1478958692 banner ad format

 
 
दशैंले फेरि कोट्यायो पुरानै घाउ
- सुमिना 'अभिलाषी'
 
सालौं पछि फेरि उस्तै गरी
निद्रा हरायो र स्वप्न खलबलायो
कसैको पुकारले 
जब अचानक पवनबाट चिसो बतासले
सुस्केरा हाल्यो मध्य रातमा !
 
बर्षाद सकियो, शरद निम्तियो
त्यसैगरी गुन्जिए मालश्री 
शहर सिंगारिए
र बदलियो अनुहार गाँउको 
घरका भित्ताहरू पोत्दै गरेकी उनको
आँखाहरूलाइ गिज्याए रंगहरूले
अनि लाग्यो
रातो माटोमा कतै मिसिएर
लतपतिए जस्तै आफ्नै श्रीमानको रगत !
 
प्रदेशबाट आइरहेका
सुकिला लाहुरेहरूको लस्कर हेर्दै
"दिदी हाम्रो ड्याडी कहिल्यै आउनुहुन्न हगि"
निन्याउरो मुख लगाएर
सोधेको भाइको प्रश्नमा
उत्तरविहिन भएकी दिदिको अनुहारभरी
मडारिइ रह्यो घोर चिन्ताको कालो बादल ।
 
प्रतीक्षाको घडी समाप्ती पश्चात् मात्रै
मझेरीको दियो सल्काउने उनको प्रण
टुटेन यो पटक पनि 
न आए बहिनीका दाजु
न सल्काइयो दियो
न छरियो उत्साहको रोशनी
अँध्यारो रहिरह्यो प्रतिक्षित कक्ष ।
 
मात्र रोपिरहिन् उनले सालौं पिच्छे
अपेक्षाका गुर्धौली, मखमली र सयपत्रीहरू
हृदयको आगनमा
र संँगै घरको आगनमा पनि ।
 
अहँ, यो पालि पनि विश्राम पाएनन्
सधै दशैं आँउदा
सम्झनामा बिभोर भएर
सालौंं पहिँले
युद्धमा हराएको बेबारिसे कान्छो छोराको
प्रतीक्षामा घरको दलिनमा बस्दै
तगारोसम्म बिच्छाइएका
वृद्ध आमाका
थकित- थकित आँखाहरूले ।
 
कवि सुमिना बुटवल, रुपन्देही निवासी हुन् ।

प्रकासित मिति

Loading...

 

yummyfood