annapurna add

comred khojdai

- कवि बलराम तिमल्सिना

पुर्खे सुनारकी आमाको नेतृत्वमा
एउटा टोली आएको छ -
रोल्पाबाट
खत्री वन्धुहरूका आफन्तको नेतृत्वमा
अर्को टोली आएको छ -
रुकुमबाट
टोली राजधानीमा घुम्दै छ
टोलीको उद्देश्य हो -
दिव्य वाह्र वर्ष अघि
गामबाट हराएका कमरेडहरू खोज्नु !

धेरै भयो उनीहरूले खोज्न थालेको
अहिलेसम्म कुन खुट खवर छैन !

एक थरिले देखाइदिए
एकान्त कुनामा बस्छन् अनन्त
उनीहरू सोध्दै गए एकान्त कुना
स्थानीयहरूले भने-
'यहाँ त वर्षमान पुन बस्छन्
अनन्त को हो हामी चिन्दैनौं !'

कसैले भने-
'कलङ्कीतिर बस्छन् प्रभाकर'
उनीहरू खोज्दै गए त्यता पनि
स्थानीयहरूले भने-
'एता त जनार्दन शर्मा बस्छन्
प्रभाकर त नामै सुनेको छैन !'

जव भेटिएनन् अनन्त र प्रभाकर
उनीहरूले पासाङ भेट्ने सोचे
र कसैले भनिदियो-
'पासाङ अचेल केशरमहल नजिक बस्छन्'
उनीहरू त्यहाँ पनि पुगे
गेटमा बसेको पुलिसले भन्यो-
'यहाँ त नन्द किशोर पुन बस्नु हुन्छ !'

एक पटक प्रचण्डलाई भेटौं
टोलीमा यस्तो कुरा उठ्यो
एक मतले पारित पनि भयो
कसैले भनिदियो-
अचेल उनी खुमलटार बस्छन्
टोली खुमलटार हान्नियो
दरवार जस्तै घरको गेटमा
एउटा प्रहरीले भन्यो-
'यहाँ त पुष्पकमल बस्नु हुन्छ
प्रचण्ड त खै को पो हो हँ ?

कसैले कुरा झिक्यो-
'किरणलाई भेटेर फर्कौं !'
टोली खुसिवुतिर पनि गयो
धुइपत्ताल खोजि भयो
मोहन वैद्यको ठेगाना भेटियो
तर किरणको भेटिएन !

एक थरिले तर्क झिके-
'बरु महरा भेटेर फर्कने कि'
अर्का थरिले भने-
'भो भो नभेटौं मुड खराव हुन्छ'
फेरि अर्को तर्क निस्क्यो-
'जाऊँ वरु दाङ्गतिर
त्यहाँ लोकेन्द्र विष्ट भेटिन्छन्
राजनीतिबाट दिक्क लागेर
सिउँडी फलको खेती गर्छन् रे !'

'कमरेड भेटन पनि पाइने
सिउँडी फल पनि खाइने
जाऊँ जाऊँ दाङ्ग जाऊँ'
दुई तीन जनाले भने !

हैट ,
'उनले पनि म कमरेड हैन भन्दिए भने क्यार्ने नि ?'
बहुमतले चिन्ता जाहेर गरे !

२०७६|०८|२२
भक्तपुर

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...