1478958692 banner ad format

 
 

काठमाडौँ -स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका तेह्रथुमका करिब ८ सय उम्मेदवारमध्ये दुई सय ६० जनाको जमानत जफत भएको छ । जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाबाट निर्वाचित हुने दुई सय २७ पदका लागि सात सय ७२ जनाले मनोनयन दर्ता गराएका थिए ।

Terathum Local level election min

मनोनयन दर्ता गराएका उम्मेदवारहरूले खसेको कुल मतको १० प्रतिशत मत पनि नल्याए धरौटी फिर्ता नहुने जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए । विभिन्न स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिएकाको समेत जमानत जफत भएको छ । विजयी उम्मेदवार र निकटतम प्रतिद्वन्द्वीबाहेक सबैजसोको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । माओवादी केन्द्रका प्रमुख र उपप्रमुखसहित अधिकांश उम्मेदवारहरूको जमानत जफत भएको छ ।

जमानत नजोगाउने दलहरू

नयाँ शक्ति नेपाल, नेकपा माले, मधेसी जनअधिकार फोरम, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमोर्चालगायत दलका सबै उम्मेदवारको जमानत जफत भएको छ । माओवादी केन्द्रले एकल उम्मेदवारी दिएको म्याङलुङ नगरपालिका, मेन्छ्यायेम र छथर गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । लालीगुराँस नगरपालिकामा भने माओवादी केन्द्रका मेयर र उपमेयरका उम्मेदवार जमानत जफत हुनबाट जोगिएका छन् ।

पूर्वविधायिकाकै जमानत जफत

मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी पूर्वविधायिका फुर्वी शेर्पाको जमानत जफत भएको छ । उनी जिल्लाभरमा प्रमुख पदकी एक्ली महिला उम्मेदवार थिइन् । शेर्पाले ४ प्रतिशत मात्रै मत पाएकी थिइन् ।

म्याङलुङबाट मात्रै ८० जनाको जमानत जफत

म्याङलुङ नगरपालिकामा उम्मेदवारी दिएका एक सय ८५ मध्ये सात मेयर र चार उपमेयरका उम्मेदवारसहित ८० जनाको जमानत जफत भएको छ । लालीगुराँस नगरपालिकामा एक सय ४६ जनाले उम्मेदवारी दिएकामा दुई मेयर र एक उपमेयर उम्मेदवारसहित २६ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, आठराई गाउँपालिकामा एक सय २९ को उम्मेदवारी रहेकोमा अध्यक्षका चार र उपाध्यक्षका तीन उम्मेदवारहरूसहित ४६ जना, फेदाप गाउँपालिकामा ८७ को उम्मेदवारी रहेकामा अध्यक्षका तीन र उपाध्यक्षका दुईजना उम्मेदवारहरूसहित ३२ जना र मेन्छ्यायेम गाउँपालिकामा ९९ जनाले उम्मेदवारी दिएकामा अध्यक्ष र उपाध्यक्षका दुई–दुईजना उम्मेदवारहरूसहित ३३ जनाको जमानत जफत भएको निर्वाचन अधिकारी राईले जानकारी दिए । छथर गाउँपालिकामा १ सय २६ जनाले उम्मेदवारी दिएकामध्ये अध्यक्षका ६ र उपाध्यक्षका ३ उम्मेदवारहरूसहित ४३ को जमानत जफत भएको छ । जिल्लामा कुल ६० हजार ७ सय २१ जना मतदातामध्ये ४२ हजार ८ सय ८७ ले मतदान गरेका थिए ।

आफूबाहेक कसैले पत्याएनन् यी उम्मेदवारलाई

जिल्लाका ६ स्थानीय तहका ४३ वडासहित निर्वाचित हुने दुई सय २७ पदमा सात सय ७२ जनाले उम्मेदवारी दिए । तीमध्ये केही यस्ता पनि उम्मेदवारहरू थिए जसले आफ्नोबाहेक कसैको मत पाएनन् । जिल्लाको आठराई गाउँपालिका–४, इवामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्ष पदका उम्मेदवार चन्द्राहाङ सेन्दाङले एक मत मात्रै पाएका छन् ।

यस्तै, म्याङलुङ नगरपालिका–८ का नयाँ शक्तिका वडाध्यक्ष उम्मेदवार मेघबहादुर लिम्बूले पनि एक मत मात्रै पाएका छन् । उनीहरूलाई आफूबाहेक कसैले पनि मतदान गरेनन् । - नया पत्रिकाबाट 

प्रकासित मिति

Loading...

 

yummyfood