1478958692 banner ad format

 
 

"म र मेरो माटो"


आफू सृष्टिका लागि योग्य
भएपछि नारीले रातो प्रतीक बगाउँछिन् ।
पहाडले प्रत्येक वर्ष रातो सभ्यता फुलाउँछ ।
माटोमाथि माटोकै लागि
पुर्खाले रातो रगत बगाएर 
रातै इतिहास लेखे ।
त्यसपछि माटोले आफ्नो रङ रातो बनाएको हो ।

मेरी आमालाई जस्तै
माटोलाई थाहा छैन
अहँ पटक्कै थाहा छैन 
देश के हो ?
जनता को हुन ?
राष्ट्रियता कस्तो हुन्छ ?
तरपनि
पाखामा पसिना बगाउनेहरुलाई
भोकभोकै देखेपछि
माटोले झन् धेरै प्राण फलाएको हो ।
देश बुझ्नेहरुले भन्दिनुस् अब माटोमा राष्ट्रियता छ वा छैन ?

आफ्नो स्वामित्वमा एक चिम्टी माटो नभएका
हर्कलाल
किनारामा बालुवा चाली बस्छन् ।
प्रत्येक बर्खा नदीले माटो बगाउँदा
सँगसँगै बग्छ उनको मन पनि ।
माटो दुख्दा मन नदुख्नेको स्वामित्वमा
किन छ यो माटोको राष्ट्रिय लालपुर्जा ?

कोदो र तोरी छुट्याउन नसक्ने,
धनिरामको अन्त्यष्टिमा, 
माटोमा गाडिएको झन्डा आधा झुकाइयो ।
नागरिकता नभएका भिमदत्त माटोमै बाँच्छन् 
फलाउँछन् सिर्जनाहरु
र भराउँछन केही थान भोका पेटहरु ।
यो माटोबाट बाँच्नु स्वाभिमान हो कि होइन ?
भोलि भिमदत्त माटोमै मरे भने,
कसैले ढाक्लान् वा नढाक्लान् ?
उनको मृत शरीर 
माटोको जस्तै रङ भएको रातो राष्ट्रिय झन्डाले ।

पैताला र कपडाहरुमा माटो लाग्ने डरले 
भुइँ र भित्ताभरि मार्वल टाँसेका 
वीरबहादुरलाई कसले भनिदेला ?
वर्षभरिमा 
केही कोदालो भरि 
केही हलो भरि
र केही शरीर भरि
माटो टाँसिएन भने 
फल्नेछैन हजुरले खाने बास्मती चामल पनि ।

व्यस्त सडकमा 
माटो गनाएर माक्स लगाएकी हुन् भने
मनरुपा दिदीलाई कसले भनिदिन्छ ?
माटो नभए न तपाईंले लगाएको माक्स बन्छ
न हजुरले अघि भर्खर छरेको महङ्गो बिदेसी अत्तर ।

कङ्िक्रटहरुको बिचमा बसी
बिज्ञान किताब लेख्ने बेला
माटोलाई निर्जीव बस्तु लेखिदिने गुरुहरुले ,
सोध्नुभएन होला !
अरुको बालुवामा आफ्नो पसिना बगाउनेहरुलाई 
माटो बोल्छ वा बोल्दैन ? 
माटोमा चाल हुन्छ वा हुंदैन ? 
माटोमा चेतना हुन्छ वा हुंदैन ??

माटो गनाउने नाकहरुलाई , 
माटो फोहोर देख्ने आँखाहरुलाई , 
माटो छुँदा एलर्जी हुने छालाहरुलाई , 
माटोलाई माटोमात्र मान्ने चेतनाहरुलाई , 
माटो माटो मात्र होला । 
तर सबैका लागि माटो माटो मात्र होइन । 
माटो राष्ट्रियता हो । 
माटो स्वाभिमान हो । 
माटो प्राण हो । 
माटो देश हो । 
भोलि मेरो मृत शरीर 
मेरै माटोमै गाडिदिनु ।।

         Bibash babuko1

विवस बाबू

प्रकासित मिति

Loading...

 

yummyfood