1478958692 banner ad format

 
 

हरेकले आफ्नो जन्मसँगै मृत्यु पनि लिएर आएका छन् । त्यही मृत्यु कसैका लागि चाँडो त कसैका लागि ढिलो आइदिन्छ । हर जो कोहीलाई पनि मृत्युसँग डर नै लाग्छ तर यसको अर्थ आत्महत्या गर्नेहरू निडर र बहादुर हुन् भन्ने पनि हैन । आत्महत्या त जीवनको बोध गर्न नसक्नेहरूले, मानसिक संकुचनका रुग्णहरूले जीवनप्रति गर्ने अपराध हो, त्यसैले त धार्मिक ग्रन्थहरूमा पनि ‘आत्महत्या महापाप हो ‘ भनी लिपीबद्द गरिएको छ ।

मृत्यु एक त्यस्तो सत्य हो जसको आगमनको न कुनै समय हुन्छ, न त कुनै संकेत नै यो त जुनसुकै बेला जो सुकै माथि जहाँसुकै पनि घट्न सक्छ । बाटो काट्दा काट्दै गाडीको ठक्करले, अहिलै भुइँँचालो आएर, ज्वालामुखी फुटेर, हृदयघात भएर होस या अन्य कुनै रोग र बिरामको कारणले होस् जो सुकैको पनि मृत्यु हुन सक्छ । तर यी त मृत्युका बाहाना मात्र हुन् मानिस मर्दछ छ त बाँचेको हुनाले । मृत्यु त्यो सत्य जुन अकाट्य र अवश्यम्भावी छ । त्यसैले पनि होला कवि सिरोमणि लेखनाथ पौड्यालले भन्नुभएको – ‘ आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ती गरुन झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो । ‘

मृत्यु त्यो शाश्वत सत्य जसको बोध थोरैले मात्र गरेका छन् या गर्न सक्छन् जे भनौँ । तर बाँकिरहेका अरु सबै जीवनका असांयोगिक पाटाहरूलाई वास्तविकतामा ढाल्न तल्लिन छन् जसले गर्दा उनीहरू भूलिरहेछन् बाँचनुको सार्थकता, जीवनको यथार्थ बुझाई र मरणको वास्तविकता ।

के मृत्यु पछि पनि जीवन निरन्तर छ त ? भनिन्छ आत्मा अमर छ, शरिर मरेर गए पनि आत्मा उडेर गई अन्य कुनै शरिरमा समाबिष्ट हुन्छ । के आत्मा पनि शरिरको परिवर्तनसँगै परिवर्तन हुन्छ ? यदि हुन्छ भने आत्म कसरी अमर भयो र ? यदि शरिरसँगै आत्माको परिवर्तन हुँदैन भने पनि फेरि किन जन्मेनन् ती हिटलर र मुसोलिनीका क्रुर आत्माका प्रतिविम्बहरू ?, फेरि किन जन्म भएन शान्तिका दुत गौतम बुद्दहरूको ?, किन आएनन् अरस्तु, रुसो, न्यूटन र आइन्सटाइनका आत्मा ग्रहण गरेका शरिरहरू ? यी र यस्ता प्रश्नहरूले मलाई दोधार तुल्याउँछ र म एउटै निश्कर्षमा पुग्छु । आत्म अमर हुनसक्छ तर आत्मिक पहिचान मृत्युसँगै बिलीन भएर जान्छ जो गुणकारी र हितकारी हुन्छन् तिनीहरूको पहिचान ईतिहासमा लिखत हुन्छ । समयको परिवर्तनसँगै तिनीहरूका कामहरू जीवन्त रहन्छन् र असलहरूका लागि आदर्श पनि बन्छन् तिनीहरू । त्यसैले सबैका लागि नभए पनि धेरैका लागि हितैसी र असल बन्नु उचित हुन्छ ।

असल भन्नुको अर्थ सोझो र कम बोल्नु भन्ने हैन । प्रतिक्रिया बिहीन, असंवेदनशिल र निष्कृय नरहि जीवन्त बन्नु, ठिकलाई सराहना गर्नुलाई असलपनका लक्षण भन्न सकिन्छ । हुन त असल बन्न र रहिरहन सजिलो छैन प्रयत्नसाध्य र कठिनसाध्य छ तर जीवनको अतभुत आनन्द, सार्थकता र सुन्दरता पनि यसैमा छ ।

हरेकमा यस्तो सकारात्मक विचार विकास होस् कि, आजको दिन भनेको मेरो लागि हो भन्ने धारणा पैदा होस् र आजका लागि आजै योजना बनाई त्यसलाई आजै फत्ते गर्नु पर्छ भन्ने दृढ सोच होस् जसले मनमा शान्ति त दिलाउँछ नै, भोलिका योजनाहरूलाई अर्थपूर्ण बनाउने हौसला पनि दिन्छ र जीवन भोगाईलाई बुझ्ने बाटो पनि तय गरिदिन्छ ।

हरेकमा आफ्नै विशिष्ट क्षमता, बुद्धि र विवेक छ; आँट छ। तिनलाई निष्क्रीय नराखी, क्रियाशील बनाउनु, अभ्यासमा ल्याउनु र अरु विकसित गराउनुलाई जीवनको उपभोग भन्न सकिन्छ । जसले जीवनको उपभोग गर्नसक्दछ उसले जीवनलाई सुन्दर बनाउन र जीवनको मूल्य बोध गर्नसक्दछ। जीवनको मूल्य बोध गर्नु भनेको जीवनलाई सकारात्मक्तामा भरपुर उपयोग गर्नु हो ता कि मृत्यको क्षणमा पनि आफ्नो जीवन प्रति गुनासो गर्दै मृत्युवरण गर्नु नपरोस् ।

Nabin Dahal

लेखक : नबिन दाहाल 

प्रकासित मिति

Loading...

 

yummyfood