tealaya add

तल मादीको किनारबाट उभो फर्केर हेर्दा पिरामिड जस्तो गरा माथी गरा थपिदै गएर आकाशको उचाईमै यसको अन्तिम पिरामिड स्थापना भए झै लाग्थ्यो। केहि बर्ष अगाडी सम्म पनि यो सुदुर गाउँ कुनै प्यागोडा शैलीमा बनाईएको मन्दिर झै देखिन्थ्यो । अनि यसैको एउटा कुनाबाट समान्तर भएर पातलोसंग एकसरो गाउँ फैलिएको थियो ।

तिनै गाउलेको मेहनतले प्यागोडा जस्ता गराहरुमा बर्षैभरी अन्नबाली झुलीरहेका हुन्थे । हावाको बहाबको तालमा कहिले ती बालीहरु तामाङसेलो नाचिरहेका हुन्थे भने कहिले कौडा गरिरहेका झै लाग्थे। जब हिउँदमा किसान बाली भित्र्याएर केही समय विश्राम गर्थे ती बाली उठाइएका पिरामिड झै लाग्ने गराहरु जवान बिधुवा झै उदास र खाली हुन्थे ।

तर जसै किसान चाडबाड सकेर खेतमा फिर्थे  फेरि गहुँ र तोरीको हरियो पहेँलोले सजिएर पुनर्बिबाहले झन उजेली भएकी नब दुलही झै गराहरु झन भरिलो भएर उदाउथे । लाग्थ्यो युगौं देखि अटुट अटुट यो शृङ्खला चलीरहेको छ  र चलिरहने छ ।

किसानहरु पुस्ता र दरपुस्ताहरु उदाए र अस्ताए । केटाकेटी जवान र जवानहरु बुढा भए । तर यी पिरामिड जस्ता गराहरुको जवानी कहिले पनि ढल्किएन । यस्तो लाग्थ्यो तल बहने मादीको जवानी र यो यी गराहरुको जवानी कहिले पनि सकिएर जाने छैन । जसरी अजम्बरी जवानी लिएर सधैं मादी बहन्छे त्यसरी नै झुलिरहने छ्न यी पिरामिडका गराहरु  । 


 तर पुर्बी युरोपका सान्त र जवान यहुदी बस्तीहरु हिटलरका सेनाहरुको सामुहिक बलात्कारमा परेर खंडहर भएजस्तै केही बर्ष भित्रै यो पिरामिड जस्ता गराहरुले भरिएको सुन्दर गाउँ उजाड र उदास हुँदै हुँदै  आज दोस्रो बिश्वयुद्धले बलात्कार गरेको कुनै युरोपेली गाउँ जस्तै गरि खंडहर भएको छ । बलात्कार पछिको बिक्षिप्तताले टोलाएकी नाबालिक जस्तैः सुनसान र मौन छ गाउँ । पिरामिडहरुको लय भत्किएको छ र हावा चल्दा पहिला जस्तो सुसेलो हाल्दैनन गराहरु ।

उजाड जमिनमा ठोक्किएर बुङ्ङ धुलो उड्ने गर्छ । मादीको उछाल पनि पहिलाको जस्तो छैन । लाग्छ उ शोकमा बगीरहेकी छ । हुन पनि उ साक्षी हो त्यो सामुहिक बलात्कारको । त्यो उन्मादको । यो आक्रोश र नरसंहारको । त्यसैले उसको स्वयंमको जवानी संकोच मान्दै बहने गर्छ । यस्तो लाग्छ बलात्कारबाट बच्न मादी जबर्जस्ती बुढी भएकी छ र उसका उन्मादी उछालहरु हिजोआज घुम्टो ओढ्ने गर्छन ।

उस्तै उदास छ पिरामिड गाउँको अगाडी ऎना झै उभिएको धौलागिरी पनि । कुनै लाचार र बृद्ध पिता जस्तै । आफ्नै अगाडि आफ्नै सन्तानको नरसंहार र बलात्कार हुँदा टुलुटुलु हेरेर बस्न बाध्य बाउ जस्तो धौलागिरी !  आज उसमा हिमाल हुनुको गौरव बाकी छैन । 


जीवन र प्रकृतीले नै पृथ्वी नामको यो पिण्डलाई धर्ती बनाएको हो । तर यो धर्तीलाई पुनः पिण्ड बनाउन रहर गर्ने उन्मादीहरुले जीवन र प्रकृती माथी कति युद्ध  थोपरेका छन, त्यसको
लेखापरीक्षण संभब नै छैन । यसमाथि महायुद्धहरु थोपरिएका छन । जातीय र धार्मिक युद्ध थोपरिएका छन । सिमाना र सम्पतीका निम्ति युद्ध थोपरिएका छन । जति युद्धका बाहनाहरु कम्ती र पुराना हुँदै जान्छ नयाँ बहाना आविष्कार गरेर भएपनि युद्ध जारी राखिएको छ ।

पिरामिड जस्तो यो गाँउ पनि तिनै उन्मादीहरुको उन्मादको शिकार भएको थियो । बिचार र सिद्धान्त नामको बहानामा तिनले धर्तीको यो कुनामा पनि युद्ध लादेरै छोडे । बिडम्बना हो , दोस्रो महायुद्द लगत्तै युद्धका नयाँ बहानाहरु खोजिए र यो गाउँ पछिल्लो बहनाको सिकार भयो। सुदुर देशको पनि सुदुर गाउँ भएकाले हुनसक्छ ,यो बहनामा यो गाउँमा आईपुग्न सिंगै आधा शताब्दी भन्दा पनि धेरै लाग्यो ।

तर जब आईपुग्यो यसले इतिहासका अरु युद्धहरुलाई लज्जित तुल्याएन । मानबता लज्जित भयो बरु तर उन्मादीहरुको इतिहास लज्जित हुन परेन। एकसाथ जीवन र प्रकृतिमाथी युद्ध यसरी हाबी भयो त्यो पिरामिड जस्तो देखिने गाउँ र दोस्रो महायुद्द पछि खंडहर भएका यहुदीहरुका घिट्टोहरु बिच कुनै अन्तर बाँकी  रहेन । प्रकृति भाग्न सक्ने भए भाग्दी हो । मादी भाग्दी हो । धौलागिरी भाग्दो हो । यी पिरामिड जस्ता गराहरु भाग्दा हुन ।

अनि सनातन देखीको साथ निभाउन जीवन,  अडिन सक्ने भएको भए अवस्य पनि अडिदो हो । तर दुबै असंम्भब भए । मान्छेहरू पिरामिड जस्तो गाउँ छोडेर गल्ली, सडक र चौकका शरणार्थी बने । मान्छेले छोडेर बिधुवा भएको प्रकृति  खंडहर भएर उभिरहन बिबस भइ । अनि धर्तीलाई पिण्ड बनाउन हिडेकाहरुले जिते । हेर्दाहेर्दै धर्तीको यो सानो टुक्रो केबल एउटा मृत खगोलिय पिण्डको कुनै एउटा जीवनरहित इकाई झै यसै लडिरह्यो ।

र आज पनि मानिसहरू इतिहास तिर फर्किएर यसो हुनुलाई क्रान्ति र जनयुद्ध भन्छ्न र दिपावली गर्छ्न । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...