1478958692 banner ad format

 
 

काठमाण्डौ । कवि मुक्तान थेवाको कवितासंग्रह अखण्ड आलाप बुधबार लोकार्पण गरिएको छ । मण्डला थियटर, अनामनगर, काठमाण्डौमा कृतिको लोकार्पण गरिएको हो । बरिष्ट कवि भूपाल राई, कवि निभा शाह, लेखक राजेन्द्र महर्जन र कवि स्वयम मुक्तान थेवाले संयुक्त रुपमा कृति लोकार्पण गरेका हुन् ।

अखण्ड आलापमाथि टिप्पणी गर्दै कवि निभा शाहले भनिन्- 'सबै कुराको छिनोफानो बिचारले गर्छ, मुक्तान थेवाका कविताहरू विचारप्रधान कविताहरू हुन् ।' उनले थपिन्-

'कविले जुन विचार बोकेका छन्, त्यही मार्गमा आफूलाई हिडाएका पनि छन् ।' नेपालको सन्दर्भमा क्रान्तिकारीहरूलाई पनि बिभाजन गरेर हेर्नुपर्ने बताउँदै कवि मुक्तान थेवाको शब्द र कर्ममा एकरुपता पाईने भन्दै उनले प्रशंसा गरिन् । उनले
मुक्तानले कवितामा बिम्वको सही प्रयोग गरेको पनि बताईन् ।

प्रिय अनेकोट, मानसिंहलाई सम्बोधन र उधारो आदि कविताबाट केही कवितांश उद्ध्रित गर्दै सिमान्त आवाज यि कवितामार्फत शक्तिशाली भएर आएको बताईन् । आमा र आगो जस्ता केही कवितामा केही कमजोरी देखिएको समेत औंल्याउँदै मुक्तान थेवाले स्पार्टाकसलाई छुनपर्ने चुनौती रहेको बताईन् ।

कृतिमाथि टिप्पणी गर्दै लेखक राजेन्द्र महर्जनले मुक्तान थेवाका अखण्ड आलाप कवितासंग्रह भित्रका कविता समाजको प्रतिबिम्व भएको बताए । उनले भने- 'समाजमा द्वन्द्व छ । त्यो द्वन्द्वग्रष्त समाजको द्वन्द्वको प्रकटिकरण यि कवितामा छ ।' उनले अखण्ड आलाप प्रश्नहरूको पेटारो भएको समेत बताए । 'यहाँ शासक बर्गप्रति थुप्रै प्रश्नहरू छन् ।' उनले भने ।

आफ्नो समूदायमा भएका पात्रहरू/मिथक वा बिम्वको प्रयोग कवितामा भएको बताउँदै लेखक महर्जनले तामाङ समूदायको सहादत, त्याग र संघर्षको 'रिफ्लेक्शन' अखण्ड आलाप भएको र अखण्ड आलाप साँच्चै राम्रो कविता कृति भएकोमा प्रशंसा गरे ।

लोकार्पण समारोहमा कवि भूपाल राईले कविता के र कस्तो दुबैको संयुक्त रूप हुनुपर्ने बताए । के लेखेछ भन्ने कविको आधार हो भने कस्तो लेखेछ भन्ने उसको कला वा सौन्दर्य हो । उनले कविले के र कस्तो दुबैलाई कवितामा लेख्नुपर्नेमा जोड दिए । मुक्तान थेवाका कविता बैचारिक कविता भएको बताउँदै उनले कला वा शिल्प पक्षमा ध्यान दिन समेत संकेत गरे ।

लामो समयसम्म मुलुकमा रहेको संरचनात्मक विभेदमाथिको प्रहार मुक्तानका कविता भएको भूपालले बताए । अब कविता प्राज्ञिक सिन्डिकेटबाट बाहिर वा मुक्तानको हातमा आएको उनको भनाई थियो । भाषाको माध्यमबाट यो सिण्डिकेट तोडिने उनको दावी थियो । उनले भने- 'अखण्ड आलाप बेग्लै भाषामा लेखिएका कविता हुन् । अत्यन्त नयाँ भाषामा लेखिएको कविता हो- अखण्ड आलाप ।' उनले थपे- थोत्रिएका मिथहरूको प्रयोग कविले यहाँ गरेका छैनन् ।'

कवितामा आन्तरिक राष्ट्रको प्रयोग हुनु सुन्दर पक्ष भएको बताए । नेपाली कवितामा नयाँ भाषा भित्रिएको, ईतिहासलाई पूनर्लेखन गर्ने आग्रह यि कविताहरूमा भएको, राज्यको पिपा भएर बसेको यौटा पूर्खाको ईतिहास लेख्न माग गर्दै अखण्ड आलाप आएको उनको दावी थियो ।

'अखण्ड आलाप भावनाका कविता भन्दा चिन्तनका कविता हुन् । यो कविता तामाङ जातिको समाजशास्त्र हो ।' उनले भने- 'कवि र कविताको विपर्यास नेपाली साहित्यको क्षेत्रमा छ । मुक्तान र मुक्तानका कवितामा विपर्यास छैन । कविता र जीवन जोडिएको छ ।'

'बर्ण व्यवस्थामाथि प्रहार मुक्तानका कविताहरूको बिशेषता हो । नेपालमा बर्ग संघर्षको माध्यमबाट मात्र मुक्ती सम्भव छैन । सर्वप्रथम त बर्णाश्रम व्यवस्थामाथि नै धक्का दिनुपर्छ । यो व्यवस्था डर लाग्दो व्यवस्था छ । यो व्यवस्थाको अन्त्य भएपछी नै नयाँ समाज निर्माण हुन्छ ।' आमूल परिवर्तनका सिमामाथि बरिष्ठ कवि राईले औंल्याए । उनले पनि शिल्प, बिषय-बस्तुका हिसाबले कविले सुधार्नुपर्ने केही ठाउँ भएको औंल्याए ।

कृति सार्वजनिकिकरण समारोहमा उन्मुक्त पुस्ताका अभियन्ता कवि केवल विनावी र कवि लक्ष्मी रुम्बाले अखण्ड आलापबाट क्रमश: आमा र आगो र सभ्यताको बार्‍हखरी कविता वाचन गरे ।

कुनै औपचारिकता विना अखण्ड आलापको सार्वजनिक गरिएको थियो । अखण्ड आलाप सांग्रिला बुक्सले प्रकाशन गरेको हो । उन्मुक्त पुस्ताको आयोजना रहेको पुस्तक सार्वजनिकिकरण समारोहमा अभियन्ता कवि प्रकाश चापागाईले अतिथी एवम् सहभागीलाई स्वागत गरेका थिए भने मुक्तान स्वयमले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकासित मिति

Loading...

 

yummyfood