tealaya add

हैन के सार्हो ल्याङ्ल्याङ गरेको हो यार,यो घरबेटी सुड्डी। पानी धेरै पोख्यौ,हल्ला कम गर, कति मान्छे आएका हुन भनेर सधै प्यारप्यार प्यारप्यार। भाडामा बस्नेले मुख पनि सिउनु पर्ने ?

हैन मान्छे भए ठाम मान्छे आउदैनन् र भन्या।भुँई मै टेक्दैनन् बा!! घर हुनेहरू। फतफताउदै रमन भित्र छिर्यो। अब राम्रो कोठा खोजेर सर्नु पर्छ ।म पनि वाक्क भैसकेको थिएं। दिनहु उफ्रिने घरबेटीको चाला देखेर। हामीलाइ त मान्छे नै गन्दैनन् बा यी घर हुनेहरु। घर त हाम्रो पनि छ नि तर गाउमै भएर पो वहाँ बिरालोका पाठाहरूले छुट्टा छुट्टै कोठा कब्जा गरेका छन हाम्लाई माईखानी नै सोच्छन क्या हो !

मिल्ने भए त भित्तामा बस्ने माउसुलिलाई पनि भाडा लाग्छ है भन्थे होला मैले थपें।हामी खाना खाएर कोठाको खोजिमा निस्कियौं। बुटवलमा विद्यार्थी र छोराछोरी पढाउन भन्दै गाउबाट झर्नेहरुको कारण कोठा पाउन पनि ठुलै कसरत गर्नु पर्थ्यो। कोठा खाली छ भन्ने थाहा पाएर बुटवल बहुमुखी क्याम्पसको पछाडीको घरमा गयौं। कोठाभाडा सबै चित्त  बुझ्यो कलेज नजिकै हुनेभो म जस्तो अल्छिलाई त झन के खोज्छस् काना आँखो भने झैं भो विहान जुरुक्क उठेर सर क्लासमा छिरेपछी गएपनि हुने। हामी बस्ने निधोगरी निस्कियौं।

अर्को दिन कोठा सरियो। हामीलाई कोठा देखाउने आन्टी र हाम्रो कोठा सँगै थियो।उनले घरतिरको सबैलाई सोधेपछि म जिल्ल परें। "तपाईले कसरी चिन्नु भयो त हाम्रो गाउँका सबैलाई?"-मैले सोधिहालें।"हा हा हा" उनले हाँस्दै "भनिन् हाम्रो पनि घर उहीं हो नि।"  एउटै गाउँ भएपनि हाम्रो घरभन्दा अलिमाथि र पहिले नै गाउँ छाडेकाले मलाई ख्याल रहेनछ तर उनको छोरा संयोगलाइ भने देखेको थिएं।

म झन खुशी भएं गाँउलेकै घरमा आइएछ भनेर तर उनिहरु पनि वाहालमै बस्ने र घरको रेखदेखको जिम्मा पाएका रहेछन हामी विधार्थी त्यसैमा पनि म जागिर गर्थें पकाउन खान निकै अल्छि थिएं। घरमा त चियासम्म पकाएर खाएको थिएनं तर साथी भने जाँगरिलो थियो हामी एउटै परिवार जस्तै भएर बस्न थाल्यौं।अन्टिले मीठो मसिनो छुट्टाउनु भएन्। हामी पनि एक्लै खाँदैनथ्यौं।

केहि समय पछि अंकल घर आए उनि पूर्वतिर पाट॔नरसिपमा इलैचि खेती गर्दा रहेछन मोटाघाटा भलाद्मि निकै वुद्दिजिवी जस्ता कुरा गर्दा रहेछन्। मेरा बारेमा सबै सोधे। दुइ तीन दिन पछि उनि काममा गए। अंकल अन्टि दिनमा दईचार घण्टा जसो फोन गर्थे ।

घरको हलमा ल्याण्डलाइन थियो। कोहि नहुदा मैले पनि चान्स मारिहाल्थें।निकै माया प्रेम थियो उनिहरु बिचमा । "बुढेसकालमा पनि कति माया गरेको अन्टि" भनेर मैले जिस्काउँदा हाँस्दै -"ज्यान बुढो भएपनि मन,माया बुढो त हुदैन नि, झन् बुढेसकालमा त होनी बुढीलाई बुढो,बुढोलाइ बुढी चाहिने। तँ पनि अन्टिलाई जिस्काउंछस" भन्दै मुसुक्क मुस्काउँथिन। मुस्कुराउँदा गालामा गोलो डिम्पल पर्थ्यो, जुन निकै आकर्षक लाग्थ्यो मलाई।म फिस्स हाँसेर समर्थन गर्थें।अन्टि मेरो नजरमा एउटा सरल सुन्दर र सफल गृहिंणी थिइन्।

कहिलेकाहीँ फोनमै झुन्डिरहेको देखेर बुढि आँमै कराउँथिन-" छोरोलाई मोहोनी लाइछे ,बेलामा खान दिने होइन खालि "हा"हा" हा" गर्दै बस्छे। त्यो रामेले नि आमा भनेर मलाई  कहिल्लै फुन गर्दैन"भन्दै भित्र र बाहिर गर्थिन।

घरमा आर्थिक अभाव भएपनि सन्तानलाई राम्रै स्कुलमा पढाएका थिए। अन्टि बिहान सांझ चुरामा कडाइ भर्थिन पाचँ सात हजार आम्दानि गर्थिन। अंकलले पनि पठाउंथे पैसा निकै राम्रो सँग चलिरहेको थियो परिवार।

अंकल अन्टिको त्यो उमेरमा पनि त्यति रसिलो प्रेम सम्बन्ध देखेर मेरो मनमा पनि प्रेमका रंगीन इन्द्रेणीहरू सल्बलाउन थाल्थे।

सामुन्नेको कोठा भएकोले उनिहरूले गर्ने कुराकानी सुनसान रातमा प्रष्ट सुनिन्थ्यो। कहिलेकाहीँ त उनीहरूको कोठाबाट आउने आवाजले मलाई तरंगित बनाउथ्यो। जब सम्म आवाज सुनिन्थ्यो तब सम्म हामी पनि रातिमा कहिल्यै सुतिएन।

कुनैबेला मलाई निकै हांसो उठ्थ्यो साथीले मुख छोप्दिदै-"भन्थ्यो नहांस्न मुला सुन।"  उनीहरू एक अर्कामा हराइरहेको बेला निस्कने खासखुसको सानो सानो आवाजले हामी पानी पानी हुन्थ्यौं। थाहा छ एकपटक त साथीहरू जम्मा भएका थियौं। रमनले एकैछिन चुपलाएर सुनओ त भन्यो सबैले ठाडा कान गराएका थियौं। आ• आ•• गरेको महिलाको आवाज सुन्ने वित्तिकै विजय चिच्याउदै भन्यो,हैट! दियो क्या हो सुड्डोले।"हाहाहा" गर्दै सबै हाँसे मैले इशारा गरेरै चुप लाग्न भनें त्यसपछि उताबाट आवाज आएन केटाहरू रातभरि हाँसेरै सुत्न दिएनन। अर्को दिन विहान अन्टीले चाल पाइछिन र लजाएझैं गर्दैथिइन

एकदिन म अफिसबाट आएर बसेको थिएं। हामी त्यहाँ बस्न थालेको पनि तीन बर्ष भैसकेको थियो। अंन्टि फोनमा बोल्दै थिइन् । फोन काटेर म भए सामु आइन् उनको चेहेरा देखेर सोधें "के भयो र अंन्टि?" "हेर न यसपालि  नि अलैचिमा रोग लाग्यो अरे अब छाड्ने फाइदा भएन भन्छन अरे साथीहरूले पनि"- उनले टपलक्क आँसु खसालिन।

"के भो त यतै केहि गर्नुहुन्छ अंकलले"-मैले भनें।" कहाँ हामी त डुबिन्छ त्यसको कति ठुलो आसा थ्यो। त्यहि त कसरी गरेका हौं" भन्दै उनले  विगत कोट्टाइन।

अंकलका बुवाको विवाह भैसकेको थियो। एउटै गाँउगोठालो जादा प्रेम बढे पछि बाआमाले भागरे बिहे गरेछन। बाको घरकाले विरोध गरे। घरमा भित्र्याउन नदिएपछी खर्कमा रहेको सानो घरमा लगेर राखे। बा कहिले घर कहिले खर्क गर्थे। आमाले खर्कमै छोरा जन्माइन तर बालाई  न्वारानमा घरकाले जान दिएनछन। दुख सुख अंकल हुर्किए। घरमा सम्पत्तिको कुरामा झगडा र विवाद हुनथालेपछि मानसिक दवाव खप्न नसकेर बा बेपत्ता भए। सासलासको टुङ्गो भएन। अंकललाई तल्लो भातको भनेर आफन्तले हेला गर्न थाले।सम्पत्ति नदिन अनेक गरे।

अलिकति पढेलेखेको अनि सानै देखि आफन्तको दमनले उनमा विद्रोही स्वभाव बढि थियो। बिहे गरे पछि रोजिरोटीका लागि भारत गए। छोरो र छोरी जन्मिसकेका थिए उनि आफूलाई दमन गर्ने आफन्त लाई ठेगान लगाउन र आफू जस्ता गरीब, दुखि ,शोषित र अपहेलितका दिन ल्याउन भन्दै मुक्ति युद्धमा होमिए।

प्रखर वक्ता, विद्रोही र निडर स्वभाव, सत्य र स्पष्ट बोल्ने भएकाले पार्टीमा राम्रो पकड बनाउन सफल भए। आफन्तहरू संग बदला लिइ सम्पत्ति हात पार्न पनि सफल भए। द्वन्द कालमा उनि प्रहरीको मस्टवान्टेडमा पर्थे 

प्रहरीले अन्टीहरूलाई निकै सतायो।कैयौं पटक उनि सुतेकै बेलामा घरमा छापा मार्दा भागेर ज्यान जोगाएका थिए। ''मेरो बिहे भए देखि कहिल्यै सुखका दिन आएनन्,'' अन्टी गहभरी आशू झार्दै भन्दै थिइन। मेरो मनमा एउटा याद ताजा भएर आयो -म सानै थिएं। फुपु दिदीको विहेको तयारी हुंदै थियो।

दुई जना अग्ला कालो वर्णका युवकहरू त्यहाँ आए। सबै चुप भए। उनीहरूले के कुरा गरेर गए मलाई थाहा भएन। उनीहरू गएपछि अरूले यी कालेहरू माओवादी हुन भन्ने कुरा गरे। मेरो बाल मष्तिष्क मा माओवादीहरू काला हुदारहेछन भन्ने छाप परीरह्यो अलि पछि सम्म। अहिलेभने सम्झिदा पनि आफैलाई हाँसो उठेर आउँछ।

अंकल निस्वार्थ युद्ध लडे। पछि पार्टीमा विमति भएपछि केही समय निस्कृय रहे।युद्ध कालमा उनका साथीहरूले बुटवल दाङमा घडेरी जोडे अहिले करोडौका मालिक भएका छन तर उनले त्यति बेला त्यस तर्फ ध्यान दिएनन्र्।पछि बुटवल आएर भाँडा पसल गरे। सफल नभए पछि साथीसरू संग मिलेर तराई को खेत बेचेर अलैंची खेती गर्न थालेको हो त्यही नि डुब्छ कि भन्नुहुन्छ,अन्टी तरर आशू खसालिन। म कसो गरूं,के भनेर सम्झाउं अल्मल्ल परें।बल्ल बल्ल -"पिर नगर्नुस अन्टी सब ठिक हुन्छ" यत्ति भन्न सकें। मेरो मन धमिलो भयो सिद्धबाबाको पहिरो मेरै मनमा खसे जस्तै अप्ठ्यारो महसूस भयो।

केही दिन पछी पूर्व छाडेर अंकल घर आए।परिवार मा आर्थिक संकट देखा पर्न लाग्यो।देशमा ठुलै राजनितिक परिवर्तन भैसकेको थियो। उनीसंगै एउटै थालमा खाएर युद्ध लडेकाहरू मन्त्री भैसकेका थिए। अंकल पनि कहिले पार्टीको काम कहिले ठेक्का पट्टा भन्दै घरबाट हिडिरहन्थे। अन्टीले जसोतसो घर व्यवहार सम्हालेकि थिइन। घरमा झगडा हुन्थ्यो। आमाले भएको एउटा खेत पनि बेचेर खाए भनेर कराइरहन्थिन।

अंकलले यता उति जादा पहिले जस्तो फोन गर्न छाडेका थिए।संगै जोडिएको कोठा भएकोले मलाई उनीहरूको हरेक क्रियाकलाप थाहा हुन्थ्यो। उनि कहिले मिटिङमा छु भन्थे र फोन काट्थे त कहिले रातिमा फोन स्विच अफ गर्थे। अन्टीले फोन बारबार हानिरहन्थिन कहिलेकाहीँ उनको फोन लामो समय व्यस्त हुन्थ्यो अनि अन्टी संग पछि अनेकौ बहाना बनाउथे। अन्टीले तपाई परिवर्तन हुनु भएको छ, त्यस्तो मान्छे यस्तो कसरी हुनु भो ? एक कल फोन गर्नु हुन्न सन्चो विसन्चो सोध्नुहुन्न भन्दा कामले फुर्सद नभएर हो भनेर टादर्थे।

अन्टी भित्र भित्रै निराश र दुखी हुन थालिन।पछि पछि अंकल सिधै भन्थे "ए विमली खालि फोन हानि राख्नि नगर है"।यसो भन्दा सासु चाहीं निकै खुशी हुन्थिन। छोराले बुहारीलाई माया नगरे मलाई बढी माया गर्छ भन्ने उनको सोंच थियो।

भन्थिन-"हो त नि काममा गएकालाई घरमा बस्दै फोन हान्दै दाँत  देखाउँदै गरेर हुन्च र? छोरा मान्छेका काम हुन्छन,के हुन्छन।"  सासुले घर भित्रिए देखि कहिल्यै दया माया गरिनन्।वर्खा मास बारी तिर घाँस काट्न जान दिन्थिनन रे बोडी खान्छे भनेर।त्यति मात्र हो र,सुत्केरी भएर माइत जान लाग्दा घरमा भएको बाख्रो समेत मैले हेर्न सक्दिन है विमली भनेर फुकाएर बाटो लगाइदिएकी थिइन रे। सासु बुहारीको झगडा हुँदा अन्टी भन्ने गर्थिन। पहिलो पटक यो सुन्दा म पनि अचम्म परेर मरी मरी हाँसेको थिएं।

सासुको व्यवहार राम्रो नभए पनि श्रीमानको मायामा भुलेकी थिइन् अन्टी।छोरा संयोग काठमांडूमा पढ्दै गर्दा त्यहीँ की नेवार जाति कि केटी संग प्रेममा पर्यो। घरमा क्रांतिकारी विचारका बुवा भएकोले जातपातले समस्या पर्दैन भन्ठानि उस्ले बिहे गर्यो।

उता अंकल अन्टी को सम्बन्धमा चिसोपन बढ्न थालिसेको थियो। उनिहरु एउटै कोठामा सुते पनि अलग अलग सुत्थे।अन्टीका अनुहारमा चिन्ताका धर्साहरू दौडिनथालेका थिए। अरू साथीहरू संग छोराछोरी नपाउन्जेल हो त्यस पछि त बुढाले नि वास्ता गर्दैनन भनेर गफ गर्न थालेको सुनेपछि उनिहरू बिच खटपट भएको अनुमान लगाउन मलाई गार्हो परेन।

म जागिर को क्रममा धरान आएं। बिहे लगत्तै संयोगले नायव सुब्बामा नाम निकलेछ। म धेरै खुशी भएं। तर अंकल अन्टीको खवर दिनदिनै नराम्रो सुनिन्थ्यो।

एकदिन अंकलको फोनमा केटीको म्यासेज अन्टीले फेला पारिन।अंकलले त्यही नम्बरमा फोन  गरेको भेटाएपछी उनलेे  फोन  गरीन। निडर  स्वरमा  एउटी महिलाले आफू राम प्रसादको श्रीमती भएको भन्दै तपाई को अरे  भन्दै  प्रतिप्रश्न गरिन। विगत  दस  बर्षदेखि संगै भएको,अंकलले चितवनमा कस्मेटिक पसल  राखिदिएको र आफ्नो पहिलो बिबाह  बिग्रीएको भनेर छलेको भन्दै  कुनै हालतमा पनि नछाड्ने भन्दै उल्टै झगडा गरिछन। अन्टी लाई नै थर्काइछ्न ।

अन्टी को दिमागले काम गरेन, हातको फोन ह्वात्तै  बाटोमा हुर्राएर कोठामा गएर ह्व ...  ह्वा..  रुन थालेपछि  सबै  जम्मा  भए । अंकललाई सबैले थुके अनि युद्धमा हारेको सिपाहीजस्तै  निरीह  बनेर उभिरहे। आमाले ''मर्दका हुन्छन् ता केर १२ओटी स्वास्नी" भन्दै भित्र बाहिर गरीरहिन्। एउटा  नारीमाथी यति धेरै अन्याय हुँदा आफुले पनि त्यहीँ समस्या भोगेकी अर्कि नारी आंशु पुछ्नुको सट्टा; नुन चुक छर्न सक्ने कोही  त नारी भएर पनि  कति कठोर हृदयका हुदा रहेछन्! आखिर नारी दमनमा नारी नै प्रमुख  हुन्छन्  भन्ने हो झै लाग्यो ।

अंकलले उ पनि स्वास्नी  भएको र दुबै लाई छाड्न नसक्ने  बताए । यो घटनाले अन्टीलाई ठुलै आघात  पर्‍यो । तर हिम्मत  हारीनन् छोरा बुहारी  साथमा भएपछि  बुढो बिना पनि बाच्न  सक्ने अाँट निकालिन्। पैसा  जोहो गरिन र किराना पसल गर्न लागिन्। अंकल भने दुबै स्वास्नी को नजरमा धोकेबाज साबित भए।

नारी मुक्तिको नारा  लगाउदै बहुविवाह  गर्ने कैयौंलाई   कारबाही गरेका थिए  अंकलले । आफू त्यही  समस्या बाट गुज्रिएका उनले जानिजानि बुढेसकालमा दुई  डुङ्गामा खुट्टा  राखेर कहाँ  पुग्न खोजे होलान्!घरमा  माया गर्ने श्रीमती  हुँदाहुँदै  उनलाई  कुन प्यासले त्यहाँ  सम्म पुर्याएहोला। अहिले  उनी  टुक्राटुक्रा भएको  मुक्तिगामि पार्टी  मध्ये एकको  केन्द्रिय समिति  सदस्य  भएका छन् ।

आफ्नो सुन्दर  परिवार  जोगाउन नसक्नेले देश र जनताको अभिभारा  बोक्न हिंडेका छन्।यस्ता मान्छे नेता  भए पछि  देशको हालत पनि अंन्टीको जस्तै हुने त होला नि।मलाई भने सबैथोक हुदाँहुँदै पनि अंकल परस्त्री सम्म पुग्नुको रहस्य पत्तालगाउने हुटहुटीले चयन दिएको छैन। किन स्थायी भनिएका सम्बन्धहरू एकाएक करारमा परिणत हुन्छन ?

किन बत्ती हो भन्ने जान्दा जान्दै पनि होमिन्छन मान्छेहरू क्षणिक सुखको लागि पुतली बनेर? यो रहस्यमयी कुरो को चुरो फेला नपरेर रन्थनिएको मैले फेरि अर्को सन्सनिपूर्ण खबर सुनें। अहिले तिनै अंकल नगरपालिकाको मेयरमा उठ्ने पक्का भैसक्दा बहुविवाह गरेको छ,हुँदैन भनि पार्टी भित्रैबाट विरोध भएर उमेद्वारी खुस्किए पछि मानसिक सन्तुलनमा नभए र केही समय देखि वेपत्ता उनले भारतको लुधियानामा आत्महत्या गरेको अस्पष्ट खवर आएको छ।

 Sanjay Ghimire min

लेखक : संजय घिमिरे 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...