1478958692 banner ad format

 
 

आज पनि त्यही टुँडी खेल छेउको लिस्नो क्याफेमा मलाई नै कुरेर बसिरहेकी थिई उ, हुन त उसको र मेरो फेसबुके चिनजान भए पनि व्यवहारमा हामी वर्षौँका साथी जस्ता, भेटघाटको इतिहास पनि खासै लामो थिएन, दुई हप्ता अघि ईलाम अस्पतालमा अप्टोमेट्रिष्टको रुपमा उसको नियुक्ति भएर ऊ यहाँ आए पछि, तेस्रो भेट थियो यो ।

म हतार हतार उसको नजिक पुगेँ । उसको अघि टेबलमा कफि रित्याइसकेका दुई वटा खाली कप थिए । मलाई लाग्यो धेरै समय पर्खाएँछु । म के बोलुँ सुझिरहेको थिएन ।

"कति बेला आयौ आज अलि बढी नै कुराएँ है तिमीलाई" मैले सोधेँ ।

"उम" उसले मुसुक्क हाँस्दै भनी

"धन्न डक्टरहरू रिसाउन जान्दैनन् र मात्र नभए त मलाई गाह्रो हुने थ्यो" मैलै हाँस्दै भने ।

"अँ हो नी, गफाडी" उसले भनी । म मक्ख पर्थेँ उसले गफाडी भन्दा ।

एक छिन सन्नाटा छायो हामी बीच, गफ गर्न आए त भैहाल्थ्यो नि अब के कुरा गरुम सोच्दै थिएँ ।

"ओई ! कहाँ हराको ?"

"हँ" सोचमग्न मलाई ब्यूँझाई उसले ।

"हराको हैन हौ, के बोल्ने भनेर सोचेको नि" मैले भने ।

"तिमी त कस्तो के च्याटमा चाहिँ मज्जाले गफ लाउने बाहिर भेट्दा चाहिँ नबोल्ने भर्चुअल गफाडी" उसले हाँस्दै भनी ।

म लाजले भुतुक्क भएँ, मेरो सबभन्दा कमजोरी यही नै हो कसैलाई भेट्दा औपचारिक कुरा बाहेक अरु कुरा गर्न आउँदैन । आफूलाई अली संयमित बनाउँदै भने" बोल्ने टपिक नभेटेर के यस्तो ?"

"हा हा हा" ऊ हाँसी मज्जाले

उसको ठूलो आवाज निकालेर हाँस्ने बानीले मलाई अप्ठ्यारो महशुस हुन्थ्यो, म सबैतिर हेर्थेँ सबैले हामीलाई हेरेर खिल्ली उडाउँदै छन् कि झैँ लाग्थ्यो ।

"कफि मगाउँ है ?" मैले सोधें ।

"उम् हुन्छ" उसले भनी ।

कफि ल्याई दिए क्याफेका दाइले । हामी बसेको पल्लो टेबलमा एक प्रेम जोडी प्रेम साटासाट गरिरहेथे सायद थिएन तिनलाई कसैले केही भन्ला संकोच ।

"ल हेर प्रेम होस त यस्तो" मैले त्यो जोडी तर्फ संकेत गर्दै भने ।

"यस्तो नि प्रेम हुन्छ र ?" उसले निधार खुम्च्याउँदै भनी ।

"कस्तो हुन्छ त, के हो त प्रेम ?" मैले उल्टै प्रतिप्रश्न गरेँ ।

"प्रेम" एक छिन रोकिएर उसले भनी, "प्रेम त परिभाषाहिन छ र यसको शक्ति पनि सीमाहिन छ । त्यसैले त मानिसले प्रेमको ठेट परिभाषा बनाउन सकेको छैन त्यसैले त रसियन कथाकार एन्टोन चेकोभले भनेका छन्, 'लव इज अ ग्रेट मिस्ट्रि' ।"

एकछिन रोकिएर फेरि सुरु भई"अपनत्वको भाव, सामिप्यताको आभास, मजबुत स्नेहको एक भावना प्रतिको लगाव त हो नि प्रेम भनेको । जीवात्मा प्रतिको दयाभाव, माया, करुणा र स्नेह सबैको प्रतिनिधीत्व गर्ने एउटा आत्मिक वा मनोवैज्ञानिक गुण त हो नि प्रेम । प्रेम, जसले कला, साहित्य, ग्रन्थ, गीत, संगीत र दर्शनमा जति ठाउँ पाएको छ, त्यस्तो अरु कुनै कुराले सायदै ठाउँ पाएको छ । इतिहासका क्रुर साशकहरू पनि प्रेमको अघि कायल थिए । सायद सबैभन्दा ज्यादा बयान हुने शब्दनै प्रेम हो । जस्तै बौद्दिक व्यक्तित्त्वहरू पनि प्रेमको वयान गरेर थाक्दैनन् ।"

कफि पिइसकेर फेरि भनी "प्रेम र जीवनको त अन्नोन्यास्रित सम्बन्ध छ । प्रेमहिन जीवन बीजबिनाको फल जस्तो अनुर्वर, शब्द बिनाको किताब जस्तो रित्तो, सितलता बिनाको छहारी जस्तो असहज, बास्ना बिनाको फुल जस्तो निरस हुन्छ, बाँच्न लायक हुँदैन ।"

ऊ निरन्तर प्रवाहित थिई, म उसका कुरामा यति एकाग्र थिएँ कि, जति मानिसहरू सन्तहरूले दिने प्रवचन लिन भएर सुन्छन्, उसको वाणीको प्रवाहमा म निरन्तर बहँदै थिएँ ।

ऊ फेरि भन्न थाली" मलाई लाग्छ प्रेम सत्य हो, मानव रुपि जीवनको एक अतभुत् आनन्द, एउटा मिठो भोगाई । तर हेरन आजकल प्रेमको विकृत रुप बिलकुल् शरिर केन्द्रित, पशुको झैँ । भ्रमवश मानिसले यौनलाई प्रेम सम्झेको छ । कुनै एक व्यक्ति प्रति उसको विशेष खुबि, व्यक्तित्त्व र सौन्दर्यताको कारणले उब्जिएको भाव प्रेम होइन, यो त बासना हो, आकर्षण हो । बासना सधैँ बदलिरहन्छ । आज मन परेको व्यक्ति वा बस्तु, भोलि मन नपर्न पनि त सक्छ नि । आज मन परेको व्यक्ति वा बस्तुभन्दा राम्रो व्यक्ति वा बस्तु देख्दा त्यो प्राप्त भैदिए हुन्थ्यो भन्ने चाहना उत्पन्न हुन्छ । त्यो त आसक्तिपना हो । जब आसक्ति पैदा हुन्छ, आसक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध, क्रोधले अविबेक, अविबेकले स्मृतिभ्रम, स्मृतिभ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुन्छ । त्यसैले हेर त मान्छेलाई यही आसक्तिपनाले पछ्याएको छ, यही भएर त यत्तिका मानिस दुःखी छन्, वेदनाले पिल्सिएका छन्, संक्रमित हृदयका रुग्ण मानिसहरू छन्, अपराध र युद्ध छन् ।"

यति भनिसकेर ऊ मुसुक्क हाँसी ।

"वा यति राम्रा कुरा पनि आउँदो रछ त" मैले भने ।

"हु म, आउँछ त" उसले भनी ।

घडी हेरेपछि उसले भनी" लौ म त जाने अब, बैनि आकी छे घुम्नलाई भनेर ।"

"ओके जाऊ उसो भए" मैले भनें ।

"ल, म पे गर्छु है आज" उसले भनी ।

"गर न गर, आखिर आँखा डक्टर न पर्यौ !" मैले हाँस्दै भने ।

"पख न तिम्लाई अर्को भेटमा जान्या छु । बाई, गएँ" भन्दै ऊ गई ।

मेरो मोबाईल बज्यो, म झल्याँस्स व्युजिएँ, अर्लाम बज्या रैछ ४:३० को । कति मिठो सपना देखेँछु ! ट्विटर खोलेर "कहिलेकाहीँ यति मिठा सपना देखिन्छ कि फेरि निदाएर त्यही सपना दोहोर्याएर देख्न मन लाग्ने" ट्विट गरेँ । आखिर को थिई त्यो सपनावाली ?

Nabin Dahal

लेखक : नबिन दाहाल 

प्रकासित मिति

Loading...

 

yummyfood