annapurna add

 

आयौ साथी र रहरहरू सल्बलाए खुसीले
हाँस्छन् नाँच्छन् अधर जसरी दान पाए दुखीले
राख्यौ तिम्ले कदम र जसै फुल्न थाले सहर्ष
हाम्रो आफ्नै घर हुनगयो स्वर्गको एक अंश।१।

थाक्रो जस्तै प्रिय म लहरो साथमै लाग्छ कोसा
टेको दिन्छौ म लरबरिए जिन्दगीको भरोसा
मेरा सारा प्रगतिपथको उच्च किल्ला कला हौ
बाधा तोड्ने मनमगजमा प्रेरणा हौसला हौ।२।

तार्ने गर्छौ सहजसितले नाउ मेरो तिमी हौ
साथै हिड्दा सकस नहुने लाल कार्पेट बन्छौ
के चल्थ्यो यो मिसिन नि त्यसै खास पुर्जा तिमी हौ
यो यात्राको रथ अघि बढ्यो स्रोत ऊर्जा तिमी हौ।३।

काँढा फाली पथ खनिदिने पोख्त औजार जस्तै
मेरो बत्ती झलमल हुने हौ तिमी तार जस्तै
जाडो चिर्ने सिरक सरि हौ जिन्दगीको धरामा
पाएँ न्यानो महशुस तिमी आउँदा यो गरामा।४।

जस्तो बाचा लगनपलमा बाँधियो खुस्किदैन
हाम्रो माया बिच अवनिमै तिक्तता भेटिदैन
लागून् गिद्धे नजर र खडा हुन् करौँती र मुङ्ग्रो
टुट्ला धर्ती तर प्रियतमा साथ टुट्दैन हाम्रो।५।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर