tealaya add

Smriti kantipathnewsसमीप भएर
किन दूर देखिन्छौ ?
उचाइ भएर
किन फेदी देखिन्छौ ?
कुन दुःखको चट्टानले
तिमीलाई टुक्र्यायो ?
कुन घनले ठोकेपछि
तिम्रा साहसका किल्लाहरू भत्किए ?
बैँस फुल्नुपर्ने तिम्रो मुहारमा
कुन कलाकारले छ्याङ खाएर भर्‍यो
यतिबिघ्न नसुहाउँदो रङ ?
सेन्चुरी दाइ, तिमीले अगणित सेन्चुरीहरू
यही माटोको मायामा रित्याएका हौ
तिमीलाई थाहै छ, धारमा पाइन चढ्नुअघि
तरबार पनि फलाम हुन्छ र चुटिन्छ फलामबाटै

तिमी आज लर्बरिँदै
कहिले कुना, कहिले छेउ
कहिले उकालो, कहिलो ओरालो
कहिले मैदान कहिले भिर
किन गरिरहेछौ ?
तिम्रा हजार पाखुराहरूलाई कुन अरिंगालले टोक्यो ?
खलाँतीमा देशको घाउ फुकिरहेका
तिम्रा हजार फोक्साहरू के थाकेकै हुन् ?
तिमीलाई थाहै छ,
पैतालाहरूमा शैन पल्टिएपछि मात्र
बाटाहरू आफैँमा यात्रा भएका हुन् ।

सेन्चुरी दाइ, सिँढी त उसलाई चाहिन्छ
जसलाई छतसम्म जानुछ
बेलुनको उद्देश्य आसमान छ
बाटो आफैँ बनाउनुछ !
नदुख्ने, नटुट्ने के छ ?
एकदिन झर्नुछ, फूल सुवास छरिरहन्छ
रात पर्नु नै छ, सूर्य चर्किरहन्छ
यी पहाडहरू कहिल्यै बसाइँ हिँड्दैनन्
बरु तासिएर पहिराहरूमा दुखिरहन्छन्
फाँटहरूले बन्जर बन्नु किन नपरोस्
एक बुँद पानी पर्खिरहन्छन् ।

तिमी पनि साउन्डप्रुफ हृदयबाट ओर्लेर
आऊ सेन्चुरी दाइ
हामी आ–आफ्नो अनौ समात्दै
जिन्दगीका गह्राहरू जोतौँ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर