annapurna add

thumb455महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित हुने गरेको छ । बेंसीशहर नगरपालिका– ८ फूलबारीमा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दर्ता भएका उजुरीमध्ये ९० प्रतिशत नै मिलापत्रमा मात्र सीमित हुने गरेको पाइएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीका अनुसार चार आर्थिक वर्षको २०७४÷२०७५ देखि चालु आव २०७७÷०७८ को साउदेखि पुस महिनासम्ममा १८४ घरेलु हिंसा सम्बन्धी प्रहरी कार्यालयमा दर्ता भएको छ । यीमध्ये ११६ वटा घरेलु महिला हिंसाका उजुरी मिलापत्र भएको छ भने २४ मात्र अदालती प्रक्रियामा गएको अर्थात् अदालतमा मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै ४४ उजुरीको भने काम भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुटपिट गरी घर निकाला गरिएको, शारीरिक यातना, शारीरिक तथा मानसिक, शारीरिकसँगै मानसिक यातना, आवश्यक खर्चसमेत नदिइ आर्थिक अभावमा पारेर यातना, आर्थिक यातना दिएकोलगायतका महिला हिंसाको उजुरी आउने गरेको छ । यी प्रहरी कार्यालयमा दर्ता भएका उजुरीमध्ये यस चालू आवको साउनदेखि पुस महिनासम्म ३२ वटा उजुरी दर्ता भएका थिए । सोमध्ये १७ वटा मिलापत्र भएको छ ।”

त्यस्तै छ मात्र अदालती प्रक्रियामा गएको छ भने नौको काम भइरहेको केन्द्रले जनाएको छ । गत आव २०७६÷०७७ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ६१ घरेलु महिला हिंसासम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो । यी मध्ये ४५ उजुरी मिलापत्र भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । छ उजुरी अदालती प्रक्रियामा रहेको छ भने १० उजुरीको काम भइरहेको प्रहरीले जनाएको छ ।

आव २०७५÷०७६ मा १२ सो सम्बन्धी उजुरी परेको थियो । यीमध्ये नौ मिलापत्र गरी टुङ्ग्याइएको छ । बाँकी तीन उजुरीका उजुरीकर्ता सम्पर्कमा नआएको केन्द्रले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७४÷२०७५ मा ७९ उजुरी प्रहरीमा दर्ता भएको थियो । यी उजुरीमध्ये ४५ मिलापत्र गरी टुङ्ग्याइएको छ । बाह्र वटा अदालती प्रक्रियामा लगिएको थियो । बाइस वटा भने उजुरीपछि उजुरीकर्ता सम्पर्कमा नआएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार शारीरिक, मानसिक, आर्थिक यातना दिएकालाई मिलापत्र गराएपछि त्यही पीडितको त्यस्तो समस्या नदेखिएको, खान, लाउन दिएको पाइएको छ । यस प्रहरी कार्यालयमा घरेलु महिला हिंसाका ठाडो उजुरीसमेत आउने गरेको छ । आव २०७४÷०७५ देखि चालु आव को साउदेखि पुस महिनासम्ममा १९७ ठाडो उजुरी अर्थात् मौखिक उजुरी आएको प्रहरीले जनाएको छ ।

यीमध्ये पनि १४२ ठाडो उजुरी मिलापत्रमै सीमित बन्न पुगेको छ । पच्चीस उजुरी अदालती प्रक्रियामा अर्थात् मुद्दा दर्ता भएको छ भने ३० को काम भइरहेको केन्द्रले जनाएको छ ।

यी ठाडो उजुरी परेकामध्ये यस चालू आव को साउनदेखि पुस महिनासम्ममा १५ ठाडो उजुरी परेको छ । यीमध्ये ११ को मिलापत्र तथा एक अदालती प्रक्रियामा र तीनको काम भइरहेको जनाइएको छ ।

आव २०७६÷०७७ मा १८ ठाडो उजुरी परेकामध्ये ११ को मिलापत्र एकको अदालती प्रक्रिया तथा छको काम भइरहेको केन्द्र प्रमुख अधिकारीको भनाइ छ । त्यस्तै आव २०७५÷०७६ मा १२६ ठाडो उजुरी परेको थियो । प्रहरी कार्यालयको तथ्याङ्कअनुसार उक्त ठाडो उजुरीमध्ये ९१ को मिलापत्र भएको थियो भने २३ अदालती प्रक्रिया अर्थात् अदालतमा मुद्दा दर्ता भएको थियो । बाह्रठाडो उजुरीको काम भइरहेको केन्द्रले जनाएको छ ।

आव २०७४÷०७५ मा ३८ ठाडो उजुरी परेको थियो । यीमध्ये २९ को मिलापत्र भएको थियो भने नौको काम भइरहेको केन्द्रले जनाएको छ । प्रहरी कार्यालयमा आएका उजुरीबाहेक जिल्लाको आठवटै स्थानीय तहको न्यायिक समितिमा परेका सोसम्बन्धी उजुरीसमेत मिलापत्र नै हुने गरेको पाइन्छ ।

सक्दो छलफल गर्दै विवाद मिलापत्र गराउने र कुरा मिल्दै नमिलेमा मात्र अदालत पठाउने गरेको न्यायिक समितिले जनाएको छ ।

पछिल्लो समयमा स्थानीय तहका न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलु हिंसाका आउने गरेको उक्त समितिले जनाएको छ ।

कुटपिट गरेको, महिला हिंसाका बारेमा खान लाउन नदिएको लगायतका उजुरी आउने र त्यस्ता उजुरीमा दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएर मिलाउने गरिएको मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक होमबहादुर विकले जानकारी दिनुभयो ।

मौसम सफा हुन अझै केही दिन लाग्ने
मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

उक्त प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने भएकाले मौसम पूर्णरुपमा सफा हुन केही दिन लाग्ने भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँका अनुसार तत्काल वर्षा हुने सम्भावना भने रहेको छैन । वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकाले वर्षाको सम्भावना नभएको बताइएको छ ।

वर्षा हुनका लागि प्रयाप्त मात्रामा जलवाष्युक्त हावा प्रवेश हुनुपर्दछ । अहिले त्यो भएको छैन । गत वर्ष डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा भएको थियो । यसवर्ष अहिलेसम्म हिउँदे वर्षा हुनसकेको छैन् । (मङ्सिर, पुस र माघ) महिनामा ३.५ प्रतिशत वर्षा हुने गर्दछ । यस वर्ष माघ शुरु भइसक्दा पनि हिउँदे वर्षा भएको छैन् ।

हाल देशका प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । राति देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री र अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस २.६ डिग्री र सबै भन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

झोलुङ्गे पुलको नामकरण गर्नेलाई २५ हजार
बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो (५६७ मि) झोलुङ्गे पुलको नामकरणका लागि सम्भाव्य नाम पठाउन सार्वजनिक आह्वान गरिएको छ । कालिगण्डकी नदीमाथि बनेको उक्त झोलुङ्गे पुलको शनिबार उद्घाटनका क्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उत्कृष्ट नाम दिने सर्जक÷व्यक्तिलाई पुरस्कारस्वरुप रु २५ हजार प्रदान गरिने घोषणा गर्नुभयो ।

“प्रक्रिया शुरु भइसक्यो, नाम आह्वानसहितको सार्वजनिक सूचना नगरपालिकाको वेभसाइटमा पनि रहन्छ, प्राप्त नाममध्येबाट छनोट समितिले उत्कृष्ट ठहरिएकालाई पुरस्कृत गर्छौं”, उहाँले भन्नुभयो । विश्वभर रहेका नेपालीले इमेललगायतका माध्यमबाट नाम पठाउन सकिने नगरपालिकाले जनाएको छ ।

विश्वकै लामो भनेर दाबी गरिएको उक्त झोलुङ्गे पुललाई राष्ट्रिय÷अन्तरराष्ट्रियस्तरमा पहिचान दिलाउने गरी नामकरण गर्न लागिएको हो । “संस्कृति, इतिहास, कालिगण्डकी नदीको सभ्यता नाममा झल्कोस्, जनबोलीमा पनि सजिलै स्थापित हुने खालको होस् भन्ने हाम्रो अपेक्षा छ”, उहाँले भन्नुभयो ।

नामकरण गर्दा त्यसको भाव र सौन्दर्य पक्षलाई पनि मूल्याङ्कनमा मापन गरिने नगरपालिकाले जनाएको छ । ५६७ मिटर लामो र १३८ मिटर अग्लो उक्त झोलुङ्गे पुलको विसं २०७५ चैत ९ गते शिलान्यास गरी निर्माण थालिएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत रु १२ करोड २२ लाखको लागतमा पुल निर्माण गरिएको हो ।

निर्माण कम्पनीले सम्झौता अवधिभन्दा तीन महिनाअगावै पुल सम्पन्न गरेको भए पनि कोभिड–१९ का कारण उद्घाटन पछाडि धकेलिएको थियो । सर्वसाधारणको आवतजावतका लागि भने गत साउनदेखि नै पुल खुला गरिएको थियो ।

उद्घाटन समारोहमै मन्त्रालयका सचिव एकनारायण अर्यालले नगरप्रमुख पौडेललाई पुल हस्तान्तरणको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पुललाई विश्वकै लामो झोलुङ्गे पुलका रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गर्न नगरपालिकाले प्रक्रिया अघि बढाएको जनाइएको छ ।

‘झोलुङ्गे पुलको जिल्ला’ भनेर चिनिने बागलुङमा लामो पुलले अर्को चिनारी थपेको छ । देशकै लामो पुल तर्न र अवलोकनका लागि जिल्ला भित्रने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ । पुलको आसपासमा सौन्दर्यीकरणको योजना अघि बढाइने नगरपालिकाले जनाएको छ । पुलको शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो ।

मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया
मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया निःशुल्क वितरण गरिएको छ ।

देशव्यापी रुपमा निःशुल्क गुर्जो वितरण गर्दै हिँड्नुभएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले अभियानका २०० अभियानकर्मीका लागि निःशुल्क गुर्जोबाट बनेको धुलो औषधि र चियाका प्याकेट वितरण गर्नुभएको हो । अभियानकर्मीलाई २०० प्याकेट चिया र २०० प्याकेट धुलो औषधि वितरण गरिएको उहाँले सुनाउनुभयो ।

राजश्व कार्यालय लाहानमा कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी निवासमा गुर्जो रोपेर कोरोना महामारी फैलन थालेपछि उहाँ देशव्यापी रुपमा निःशुल्क वितरण गर्दै हिँड्नुभएको छ ।

यसैगरी समाचार संस्था राससमा पनि अभियानकर्मी राजलवटले शनिबार गुर्जोको धुलो र चिया वितरण गर्नुभएको छ । गुर्जोका विषयमा सामान्य जानकारी समेत दिँदै निःशुल्क वितरण गर्ने अभियान गत वैशाखदेखि जारी छ । गुर्जोका बिरुवा भने हाल रोप्न बेमौसम हुने कारणले वितरण गरिएको छैन । फागुनपछि बिरुवासमेत रोप्नका लागि वितरण गरिने जनाइएको छ । निःशुल्क गुर्जो वितरण अभियानमा राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग शिक्षक किशोर जोशी र जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थीलेसमेत साथ दिँदै आउनुभएको छ ।

हालसम्म एक लाख ५० हजार भन्दा बढी गुर्जोका बिरुवा देशभर निःशुल्क वितरण गरिएको राजलवटले बताउनुभयो । बिरुवासँगै गुर्जोबाट बनेको धुलो औषधि र चियासमेत वितरण गरिएको छ । एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधिको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउनुहुन्छ ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता ओषधीय गुणलेयुक्त वनस्पतिको संरक्षण गरिनुपर्ने उहाँले बताउनुभयो । हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणयुक्त जडीबुटी एवं वनस्पति भए पनि तिनको सदुपयोग हुनसकेको छैन ।

कतिपय जडीबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधि नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ । यसले ठूला धनराशि विदेशिने गरेको छ । आयुर्वेदिक औषधि बनाएर बिक्री वितरण गरे त्यो पैसा स्वदेशमै बस्नेछ ।

आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाइ छ । आयुर्वेद औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागकाले सराकोर भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको माग छ ।

उपत्यकाका धेरै स्थानमा एक घरमा एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी निःशुल्क वितरण भएको छ । देशभर एक घर एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी वितरण गर्ने गुर्जो अभियानकर्मी राजलवटको प्रतिबद्धता छ । शनिबार र बिदाका दिन छट्टी नमनाएर अभियानकर्मी राजलवट निःशुल्क गुर्जो वितरण गर्दै हिँड्नुहुन्छ । माग गर्ने जतिलाई निःशुल्क गुर्जोका बिरुवा दिन तयार रहेको उहाँले सार्वजनिक घोषणा गर्र्दै आउनुभएको छ ।

आधुनिकतासँगै मानिसले बिर्सँदै गएका गुर्जोजस्ता सयौँ वनस्पतिका बारेमा खोज अनुसन्धान गरी त्यसबाट हुने फाइदाका बारेमा प्रचारप्रसार गरिनुपर्ने माग पनि अभियानकर्मीले गरेका छन् । गुर्जोका परिकार गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकालाई सेवन गर्न निषेध गरिएको छ ।

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ ।

उक्त एन्ड्रोइडमा एपमा आज मध्याह्न १२ बजेसम्म एक लाख ६२ हजार ५०० प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ४० हजार बढी प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका (खाता खोल्न सफल भएको) छन् ।

धेरै सङ्ख्यामा नागरिक एप डाउनलोड भए तापनि विभिन्न कारणले गर्दा एक लाख २२ हजार बढीको विवरण प्रमाणीकरण हुन नसकेको केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार धेरै प्रयोगकर्ताको आफ्नै नाममा सिमकार्ड नहुनु, गृह मन्त्रालयको तथ्याङ्कअनुसार नागरिकता नम्बर र राहदानी नम्बर फरक हुँदा विवरण प्रमाणीकरण हुन नसकेको हो । परीक्षणका क्रममा रहेको उक्त एपमा प्रयोकर्ताको आकर्षण देखिए तापनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाइ देखिएको उहाँ बताउनुहुन्छ ।

नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिमकार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीहरु बताउँछन् ।

सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याइएको हो । उक्त एपबाट नागरिकल प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सक्नेछन् । एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सक्नेछन् भने नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम तथा ऋण विवरणको जानकारी लिन सक्नेछन् ।

शुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार