tealaya add

  

 -लिलाराज खतिवडा

leela
आज अचानक म आफ्नो एक बालसखाको बारेमा लेख्ने मूडमा छु । इन्द्र कार्की, ४५ । चार   कक्षादेखि श्री राधिका माबिमा एसएलसीसम्म हामी सहपाठी । त्यसपछि पनि बाक्लै संगत । म र अन्य   सहपाठीहरुका लागि इन्द्रे उसको प्यारो नाम ।

  उचाइ र कदकाँठीले ऊ म जस्तै देखिन सक्छ । ऊ सिकुटे र अग्लो छ । अचानक ऊमाथि लेख्ने मूड     किन चल्यो, थाहा छैन । ऊ कुनै सेलिब्रिटी पनि होइन । जग्गा कारोवार गरेर उसले मनग्ये रुपैँयापैसा   कमाएको पनि छैन । ऊ आफ्नो नागरिकता डम्प गरेर पराया देशको ग्रिनकार्ड लिएको नवधनाढ्य पनि   होइन । उसको कुनै धाक, धम्की वा रवाफ पनि छैन । ऊ टोले दादा होइन । इलाका वा प्रदेशको डन पनि   होइन । ऊ कुनै चुनाव जितेको नेता पनि होइन । कतिपयले मेरो बारेमा लेखिदे भन्दा पनि ठाडा कान   नलगाउने म आज किन मेरो बालसखालाई पनि थाहै नदिइ भटाभट ऊमाथि किबोर्ड ठोकिरहेको छु त ?

नयाँ प्रयोग गर्ने चक्करमा स्पोन्टेनियस लेखन अन्तर्गत आफ्नो लगौंटिया दोस्तका बारे म केही मथिंगल गर्न उद्दत छु । हेर्दै जाउँ, के तयार हुँदोरहेछ ?

त्यसो त ‘हाम्रो’ इन्द्रे एउटा निकै चाखलाग्दो पात्र हो । स्कूल पढ्दा ऊ पहिलो वा दोस्रो भइरहन्थ्यो । हिशाबमा ऊ निकै पोख्त । तर अचानक एसएलसीमा ऊ गुल्टियो । उसको विज्ञान विषय लागेको थियो । अर्को चोटीमा एसएलसी पास गरेपछि आइएससी पढ्न ऊ काठमाण्डौ आयो र कालिमाटीमा आफ्नी फुपूका घरमा बस्न थाल्यो ।

फुपूले उसलाई एउटा सुजुकी बाइक दिएकी थिइन् । इन्द्रे त्यो बाइक लिएर त्रिचन्द्र कलेज धाउँथ्यो । काठमाण्डौमा बेलाबेला हाम्रो भेट हुन्थ्यो । निलो रंगको ब्लेजर कोट लगाएर गोरोगोरो वर्णको मेरो साथी त्यतिबेला निकै हेण्डसम पनि देखिन्थ्यो ।

फुपूका कुनै सन्तान थिएनन् । फुपूफुपाजूले बाल मन्दिरबाट ल्याएर धर्म पुत्र र पुत्री पाले पनि इन्द्रेलाई भने त्यहाँ आफ्नै सन्तानको दर्जा प्राप्त थियो । उसलाई त्यहाँ कुनै कुराको कमि थिएन ।

अहिले प्रष्ट याद नआए पनि कालिमाटी चोकबाट धेरै टाढा थिएन घर । केही पटक साथीको आमन्त्रणमा म बासै बस्ने गरी त्यहाँ पुगेको हुन्थें । सानो डेरामा कुच्रुक्क बसेको मलाई इन्द्रे स्वर्गमा बसेको फिल हुन्थ्यो । यो २०४८ सालको कुरा थियो । फुपूका घरमा जनसंख्या एकदम कम थियो । घर तिन तल्ले । माथिल्लो तलाको एउटा ठूलो कोठामा एक्काइस इन्चको रंगिन टेलिभिजन थियो । साथमा भिसीआर पनि । अब त्यो बेला रंगिन टेलिभिजनको महत्व अहिले वर्णन गरेर साध्य छैन ।

मेरो साथीसँग मैले त्यहाँ कैयन हिन्दी र अंग्रेजी सिनेमा हेरेको थिएँ । हामी दुवै लगभग उस्तै तरिकाले पृथक रङ्गका सिनेमाको सौखिन रह्यौं । रातरातभर हामी त्यहाँ सिनेमा हेरेर बस्थ्यौं ।

काठमाण्डौमा त्यतिबेला पत्रकारिताको विध्यार्थी थिएँ, म । मलाई पकेट मनि अलिक ज्यादा चाहिन्थ्यो । कति पटक ओभरस्पेण्ड भएर मलाई महिना काट्न पनि हम्मे पथ्र्यो । एक पटक पैसाले फिटफिट परेका बेला मैले इन्द्रेमार्फत आफ्नो हातमा बाँधेको साइको फाइभ घडी बेचेको थिएँ । हिन्दीमा प्रचलित एउटा भनाइ : मर्ता क्या नहीं कर्ता ?

त्यो घडी मलाई मेरा दाजुको उपहार थियो । २०३८ साल तिर हात्तिसार कलेज टप गरेर स्ट्यापन खाएका पैसाले मेरा दाजुले त्यसलाई जोडेका थिए । त्यसको दश वर्षपछि दाजुलाई अर्को घडी प्राप्त भएको हुँदा त्यो मेरो हातमा चम्किन पुगेको थियो । इन्द्रेले त्यसलाई एघार सय रुपियाँमा बेचिदिएको थियो । दाजुले दश वर्षअघि त्यसलाई आठ सय रुपियाँमा किनेको मलाई जानकारी थियो ।

त्यसो त, कुनै पनि डिल फतेह गर्न इन्द्रे पहिल्यैदेखि खप्पिस हो । तर उसले आफ्नो यो ट्यालेन्टलाई मलजल नै गरेन । नत्र कुनै पनि बिजनेश डिल मेरो साथीलाई गराउनोस, उसको तीर चुक्दैन । त्यो पनि आफ्नो पल्ला भारी गरेर । अहिले पनि ऊ मान्छेहरुसँग राम्रो पेश आउँछ । कुराहरुलाई एनालाइसिस गरेर निचोड निकाल्न पनि ऊ खप्पिस छ ।

सानोमा पनि ऊ कुराहरुलाई अनेक एंगलबाट एनालाइसिस गर्ने गथ्र्यो । यो गणित विषयमा चाख राख्नेहरुको खासियत पनि हो । गणितका सारा खेलहरु आखिर तर्ककै कल्याङ्मल्याङ् हुन् । मलाई भने गणित एकदम झन्झटिलो विषय लाग्थ्यो । एसएलसीमा म केवल ज्यामिती हल गरेर पास भएको थिएँ । अंक र बीज गणितमा म मठ्ठू । इन्द्रे सहयोगी पनि थियो । आफूले जान्ने विषयमा ऊ आफूभन्दा नजान्ने सहपाठीहरुको खयाल पनि राख्ने गथ्र्यो । जबकी कतिपय जान्ने भनाउँदा अन्य साँगुरो मनका केटाहरु भने आफूले जानेको कुरा पनि भूत्लोभांग केही सिकाउँदैन थिए । सायद उनीहरुलाई विद्या बाँड्दाचाहिँ बढ्छ भन्ने कुराको त्यतिबेला ज्ञान थिएन ।

यता इन्द्रेलाई काठमाण्डौ फापेन । आइएससी दोस्रो वर्षमा ब्याक लागेपछि ऊ फुपूले दिएको सुजुकी बाइक लिएर घर आयो । त्यसपछि अहिलेसम्म अविछिन्न रुपमा ऊ आफ्नै स्थानमा छ ।

त्यसपछि उसले पढाइ माया मारेर ठेक्कापट्टा गर्न थाल्यो । राम्रै पैसा पनि कमायो । मस्ति गर्नु उसको शौख र खूबी पनि । रक्सि उसको हमेशा प्रिय झोल् रह्यो । मासु उसको सर्वप्रिय सितन । अझै ऊ उस्तै छ । हरेक दिन प्यूँछ । बाइक लिएर टाढाटाढाका थुप्रै बांगे बजार भ्याउँछ । बांगे बजार भनेको हटियाको त्यस्तो कुनो हो जहाँ राँगा÷सुँगुरको मासु र रक्सिको भरमार हुर्मत हुन्छ । दिउँसैदेखि टन्नै मान्छेहरु त्यहाँ टुन्न हुन्छन् । ऊ घण्टौं बसेर खाजा खान्छ अनि मजाले बिल तिरेर आफ्नै दुनियाँमा फरार हुन्छ । मेरो जानकारीमा ऊ इमानको खान्छ । कसैसँग उसको लप्पनछप्पन छैन । जस्तो कि बांगे बजार वा भट्टी धाउने वा घरैलाई भट्टी बनाउने कतिपयको प्रायः हुने गर्छ ।

उसले गर्ने ऐयाशीको लिष्ट लामो भए पनि उसको थप शौख भनेको तास खेल्नु हो । फ्लश, मेरिज र यदाकदा जूवा पनि ऊ भ्याउने गर्छ । गाउँगाउँका कैयन बाह्रमासेहरु मध्ये ऊ पनि एउटा हो । पोइन्टको पचास वा समय काल हेरी त्यो भन्दा ज्यादा रुपैंयाका दरले म्यारिज खेल्ने स्थानीय खालहरुमा ऊ यदाकदा धाइरहन्छ । चाडपर्वहरुमा उर्लावारी चौकमा हुने हाउजी–तंबोला ऊ छुटाउँदैन । मेला लागेका बेला ऊ डाइस, तीर, घिर्नी र अन्य कैयन च्याँखेदाऊहरुमा भेटिने गर्छ । र, पैसाको लोभै नगरी खल्तिबाट नोटहरु निकालेर भाग्य आजमाउँछ ।

यता आफ्नो तास, जुवामा इन्ट्रेस्ट नभएर होला; मलाई उसका ती च्याँखे स्टाइलहरु अजिव र रोचक पनि लाग्छन् । प्रायः म उसका कृयाकलापहरु बडा मिहिन पाराले हेर्ने पनि गर्छु । मलाई अन्य बालसखा मध्ये ऊ बडा फरासिलो पनि लाग्ने गर्छ । मनमा कुरा गुम्स्याएर राख्ने उसको बानी छैन । जे जसो हो ऊ सामुन्ने नै राफोसाफो गरिहाल्न मन पराउँछ ।

तर यसो भन्दैमा ऊ घरवार हेर्दैन भन्ने होइन । ऊ घरका आवश्यक्ताहरुमा पनि उत्तिकै ध्यान दिइरहेको हुन्छ । दुइ सन्तान छन् उसका, एक छोरी र एक छोरा । आफ्ना नानीहरुको पनि ऊ उत्तिकै खयाल राखिरहेको हुन्छ । बुबाआमा बृद्द भए । श्रीमती र आमाले घर धानेका छन् । बुबा बिरामी, ८३ वर्ष । बेलाबेला अस्पताल लगिरहनु पर्छ । बुबा इन्डियन आर्मीमा रिटायर हुन् । अझै पेन्सन आउँछ । दाजु पनि इन्डियन आर्मीमा नै थिए । आर्मीको जागिरबाट अवकाश लिएर आजकल उनी आफ्नो परिवारसँग अलग्गै बस्छन् ।

मावा खोला पारी तारावारीमा हो, इन्द्रेको घर । पूर्खा घर दोलखा । हजुरबुबा तत्कालिन शाही नेपाली सेनामा कप्तान थिए । तर बुबा जवानीमा आसाम भासिए । इन्द्रेको जायजन्म पनि आसामको रंगियामा भएको थियो । ऊ नाबालक छँदै दिदीदाजुसँग नेपाल ल्याइएको थियो । केही समय उर्लावारी चौक छेउमा डेरा गरेर बसेपछि बुबाले तारावारीमा जग्गा किने ।
परिवार आर्मी ब्याकग्राउण्डको भएता पनि इन्द्रेले नेपाल आर्मी ज्वाइन गरेन । न त ऊ इण्डियन आर्मीमा नै भिड्न गयो ।

‘तँ त आर्मीमा भिड्नु पर्ने मान्छे थिइस् । किन पो भिडिनस हौ, केटा ?’ भनेर सोद्धा उसको जवाफ हुने गथ्र्यो, ‘मेरो एउटा हात सानैमा भाँचिएको थियो । आर्मीमा भिड्न म अयोग्य थिँए ।’
नत्र उसले सोच चाहिँ बनाएको रहेछ ।

बेलाबेला घर आउँदा ऊसँग मेरो प्रायः भेट हुने गर्छ । मलाई बाइकमा उसको पछाडि बसेर टाढाटाढा जान खूब मजा आउँछ । ऊ र म त्यसरी लापर्वाह निकै घुमेका पनि छौं । रक्सिले जस्तै माते पनि ऊ बाइक भने राम्रो चलाउँछ ।

अझै पनि कहिले काँही ऊ मलाई कुनै कार्यक्रम बनाएर घरैमा लिन आउँछ । सानैदेखि उसका र मेरा गफ मिल्ने । अझै पनि भेट भयो कि झगडा गरे जसरी हामी शुरु भइहाल्छौं ।

कतिपय नचिन्नेहरुले हामी दुइले गफ गर्दा भगडा पर्यो भनेर छुट्याउन समेत आइलागेका स्मरणहरु हामीसँग ताजै छन् ।यसपाली म घर आएको केही दिनपछि मात्रै ऊसँग भेट भयो । भेट्नासाथ मुख अमिलो बनाएर उसले भन्यो, ‘मलाई त डिप्रेशन भयो, हौ । तँसँग केही इलाज छैन ?’‘डक्टरलाई जचाएको थिइस् ?’ मैले सोधें ।

‘छैन ।’ उसले भन्यो ।‘अनि डिप्रेशन भयो भन्ने कुरा तँलाई कसरी थाहा भयो त ?’ मैले हल्का मुस्कान छरेर सोधें ।

‘मेरो अन्दाज ।’ उसले पनि मुस्कुराएर भन्यो । मैले भनें, ‘डिप्रेशन भएको मान्छे यसरी ट्याउँट्याउँ बोल्दैन । सोधेको कुराको जवाफ दिन सक्दैन । दिए पनि एकदम ढिलो दिन्छ ।’

‘सब कुरा छ । तर पनि मन खुश छैन । भित्र एक किशिमको खिन्नता उत्पन्न भइरहन्छ ।’ उसले आफ्नो वैराग्य ओकल्यो ।
‘त्यो डिप्रेशन होइन । बरु म भन्दिन्छु तँलाई के भएको हो ।’
‘के हो, भन् त ?’

‘म डक्टर त होइन । कतिपय कुरा जान्नबुझ्न डक्टरी नै गरिरहनु पर्ने जरुरी पनि होइन । तँलाई एडिएस भएको हो ।’
‘के हो एडिएस भनेको ?’

‘एल्कोहोल डिपेन्डेन्सी सिन्ड्रम । अर्थात यो शरिरका सबै अवयव र पुरै वायलोजी नै रक्सिमा परनिर्भर हुन पुगेपछिको अवस्था हो । पहिलो डोज नहानी अब सिष्टम एक्टिभ हुँदैन । तर रक्सि छोडेपछि क्रमशः ठिक भइहाल्छ ।’
‘छोड्नै सकिएन हौ यो पड्के झोल् !’

‘एल्कोहोलिक्स एनानिमस जा । नत्र लुढ्केलास् ! यहाँ भट्टी त सधैँ रहन्छन् । तर मान्छे रहँदैन । अब दुनियाँमा सदाका लागि आए जसरी पिएपछि, के हुन्छ ? आफैं अनुमान गर् ।’

‘तेरो कुरो त ठिकै हो केटा । तर के हो त्यो एल्कोहोलिक्स एनानिमस भनेको ?’
‘रक्सि छोड्ने छोडाउनेहरुको विश्वब्यापी मद्दत समूह ।’
‘र्याफ् त जान्न ।’

‘र्याफ् होइन । रिह्याब । तर मैले त कुनै रिह्याबको कुरा गरेको छैन । एल्कोहालिक्स एनानिमस अर्थात एए सन् तीसको दशकमा स्टक ब्रोकर विल डब्लू र सर्जन डा. बव नामक अमेरिकी एल्कोहोलिकहरुले स्थापना गरेको एउटा बहुगूणी मद्दत समूह हो । यी दुवै आआफ्नो क्षेत्रका भेटर्नहरु लामो समय रक्सि छाड्न नसकेर सर्वस्व गुमाउने अवस्थामा पुगेका थिए । जस्तै मातेको बेलामा पनि उनीहरु आआफ्नै दुनियाँमा रक्सिबाट कसरी छुटकारा पाउने भनेर हिशावकिताव गर्ने गर्थे ।
धेरै प्रयासपछि उनीहरु केही तार्किक र आध्यात्मिक शर्त तयार गरेर आफूमात्रै रक्सिबाट मुक्त भएनन्, सोही शर्तहरुमा आधारित बाह्र पाइलाको कार्यक्रममार्फत अरु पनि कैयन एल्कोहोलिकहरुको जीवन बचाउन सक्षम भएका थिए । उनीहरुले स्थापना गरेको उक्त मद्दत समूहको नाम नै एए हो । तँ इन्टरनेटमा एए डट ओआरजी भन्ने वेबसाइट ब्राउज गरेर हेर्न पनि सक्छस् र त्यहाँ रक्सि छाड्नका लागि निःशूल्क मद्दत पनि गर्ने गरिन्छ ।’

‘रक्सिले होइन होला, हौ ? यो मलाई डिप्रेशन नै भएको हो ।’ उसले ध्यानपूर्वक मेरो कुरा सुनिसकेपछि आँखिभौं निचोर्दै भन्यो ।
नकार्नु जँड्याहाहरुको मुख्य बानी हो । कुनै पनि कुरा गर्दा उनीहरु होइनबाट शुरु गर्छन । त्यसो होइन, यसो हो भन्नु उनीहरुको आदत भइसकेको हुन्छ; चाहे कुरा जे होस् । जिद्दी गर्नु उनीहरुको अर्को स्वाभाव हो । जँड्याहा जति जिद्दी मान्छे सायद अन्त भेट्न मुश्किल छ ।
‘तँ आफैँ अध्ययन गर् । एए डट ओआरजीमा रक्सि, रक्स्याहा र यस बारे सारा बृतान्त तैंले त्यहाँ भेट्ने छस् ।’
‘रक्सि किन छोड्नु परयो, मैले ? डिप्रेसनको ओखति थाहा छ भने भन् न ।’

अब म चूप लागें । डिप्रेशन भएको मान्छे बहसमा उत्रिएको छ । के गर्ने ? कसरी बुझाउने उसलाई ?
‘म दुइ गिलास हानेर आउँछु । तँ पनि जान्छस् कि ?’ उसले सोध्यो ।

ऊ यस्तै छ । सल्लाह मसँग माग्छ । अनि उपाय आफैँ निकाल्छ । भन्थे, एल्कोहालिकले अरुको सुन्दैन । हो, रहेछ ।
पत्रकारितामा एडवेन्चर सिकेको म, ऊसँग बेलाबेला बांगे बजार जान रुचाउँछु । त्यहाँको माहौल र चहलपहल देखेर मलाई ओमर खैयाम (१०४८–११३१) को याद आउँछ । उमेर खत्तम भइहाल्छ, शराव पिएर जाऊ भन्थे रे खैयाम साहेब । उमेर खत्तम भन्दाभन्दै उनको नाम ओमर खत्याम हुँदै अपभ्रंश भएर ओमर खैयाम भएको हो भन्ने एउटा अड्कल पनि छ । उनका गीतहरुलाई डा. हरिवंशराय बच्चनले हिन्दिमा उत्कृष्ट र क्लिष्ट अनुवाद गरेका छन् ः खैयाम की मधुशाला । यस पुस्तकमा उनले ओेमर खैयामको काव्यिक र रहस्यदर्शी आयाम खोतल्दै निकै रोचक र लामो भूमिका पनि लेखेका छन् ।

शराब प्यूँने पिलाउने बारे पर्सियन गणितज्ञ, खगोलशाष्त्री तथा कवि खैयामका कैयन गीत र कविताहरु प्रशिद्ध छन् । एडवार्ड फिज्जैराल्डले उनका कैयन गीतहरु अंग्रेजीमा अनुवाद गरे । उता, जहाँ खैयामको शरावलाई उनले एल्कोहोल अनुवाद गरे; अनि बात त्यहीँ गडवड भयो भन्छन् ओशो । ओशोका अनुसार खैयामका गीतहरुमा गाइएको शराव एल्कोहोल थिएन । त्यो मान्छेको नूरको कुरा थियो । आत्माको कुरा थियो । भित्री प्रकाशको कुरा थियो । खैयामले त्यसलाई मेटाफोरिक हिशाबमा शराव भनेका थिए । किनभने, हामी भित्रको त्यो नूर वा आत्मा वा भित्री प्रकाश पनि शराव जस्तै मातलाग्दो हुन्छ ।

तर मैले कतिपय कुरा इन्द्रेलाई बुझाउन सकिरहेको थिइँन । म भन्थें । ऊ सुन्थ्यो । बस् । हुन त कुरा भनेको यस्तै नै हो । यो केवल स्वयम्लाई बुझाउन सकिन्छ । अरुलाई होइन ।

रक्सि छोड्नकालागि आफ्नोतर्फबाट मेरो उसलाई कुनै प्रेसर पनि थिएन । जानकारी दिने मेरो काम हो, बाँकी उसकै मर्जी ।
तर, उसले केही समय रक्सिलाई हात नलगाउनु नै उत्तम देखिन्थ्यो । किनभने, ऊ बिहानैदेखि चढाउने गथ्र्यो । भन्थ्यो, ‘रक्सि बिना भातै रुच्दैन ।’ अनि ऊ दिँउसो र रातिका छुट्टाछुट्टै बूजसेसनहरुमा ब्यस्त रहने गथ्र्यो । उसैले बताए अनुसार उसलाई केही समय यता बेलुकाबेलुका ब्ल्याक आउट पनि हुन थालेको थियो । रक्सि खाने ‘पेशा’मा यो अवस्था निकै खतरनाक मानिन्छ ।

मने, रक्सि उसको नियन्त्रणबाट टाढाटाढा हुन थालेको थियो । र, यो रहस्यमय झोलले उसलाई गलाएको पनि प्रष्ट देखिन्थ्यो । तर रक्सिका नकारात्मक असरहरुलाई ऊ स्विकारिरहेको थिएन । र, यसलाई नै कुनै ब्यक्ति एल्कोहोलिक हुन पुगेको सबै भन्दा ठूलो प्रमाण मानिन्छ । कलेजो सडिसक्दा पनि मलाई केही भएको छैन वा हुँदैन भन्ने भ्रम एल्कोहोलिकहरुमा ब्याप्त हुने हुँदा उनीहरु कहिलेकाहिँ अकालमै ज्यान गुमाउन पनि बाध्य हुने गर्छन् । एएका अनुसार जुन दिन मान्छेले रक्सिलाई हात नलगाउने निर्णयका बावजूद फेरि नपिइरहन सक्दैन त्यस बेला नै ऊ एउटा क्रोनिक एल्कोहोलिक भइसकेको हुन्छ । रक्सिलाई मान्छेले सधैं खानै सक्दैन । अनि एक दिन मान्छेलाई नै रक्सिले खाइदिन्छ ।

धेरै मान्छेहरु यस्तो चपेटामा परेका छन् । छोड्न नसक्नु नै रक्सि सेवनको पीडा हो । विल डब्लु र डा. बवले यस्तै कुरालाई मनन् गरेर अनेक प्रयासका बावजूद रक्सिबाट त्राण पाएका थिए । र, एए आज विश्वभर फैलिएको छ । शहरशहरमा यसका गुमनाम सदस्यहरु भेटिन्छन् । रक्सि खाँदाखाँदा रकबटम चुमेर एक दिन एएको मद्दतले रक्सि सेवनबाट अवकाश लिएका सदस्यहरु हमेशा अरु एल्कोहोलिकहरुलाई एएको संदेश पुर्याउने काम गरिरहेका हुन्छन् ।

उता इन्द्रेलाई मैले एल्कोहालिक्स एनानिमस जस्तै ग्याम्लिंग एनानिमसका बारेमा पनि बताउन भ्याएँ । पहिलोले रक्सि बारे काम गर्छ भने दोस्रोले जुवाको नशा बारे काम गर्छ । जुवा खेल्दाखेल्दा तन्नम भएर पनि जुवाको खालबाट उठ्न नसकेकाहरुलाई समेटेर एए कै अवधारणामा ग्याम्लिंग एनानिमसको स्थापना भएको हो । अनि उसलाई मैले यी समूहहरुका अनलाइन संस्करणहरुका बारेमा पनि थप बताएँ ।

उसले आफ्नै पाराले टाउको हल्लाएर हुन्छको भावमा आफूले गुगल सर्च गरेर हेर्ने बतायो ।

उसको जीवनशैली देख्दा मलाई उसमा कताकता चार्वाकको झलक पनि मिल्दछ । चार्वाकको ‘जिन्दगी छोटो छ; खाओ, पिओ, मोज गरो’ भन्ने कुरालाई ऊ अन्जानमै भए पनि आफ्नो जीवनमा प्रयोग गरिरहेको आभास मलाइ हुन पुग्छ । र, आजको युगमा यस्ता मान्छेहरु थुप्रो छन् । चार्वाकको दर्शन त वर्तमान कालमा पो सान्दर्भिक लागिरहेको छ । चार्वाक अहिले ज्यूँदै हुन्थे भने यति ठूलो संख्यामा आफ्ना शिष्य देखेर ढल्थे होला ।

इन्द्रे भन्छ, ‘यो जीवन खानपिउँनका लागि नै इश्वरले दिएको हो । अनि बजारमा छ्याप्छ्याप्ती जे पाइन्छ हामीले त्यही त खाने हो । कुनै नौलो कुरो खाए जस्तो त लाग्दैन । कि लाग्छ ?’

अनि मलाई मेरो साथी अझै दुरुस्त चार्वाक जस्तो लाग्न थाल्छ । चबडचबड चारुवाक हुँदै चार्वाक ।
‘मलाई केही कुराको कमी छैन, हेर,’ उसले भन्यो, ‘खाली अलिकति डिप्रेशन भयो कि भन्ने कुराले सताइरहन्छ ।’
उसको यो कुरा सुनेर यस पटक म केवल मुस्कुराएँ । अनि उसले पनि उसैगरी मलाई साथ दियो ।
जाँदाजाँदै ओमर खैयामको एउटा रुवाइयत मैले मेरो प्रिय दोस्तलाई सुनाउँन मन पराएँ :

जैसे ही मुर्गे ने बांग दी
शराबखाने पे खड़े लोग चिल्लाने लगे
दर्वाजा खोलो, दर्वाजा खोलो
जानते नहीं रहना हमारा यहाँ कितना कम है
चले जायेंगे तो फिर वापिस ना आयेंगे !

पात्र: इन्द्र कार्की -तस्वीर

patra

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर