annapurna add

balaram fm pm- बलराम तिमल्सिना 

बाले लैनो भैंसी जुवामा हारेर आए
जित्ने मान्छे भैंसी लिन आएको छ
केटाकेटीहरू बफादार छन बाप्रति
आज केटाकेटीको खिर खाने कुरा छ
जित्नेले भैंसी फुकाएर हिडेपछि
बाको अनुहार हेर्दै रुदै छन् केटाकेटी
बाप्रतिको बफादारी अझै कायम छ
सोचिरहेका छन् -
एक दिन बाले भैंसी फिर्ता ल्याइछोड्छन
र खिर खाने सपना पूरा हुने छ ।

केही दिनपछि
बाले घर बारी हारे जुवामा
जित्नेले घरबारी उठायो
झिटिझाम्टा र जहान लिएर
नखुलेको ठेगानातिर हिडे बा
केटाकेटीहरू अझै विश्वस्त छन्- बाप्रति
सोच्दै छन्-
एति ठूलो आपतमा पनि बा हामीसँगै छन् !

अपरिचित सहरको खोला किनारमा
बाले त्रिपाल टाँगे र बास बसाए
बाले घरबारी त छोडेर आए
तर जुवाको लत सँगै लिएर आए
कुनै एक दिन जुवामा
बाले आमा हारेर आए
भोलिपल्ट आमा लिन आइपुग्यो जित्ने मान्छे
बाले हारेको प्रमाण जुटाएर आमा लिएर गयो
यो पटक केटाकेटीहरू डाको छोडेर रोए
बाले फकाउँदै भने-
नरोऊ क्या नरोऊ
यी बुढी आमा गएर के भयो त ?
म तरुनी आमा भोलि नै ल्याउँछु ।
केटाकेटीहरू तत्काल मुस्कुराए र सोचे-
हाम्रा बा कम चलाख छन् ?

केटाकेटीहरूको बाभक्तिको सुविधामा
बाले सवै उधुम गर्दै गए
एक वर्षमा बाले
पचास नयाँ आमा हारे
पचास नयाँ आमा ल्याए !

हिजो आज बा बुढा भए
केटाकेटीहरुले पँखेटा हाले र उडे
कैलेकाहीं बा भेट्न आउँदा
आरुका दाना फुटाएर
बा एक्लै जुवा खेलिरहेका हुन्छन्
" सात ठाडी सात ठाडी- मारा !"

बा अचेल आफैंले आफैलाई जित्छन्
आफैंसँग आफैं हार्छन्
केटाकेटीहरूको बाभक्तिको त्यान्द्रो
यो पराकाष्ठामा पनि छिनेको छैन ।

ती जुवावादी बा
र संसदीय नेताहरूमा फरक छुट्याऊ
ती बाका छोराछोरी
र यी नेताका कार्यकर्तामा फरक छुट्याऊ
पूर्णाङ्क- १००
उत्तीर्णाङ्क- ३३

२०७६|०९|२९
भक्तपुर

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...