रावलले फेसबुकमा लेखेको भन्दा फरक रह्यो । भेटघाटको समय तोकिए पनि टोली बेलौरी हिंड्यो । साँझ न्यूआनन्दबाटै प्रत्यक्ष प्रसारण गर्ने भनियो तर अचानक अदालतको गेटबाट सुरु भयो । र, कार्यक्रमको सूचिमैं नरहेको निर्मला प्रकरण प्रमुख विषय बन्यो ।

किन छापामार शैली अपनाइयो ?

रवि लामिछानेलाई आफू निर्मला प्रकरणमा प्रहरी प्रभावमा रहेको बोध हुनु र महेन्द्रनगरको जनमत प्रतिकूल रहेको थाहा पाउनु नै असिनपनि भएर छापामार शैलीमा कार्यक्रम गर्नुपरेको महेन्द्रनगरमा चर्चा छ ।

उनको टोलीले महेन्द्रनगरमा दर्जनौं सर्वसाधारणको भनाई संकलन गरेको थियो । ती सबैले निर्मला प्रकरणमा प्रहरी र सरकार दोषी भएको बताएपछि आफूले चाहेजस्तो ‘बाइट फुटेज’ नै नपाउँदा रवि हतास भएको आकलन गरिंदैछ । अर्कोतर्फ, निर्मला पन्तकी आमा दुर्गादेवीलाई उनकै घरमा भेट्न गएका रवि फर्कँदा खासै उत्साहित थिएनन् । पछिल्लो समय दुर्गादेवीले रविको अभीष्ट पूरा हुने खालका अभिव्यक्ति दिन छाडेको पाएपछि उनी खासै उत्साहित नदेखिएका हुन् ।

उल्टो प्रयासमैं सक्काए कार्यक्रम

रविले तीनजना स्थानीय वासिन्दालाई प्रतिनिधि पात्र भन्दै महेन्द्रनगरका सर्वसाधारण के भन्छन् भन्ने फुटेज देखाए । ती तीनैजनाले सरकारले निर्मला प्रकरण नसुल्झाउने र अहिले जेजति काम भइरहेका छन् सबै ‘ढाकछोप’ गर्ने नियतका साथ भइरहेको प्रष्ट बताएपछि रवि झस्केका हुनुपर्छ । उनले स्थानीय वासिन्दाहरुको मतको कदर नै नगरी जिल्ला अदालतबाट सफाई पाएका आठ प्रहरीको भजन गाए, दिलिपसिंह विष्टलाई हत्यारा करार गरे र न्यायका लागि लडिरहेका महेन्द्रनगरका पत्रकार खेम भण्डारीसहितका व्यक्तिलाई नांगेझार बनाउने आफ्नो पुरानो कोशिस जारी राखे ।

रवि आफैले आफूलाई निर्मला प्रकरणमा परिचालित भएको प्रमाण पनि छोडेर गए । दिलिपसिंह विष्टको खल्तीको टुक्रा प्रमाण बन्न त सक्छ तर दिलिपसिंह फस्ने शर्तमा मात्रै भन्ने आशय व्यक्त गरे । त्यो टुक्रा नक्कली प्रमाण खडा गर्ने प्रहरीविरुद्ध प्रमाण बन्न नसक्ने उनको आशय झल्कन्थ्यो ।

प्रहरीले ३ भदौ २०७५ मा उखुबारीमा सर्टको टुक्रा फेला पारेको थियो । अघिल्लो दिन सादा पोशाकका प्रहरीले दिलिपको घरबाट सर्टको खल्ती च्यातेर ल्याएको हल्ला चलिसकेको थियो । उखुबारीमा पाइएको टुक्रा र दिलिपको सर्टको कपडा मिलेको भन्ने उनले ठोकुवा गरे जबकी प्रहरी प्रवक्ता कुबेरसिंह कडायतले आफूलाई त्यसबारेमा केही जानकारी नभएको बताइरहेका थिए ।

उखुबारीमा पाइएको कपडाको टुक्रा र दिलिपको सर्ट एउटै भएकोले दिलिप नै अपराधी हो भन्ने उनको जोड रह्यो । त्यो टुक्रा उखुबारीमा कहिले खसेको हो वा फालिएको हो भन्नेमा उनले कुरै छेडेनन् । त्यो टुक्रा १० साउनमा उखुबारीमा नखसेको र धेरै पछि फालिएको प्रयोगशाला परीक्षणले देखाए नक्कली प्रमाण तयार गर्ने प्रहरीलाई के हुन्छ भन्ने उनले सोध्नै सकेनन् ।

कार्यक्रमको आधा भाग रविले सफाई पाएका आठ प्रहरीको गुणगान र दिलिपसिंह विष्टलाई अपराधी सावित गर्ने उल्टो प्रयासमैं बिताए ।

लिज माफियाप्रति नरम

रवि लामिछानेको घोषित कार्यक्रम एजेण्डामा रिजर्भ एरियाको लिज प्रकरण रहेपनि उनले त्यो विषयमा झारा टार्ने काम मात्रै गरेनन् कि धेरै हदसम्म लिज माफियालाई नै सफाइदिने कोशिस गरे । सो प्रकरण उठाइदिन सत्तारुढ दलका युवाको टोलीले भेटेरै उनलाई अनुरोध गरेको थियो । तर, उनले फासफुसे कुरा गरेर टुंग्याइदिए ।

महेन्द्रनगर बजारको गुरुयोजनामा रिजर्भ राखिएको झण्डै २० विघा जग्गा लिजका नाममा प्रभावशाली व्यक्तिले हत्याएको प्रकरण हो लिज घोटाला । सो जग्गाको हालको मूल्य २० अर्ब रुपैयाँ अनुमान गरिएको छ । सो जग्गामा भीमदत्तका मेयर सुरेन्द्र विष्टको परिवार र होटेल ओपेरा जस्ता व्यापारिक समूहले कब्जा जमाएका छन् । प्रभावशाली व्यक्तिहरु नै सो काण्डमा संलग्न रहेकाले रविले त्यो प्रकरण फासफुसे तरिकाले उठाएको आक्षेप लगाउन थालिएको छ ।

पुडासैनी विर्सेछन्

कार्यक्रममा रविले फेरि दिलिपसिंह विष्टको उही फुटेज देखाए । अंगुर जिसी निर्मित त्यो फुटेज प्रमाण बन्न नसक्ने प्रष्ट हुँदा पनि उनले त्यही फुटेजलाई प्रमाण सावित गर्न खोजेका छन् । अचम्मको कुरा त के भने भिडियो फुटेज प्रमाण बन्ने भए अहिले रवि आफै जेलको लामो यात्रा गरिरहेका हुन्थे । गत वर्ष पत्रकार शालिकराम पुडासैनीले मर्नुअघि आफैले खिचेको भिडियो अदालतले प्रमाण मानेको थिएन । त्यो भिडियो प्रमाण मानिएको भए रवि आत्महत्या दुरुत्साहनमा जेलभित्र हुने थिए । आफ्नो हकमा भिडियो प्रमाण नबन्ने तर दिलिपको हकमा प्रमाण बन्ने उनको तर्क हाँस्यास्पद मात्रै होइन, निर्लज्जताको पराकाष्ठा पनि हो ।

सशंकित रवि

आफ्नो पुरानो बानीका कारण रविले यसपटक पनि निर्मलाकी आमा दुर्गादेवीलाई नै फेरि क्यामेरामा ल्याए । महेन्द्रनगर पुगेका उनलाई यसपटक निर्मलाका बुवालाई भेटेर कुरा गर्न र कार्यक्रममा स्थान दिन फेसबुकमार्फत् आग्रह पनि गरिएको थियो । तर, यज्ञराज पन्तले महेन्द्रनगरकै जनबोली बोल्ने पक्का थाहा पाएका उनले त्यो कोणलाई कार्यक्रममा समेटेनन् । यज्ञराजलाई स्थान दिए रवि स्वयंकै भण्डाफोड हुने निश्चित भएकाले पनि उनले त्यो पाटो हेर्न नसकेको बुझाई बनेको छ ।

दुर्गादेवीको बोली पनि विस्तारै मत्थर हुँदै गएको छ । उनी अहिले ‘आफूलाई शंका मात्र लागेको’ भन्न थालेकी छन् । त्यही भएर हुनुपर्छ रविले यस पटक दुर्गालाई पनि कर्मकाण्डी स्थान मात्र दिए ।

अघिल्लो दिनको होटल छोडर रवि मंगलबार अर्कै होटलमा सरे । दुई रात फरक–फरक होटलमा उनी किन बसे भन्ने यकिन भन्न नसकिएपनि निर्मला प्रकरणमा उनले आफ्नै भूमिका शंकास्पद ठानेर असुरक्षित महसुस गरेको हुनुपर्छ ।

घोषित कार्यक्रमस्थल अचानक फेर्नुमा पनि उनको त्यही मनोविज्ञान रहेको सजिलै बुझिन्छ ।

निर्मला प्रकरण पनि कार्यक्रमको विषयवस्तु रहेको दुईचार घण्टा अगाडि मात्रै घोषणा गरिएको भए उनको प्रत्यक्ष प्रसारण हेर्न ठूलै भीड उर्लने सम्भावना रहेकोले पनि उनले त्यो विषयवस्तु लुकाएका हुनुपर्छ । मानसखण्डबाट !

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर