1478958692 banner ad format

 
 

-राजबाबु श्रेष्ठ 'सागर'

 

लिच्चड मानव र किच्चड 

उस्तै-उस्तै हुँदोरहेछ 

काँडाघारी र सिस्नोघारीमा 

अल्झिनुको पीडा उस्तैउस्तै हुँदोरहेछ ।

 

यी सबै सहनु 

जिन्दगीको एक उच्च विद्यालयको 

अध्यन समापन गर्नुझैँ रहेछ । 

 

जिन्दगीले अझै 

कति पाठहरू पढाउनै बाँकी छ 

अनुभूतिका अझै हजारौँ पाठशालाहरू 

एक-दुई-तीन गरी चहार्नै बाँकी छ । 

 

योगमायाको दुखको दिनहरू सम्झिंदा 

आफ्नो भन्दा अझै कमै लाग्छ 

योगमायाको त्यागका पानाहरू 

पढ्दा जति दुरूह लाग्यो 

तर त्यो भन्दा पनि दुरूह रहेछ 

लिच्चड् मानवका बन्कर भित्र लुकेर बसेका 

पढ्नलाई काला दस्तावेजहरू । 

 

जिन्दगी ठगिँदै आईरहेको छ 

अझै कति ठगिनु बाँकी नै छ 

कहिले भाग्यले नै ठगिरह्यो जिन्दगीलाई 

कहिले माछा-माछा भन्दै भ्यागुतो देखाई रह्यो 

निष्ठूरी समयले यो जिन्दगीलाई ।

 

तर कहिल्यै पढ्न सकिएन 

अझै जिन्दगीका ती दुरूह पुस्तकहरू 

न त कहिल्यै पढ्न सकियो 

ती मानवी ललाटमा रहस्यमयी बनेर लुकेका 

काला छल-कपटहरू 

हेर्दा आफू जस्तै-जस्तै लाग्ने 

भ्रमको प्रतिबिम्बको दृष्यमा अझै आफू 

भ्रमित् पो भैरहेको रहेछु ।  

 

सायद आफै भित्रको 

आफैले गर्ने विश्वासको पुस्तकहरू 

थुक लगाई-लगाई राम्ररी पढ्न नसकेर होला 

अझै कति आफैले गरेको विश्वासमा 

बेचिनु छ दशैंको खसी र बोका झैँ । 

 

मान्छे हुन त 

अनुभूतिका पाठशाला पढ्न 

अझै बाँकी पो रहेछ कतिकति 

म त अनुभूतिका पाठहरू पढेर 

रिपु भैसकें पो भन्ठानेको थिएँ 

अहँ, जिन्दगीको पुस्तक जस्ताको तेस्तै पो रहेछ !

 

प्रकासित मिति

Loading...

 

yummyfood