loeela

-दीपक न्यौपाने
‘मलाई स्किजोफ्रोनिया भएको हैन, मुमुक्षा भएको हो, जस्तो रामलाई भएको थियो, बुद्धलाई भएको थियो, अष्टावक्रलाई भएको थियो...’ भन्ने साविति नै लीलाराज खतिवडाको उपन्यास ‘म को हुँ’को मूल अन्तर्य हो । यो उपन्यास आफ्नो जीवन भोगाइको साबिति भए पनि लीलाराजले लीलै गरेका छन्, उपन्यासमा राहुल नामको पात्र खडा गरेर, आफ्नो मुमुक्षालाई उसको बनाएर । गान्धीको सावरमती आश्रमस्थित सावरमती नदी किनारमा राहुल र निएलको एक संवाद छ उपन्यासमा । राहुल भन्छ, ‘म उपन्यासको पात्र राहुल- जसलाई लीलाराज समेट्दैछ ।’

मानव भएर पनि यो अमूल्य जीवनलाई आहार, निद्रा, भय, मैथुनको परिधिमा मात्र सीमित राख्नेहरु ‘पशु’ हुन् - महाकवि देवकोटाले उसै भनेका हैनन्, ‘खानु र पिउनु जीवन भए जिउनु हरे के । पछिको आशा नभए कठै मानिस हरे के ।

उपन्यासकार आफ्नू अन्तर्मनमा म को थिएँ भन्ने उठेका ज्वारभाटाको बयान दिन निकै सहज, सरल, रोचक, रहस्यात्मक र स्वैरकल्पनात्मक शैलीको सहारा लिन पुग्छन्, राहुल नामक मूल पात्र खडा गरेर- उसले पुरेतले राख्नुअघि मेरो नाम के थियो- म के पुरेतले राखिदिएको केही अक्षरले बनेको व्यक्ति मात्रै हुँ त ? यसअघि आमाको गर्भमा आउँदा मेरो नाम के थियो ।

त्यसअघि बुबाको शुक्रकीटमा म कहाँबाट आएँ । त्यसअघि कहाँ थिएँ । के गर्थे ? जस्ता प्रश्नै-प्रश्नले गाँजेर उपन्यासको प्रमुख पात्र राहुल बुद्धत्व प्राप्ति औ बोधिको खोजीमा लम्किन्छ । सन्त ज्ञानदिलदासले रुम्जाटार जानुअघि तपस्या गरेको इलामको आमचोकस्थित गुफामा राहुलले दश दिन पूरै ‘विपश्यना ध्यान’को सहाराले अन्तर्मनको यात्रा गरेको छ ।

हाम्रो पूर्वीय सभ्यताले मानेको आत्माको अमरतालाई उपन्यासले बडो रोचक ढङ्गले तस्वीर खिचेको छ । गुफाभित्रको दशदिने अन्तर्मनको यात्राका क्रममा राहुललाई पटक-पटक पूर्वजन्मका संस्कारहरुको स्मरण हुन पुगेको छ, पूर्वजन्मका आफूले बिताएका विभिन्न स्थानहरु उसलाई परिचितझैं लाग्छ । जस्तो, जातिस्मरणका क्रममा हिन्दूस्तानको आवलखेड गाउँ र मुम्बईको दादर उसलाई परिचितझैँ लाग्छ ।

आवलखेडको जंगलमा मध्यरातमा राहुलले ध्यान गर्दा एक जोगी आएर राहुललाई उसको कुटीमा लग्छ र उसले अग्नि समाधि गरेको बडो रोचक प्रसंग छ । जस्तो फलाम अग्निमा खार्दा रातो हुन्छ, त्यो जोगी पनि दन्दनी बलेको अग्निमा हाफमालेर आफूलाई रातो फलामझैं खार्छ । समाधिको अवस्थामा पुगेका योगीहरुले असम्भव लाग्ने जस्तासुकै कर्महरु पनि सहजै गर्न सक्छन् भन्ने नमुना हो यो, ‘समाधि मोक्षस्थितिः’ पूर्वमा उसै भनिएको हैन ।

कात्यायनीसँगको प्रेम प्रसंग, पुनाबाट अहमदावाद जाने बसमा प्रफुल्लासँग भएको राहुलको संवाद प्रेमालापपूर्ण भए पनि यो उपन्यासको मूल मर्म आत्मिक प्रेम हो । उपन्यास जातिस्मरणको खात हो । उपन्यासको प्रमुख पात्र राहुल आफैँलाई खोज्दै हिन्दुस्तानका विभिन्न शहर र स्वदेशका विभिन्न ठाउँ भौतारिन्छ । हिन्दुस्तानका विभिन्न धम्मगृहमा पुग्छ र विपश्यना ध्यान गर्छ । पञ्चशीलमा रहेर आनापान सतियोगमार्फत् ऊ आफ्ना पूर्वजन्महरुमा फर्कन्छ ।

त्यसरी पूर्वजन्महरुको स्मरण हुनुलाई नै पूर्वीय चिन्तनमा जातिस्मरण भन्ने गरिएको हो । आफ्नो गन्तव्यको यात्रा आफैँलाई बनाउँदा सर्ववप्रथम आफूले चौरासी लाख योनिमध्ये विभिन्न योनि लिएर जन्मिएका घटना, विभिन्न जन्ममा गरेका लीला र मृत्युका घटनाहरु साधकको मनमस्तिष्कमा झल्झली आउने कुरा उपन्यासले राहुल पात्रको मानस शल्यक्रियाका क्रममा खिचेको छ ।

विपश्यना सतियोगमार्फत् मान्छेले विभिन्न योनिमा पाएका जन्म र मृत्युहरुको घनघोर दुःखसागरको दृश्य मनको अन्तरकुन्तरमा झल्झली देखेपछि शायद मायामोहरुपी संसारप्रति वैराग्य जाग्ने र मोक्षमार्गमा लम्कने होला । त्यसैले उपन्यासमा ध्यानको महत्वलाई निकै उच्चता दिइएको छ । मनमाथि आरुढ भएर शरीर चलेको छ, शरीरमाथि आरुढ भएर मन चलेको छ । शरीर र मनको सहयात्रामा जीवन चल्छ भन्ने कुराको बोध शायद चेतनशील प्राणी मानवलाई मात्र थाहा हुने हो ।

त्यही भएर मानवजीवनलाई अमूल्य र अरु प्राणीको जीवनभन्दा अतुलनीय मानिएको हो । यस्तो दुर्लभ मानवजीवनलाई चिनेर आत्मालाई परमात्मासँग योग गरेर यो दुईदिने चोलालाई सार्थक र फलदायी तुल्याउनुपर्छ भन्ने सन्देश यसमा पाइन्छ । राहुल लामिछानेको मनमा मात्र हैन, समग्र मानवका मनमस्तिष्कमा अनेक किसिमका ज्वारभाटा र उलटपुलटहरु चलिरहेका हुन्छन् । मान्छेले ती ज्वारभाटाहरुलाई कुन मार्गमा डोर्यााउने भन्ने निर्णय उसैले गर्ने हो ।

हुन त कतिपय मान्छे समय र परिस्थितिले पनि असत् मार्गमा पुगेका र फसेका हुन सक्छन् । त्यो गर्तमा फसेका बेला पनि सत्, असत् चिनेर मान्छेले आफूलाई सही मार्गमा डोर्या्उनुपर्छ भन्ने शिक्षा यो उपन्यासले दिएको छ । न्याय, नीति, इन्साफजस्ता शब्दहरु सत्मार्गमा लागेकाहरुलाई हेरेर बनाइने हैन । उनीहरुलाई खासै कानुनै चाहिँदैन । बुद्धमार्गमा लागेकाहरु कानुनभन्दा माथि हुन्छन् । दण्डको डण्डा असत् मार्गमै लाग्नेहरुलाई नै तह लगाउन बनाइने अस्त्र हो ।

शत् प्रतिशत सही कुनै पनि मान्छे हुँदैन तर सत्मार्गमा विचरण गर्दै जाँदा मानवभित्रका अहंकार र क्लेशहरु बिस्तारै दूर हुँदै जाँन्छन् र जीवन धन्य हुन्छ भन्ने सन्देश उपन्यासले भरपूर मात्रामा दिएको छ । सत् र ध्यान मार्गको शिक्षा औपचारिक शिक्षाका भलाद्मी गुरुहरुबाट कक्षाकोठामा उपलब्ध हुन गाह्रै होला । तर, त्यस्तो अमूल्य विद्या ऋषि, सन्त, महन्त र बुद्धका चेलाहरुको धम्महलबाट प्रशस्तै पाइने उपन्यासले संकेत गरेको छ ।

उपन्यासको प्रमुख पात्र राहुलले आत्मज्ञानको खोजीमा हिन्दुस्तानका धम्महलहरु उसै चहारेको हैन । यो उपन्यास कलम र कुचीको सहराले स्वैरकल्पनालाई लिपिबद्ध गरिएको एकादेशको कहानी नभई साधनाको उपल्लो तहमा पुगेका एक विपश्वी साधकले आफ्नो आभ्यान्तर अनुभूतिलाई कलात्मक ढंगले लिपिबद्ध गरेको सबुत प्रमाण हो । जीवनका दशै दिनमा चौरासी लाख योनिमा संकलन गरिएका विकारहरु देखिने र सिंगो उलटपलुट भई मानव बुद्ध बनिहाल्ने पनि हैन ।

तर यो यात्रालाई निरन्तरता दिँदै जाँदा भने बोधिको स्वाद चाख्न सकिन्छ भन्ने संकेत उपन्यासले गरेको छ । सारमा भन्दा यो उपन्यासले आफूभित्रको अज्ञान चिर्न अविदितको यात्रामा लम्किनुपर्छ र साधनाको बलले आत्माको दियो बालेर पुलकित बन्न सकिन्छ भन्ने सन्देश दिएको छ । मुमुक्षाको भोक जागेकाहरुलाई त यो उपन्यास एक अचुक औषधि नै बनेर खडा भएको छ ।
- समीक्षक न्यौपाने कान्तिपुर टेलिभिजनका पत्रकार हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर