tealaya add

बाढीको आँखा

खाटभरि किताब फिँजाएर बसेथेँ
दाइले भन्नुभो -किताब थन्क्या र घाँस काट्न हिँड
पढाइभन्दा काम ठूलो ठानेँ र हिँडे 
मलाई फूल खुब मन पर्छ
आँगनको डिलभरी फूल सारेँ
भाइले सबै उखेलिदियो
केटाकेटी यस्तै हो भनेर सहेँ 
स्कूलमा पनि पहिलो बेन्चमा बस्न पाउँदिनथेँ
केटी- केटी सँगै बसेका छौ
भै गो नि त भनेर 
अन्तिम बेन्चमा गएर बसेँ 
स्कूल सफा गर्दा सरहरु-
केटीहरुले कुचो लगाउँ भन्नुहुन्थ्यो
स्कूलै सफा गर्नु त हो, मैले मानेँ ।

एकदिन सरले
तँ कति राम्री छेस् भनेर गालामा प्याट्ट हान्नुभो
माया सम्झे
अर्को दिन
कति लामा कपाल भनेर सुम्सुम्याउनुभो
कपाल लामै थियो खुसी भएँ
अर्को दिन 
सर्ट मैलो भएछ भनेर धुलो टक्टक्याईदिनुभो
सर्ट मैलै थियो
कुनै प्रतिक्रिया जनाइँन 
म बुझ्दैनथेँ- 
माया र मायाभित्र हुने बाध्यता ?
मान्छेहरुको नियत वा नियती?

गोठालो जाँदा
मान्छेहरुको ध्यान गाईतिरभन्दा मतिर हुन्थ्यो
पँधेरा जाँदा
गाग्रीमा हैन मेरै आकृतिमा पाउँथे
एकोहोरिएको मान्छेका आँखाहरु
बर्षामा धान रोप्दा 
लुकी- लुकी हिलो मलाई नै हान्थे
देउसी- भैलो खेल्दापनि
रमाइलो भन्दा बढी डर लाग्थ्यो रातभरी।

आज एक खोला समय बगिसक्यो
एक जुवा घाम अस्ताईसक्यो
बर्षौदेखि यो शहरमा छु
शहरपनि साँझमा एक्लै हिड्न दिदैन
घुम्ती घुम्तीमा डर भएर आउँछ
बस चढ्नै हुँदैन
मातेको यात्रु भएर आउँछ
पर्व र दिवस आउनै हुँदैन
लोला भएर बर्सन्छ
प्राय रात्रि क्याम्पसहरु जान्न म
सिनेमा र नाटकघरहरुमा एक्लै जान्न
व्यक्तिगत स्वतन्त्रताको उत्सव मनाईरहेको मेरो देश
मेरै एक्लो उपस्थितीमा शंका गर्छ
र म सदा असुरक्षित महशुस गर्छु ।

सहेँ यी सब सहेँ, खुब सहेँ
हजुरआमाले झैँ सहेँ
आमाले झैँ सहेँ
दिदी, फुपु र माइजुले झैँ सहेँ
मलाई थाहा छ,
सहनुको सिमा हुन्छ
आजपनि असुरक्षित छ समय
म दाइको परिभाषा दाइभन्दा फरक पाउँछु
भाइको परिभाषा भाइभन्दा फरक पाउँछु
काखमा नातिनी खेलाउने हजुरबाहरु
हजुरबा जस्तो लाग्दैन
शिक्षकहरुमा शिक्षकमात्र देख्दिन
जन्मदाता बाउकै अँगालोमा सुरक्षामात्र पाउँदिन
म आफूलाई कतै सुरक्षित देख्दिन
असुरक्षाको मात्रा यसरी बढ्छ
मानौ समुन्द्रमा छाल आइरहेछ र 
उठिरहेछ एउटा अविश्वासको जुलुस ।

समयको यो खण्डमा
मलाई संविधानको हरफमाथि विश्वास छैन
संविधान लेख्नेमाथि विश्वास छैन
नीतिनियम र कानूनमाथि विश्वास छैन
नीतिनियम र कानून परिपालना गराउनेमाथि विश्वास छैन नागरिक आवाजमा विकासे गन्ध भेट्छु र
सामाजिक संस्थाहरुको नारामा प्राप्तिका अभिलाषा भेट्छु
म आफूलाई कहिँ भेट्दिन
के असुरक्षाहरुको पहाडमाथि 
उभिनुको नाम नै महिला हो ?

तरपनि हारेको छैन मन र 
निभेको छैन विश्वासको दियो
आफै नजागी जाग्दैन समय 
जागृतिको मूल प्रवाहमा म आफैँ दियो भएर सल्कन सकुँ
र म सल्केको उज्यालोमा 
यो समयका अध्याराहरु डढ्दै जाउन् ।

छोरीहरु हो-पढ्न नछोड
बहिनीहरु हो-फूल रोप्न नछोड
नानीहरु हो- शिक्षकलाई शिक्षकभन्दा अगाडी बढ्न नदेऊ 
सामाजिक संस्थाहरु हो- मलाई डलरसँग नसाट
माननीयहरु हो- संसदको भाषणमा सिमित नगर मलाई
मलाई मै भएर उभिनुछ
हरेक शोषणको समाधान शोषण हुन सक्दैन
अध्यारोको समाधान अध्यारो हुन सक्दैन
र घाउको समाधान घाउ हुन सक्दैन
मेरो आँखामा कुनै समाधान भेटिएन र
र म आफैँ आँधी हुनुपर्यो भने 
बाढीको आँखा हुँदैन 
बाढीले कसैलाई चिन्दैन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर