1478958692 banner ad format

 
 

काठमाडौं – वैदेशिक रोजगारीमा गएकाहरु व्यक्तिमध्ये ६० प्रतिशतका श्रीमती मानसिक स्वास्थ्य समस्यामा रहेको एक अध्ययन देखाएको छ ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालले १० हजार २ सय २३ जनामा गरेको मनोपरामर्शमा वैदेशिक रोजगारीमा गएकाका व्यक्तिका ६० प्रतिशत श्रीमतीलाई मानसिक समस्या रहेको पाइएको हो । मानसिक समस्या परदेशिक श्रीमतीसँगै आमा र उनीहरुका छोराछोरीलाई पनि देखिएको छ । 

 

वैदेशिक रोजगारीमा जानेका २० प्रतिशत आमाहरुमा र ५ प्रतिशत उनीहरुका बालबालिकालाई पनि मानसिक समस्या रहेको सिएमसी नेपालको तथ्याङ्कमा उल्लेख छ ।  ८ प्रतिशत विदेश जाने व्यक्ति पनि मानसिक समस्यामा रहेको तथ्याङ्कले देखाएको छ ।

वैदेशिक रोजगारीका कारण कडा मानसिक समस्या भन्दा पनि नरम मानसिक समस्या बढी देखिएको छ । वैदेशिक रोजगारीका कारण सानो सानो कुरामा पनि तनावमा आउने ६४ प्रतिशत छन् ।

वैदेशिक रोजगारीमा गएका मध्ये १० दशमलव ४ प्रतिशतले आत्महत्या गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार ४५ लाख भन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीका कारण डिप्रेसन हुनेको संख्या पनि बढ्दो छ । 

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएसी) नेपालका अनुसार १० हजार २ सय २३ जनामा गरिएको मनोमरामर्शमा ७ प्रतिशतले आत्महत्याको प्रयास गरेको पाइएको छ । 

सन् २००९ मा परिवार स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कले १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको पहिलो कारण आत्महत्या रहेको देखाएको छ ।

नेपाल प्रहरीको गएको वर्षको तथ्याङ्कले पनि  ५ हजार १ सय २४ जनाले आत्महत्या गरेको देखाउँछ ।  आत्महत्या गर्ने मध्येमा ९० प्रतिशत भन्दा धेरैमा मानसिक स्वास्थ्य समस्या भएको पाइएको छ । 

सिएमसी नेपालले खोटाङ, रामेछाप, सर्लाही, धनुषा, धादिङ, नवलपरासी, कैलाली, सिन्धुपाल्चोक र नुवाकोट गरी ९ वटा जिल्लामा मलेसिया र खाडीका देशमा रोजगारीमा गएका र उनीहरुका परिवारलाई मानोसमाजिक तथा मानसिक स्वास्थ्य सेवा दिँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार विश्वमा हरेक पाँच जना व्यक्ति मध्येमा १ जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको छ ।

द्धन्द, वैदेशिक रोजगारी, गरिवी, भूकम्प,आन्तरिक बसाइँसराई, प्रविधिको दुरुपयोग लगायत मानसिक स्वास्थ्य समस्याका मुख्य कारण हुन् । मानसिक स्वास्थ्य समस्याका बिरामी दिनहुँ बढेपनि मानसिक स्वास्थ्यलाई अझै पनि रोगको रुपमा नलिइएको डाक्टर सरोज ओझाले बताउनुभयो । 

पुरुषको तुलनामा महिलालाई धेरै मानसिक समस्या हुने गरेको तथ्याङकले देखाएको छ । महिलामा जिम्मेवारी बढी हुने तर सहयोग कम हुनुले पनि पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्या धेरै हुने गरेको वरिष्ठ मनोचिकित्सक डाक्टर कपिलदेव उपाध्यायले बताउनुभयो ।

महिलालाई धेरै मानसिक समस्या भएपनि महिलामा नरम खालको समस्या हुने र पुरुषमा कडा खालको समस्या हुने गरेको उहाँले उहाँले बताउनुभयो ।

मनोचिकित्सकका अनुसार खान मन नलाग्ने, चिन्ता मात्रै लागिरहने, डिप्रेसन आदि समस्या भएका तर परामर्श र उपचारपछि ठिक हुने खालका समस्यालाई सामान्य खाल समस्याको मानसिक समस्या मान्न सकिन्छ भने असामान्य व्यवहार देखाउने खालका मानसिक समस्यालाई कडा खालको मानसिक समस्या भन्न सकिन्छ ।

 मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोण फरक हुने र मानसिक समस्या हुने बित्तिकै सबै सकियो भन्ने धारणले पनि मानिसहरु समस्या लिएर चिकित्सकसम्म पुग्ने गरेका छैनन् ।

८० प्रतिशत मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति उपचारको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood