nepali kalakar usaभनिन्छ कलाकार राष्ट्रका गहना हुन्, राष्ट्रको सामाजिक-संस्कृतिक विकाशको लागि उनीहरुको योगदान अतुलनिय हुन्छ ! तर देशमा अवसरको सिर्जना गरेर योगदान गर्नुको सट्टा अधिकांश कलाकारमा विदेश पलायनको हुटहुटि जागेको छ र अमेरिका पहिलो गन्तब्य बन्दै आएको छ ! यसको पछिल्लो दृष्टान्त सुरेश दर्पण पोख्रेल, दिलिप रायमाझी, सुशील क्षेत्रि, मेलिना मानन्धर, मुकेश ढकाल, अरुणिमा लम्साल लगायतका कलाकारले आयोजना र सहभागिता जनाईरहेको मेरो डान्स कप र मेरो भ्वाइस कप हो ! भोलि अमेरिकाको 48 E BATH ROAD, CUYAHOGA FALLS,OH 44223 भन्ने स्थानमा उक्त कार्यक्रमको भब्य उद्घाटन हुदैछ ! विदेशमा रहेर पनि कलाप्रतिको लगाव र सम्मान सकारात्मक पाटो हो तर सोहि खालका अवसरहरु स्वदेशमा नै हुने हो भने सुनमा सुगन्ध हुने थियो !

विदेश मोहको चक्र :

फिल्म ‘होलिडे’ का छायाकार दिनेशकुमार राई शुटिङका लागि युरोप पुगेका थिए । निर्माण टिम फर्कनुपर्ने बेलामा उनी एकाएक फरार भए । उनी सम्पर्कमा नआएपछि युरोपमै लुकेर बसेको अनुमान गरियो ।

आधिकारिक सूचना नभएपनि उनी युरोपमै लुकेका थिए । त्यतिबेला उनी लुकेपछि फिल्म निर्माण टिमलाई तनाव भएको थियो । फिल्मका निर्देशक बसन्त निरौलाका अनुुसार उनी चकलेट किन्न जान्छु भन्दै गएका थिए । तर, फर्किएनन् ।

त्यस्तै, नेपाली फिल्ममा लामो समय खलनायकी छाप बनाएका अभिनेता राजेन्द्र खड्कीलाई प्रहरीले पक्राउ ग¥यो, तर उनलाई पक्राउ गर्दा कार्यक्रमको बहानामा मानिस विदेश भगाएको आरोप लगाइएको थियो । उक्त घटनापछि जापान, कोरिया तथा अन्य देशका राजदुतावासले कलाकारलाई विदेश जाँदा पनि बढी केरकार गर्न थाले ।

किनकि, एउटा काम देखाएर विदेश पुगेका कलाकार उतै ‘गायब’ हुन थाले । लुकेर बस्ने कलाकारको सङ्ख्या बाक्लो भयो । यसरी कलाकारको आडमा आम नेपालीसमेत विदेश छिर्ने प्रवृत्ति त भयो नै । अर्कोतिर कलाकार विदेशमै ‘सेफ ल्याण्डिङ’ पनि खोज्न थालेका छन् ।

पोखराको आरजे जीवन हुँदै फिल्मका हिरो बनेका राजवल्लभ कोइराला केही समयअघि नेपाल घुमघाममा आए । ‘पर्खी बसें’, ‘छोडी गए पाप लाग्ला’, ‘ऋतु’, ‘६ एकान ६’ लगायतका फिल्ममा अभिनय गरेका अभिनेता कोइराला अहिले अमेरिकामै बसोबास गर्दै आएका छन् । नेपालमा भन्दा धेरै उतै हुने कोइराला पछिल्लो समय फिल्ममा पनि त्यति सक्रिय देखिँदैनन् ।

चलचित्र ‘साँघुरो’ हेरिसकेपछि अभिनेता सुशांक मैनालीले अभिनयमार्फत राम्रै तारिफ कमाए । सामान्य कथामा निर्माण भएको यो फिल्ममा उनको भूमिकाले फिल्मलाई न्याय दियो भन्दै चर्चा भयो । तर उनले अभिनय गरेका अन्य फिल्मले भने ‘साँघुरो’ ले जस्तो चर्चा दिन सकेनन् । उतिबेलै अमेरिका भासिएका सशांक लामो समय भइसक्दा पनि नेपाल फर्केका छैनन् ।

विदेश भासिने र उतै हराउनेको भीड त्यति सानो भने छैन । चर्चित लोकगायक प्रेमराजा महतका गीत युट्युबमा अहिलेको पुस्ताले उत्तिकै रुचाउँछ । उनले गाएका सिमसिमे पानीमा, बाँझो खेतमा जस्ता लोकगीत उत्तिकै लोकप्रिय छन् । लोकगीतको शुरुवाती मौसमलाई हराभरा बनाउन काँध थापेका यी गायक खुसुक्क अमेरिका छिरे । अहिले उनै उतै रमाइरहेका छन् । सम्भवतः उनको अबको नेपाल बसाइ भ्रमणका लागि मात्रै हुनसक्छ ।

त्यस्तै, फिल्ममा देशप्रेमको खोजी गर्ने अभिनेता सुवास थापा पनि लामो समयदेखि अमेरिकामै छन् । उनको फिल्म ‘बिर्खेलाई चिन्छस्’ ले धेरथोर उनलाई ‘बिर्खे’ का रुपमा चिनारी त दियो, तर उनले अर्को पात्रको जन्म दिएनन् फिल्मका लागि । बरु उनी अमेरिकातिरको बाटो रोजे । उनी नेपाल आएको भनेर सुनिँदैन खासै ।

कुनै समयका चर्चित अभिनेता मुकेश ढकाल, सुरेश दर्पण पोखरेल, शंकर घिमिरे लगायतका कलाकारले पनि विदेशी माटोमै आफ्नो भविष्य खोजिरहेका छन् । अभिनेत्रीहरूमा एकछत्र राज गरेका अघिल्लो पुस्ताका कलाकारमध्ये धेरै कलाकार विदेशी भूमिमै आफूलाई स्थापित गरेका छन् । तर, ती कलाकारले विदेशी सिनेमा उद्योगमा आफूलाई अटाउन सकेका छैनन् ।

नायिका ऋचा घिमिरे, युना उप्रेती, सौजन्य सुब्बा, अरुणिमा लम्साल, नन्दिता केसी, जल शाह, रञ्जना शर्मा लगायतका कैयन् अभिनेत्री एकसाथ फिल्म क्षेत्रमा जमेका चर्चित कलाकारमा गनिन्छन् । तर सबै कलाकार अहिले फिल्म क्षेत्रबाट टाढा भएका छन् । र, आफ्नो नयाँ जीवनको ‘सेटलमेन्ट’ मा लागिपरेका छन् ।

समाधान के त ?

कलाकारको जिन्दगी साबुनको फोका जस्तै हो । ज्यानमा लाली तथा अभिनयमा जोश हुन्जेल कलाकारको जिन्दगीले साथ दिन्छ, त्यसपछि आफ्नो जमानामा जस्तोसुकै काम गरेको भए पनि गुमनाम हुन्छन् । नेपालजस्तो देशमा कलाकारिताले नाम कमाइने भए पनि दाम कमाउन नसक्ने पीडा यथावत रहेको छ । यही पीडाले गर्दा नेपालका ख्यातिप्राप्त कलाकार पनि अमेरिका लगायतका मुलुकमा दाम कमाउनकै लागि पलायन भइरहेका छन् । यो क्रम पछिल्लो समयमा घट्नुको सट्टा बढिरहेको छ । कतिपय कलाकारले विदेश गएर राम्रै कमाइ गरेको पाइएको छ । केही कलाकार विकसित देशमा स्थायी रूपमै बस्ने र त्यहाँको नागरिक बन्ने गरेको पनि पाइएको छ । यसो भए पनि विदेशको दोस्रो दर्जाको नागरिक भएर बस्ने इच्छा नभएर केही वर्षमै स्वदेश फर्किने कलाकार पनि छन् । रहरले भन्दा बाध्यताले त्यसरी दोस्रो दर्जाको नागरिक बनेर बसे पनि अन्तत्वगत्वा नेपाल नै प्यारो भन्ने कलाकारको जमात पनि सानो छैन । त्यो जमातमा वरिष्ठ कलाकारहरू करिश्मा मानन्धर, सरोज खनाल, गौरी मल्ल, रमेश उप्रेती लगायत थिए । यी कलाकारले अमेरिका लगायतका मुलुकमा राम्रै प्रतिष्ठा सहित त्यहाँको ग्रीनकार्ड पाएर कमाइ गरेर बसे तापनि आखिरमा उनीहरूलाई नेपाल नै प्यारो बनेको छ । नेपालमा मर्न होइन, नेपालमा काम गर्न नै फर्केको प्रतिक्रिया उनीहरूले दिने गरेका छन् ।

फर्कनेको जमातसँगै जानेको पनि लर्कोमा कमी आएको भने छैन । सन्तान र आफ्नो भविष्यका लागि भन्दै दिलीप रायमाझी, केकी अधिकारी लगायत कलाकार अमेरिका जाने तर्खरमा छन् । ऋचा घिमिरे, रन्जना शर्मा, अरुणिमा लम्साल, उषा पौडेलहरू यसअघि नै भविष्य बनाउन भनेर अमेरिका गएर उतै बसोवास गरिरहेका छन् । कतिपय यस्ता साहित्यकार तथा कलाकार पनि छन्, जसलाई जतिसुकै सुविधा पाए पनि मातृभूमि नै प्यारो छ । अमेरिकाको ग्रीनकार्ड पाएर पनि नेपालको प्रतिष्ठित नोबल कलेज तथा नोबल अस्पतालका डाइरेक्टर एवं कवि उत्तम भौकाजीलाई अमेरिकाले आकर्षण गर्न सकेन । ग्रीनकार्ड होल्डर भएकोले वर्षको एकपल्ट घुम्ने हिसाबले अमेरिका गएर आउने गरेका छन् । उनीजस्ता थुप्रै ग्रीनकार्ड होल्डरहरू नेपालमा विभिन्न पेसा व्यवसाय गरेर बसेका छन् । अहिलेको विश्वलाई ‘ग्लोबल भिलेज’ भन्ने गरिएको छ ।

राजनीतिक रूपले देशको सीमा कोरिए पनि संचार र सांस्कृतिक रूपले मानिस एउटै गाउँको वासिन्दा जस्तो अनुभव गरिरहेको छ । त्यसैले कुन देशमा बस्ने र कहाँ गएर पेसा–व्यवसाय गर्ने भन्ने व्यक्तिको नितान्त निजी विषय हो । त्यसैले कसैलाई यसै गर भनेर दबाब दिने अवस्था अहिलेको समयमा हुँदैन । यद्यपि सरकारी कर्मचारीले भने विदेशको डिभी तथा पीआर लिन नपाउने नियम सरकारले लागू गरेकोले सरकारी कर्मचारीका लागि स्वदेशको जागिर वा विदेशको बसाइमध्ये एउटा रोज्नुपर्ने भएको छ । देशप्रतिको जिम्मेवारी र अनुशासनका लागि सरकारले लिएको यो नीति सराहनीय रहेको छ । अन्यको हकमा कहाँ बस्ने र रोजगारी गर्ने भन्ने विषयलाई स्वतन्त्र छाडिदिनु पर्छ । काम गर्नका लागि विदेश कोही पनि रहरले जाँदैन । मजबुरी तथा बाध्यताले जाने गर्दछन् । पछिल्लो समय मजबुरीले विदेशिनेको संख्या वृद्धि भइरहेको छ ।

एसएलसी तथा प्लस टु सकिनासाथ अध्ययनको नाममा बर्सेनि विदेशिने लाखौं विद्यार्थीका कारण नेपालका कतिपय कलेजहरूमा विद्यार्थी चाप न्यून हुन थालेको छ । यसो हुनुमा नेपालमा रोजगारीको अवसर क्रमिक रूपमा घट्दै जानु र भएमा पनि पहुँचवालाहरूकै बोलवाला भएकोले हो भन्दा अत्युक्ति हुने छैन । शिक्षा र रोजगारीका सम्बन्धमा सरकारी नीति राम्रो नभएसम्म ऊर्जाशील जनशक्ति विदेश पलायन हुन नरोकिने निश्चित छ । मुलुकको ऊर्जाशील जनशक्ति विदेश पलायन भएकै कारण मुलुकमा विनाशकारी भूकम्पयता निर्माण तथा पुनर्निर्माणको काममा जनशक्तिको अत्यन्त अभाव देखिएको छ । समयमा निर्माण कार्य सम्पन्न गर्न नसकेर कतिपय संरचना तथा सम्पदाहरू थला परिरहेको अवस्था छ । विदेशको रहरलाग्दो रोजगारीमा जानेहरू निश्चित समयको कामपछि स्वदेश नै फर्केर त्यहाँ सिकेको र कमाएको स्वदेशमा नै लगानी गर्न आउने छन् । विदेशमा कमाएको पुँजी र सीप लिएर आएका त्यस्ता नागरिकबाट राष्ट्र निर्माणमा ठूलो योगदान पुग्नेछ । त्यसैले यतातिर सरकारी नीति परिलक्ष्यित हुनुपर्छ । केही वर्ष विदेश बसेर फर्केका कलाकार हुन् अथवा अन्य कुनै पनि क्षेत्रका व्यक्ति, उनीहरूलाई स्वदेशमा बस्नेले आलोचना हैन सम्मान गर्नुपर्छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर