tealaya add

bartul
वर्तमान नेपाली साहित्यमा गजल सबैभन्दा बढी पढिएको, बाचिएको र छापिएको विधा हो । गजललाई छुट्टै विधा मान्ने गजल लेखकहरु त छँदैछन्, विधाका रुपमा नमान्नेहरुले पनि काव्यिक विधाको एक पाटोका रुपमा स्वीकारेको पाइन्छ । आफूले अनुभव गरेका, सुनेका र देखेका दृश्यहरुलाई गजलको माध्यमबाट पाठकसम्म पु¥याउने थुप्रै गजलकारहरुको भीडमा भेटिएकी छिन् विनु भट्टराई र भैटिएको छ ‘वर्तुल’ गजल सङ्ग्रह ।

‘वर्तुल’ सङ्ग्रहभित्र जम्मा नेपाली भाषामा लेखिएका बहत्तर वटा र हिन्दी भाषामा लेखिएका दश वटा गजलहरु सङ्ग्रहित छन् । करिब दुई दशक उत्तरार्धको उमेरको पेरिफेरिमा आफ्नो जीवन डुलाउँदै गरेकी विनुले कतै जीवन यात्रा, कतै भोगाइ, कतै माया प्रिती, कतै समाजका विकृतिविसङ्गति, कतै प्रकृतिका सुन्दर दृश्यहरुलाई गजलको विषयवस्तु बनाएकी छन् ।

विनुुका गजलमा बढीभन्दा बढी सकारात्मक सोचको अनुभूति हुन्छ । विगतमा जेजे भयो भयो, अब आउने दिनहरु उल्लासमय हुनु पर्छ, त्यस्तै बनाउनु पर्छ भन्ने कल्पना गरेको पाइन्छ । उनी गजलमा भन्छिन् :

चराहरुझैं हौसलाको उडान लिएर आउने छु,
तिम्रो आँगनमा बिहान लिएर आउनेछु ।

यसरी गजलकार आफ्नो प्रेमीको आँगनमा नयाँ विहानी ल्याउन आफैं तयारसम्म भएकी छन् । शृङ्गारिक रसमा सङ्ग्रहभित्र थुप्रै गजलहरु समावेश छन् । केही गजलले प्रेमीलाई सँगै हुन अनुरोध गरेका छन्, केहीले लैजान भनेका छन्, केहीले प्रेमीसँग गरेका रोमान्सहरु व्यक्त गरेका छन् भने केहीले प्रेमी सम्झिएर कल्पनामा डुबुल्की मारेका छन् । सरावका साथ कल्पनामा हराएका केही शेर हेरौं :

सम्झनामा आउँछ अधिक, पिको बेलामा,
छुटाइँदैन ठीक बेठीक, पिएको बेलामा ।

कल्पना यस्तो पनि आउँछ, कस्तो हुँदो हो,
आफ्नो मान्छे भैदिए नजिक, पिएको बेलामा ।

विनुका गजलमा सामाजिक चेत अब्बल रहेको पाइन्छ । जाति, भाषा, धर्म, वर्ग, संस्कृति समाजका निधि हुन् । यिनीहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । सामाजिक एकता नभए समाज समाज बन्न सक्दैन । मानिस सँधै मानवीय सेवामा समर्पित हुनु पर्दछ । देश, माटो र आमा बुझ्न सके मात्र जीवन सफल हुन्छ भन्ने भाव गजलहरुमा व्यक्त भएको छ । समाज वा देश बनाउन घरबाट आफैंले सुरु गर्नु पर्छ भन्ने सन्देश यसरी प्रस्तुत गर्छिन् :

सुरुवात घरबाटै गर्नु छ, समाजमा सामाजिक हुनु छ,
देशको कर्तव्य निभाएर सगैं नैतिक हुनु छ ।

खुसी बाँड्ने रहर हो विनुको बाँचुञ्जेल सबैसँग,
सकिएन भने जीवन–वर्तुल पुगेपछि मार्मिक हुनु छ ।

प्रस्तुत गजल शीर्ष गजल पनि हो । उनले केही गजलहरुमा तखलुसको समेत प्रयोग गरेकी छन् । आमा, माटो, प्रकृति, प्रेम, समाजभन्दा पर विनुका गजलहरु छैनन् । देशको समकालीन परिस्थितिभन्दा पनि मानव जगत र वातावरणको दीर्घकालीन परिस्थितिसँग जोडेर गजल लेखिएको हुँदा उनका गजल सदाबहार छन् ।

गजलकार नेपाली भाषामा भन्दा हिन्दीभाषामा आफ्नो अभिव्यक्ति बलियो ठान्छिन् । तथापि नेपाली भाषामा पनि यति बलिया गजलहरु सिर्जना हुनु उनको प्रतिभा नै मान्नु पर्छ । नेपाली हुनुको उनको गौरव पनि हो । यस सङ्ग्रहमा उनले हिन्दी गजललाई पनि स्थान दिएकी छन् । हिन्दी गजलको एक मतला :

हर किसीको लुभाना नहीं आता,
औरो की तरह सताना नहीं आता ।

नेपाली होस् वा हिन्दी दुबै गजलहरुलाई विनुले वैचारिक बनाउन खोजेकी छन् । गजलमा काफियाहरु खास्सै दोहोरिएका छैनन् । एउटा गजल बाहेक सबै गजलमा रदिफको प्रयोग गरेको पाइन्छ । काफिया र रदिफको सम्बन्धलाई अर्थपूर्ण ढङ्गबाट कलात्मक पाराले शेरहरुमा प्रस्तुत गर्न सक्नु उनको खुबी मान्नु पर्छ । सङ्ग्रहमा तीनदेखि माथि सात शेरसम्मका गजल विनुका अनुभव, भावना र सपना बनेका छन् । सङ्ग्रहका कुनैकुनै गजलका मतला, मतला बन्न नसकेर शेरझैं लाग्छन् । उनका गजल गायनमा भन्दा वाचनमा उपयुक्त लाग्छन्, किनकि लय पक्ष कमजोर देखिन्छ । हुन त पछिल्लो समय नेपाली गजल विशेषगरी वाचनमा जोडिएको छ । यहाँ गजलको लयभन्दा भावको खोजी हुन्छ । गजलको संरचना र भाव सँगै लयलाई पनि ध्यान दिने हो भने विनुको गजल लेखन अझै खारिएर जाने कुरामा कुनै चिन्ता छैन ।

-शिशिर भट्टराई, इलाम 

 

प्रकासित मिति

 
 
Loading...
Loading...