tealaya add

चन्द्रमाको अधुरो सपना (कविता)

                             -प्रेम राई परीक्षित

चन्द्रमा भन्ने गर्थी 
आकाशलाई अङ्गालोमा कसेर
आमा ! अब तिम्रा दु:खका दिनहरु गए
यी ताराहरुलाई पढाउने मेरो जिम्मा
हजुरले अब साहुका घरमा 
जुठो भाडा कहिल्यै माझ्नु पर्नेछैन 
बिरामी भई-भई काममा जानु पनि पर्ने छैन
आमा ! अब तिम्रा दुखका दिनहरु सकिए...

आमा !
हजुरले डोरीको पोयो बाटेको देखेर
मैले जीवन बाँच्न सिकेकी हुँ
मकैको खोसेल्टो बेर्दै सुन्दर पिर्का बनाएको देखेर
भविष्य कस्न सिकेकी हुँ
परालका त्यान्द्रा बाट्दै सुकुल-गुन्द्री
अनि ढाकी बनाएको देखेर
मैले जीवनमा उर्जा भर्न सिकेकी हुँ
आफू बस्ने आधार बनाउन सकेकी हुँ
त्यसैले आमा !
अब तिम्रा दुखका दिन गए अब ...

चन्द्रमा , 
आमालाई ढाडस दिएर
आफ्नो दैनिकीमा निस्किएकी थिई
अफिसले किनिदिएको साईकल 
टिनिनी... टिनिनी... घण्टी बजाउँदै
आमा, याने की क्षितिजले शुभकामनाको 
हात हल्लाएकी थिइन्
सम्झदै थिइन् आमा बलेसिमा बसेर
साँच्चै अब उनका दु:खका दिन सकिए

आमा बजार जाँदा
गहिराबाट डाँडामा आमा ननिस्किउन्जेल
फुतुफुतु फुत्तै भनेर आमाको बाटो हेरे झैं
चन्द्रमा एउटा बादलको ढिक्को 
अनि बादलको अर्को ढिक्कोबाट
ननिस्किएसम्म आमा बाटो हिरिरहन्थिन्
दिनभरी हराएकी चन्द्रमा
साइकलको घण्टी टिनिनी...टिनिनी... बजाउँदै
अङ्गालो मार्न आईपुग्थिन्
मजेत्रोले आमाको अाँशु पुछिदिन्थिन्
र भन्थिन्-
आमा, तिम्रा दु:खका दिन गए !

आमा, हेर्नुस् त
तिजको रातो सारी कस्तो छ ?
यो हजुरका लागि...अनि यो पनि.....
यो भाइको लागि ...यस्तै यस्तै थुप्रै उपहार
ल्याएकी थिइ अघिल्लो दिन
आमा! हाम्रा दु:खका दिन सकिए
म छु नि आमा म.....
तिम्रा पोल्टा भरी खुसिहरु भर्ने छोरी
जडौरीले आङ छोप्ने तिम्रा दिन अब गए

अर्काना दिन
फेरि टिनिनी...टिनिनी.... 
साइकलको घण्टी बजाउदै
निस्की दैनिकीमा चन्द्रमा
तर कहिल्यै फर्किइनन् फेरी क्षितिजबाट
आमाको दु:ख फेरी उस्तै
उहीँ फुसको घर र उही फुसको सपना
अनि गालाभरी प्रशान्त महासागर...

आकाशमा बैठक थियो
एकै स्वरमा ताराहरु भन्दै थिए
राहु र केतु अब आकाशबाट लघार्नु पर्छ
अब चन्द्रमामा ग्रहण लाग्नु हुन्नँ
अब चन्द्रमाहरु हाम्रै आगनमा मारिनु हुन्नँ
तुहिनुहुन्नँ आमाहरुको सपनाहरु अब 
आफ्नै गल्ली अनि चोकहरुमा
चन्द्रमाहरु असुरक्षित हुनुहुन्नँ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर