tealaya add

story poojaरातभरी खट्पटी भएर उ निदाउन सकिन। निदाओस पनि कसरी, समयले उ माथी बज्रप्रहार जो गरेको थियो।उसका मनमा धेरै कुराहरु हिउँचुलिमा हिउँ बर्से सरि बर्सिरहेका थिए र असिनाले झैँ उसको मनलाइ चुटिरहेका थिए।

उ आजभन्दा अगाडिका कहालीलाग्दा दिनहरु पटक्कै सम्झन चाहन्न।ती काला विगतले उसलाई पीडा बाहेक केही दिन सकेनन आकाशमा हजारौं ताराहरु बिच रुमल्लिँदै गरेको जुन जस्तै भएकी थिइ उ। एक्लि। नितान्त एक्लि।

उफ! कसरी हेर्न सकि आफ्नी आमाको चिसो शरीर अनि त्यो नाबालक भाइको चीत्कार। परेलीका छेउबाट तप्प तप्प नुनिलो पानी झार्दै र समयका ती पापिष्ट क्षणहरुलाइ सम्झिँदै उ उठि। उठ्दा टाउको भारी भएको थियो जिङरिङ्ग भएको थियोे उस्को नरम कपाल। धेरै थाकेको महसुस गरिरहेकी थिइ। नगरोस पनि किन, सम्पुर्ण मानसिक र पारिवारिक भार परेपछि जस्तै दर्‍हो मान्छे पनि कमजोर बन्न पुग्दो रहेछ। त्यसमाथि उ त केवल १५ बर्षकि बालिका न हो। यति सानो उमेरमा यस्तो परिपक्वता र सहनशीलता हुनु भनेको सानो कुरा त पक्कै हाेइन ।

समय पनि कति छिटो बित्दो रहेछ। कसैको हासेर त कसैको रोएर।कति बलवान् छ यो समय आफुसङ्गै धेरै कुराहरू परिवर्तन गर्दिन्छ। तर उसको आँसु र पीडा मिश्रित जीवन यो समयले पनि बदल्न सकेन। एक बर्ष अघिको उस्को जिवनमा आएको भुकम्प अझसम्म शान्त हुन सकेको छैन।आज उस्को जिवनको कालो दिन यानिकी उस्कि आमाले टुहुरा बनाएर गएको दिन।

उसको आमाप्रतिको श्रद्धा र बिश्वासले वार्षिक श्राद्द नगरी बस्न दिएन। उठेर काकाको गोठमा गएर गोबर ल्याइ घर लिपपोत गरेर चिट्टिक्क बनाइ। पधेरी बाट पानी ल्याएर सबै रित्ता भाडाकुडा टम्म पारी। ८ बर्से भाइ निदाइरहेकै थियो, उसलाई उठाएर भनि जा भुन्टे काकाकहाँ गएर कपाल काटेर आइज। बिचरा त्यो बालकलाइ केही अत्तोपत्तो भएन,कपाल किन मुढियो केही थाहा पाएन।

जसो तसो त्यो गरीबी र अभावका बाबजुद उसले आफ्नी आमाको बार्षीकी पूरा गरी। चुनौती र अभाव त उसका मिल्ने साथीजस्तै भैसकेका थिए। जहिले पनि सङ्गै हुने।आमाहुदा जोहो गरेको खाद्यान्न बिस्तारै सकिन थाल्यो।हुन त केही आउने बाटो नभएपछि कति दिन पो रहन्छ र।एकपछि अर्को समस्याको ओइरो लाग्दै थियो। न त गाउँमा कसैले मेलापातमा बोलाउछ्न न त कसैले दया नै देखाउछन। गाउँको एक कुनामा ती दुई बालकको जीवन कुनै कैदिको भन्दा कम थिएन।

पढाईमा पनि उ अब्बल छात्रा हो तर आमा बिरामी भएर थला परेदेखी उसले स्कुल जान छोडी। आमाको स्याहारसुसार र भाइको हेरचाह मै उसको दिन बित्न थालेको थियो। बेसिमा भएको खेतबाट अलिअलि अन्न त आउथ्यो तर मोहि को हेपाइको कारण त्यसको मात्रा पनि घटिरहेको थियो।उसलाई लाग्थ्यो आज मेरि आमा भैदिएको भए मलाई कसैले हेप्दैन थिए होला। बाबाको बारेमा भने उसलाई केही अत्तोपत्तो छैन।

उसले आमालाई नसोधेकी पनि हैन तर बिरामी आमाले भन्न इन्कार गरेपछि उसलाई कर गर्न पनि मन लागेन। सत्य के हो दैब जानुन।
आज तिथी भएकाले उनीहरुले केही खाएनन।भाइलाई ओछ्यानमा सुताइसकेपछी आफू पनि सुत्न खोजी तर सधैंको जस्तै आज पनि साथ दिएन। नजिकै रहेको ठुलो बरको रुख अनि सङ्गैको आमाको चिहान छेउ गएर डाको छोडेर रुन थाली।उसको रोदन सुनिदिने जंगली पन्छी र जनावर बाहेक कोहि थिएनन् । आमाले छोडेर जाने बेलामा `नानि त एक्लि छैनस´ भनेको याद आयो तर बास्तबमा उ एक्लि भएकी थिइ।

न त दुखमा हात थाम्ने कोहि थियो न त ओठमा मुस्कान ल्याउने नै। यति संघर्ष र दुखका बाबजुद उ आफ्नो भाइलाई पढाएर ज्ञानि बनाउन चाहन्थी।आफ्नो भन्दा पनि भाइको भबिस्यको चिन्ता थियो उसलाई। रातको १० बजितिर मन अलि हल्का भएको महसुस गर्दै घर आएर बिस्तारामा पल्टीइ।

भोलिपल्ट सबेरै एउटा मोटो मोटो,लामा लामा जुँगा भएको गोरो गोरो मान्छे उनीहरुको आगनमा देखा पर्यो र आमासँग बाध्यताले टाढिएको कुरा सुनाउदै त्यस घरको बाबू भएको भरोसा दिलायो।उ साच्चै खुशी थिइ आज,साहारा भेट्टएकि थिइ। एक मजबुत साहरा। बाबुसङ्ग एक महिना जति समय बिताउदा उनीहरुको दिमागमा बिश्वास र माया भरिइसकेको थियो।

एकदिन आँगनको डिलमा बसेर बारिमा हुर्केका सागसब्जि नियाल्दै गर्दा बाबुले आफू जागीरमा फर्कनु पर्ने कुरा बतायो। नरमाइलो लाग्दा लाग्दै पनि उसले रोक्न भने सकिन।हिड्ने बेलामा बाबुले भाइलाई पनि आफुसङ्गै लिएर जाने र उसलाई पछि लिन आउने कुरा गर्‍यो।सकिनसकी प्राण भन्दा प्यारो भाइलाई बिदा गर्न तयार भइ उ।आखिर भाइको उच्च शिक्षा र उज्ज्वल भबिस्यको सवाल जो थियो।
दिन बिते, महिना बिते र बर्षहरु पनि। तर उताबाट कुनै खबरको अत्तोपत्तो थिएन। न त फोन,न त चिट्ठी, न त कुनै माध्यमको खबर। एकदिन पिडिमा बसेर जातो चलाइरहदा हुलाकी दाइले हातमा एउटा चिट्ठी थमाइदिए।जसमा लेखिएको थियोे 

प्यारी दिदी
धेरै सम्झना,
आरामै छ्यौ होला है तिमी? हरेक कदममा तिमी र तिम्रा संघर्षहरुलाइ सम्झिने गर्छु हौसला त मिल्छ तर केही गर्न सकिन। यहाँ पशु सरह गरिने ब्यवहार र मानसिक तनावले जिन्दगीनै बेकार लाग्न थालेको छ। हो दिदी तिमी मा जति सहनशीलता भएको भए आज यो दिन आउन्न् थियो होला। तिमीलाई यो चिट्ठी छोडेर यो स्वार्थी ठाउँ र गिद्दहरुको सहरबाट सदाको लागि बिदा हुँदै छु। माफ गरिदेउ है।
दिदी बिदा।

पढ्दा पढ्दै उसका आँखा रसाउन थाले, मुटुको धड्कन बढेर आयो,जिउ काप्न थाल्यो,भतभती पेट पोल्न थाल्यो।उसले एकचोटी दानवरुपी बाबूलाई सम्झी अनि एकचोटी त्यो निश्चल भाइलाई र एकोहोरो टोलाइरही..टोलाइरही... टोलाइरहि... उसका हातगोडा चिसिएको कसैले थाहा पाएन, धड्कन किन रोकियो कसैले भेउ पाएन। अन्त्यमा उसको शवलाइ आमाको चिहान सङ्गै राखियो।

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...