tealaya add

rasuwalikabi kantipath

कविता मर्दो हो त विश्वकै गन्यमान्य शासकहरू पनि कविता लेख्दै हिँड्ने थिएनन्। मदन भण्डारीदेखि झलनाथ खनालसम्मको कविताकै बाटो हुने थिएन।

कविता के हो भन्ने कुरामा अनेकन शास्त्रीय व्याख्या होलान्। युगौंदेखि कविताबारे मान्छेहरूले आफ्नो धारणा राख्दै आएका छन्। भाषा विज्ञानको उत्पत्तिपछि मानिसले जानेको अर्को भाषा नै कविता हो। यो हृदयको भाषा हो।

यो दुःखको भाषा हो। यो वीरता र बलिदानीको भाषा पनि हो। कविता यही हो भनेर भन्न नसकिए पनि कविता मानव सभ्यताको दार्शनिक आवाज हो।

कविता मरिसक्यो ? ईश्वर मरिसक्यो ? समाजवाद मरिसक्यो ? यस्ता उत्तरआधुनिक तर्क हामीले सुन्दै आएका छौं। कहिलेकाहीँ लाग्छ, ईश्वर मरेको भए पनि उसको आत्मा भड्किरहेको छ। कहिले सिया हुन्छ, कहिले सुन्नी हुन्छ। कहिले बाबरी मस्जिदमा ताण्डव देखाउँछ। विश्वभर ईश्वरको संगठन छ। ईश्वरहरूसँग पेस्तोल छ। पेस्तोलको छेउमा इनामेलले लेखिएको छ ,मानवताको रक्षा गरौं। सायद ईश्वरलाई कविता मन पर्दैन, भजन मन पर्छ। अहिले ईश्वरहरूले भजनको नयाँ युग जन्माइरहेका छन्।

भजन मन पर्नेलाई कविता मन पर्दैन किनकि आजको कविता विद्रोह बोल्छ। चेग्वे भाराको डायरीमा कविता भेटिएपछि सीआईएले सोच्यो होला— बाफ रे कविता पनि विद्रोहजस्तै हुँदो रहेछ किनकि चेले पनि कविता लेख्यो ? शासकलाई आफ्नो वरिपरि कवि र कविता राख्नु जोखिममय छ किनकि कविताले सत्य बोल्छ। न्यायको आवाज बोल्छ। एकजना शासकको भनाइ छ - आदर्श राज्यबाट कविहरूलाई बहिष्कार गर्नुपर्छ। यसैले कविताको मृत्युबारे शासकहरू हरदम सोच्ने गर्छन्।

कविता झन् जाग्दो छ।

शासकहरू नै कवितालाई अपहरण गरिरहेका छन्। चन्द्रागिरिको डाँडामा उक्लेर हाम्रा एकजना शासकले कविता वाचन गरे। वाहवाही कमाए। कविता मर्दो हो त विश्वकै गन्यमान्य शासकहरू पनि कविता लेख्दै हिँड्ने थिएनन्। मदन भण्डारीदेखि झलनाथ खनालसम्मको कविताकै बाटो हुने थिएन। कविता मर्दो हो त आङ साङ सुकी आँसुको भाषा कसरी बोल्दी हुन् ? मार्टिङ लुथर किङले गरेको विद्रोहले आममानिसलाई कसरी छुँदो हो ? हामीसँग कविताको भाषा नहुँदो हो त प्रेमको भाषा कसरी बोल्दा हौं। हाम्रो हृदयभाषा छुट्दो हो। हामी रोबर्टजस्ता हुँदा हौं।

कविता मरेको हल्ला जायज छैन। केही कवि अलोकप्रिय भए होलान्। भाइरल युगमा टेलिसिरियल र फेक न्युजजस्तो भाइरल भएर कविता सस्तो बजारको माल भएन होला। यो फरक कुरा हो। हिजो निरंकुश शासकहरू कविहरूलाई फाँसी दिन्थे। आज पनि शासकहरू कवितालाई बहिष्कार गर्छन्। भावुकता मात्र सम्झन्छन् किनकि उनीहरूलाई थाहा छ— सत्ता नांगो छ भन्ने हिम्मत कविहरूले मात्र गर्न सक्छन्। सत्तामा भ्रमको इन्द्रजाल हुन्छ भन्ने कुरा कविहरू मात्र भन्न सक्छन्।

एकखालका मान्छेहरू भन्छन्— कविता मर्‍यो। आख्यानको युग सुरु भयो। कविता मर्‍यो। ब्याटल गीतको युग सुरु भयो। सूचनाप्रविधिको युगमा कोही पनि कविता पढी बस्दैन आदि इत्यादि। यस्ता धेरै भ्रम हुन सक्छन्। एउटा उत्कृष्ट आख्यानमा कविता जरुरी छ। कलात्मक फिल्ममा कविता जरुरी छ। जनताका बीचमा विद्रोहीले गर्ने भाषणमा कविता जरुरी छ। संसद्को प्रतिपक्षी नेताले कविता वाचन गरेको सुन्नुभएकै होला। जता पनि कविता छ। यसैले कविता जाग्दो छ, ज्यूँदो छ।

एउटा सुमधुर गीतभित्र कविता हुन्छ। मानिसको आदिम लोकगीतमा कविता हुन्छ। मान्छेको सपना नै कवितात्मक अभिव्यक्ति हो। कविता जहाँ पनि छ। किसानले झुलाएको धानबाला किसानले लेखेको कविता हो। कलाकारको कला पनि कविता हो।

लेखक : रसुवाली कवि

याे पनि पढ्नुहाेस् ।

प्रिय निर्मला

विरोध -रसुवाली कवि

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर