tealaya add

मालिक, कुकुर र फूलहरू

-मिशन अधिकारी

दिदी-बहिनीहरू सावधान !
आमा-छोरीहरू सावधान !
सृष्टिका सम्पूर्ण मुहानहरू सावधान !

मासिए पनि रुखको जंगल
प्रतिपल थपिएका छन् पृथ्विमा
गुफा
ओडार
बढिरहेछ ब्वाँसा-स्याल-हुँडार
फ्याउराहरूको संख्या
जंगल मासिएर पनि घना हुँदोछ जंगल
बिरामी छ मनको मन्दिरमा ईश्वर
विस्तारित हुँदैछ बनको बस्ती
सावधान ! जंगली जनावरदेखि सावधान !

जनावरको घर हो, जंगल
जनावरको शहर हो, जंगल
कहाँ-कहाँ परसम्म विस्तारित छ जंगल
म सम्झदा पनि काँप्न थाल्छु 
मलाई सपनामा पनि पसिना आउँछ 
आगोले जलाउन नसक्ने भएको छ, जंगल
विज्ञानको कुनै विधिले नमासिने भएर
फैलिएको छ, जंगल ।

यस्तो बन्दैछ-
यो मानव सभ्यता यौटा विशाल जंगल हो ।

सावधान !
सृष्टिका सारा कोपिलाहरू सावधान !
नङ्ग्रा तिखारेर हिंस्रक जनावरहरू
थप हिंस्रक भएका छन्
नयाँ विहानीमा शिकारमा निस्किएका छन् 
कलिलो साँझमा लामो हात गर्छन् 
नयाँ स्वादको खोजिमा लपलपाएका छन्, जिब्राहरू
उनीहरूलाई काँचो मासु मनपर्छ
उनीहरूलाई दूध नछुट्दैका पाठीहरू मनपर्छ ।

अघाएपछि चितुवा-स्यालले छोडेका खसी-बाख्रा झैं 
भेटिएका छन् निर्मला-निर्भया-निरञ्जना
सावधान !
ए यो सुन्दर बगैँचाका माली दाइहरू !
फूलहरूलाई भन- कतै बाहिर ननिक्ल, 
एक्लै कतै न निस्क
स्वर्ग जस्तो यो बगैँचामा
चेतनाका भोटे ताल्चा लगाएर फुल
यहाँ उनीहरूलाई आफैंबाट खतरा छ
यहाँ उनीहरूलाई आफ्नैबाट खतरा छ 
यहाँ आफ्नैहरू दुश्मन भन्दा बिशालु छन् ।

घरि सडक, घरि दरवार, घरि जंगल, फेरि जंगल
र्‍याल काड्दैकाड्दै टाङमुनि हालेर पुच्छर 
गरिरहेछ यता उता, उता यता
मालिक साप, तपाईको कुकुर बहुलाएको छ ।
मलाई मालिक्नी सापको माया लाग्छ
मलाई सानु मैसा'पको कस्तो चिन्ता लाग्छ 
मायाले चाटेजस्तो चाट्दाचाट्दै कहिले ह्वाङ्ग गर्ने हो ?
मलाई सम्झँदा मात्र पनि डर लाग्छ ।

परबाट यतै आईरहेका छन् जुलुस लगाउँदै कुकुरहरू
पशुबाट ईज्जतमा मोसो दलिएपछि
आन्दोलित छन् आदर्शका बिम्वहरू
आफ्नै ईज्जतको रक्षामा के गर्न सक्छन् उनीहरू ?
आफैं मौन बोल्नु शिवाय 
जुलुसको मूल व्यानरमा लेखिएको छ-
कुकुरदेखि सावधान !

मैसा'प, सावधान !
आफ्नै डेनी-जेनीदेखि सावधान !
किन कि-
तपाईको दरवारमा बहुलाहा कुकुर छ ।

कुकुरको कुनै भर हुँदैन
कहिले पराईलाई टोक्छ 
कहिले आफ्नैलाई टोक्छ ।
मालिक साप,
जान्दाजान्दै यति-
तपाई किन कुकुर पाल्नुहुन्छ ?
जहाँ फूललाई फुल्न कुनै शर्त छ,
त्यहाँ कुकुरहरूलाई बाँच्ने कुनै अधिकार छैन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर