tealaya add

म अपराधी भएँ 

-सुमिना 'अभिलाषी'

अभावको साँङ्लोमा जगडिएको बेला
मलाइ आवस्यकताका बलिया मागले
पटक-पटक बलियो सँग ढकढक्याइ रहे !
र रहरका फुलबुट्टे आकारहरूले
कोसौंबाट अनाथ अकिन्चन भएर निर्निमेश नियालिरहे !
व्याप्त गरिवीले बिक्षिप्त म
एक अनाथ सडकछाप !
सम्पन्नशालिहरू मलाइ रमिते सम्झिएर
मेरो विवशताको नृत्य हेर्दै मजा लिइरहे 
सुट र बुट पहिरिएर
कथित सभ्य-भलाद्मी भनाउदाहरू
कैयौंपटक मलाइ सडकमै कुल्चिएर
आफ्नो यात्रा तय गरिरहे 
झुत्रा-झाम्रा फोहोर मेरा मैलिएका पोसाकहरूमा
छड्के नजर पुर्‍याउँदै
जब एक दिन एक हुल भिडहरू
मलाइ हेरेर खित्का छोडे
र अट्टहास हाँसे ।

हिनताबोधले ग्रस्त मेरो मानसिकता
नराम्रो सँग हतास भयो
मार्गबिहिन भै भड्किएको
मेरो लावारिस मस्तिष्क भित्र
पहिलो पटक एउटा आक्रोशको नवोदित
झिल्का पैदा भयो 
तिर्खाले छटपटिएको बेला
तीन दिन देखिको भोको पेट लिएर
खानाको लागि कराइरहेँ
अहँ कसैले सुनेनन् मेरो भोको पेटका आवाजहरू
मेरा रुवाइहरू 
असह्य भएर एक दिन धनाढ्यहरूको हातबाट
एक छाक खाना खोसेर खाएँ
तब म पहिलो पटक
अपराधी बनें ।

गर्भैदेखि बर्गिय बिभेदले कुल्चिएर
नहुर्किदै भाँचिएको बिरुवा म 
बिस्तारै बर्गबिहिन समाजको सपना देखें 
उज्यालोले मलाई खिल्ली उडाइरह्यो
सहरले मलाई उपहास गरिरह्यो
दुर्गममा बिकट बस्तीहरूमा
जून ताराहरूमा सम्मिलित भइ
अध्यारोमै अध्यारोको विरुद्ध लँडे 
म अपराधी भएँ ।

निमुखामाथी शासन गरिरहे
गाँउ-गाँउबाट जिम्माल बा र मुखिया बाहरू 
निर्धामाथि मनोमानी गरिरहे कथित शक्तिहरू 
अत्याचार चुलिदै गयो
जब ज्यादती अति भयो
अतिशयको भार खप्न नसकी
शोषित भएर
फटाहाबाजहरु, पुंजिपति 
शोषक सामन्तहरूको महलमा पड्किएँ 
म अपराधी भएँ ।

कोहि गिद्ध बनेर झुम्मिए छातिमा
र निर्दयी भएर लुछिरहे देशको मासु
जनताको खुन-पसिनामा रजाइँ गरिरहे
कथित नेताहरू
देशका महा-नायकहरू 
देशको ढुकुटी रित्याएर महल ठड्याइरहे
स्वदेशकै आगनका लुकेर
प्रदेशी इसाराका दलालहरू 
म मात्र दर्शक बन्न सकिनँ
चुपचाप खडा भएर 
मैले अध्यारोलाई अध्यारो भने 
सहीलाइ सही र गलतलाई गलत भनें
विषलाई अमृत भनिनँ
फूललाइ फूल, काँडालाई काँढा भनें 
स्वेच्छाचारी सत्ताविरुद्ध कलम चलाएँ 
सरकारको बिरुद्ध गएँ
नकावधारी चेहेरा बेनकाव गरें 
ओझेलका चरित्रहरू पर्दाफास गरें 
म अपराधी भएँ ।

अझ मुख्य कुरा
जब उठे मेरो अस्मितामाथि फोहोरी आँखाहरू
जब लम्किए मेरो छातिमाथि घृणित हातहरू
अति आक्रमण बनेर जब खनिए
नरभक्षी चेहेरा मेरो शरीर भरी
गाडेर नङ्रा स्तनदेखि नितम्बसम्म
हार गुहार गरें, चिच्याएँ कराएँ, अपिल गरें
तर सुनिएन कतै मेरो अर्तनाद 
कानमा एयरफोन राखेर बसिरहे सत्ताधारीहरू
आरामदायी गहिरो नीदमा निदाइरहे
सुरक्षाको सपथ खाएका हरू 
तब कमजोरीलाई लात हानें
अनि निकालेर जन्मैदेखिको बल
धावा बोलें र बजारिएँ
बलात्कारिको गर्धनमाथि 
म अपराधी बनेँ ।

ए सरकार
हो म एक हत्यारा 
चोर, लुटेरा, एक भयानक अपराधी

यस्तै-यस्तै अनेकौं अनेक अपराधिक
गतिबिधिमा संलग्न
बिबिध घटनाक्रमहरूको एउटै
जिवित र साक्षात उदाहरण ।
यति बेला तेरो संघारसम्म आइपुगेकी छु
आफ्नै मुखबाट
आफ्नै अपराधको कबुल गर्दै
बेढड्क भएर आफ्नै अपराधको
सत्य-तथ्य बयान लिएर ।।

-कवि सुमिना अभिलाषी बुटवल निवासी हुन् 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर