1478958692 banner ad format

 
 

-कान्तिपथ  संवाददाता

काठमाण्डौ- कल्पना काफ्लेको कवितासंग्रह भाव सरोवरको शनिबार काठमाण्डौमा लोकार्पण भएको छ । प्रमूख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा विष्णुविभु घिमिरे, बिशेष अतिथीहरू डा रामप्रसाद ज्ञवाली, डा खगेन्द्रप्रसाद लुईंटेल, डा कोषराज न्यौपाने, डा प्रभा भट्टराई, भुवनहरी सिग्देल, डा भागवत आचार्यबाट संयुक्त रूपमा कृति लोकार्पण भएको हो ।

लाजिम्पाट, काठमाण्डौस्थित प्रस्तावित डा डिल्लिरमण रेग्मी स्मृती प्रतिष्ठानको प्रेक्षालयमा पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा कृति लोकार्पण भएको हो ।

कवि विवश पोखरेलको अध्यक्षतामा भएको लोकार्पण समारोहमा प्रतिष्ठानका महासचिव कवि गोकुल अधिकारीले स्वागत मन्तव्य राखेका थिए । उनले मन्तव्यका क्रममा प्रतिष्ठानले यस अघि ७५ कृति प्रकाशन गरिसकेको र १० कृति प्रकाशोन्मुख रहेको जानकारी दिए । प्रतिष्ठानले साहित्य सेवामा निरन्तर लाग्ने स्रष्टालाई पुरस्कार तथा सम्मान पनि गर्दै आएको बताउँदै कल्पना काफ्लेको पद्य कवितासंग्रह प्रकाशन गर्न पाउँदा संस्था स्वयम गौरवान्वित भएको बताए ।
डा भागवत आचार्यले भाव सरोवरकी स्रस्टा कल्पना काफ्लेको व्यक्तित्वमाथि चर्चा गरे ।
साहित्यकार भुवनहरी सिग्देल कवि एवम् प्राज्ञ प्रभा भट्टराईले कल्पना काफ्ने साहित्यमा यौटा सम्भावना सहित आएको भन्दै प्रशंसा गरे । कवि एवम समालोचक डा रामप्रसाद ज्ञवालीले पनि प्रारम्भमै यतिका सिर्जना लिएर आउनु निक्कै चुनौतीपूर्ण रहेको बताए । उनले कवि काफ्लेलाई विचार र कला पक्षमा थप जोड दिन पनि सुझाए ।
बिशेष अतिथि कोषराज न्यौपानेले छन्दका कविताहरू लेख्दा बिशेष ध्यान दिनुपर्ने बताए । उत्कृष्ट कविता लेख्न लामो तपस्या गर्नुपर्ने भन्दै उनले काफ्लेको आगामी यात्रा सुखद होस् भन्ने कामना गरे ।
शुभकामना मन्तव्यका क्रममा प्राडा खगेन्द्रप्रसाद लुईटेल, डा विष्णुविभु घिमिरेले पनि कवि कल्पना काफ्लेको सुखद कविता यात्राको कामना गरे । कविता लेखनका बिभिन्न पाटापक्षमा व्यापक बहस भएको लोकार्पण समारोहमा अनुश्री आचार्य, डा प्रभा भट्टराई, मोदनाथ आचार्यले कल्पना काफ्लेको कवितासंग्रह भाव सरोवरबाट एक-एक  कविता वाचन गरेका थिए । कृतिकार स्वयमले 'माटो हराएपछी' शिर्षकको कविता वाचन गरिन् ।
कल्पना काफ्ले र कृष्ण आचार्य दम्पतीकी सुपुत्री अनुश्री आचार्यको जन्मदिनको अवसर पारेर कल्पनाको कविता कृति भाव सरोवर सार्वजनिक गरिएको हो ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको भाव सरोवरमा ३३ कविता संलग्न छन् भने साधारण मूल्य रू १५० र संस्थागत मूल्य रू २५० रहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood