tealaya add

krishna dharabasi
कृष्ण धरावासी: सात वर्षको उमेरमा मैले पहिलोपल्ट इलाम देखेको थिएँ । पहिलोपल्ट मोटर देखेको पनि त्यही बेला हो । मामोलकी हजुरआमाको पछि लागेर साँगरुम्बाबाट गएको थिएँ । एक दिन बालकमा झलक्क देखेको ठाउँबारे खासै धारणा बन्न सकेको थिएन । दोस्रोपल्ट वि। सं। २०३५ असारमा क्याम्पस पढ्नका लागि पुगेको थिएँ । बालककालमा कलिला पाइतालाले स्पर्श मात्र गरेको ठाउँमा निकै लामो समयसम्म बस्ने गरी जान पाएकोमा खुसी लागेकै थियो तर क्याम्पस भर्ना गर्ने बेलैमा भएको एउटा गल्तीले गर्दा मैले चार वर्षको ठाउँमा दुई वर्ष मात्र बस्न पाएँ । 

म क्याम्पस पढ्न गएको थिएँ तर कुन विषय पढ्ने भन्ने निधो थिएन । मजस्तै कलेज पढ्न आएका साथीहरूको लस्करमा उभिएर एउटा फारम किनी उनीहरूको जस्तै पारामा धमाधम भरेथेँ । पछि नाम निस्क्यो । मैले त व्यावसायिक शिक्षामा पो फारम भरेँछु १ त्यो विषय त इलाममा दुई वर्ष अर्थात् आईएडसम्म मात्र पढाइ हुँदोरहेछ । दुई वर्षपछि मैले इच्छा नहुँदा नहुँदै पनि इलाम छाड्नु प¥यो । आज सोच्दछु, त्यो दिन म मानविकी पढ्नेहरूको लस्करमा उभिन पुगेको भए त्यहीँबाट बिए पास गरेर फर्किदो हुँ । 

सोच्दछु मानिसको भविश्य अज्ञानतावश नै निर्धारण हुँदै जानेरहेछ । मलाई लाग्दछ, यदि मैले इलाम क्याम्पसबाट बिए पास गरेको भए पक्कै पनि कुनै माविको शिक्षक र कुनै राजनीतिक दलको कार्यकर्ता भई गाउँको सबैभन्दा बुद्धीजीविमा आफूले आफूलाई गनिरहेको हुनसक्थेँ वा स्नातकोत्तर वा विद्यावारिधि गरी कुनै कलेजतिर पढाइरहेको पनि हुनसक्थेँ । शिक्षित बेरोजगारको नाममा घरेलु रक्सीको विशेषज्ञ भएर रातदिन बाटो नापिरहेको पनि हुन सक्दो हुँ । वैदेशिक रोजगारतिर लागेर उतै हराएको, मारिएको, जेल परेको, फाँसीमा चढेको वा ब्लडमनी पर्खिरहेको पनि हुनसक्थेँ । जनयुद्धतिर लागेर कतै शालिक बनिसकेको पनि देखिसक्थे । कि त कुनै राजनीतिक नियुक्ति पाएर दुःखजिलो गरी बनाएको जनदरबारको रखबारी गरिरहेको देखिनसक्थेँ । 

यो कुरा पक्का हो कि म हिमाल चढ्ने थिइनँ । बसको चालक हुने थिइनँ, हवाइजहाजको पाइलट हुने थिइनँ । न म स्कुलको सहयोगी कर्मचारी नै हुने थिएँ । बरू म लोकतान्त्रिक ठेकेदार हुनसक्थेँ र पुल र बाँधहरू बनाउँदै–भत्काउँदै गरिरहेको भेटिन सक्थेँ । झोलामा खोला बोकेर बडा कष्टका साथ मन्त्रालयहरू धाइरहेको हुनसक्थेँ । कि त अस्पतालतिर मरेका बिरामीका आफन्तहरूलाई उचालेर क्षतिपूर्ति दिलाउने आन्दोलनको अगुवा भई विभिन्न अस्पतालका प्राङ्गणमा मध्यस्थकर्ताको भूमिका गर्नेमा उभिइरहेको फोटोहरूमा देखिन सक्थेँ ।

म किर्ते जग्गाधनीको स्रष्टा भएर दरबार र खेलमैदानहरू बेचिरहन सक्थेँ । भ्रष्टाचारका विरुद्ध सडकमा कडाकडा भाषण गर्दै गोप्य सम्झौताहरूका खेस्रा बेचिरहनेमध्येको एक शङ्काको घेरामा परिरहेको हुनसक्थेँ । मलाई जतै जान पनि बाटा खुला हुन सक्थे । म यीमध्ये कतै नगएर गाउँमा सुपारी खेती गरेर बसिरहेको पनि नहुन सक्थेँ र रु के म मन्दिर बनाउने, पुराण लगाउने, धामी, झाँक्री र ज्योतिषी चलाउने संस्थाको सल्लाहकार हुन नसक्दो हुँ रु म सामुदायिक वनको अध्यक्ष पनि त हुन सक्थेँ । पार्टीले चाहेको भए म आज इटहरी नपाकै मेयरै हुन पनि त कसले रोक्न सक्थ्यो होला र ।

तर म यी माथिका कुनै कुरा हुन चाहिनँ (नचाहेको ? कि नसकेकोर ?) । मैले त्यहाँबाट आईएड मात्र गरेको र बीएड पढ्न सानोठिमी नगएकोले प्राथमिक स्कुलको मास्टर भएँ । पहिला स्वयंसेवक भएँ किनकि म सबै कुराले परिपूर्ण घरानाको भएको हुनाले स्वयंसेवक शिक्षक बनेँ । केही वर्षपछि कुनै एकजना शिक्षकले त्यही विद्यालयकी विद्यार्थीसँग हृदय जोडेर नफर्किने गरी बाटो लागेपछि उनैको ठाउँमा सट्टा शिक्षक भएँ । उनले जब राजिनामा दिएर महान काम गरेथँे, त्यही ठाउँमा अस्थायी शिक्षक बनेँ । उनलाई मुरीमुरी धन्यवाद ।

नमिल्ने कुरा गर्नु नहुने हो मैले किनकि आईएड पढ्दा पहिला महिनाको डेढ सय र पछि दुई सयका दरले छात्रवृत्ति दिई एउटा फाराममा सही गराइएको थियो । त्यसमा स्पष्ट लेखेको थियो, पढिसकेपछि सरकारी विद्यालयमा अनिवार्यसँग पाँच वर्ष शिक्षण गर्नुपर्ने छ तर सात वर्षसम्म पढाउँदा पनि स्थायी जागिर हुनसकेको थिएन । शिक्षा पढेको मानिस बैङ्कमा जागिर खान जानु नहुने हो नियमले । गए पनि जागिर नदिनु पर्ने हो नियमले तर म बाठो थिएँ । मैले एसएलसीको प्रमाणपत्र मात्र पेश गरेर खरदार हात पारिहालेँ । त्यसपछि मेरो आईएडको प्रमाणपत्र र ज्ञानले कहिल्यै टाउको उठाउनु परेर । ती दुवै भूमिगत भए । म छात्रवृत्ति खाएर शिक्षा पढेको मानिस बैङ्कमा पुगेँ । बैङ्कमा पुगेर साहित्य लेख्न थालेँ । सबैले भ्रष्टाचार गर्न मिल्ने देशमा मैले मात्र किन नमिल्नु 

त्रिचालिस सालतिर बैङ्कको जागिरको सिलसिलामा फेरि एकपल्ट इलाम पुगेको थिएँ । त्यसबेला इलाम पहिलाकोभन्दा धेरै अर्कै भएको थियो तर चियाबारी उस्तै थियो, चियाबारी मास्तिरको केबी गुरुङको घर उस्तै थियो । पारि शान्तिडाँडा, सोयाक, उता माथि माइपोखरी, पारि नाम्सालिङ, नयाँबजार सबै पहिलेकै जस्ता थिए टाढाबाट हेर्दा तर भित्र जाँदा ती अर्कै छन् भन्थे । म आफू अर्कै भएकोमा खुसी थिएँ तर अरू चाहिँ नबदलिएको भा हुने भन्ने लागिरह्यो । आफूले मात्र जे पनि हुन पाको पो मज्जा । अरूको पनि प्रगति भएको देख्नु के मज्जा ?

डाँडा–डाँडा कुदियो, खोला–खोला कुदियो, धेरैले लभ गर्न पाए, आफूले पाइएन । भनियो, यो गर्ने कुरा हैन । इमान्दार र भलाद्मी हुनुपर्छ । कसैले पत्याको भए कसले छोड्थ्यो । उखानै थियो उसबेला– ‘आयो इलाम, खायो सिलाम, हिँड्ने बेला झिटीगुण्टा लिलाम ।’ मौका पाएसम्म जवानीबाट कसले राजिनामा गरेको छ र रु युवराज दीपेन्द्रले त देवयानीलाई नपाउने भएपछि दरबार हत्याकाण्ड गरेका अरे । डेढ वर्षको इलाम बसाइ साहित्यमय भएर बित्यो । विमल वैद्य, विष्णु निष्ठुरी, नन्दु परिश्रमी, धिरेन चेमजोङ, मङ्गेश दिपविम, होम भट्टराई, शिशिर खरेल, डम्बर पहाडी, धर्म गौतम, भरत भुर्तेल, अर्जुन श्रेष्ठ, नवीव घिमिरे, आदि कविहरूको एउटा जुलुस बनियो । अरू केही गर्न नपाएकाले कवि हुनुपरेको । कवि भएपछि अलिक ठूला कुरा गर्न पनि पाइयो, मान जस्तो–जस्तो पनि हुने । ताली पनि पाइने ।
 
त्यो पल्टको इलाम बसाइ एक दुर्घटनायुक्त भएछ । आज हेर्छु, विष्णु निष्ठुरी, विमल वैद्य, नन्दु परिश्रमी, डम्बर पहाडी, होम भट्टराईहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचानमा पुगेछन् । जिस्ँिकदा जिस्ँिकदै साँच्चै पोे भएछ । 

झापाबाट तिहीँ मास्तिर तीन घण्टाको बाटोमा पनि म बीस वर्षसम्म पुगिनँछु । सायद नभ्याएको होला १ कि त नभ्याएको नाटक पनि त हुनसक्छ । अलिक नाम चलेपछि शान बढेको पो थियो कि रु नभएको व्यस्तता देखाउने सभ्यतामा म मात्र असभ्य हुन पनि त मिलेन कि । 

यसपालि थोरैमा धेरै घुमियो । पुराना थोरै, नयाँ धेरैसँग भेटघाट गरियो । यसपालि पनि गइयो लभ डाँडामा । त्यो डाँडो तर खासै फरक थिएन । चियाका बोटहरू उत्तिकै निमोठिँदै नै थिए । निमोठिएका तिनको पीडा सौन्दर्यको प्रतीक थियो । मञ्जुजीले घुमीघुमी रमाइरमाइ फोटा खिच्नु भो । एउटा फोटोमा त मलाई पनि अँगालो मारेको छ । उतिबेला भए लाजले भुतुक्कै होइन्थ्यो होला, यसपालि त केहीजस्तो लागेन । हेर्दा फोटो चाहिँ त्यत्तिको राम्रै हो । लीलाबोधी बनेर पुगिएको यो पल्ट लीलाकै कुरा गरियो । छक्कै पारियो भन्ने आँटी नआँटी भ्रम बोकेर झरियो मधेस ।

इलाम चोकमा ओर्लिने बित्तिकै पहिला आँखा पुगे लाँकुरी चौतारोमा । लाँकुरीको बोट त छैन तर चौतारो छ । त्यो व्यवस्थित गरिएको फोहोरमा थियो । इलामको हरेक आन्दोलनको इतिहास बोकेको लाकुरी चौतारोलाई देख्नासाथ म त्यहाँ चढेँ र तलबाट फोटो खिच्न लगाएँ । त्यसमा कारण छ । 

२०३६ जेठ १६ गते पहिलोपल्ट इलाम क्याम्पसका विद्यार्थीको आयोजनामा बहुदलको पक्षमा आमसभा गरिएको थियो र अठार वर्षको म फुच्चेले चर्कीचर्की भाषण गरेको थिएँ । के भाषण गरेँ, त्यो थाहा छैन तर आज पनि मलाई एउटा कुरा चाहिँ के थाहा छ भने त्यसबेला मलाई बहुदल भनेको के हो र कस्तो हुन्छ भन्ने थाहा थिएन । मेरो भाषणमा ताली चाहिँ खुब बजेका थिए । यसपालिको भेटमा धर्म उप्रेती सरले सम्झाउँदै भन्नु भो– तपाईंलाई काँधमा बोकेर बजार घुमाएको सम्झना छ रु त्यतिबेला केदार बाँस्तोला र म ऊ त्यो घरको बरन्डाबाट हेरिरहेका थियौँ । सम्झेँ, भाषण सकिएपछि मलाई भीडले बोकेर घुमाएको थियो । केदार सरलाई सम्झेँ, दस वर्षअघि उज्वल प्रसाईंले अल्जाइमर भएका उहाँसँग भेट्टाएका थिए । चिन्नुभएको थिएन । आज उहाँको अवस्था के छ, थाहा छैन ।

यो दिन शिक्षा शास्त्रमा फारम भर्न सहयोग गर्ने साथीलाई धन्यवाद छ, जसका कारणले आज म यो लेख लेख्न योग्य भएँ । 
गोरखापत्र अनलाईन डटकमबाट

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...