tealaya add

काठमाण्डौ- यस बर्षको गजलश्री पुरस्कारबाट गजलकार शान्ती शर्मा पुरस्कृत हुनुभएको छ । शर्माको 'अम्लान फूल' गजलसंग्रहका लागि यो पुरस्कार दिइएको हो । बुधबार चितवनमा आयोजित एक कार्यक्रममा शर्मालाई यो पुरस्कार अर्पण गरिएको हो । 
 
हाम्रो मझेरी साहित्य प्रतिष्ठानको बीसौं वर्ष प्रवेश एवम् हाम्रो मझेरी साहित्यिक पत्रिकाको ५६ औं अङ्क विमोचनका अवसरमा साहित्य लगायत विभिन्न विधाका व्यक्तित्वलाई प्रतिष्ठानले सम्मान तथा पुरस्कार अर्पण गरेको हो । 
 
हरेक वर्ष प्रदान गरिने हाम्रो मझेरी साहित्य सम्मान श्रीभक्त अच्युत वाग्ले, राधिका गुरागाई, तारा पराजुली, सुमित्रा न्यौपाने, बालकृष्ण थपलिया,  द्वारिका नेपाल, गौरी तमु, विर्खे अन्जान, मञ्जु खराल मञ्जुश्री, खडानन्द तिमिल्सिना, भगवती रोक्का 'भूमिका', लेखराम सापकोटालाई प्रदान गरिएको छ । गान्तोक, सिक्किमका कवि अर्जुन यावालाई पनि पुरस्कृत गरिएको छ । चितवनकी गजलकार एवम् संचारकर्मी चाँदनी हमाललाई हाम्रो मझेरी युवा पत्रकारिता सम्मान-०७५ प्रदान गरिएको थियो ।
 
यस वर्षको गजल रत्न पुरस्कार अछामका स्रस्टा पूर्णबहादुर साउद 'शिरिष'लाई गजलाकृति 'कागज'का लागि प्रदान गरियो । गजलश्री पुरस्कार-०७५ बाट सोलुखुम्बु (हाल: काठमाण्डौ)की गजलकार शान्ति शर्माको 'अम्लान फूल' मोतिराम गजल प्रतिभा पुरस्कार-०७५ दैलेखका गजलकार राज विर्सजनको 'माटो' गजलसंग्रहलाई प्रदान गरिएको हो । 
समारोहमा नवोदित गजलकार अम्बिका कार्कीद्वारा दिवंगत श्रीमान ओम कार्कीको स्मृतिमा स्थापित ओम कार्की साहित्य प्रतिष्ठानद्वारा विराटनगरकी कथाकार मन्दिरा मधुश्री, म्याग्दीका साहित्यकार घायलश्री र चितवनका साहित्यकार गोर्खे साईलोलाई ओम कार्की स्मृति सम्मान-०७५ बाट सम्मानित गरियो । हाम्रो मझेरी साहित्य प्रतिष्ठानको बीसौं वर्ष प्रवेशका अवसरमा साहित्यसेवी एवम् डिजाईनर दीपेन्द्रकुमार जोशी (चितवन), संगीतकार दीपकराज विश्वकर्मा (चितवन) र दीपेन्द्र थिङ्ग (चितवन)लाई संगीत एवम् साहित्य अवार्ड प्रदान गरियो ।
 
कार्यक्रममा गजलकार सीता अधिकारी तिमिल्सिनाको गजलकृति 'शृङ्गार' , अम्बिका कार्की 'अमु'को गजलकृति सङ्कल्प १०१, सुरेशकुमार पाण्डेको गजलकृति 'अन्धकार चिर्ने दियो', बशन्तमोहन अधिकारीको गजलकृति 'रुपन', पुष्प अधिकारी 'अञ्जली'को गजलकृति 'बार्दली', कमल अर्यालको गजलकृति 'लौरौ', र संयुक्त गजलसंग्रह 'हैसियत-४' को विमोचन भएको थियो । पुष्प अधिकारी 'अञ्जली' को अध्यक्षता र समाजसेवी अरुण राज सुमार्गीको प्रमूख आतिथ्यतामा हाकिमचोक, चितवनको होटल स्टार बैङ्क्युटमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...