tealaya add

कविता: उद्घोष 
 
आमा मलेसिया उडेपछी
बा मलाई औधि माया गर्थे 
खुबै सुममुम्याउथे
चुम्बन बर्साउथे 
एक रात बाकै काखमा
म खुब चिल्लाएंँ-गुहार मागें
सुन्ने कोही थिएन ।
त्यो रातपछि मेरा बा 
बा मात्र रहेनन् । 
 
तिमी त सारै टाठी छौ भन्दै
गुरू, गाला जोड्न आउथे
मैले क्लास वर्क गरिरहदा 
एकोहोरो क्वारक्वार्ति हेर्थे 
उनी मैले गरेको हिसाबमा कम
मेरो शरिरमा ज्यादा आंँखा दौडाउथे  
त्यस पछि मेरा गुरू 
मलाई बारी जोत्ने गोरू जस्तै लाग्यो ।
 
दोबाटोमा भेटिएको ऊ 
भोलिपल्ट देखि पछ्याउन थाल्यो
एक दिन सुनसान बाटो हिड्दैथिएंँ 
ऊ जस्तै अरू पनि 
ल्याएर घेरा हाल्यो
मानौं-
ऊ मान्छे नभै स्याल-ब्वाँसो हो।
 
उच्च पद ओगटेको भद्र मान्छे 
छेवैमा आएर मुस्कुरायो
सम्मानपूर्वक म मुस्कुराएंँ 
कानमै आएर भन्यो-
'सार्है राम्री रैछ्यौ 
शनिवार मेरो कारमा घुम्न 
जानु पर्छ है ।'
त्यस पछी ऊ जंगलको 
जनावर भन्दा असभ्य देखियो।
 
सोच्दैछु 
मलाई गिद्दले झैं लुछ्ने 
निरीह र कांँतर देख्ने
दोबाटोमा ढुक्ने 
गल्लीमा कुर्ने 
मेरा बा, दाजु , काका, मामा 
साथी-दौतरी 
सबै-सबैका आंँखामा 
तेज़ाब खन्याउंँ। 
तरवारले तिनको पुरूषत्व 
छिनालि दिऊंँ 
यसर्थ कि 
उनीहरू हृदयको आंँखाले मलाई
मात्र 
आमा, दिदी, बैनी, मित्र
देखुन् 
यो संसारको
अस्तित्व हुनुको अर्थ बुझुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...