Header
Loading...

सरकार फेर्न भारतीय चलखेल भयो : गाैतम

amrit

काठमाडौं, २६ वैशाख । सात महिनाअघि सरकारबाट बाहिरएपछि एमाले उपाध्यक्ष वामदेव गौतम करिब निष्क्रियजस्तो बसेका थिए । केपी ओली सरकार धरापमा परेपछि गत बुधबार र बिहीबार एकाएक निकै सक्रिय बने । संसदीय दलको नेता, पार्टी अध्यक्ष हुँदै प्रधानमन्त्री बनेपछि केपी ओलीले महत्त्व दिन छोडेको महसुस उनलाई भइरहेको थियो । तर सत्ता धरापमा परेपछि ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग वार्ता गरी सम्बन्ध सुधार्न तिनै गौतमलाई प्रयोग गरे । ओलीकै आग्रहमा सत्ता गठबन्धन टिकाउने मूल दूतको भूमिका खेलेका गौतमसँग सत्ता फेरबदलमा भएका चलखेलबारे दुर्गा खनालले गरेको कुराकानी :

एमाले सरकार सात महिनामै धर्मरायो, किन ?सात महिना पहिले एमाओवादसित एमालेको सहमति भएर केपी ओली प्रधानमन्त्री बन्नुभएको हो । अहिले प्रचण्डजीले के भन्नुभयो भने, ‘शान्ति प्रक्रियाका बाँकी काम सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगबाट निरूपण हुनुभन्दा पहिले नै अदालती कारबाहीमा हाम्रा नेताकार्यकर्ता पर्न थाले । यसले गर्दा शान्ति प्रक्रिया अब धरापमा पर्छ कि भन्ने हामीलाई खतरा महसुस भयो । अनेक पटक कुरा गर्दा पनि प्रधानमन्त्रीले ध्यान केन्द्रित गर्नुभएन । कुरा गर्दा हुन्छ भन्ने, काम नगर्ने ।

यसले अरू बढी शंका भयो । युरोपियन र भारतीयले पनि मानव अधिकारका कुरा लगायत विषयमा हाम्रा विरुद्ध कुरा उठाउन थाले । यसले गर्दा हामीलाई बढ्ता खतरा भयो । त्यसैले नेपाली काग्रेससँग मिलेर जाँदा सबै समस्या समाधान गर्न सकिन्छ । १२ बुँदे सहमति पनि कांग्रेससँगै मिलेर गरेको हो । अहिले ऊ बाहिर बस्दा हामीलाई खतरा भयो ।’

त्यसैले त्यस्तो अवस्थामा अहिलेको समीकरण फेर्नुपर्छ, राष्ट्रिय सहमतिका निम्ति प्रयत्न गरौं, हाम्रो नेतृत्वमा कांग्रेस आउँछ एमाले पनि आउनुपर्छ भन्ने प्रस्ताव गर्नुभयो । कांग्रेसको जोड भने अहिले नै सरकार ढलाइहाल्ने यो सरकारलाई नीति कार्यक्रम र बजेट नै प्रस्तुत गर्न नदिने भन्ने रहेछ । यिनै विषयले उहाँलाई बढी उद्धेलित बनाएछ ।

एमाओवादीलाई एमालेको नेतृत्वमा हुँदा युद्धकालीन मुद्दामा फसिन्छ भन्ने डर लागेको रहेछ ?
बुझाइमा केही फरक रहेछ । शान्ति प्रक्रियाका सन्दर्भमा कांग्रेसभन्दा हामी संवेदनशील छौं । पहिला एमाले शान्ति प्रक्रियामा जान सहमत भएपछि मात्र पछि कांग्रेस सहमत भयो । त्यसपछि भारत, अमेरिका ईयू र चीनको पनि समर्थन रह्यो ।

हामी पहिले सहमत नभएको भए यो सम्भव थिएन । अहिले पनि शान्ति प्रक्रिया टुंगो लगाउनका निम्ति हामी नै प्रमुख हुन्छौं, कांग्रेस प्रमुख हुँदैन । हामी सहमत भयौ भने नेपालका सम्पूर्ण राष्ट्रवादी देशभक्त र वामपन्थीहरू सहमत हुन्छन् । एमालेलाई नीति तथा कार्यक्रम र बजेट पेस गर्ने यस्तो बेलामा पाखा लगाएर सरकार बनाउने र त्यो सरकारले नेपालको समस्या समाधन गर्ने ढंगले जान्छ भन्ने त कल्पना गर्न सक्ने अवस्था नै थिएन । यही कुरा हामीले माओवादीलाई बुझायौं ।

  • शेरबहादुरजीलाई यति दबाब गरियो कि प्रचण्डलाई प्रधानमन्त्री बनाएर एमाले नेतृत्वको सरकारलाई गिराउन । शेरबहाुदरले थेग्न सक्नुभएन र उहाँले स्विकार्नुभयो ।
  • प्रचण्डजीको कमजोरी के देखिन्छ भने कहिले निर्मम भावभंगीमा अनि कहिले अत्यन्तै कोमल बन्नुहुन्छ । त्यही कमजोरीलाई विदेशी शक्तिले उपयोग गर्न खोजे ।
  • नेपालका प्रधानमन्त्रीसँग चीनले ऐतिहासिक सम्झौता गरेको छ । लगत्तै यो सरकारलाई गिराउनका निम्ति अर्को छिमेकी देश लाग्छ । यसको अर्थ के हो भने यस्ता सन्धिसम्झौता उसले चाहँदैन
  • भन्ने हो ।
  • हामी दूरी बढाउन चाहँदैनौं । प्रधानमन्त्रीले समस्या समाधान भयो भन्नुभएको थियो तर त्यो उहाँको अतिरञ्जनापूर्ण विश्वास थियो । भारतलाई खुसी बनाउन मात्र भन्नुभएको थियो ।
  • भारत स्वतन्त्र भएकै बेलामा हिमालसँग जोडिएका सबै देश भारतमै समेट्नुपर्छ भन्ने प्रस्ताव त भारतीय संसद्मै छलफल भएकै हो नि । त्यसकै निरन्तरता हो ।
  • सहमतिको सरकार बनाउने प्रयत्न हुन्छ । सहमतिको सरकार बन्दैन भने प्रचण्डको नेतृत्वको सरकार बन्छ, खास समयमा ।
  • न्यायमा तलमाथि हुँदैन ।
  • तर, मानव अधिकारवादी भन्नेहरूले उक्साइरहेका छन् । देशमा द्वन्द्व नमच्चाउने हो भने उनीहरूको डलरको खेलो त समाप्त हुन्छ ।

यो प्रकरणमा एमाओवादीका आन्तरिक गुनासा मात्र जोडिएका छन् कि बाह्य कारण पनि छन् ?
यसमा प्रस्ट छ । सरकार फेर्न भारतीय चलखेल भएको पाइयो । गन्ध प्रस्ट आइसकेको छ । मैले सुनेअनुसार शेरबहादुरजी अन्तिम अवस्थासम्म पनि तयार थिएनन् । तर उनलाई यति दबाब गरियो कि, प्रचण्डलाई प्रधानमन्त्री बनाएर एमाले नेतृत्वको सरकारलाई गिराउनैपर्छ । शेरबहाुदरले थेग्न सक्नुभएन र उहाँले स्विकार्नुभयो ।

प्रचण्डजीलाई पनि यदि तिमी सहमत भएनौं भने तिम्रा सबै मुद्दा अन्तर्राष्ट्रियकरण हुन्छन् । अन्तर्राष्ट्रिय अदालतसम्म पनि जान सक्छन् । त्यस्तो अवस्थामा जोगाउने कोही हुँदैन । नेपालका केही पार्टीले मात्र जोगाएर मात्र तिमी जोगिन्छांै भनेर थर्काएका रहेछन् । अनि त्यसमाथि कम्युनिस्ट पार्टीहरूले अहिलेसम्म अन्तर्राष्ट्रिय अदालतमा पुग्ने केसलाई समाधान गरेको उदाहरण कहीं छ संसारमा ? भनेर एक प्रकारको ठूलो आतंक सिर्जना गर्ने काम भयो ।

यही कुरा बुझेर एमाओवादी अध्यक्ष दाहालले सरकार फेर्न लाग्नुभएको हो ?
हो, उहाँले यो बुझेरै सरकार परिवर्तन लागेको लाग्नुभएको हो । उहाँले भन्नुभयो, ‘बेपत्ता छानबिन सत्यनिरूपण अयोग पनि बनेको छ । ती आयोगले टुंग्याउने भनेर बृहत् शान्ति सम्झौता भएको छ । अन्तरिम संविधानको प्रावधान र त्यही संविधानको निरन्तरताका रूपमा नयाँ संविधान बनेको छ । एकपछि अर्को गरी हाम्रा नेता कार्यकर्ता पक्राउ परिरहेका छन् । त्यसैले हामीलाई खतरा महसुस भयो ।’ युद्धको घटनामा संलग्न ठूलो पंक्तिले पनि उहाँलाई दबाब दिएको देखिन्छ । प्रचण्डजीको कमजोरी के देखिन्छ भने कहिले निर्मम भावभंगीमा अनि कहिले अत्यन्तै कोमल बन्नुहुन्छ । अस्थिरताको कमजोरी उहाँमा छ, उहाँले क्रमभंगता भन्ने गर्नुहुन्छ । त्यही कमजोरीलाई विदेशी शक्तिले उपयोग गर्न खोजे ।

भारतीय चलखेलको कुरा गर्नुभयो त्यो चलखेल न्यायालय र अख्तियारसम्म समेत गरेर एमाओवादीलाई तर्साउन खोजिएको हो ?
हो बिल्कुल हो । जस्तो केही समय पहिले अख्तियारले कृष्णबहादुर महरालाई अकूत सम्पत्तिमा शंका गरेर पुर्जी काट्यो । सर्वोच्च अदालतले अदालतमा आएका जति पनि मुद्दा छन्, सरकार र सत्य निरूपण र बेपत्ता आयोगले फिर्ता लिन सक्दैन भन्ने फैसला गर्‍यो ।

त्यसले उहाँहरू आतंकित हुने स्थिति बन्यो । मैले उहाँहरूलाई छलफलमा सोधें, ‘अख्तियारले गरेको, अदालतले गरेको फैसला र पुलिसले गरेको पक्राउ एमालेले भनेरै ती सबै भएका हुन् ?’ यदि राजनीतिक शक्ति कसैले भन्यो भने त्यो कांग्रेसले नै हो त्यस्तो गर्न सक्ने । हामीले पो एमाओवादीलाई उग्रवामपन्थी गल्ती गरेको शक्ति भन्छांै, तर कांग्रेसले भन्ने त त्योभन्दा पनि बढी हो नि । त्यसैले मैले तपाईंहरूलाई फसाउन खोजिरहेको छ भने ।

जहाँ विश्वास गर्नुपर्ने हो त्यहाँ नगर्ने जहाँ आलोचनात्मक समर्थन गर्नुपर्ने हो, त्यहाँ विश्वास गर्ने ? यदि अप्ठेरो पर्‍यो भने रोक्न सक्ने त एमाले हो नि । एमालेका कार्यकर्ता एमाओवादीमा गएका छन् माओवादीका एमालेमा आएका छन् । त्यसैले यहाँ विश्वास गर्नुपर्ने हो यहाँ छोडेर अन्यन्त्र जाँदा त झन् जोगिन सक्नुहुन्न भन्ने कुरा मैले उहाँहरूलाई भनें ।

तपाईंले शेरबहादुरजीलाई ठूलो दबाब थियो भन्नुभयो । देउवा भर्खरै भारतबाट फर्किनुभएको हो, त्यही नयाँ गठबन्धन बनाउने योजना बनाएर आउनुभएको रहेछ कि क्या हो ?
होला । केही भयो होला । हुन त अहिलेको जमानामा मान्छे नै भेट्नु पर्दैन । सुरक्षित सञ्चार माध्यमबाट पनि कुरा हुन सक्छ । फेरि एजेन्सीहरू त सबैका छन्, उनका एजेन्सी पनि नेपालभर छरिएका छन् ।

भारतस्थित नेपाली राजदूत जो नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत हुनुहुन्छ । उहाँ सरकारलाई पनि थाहा नदिईकन नेपाल आएर कैयौं दिन बसेर चलखेलमा लाग्नुभयो भन्ने आरोप पनि छ, मिडियामा आइरहेकै छ । यी सबलाई हेर्दा ठूलै दबाबले गर्दा कांग्रेसले यो गठबन्धन भत्काउन लाग्यो भन्ने लाग्छ ।

राष्ट्रपतिको भारत भ्रमण रद्द, राजदूत फिर्ता बोलाउने निर्णय सत्ता परिवर्तनको चलखेलसम्बन्धी कारणले नै गरिएको हो ?
हेर्नुस् (म खुला कुरा गर्ने मान्छे हो, कूटनीतिक भाषा फरक हुन सक्छ) भारतको सहमति, सल्लाहबिना नेपाली कांग्रेसले नीति–कार्यक्रम र बजेट प्रस्तुत गर्ने अघिल्लो दिन सरकार बनाउने र गिराउने खेल अरू कुनै शक्तिसँग मिलेर खेल्न सक्दैन ।

यस्तो अवस्थामा एकातिर नेपालको राजनीतिलाई यति अस्थिर बनाउन भूमिका खेल्ने र अर्कातिर हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीजस्ता उच्चपदस्थ व्यक्ति भारत गएर त्यहाँ रमाउने कुरा सम्भव हँुदैनथ्यो । त्यसैले राष्ट्रपतिको भारत भ्रमण रद्द हुनु सही छ । सबैले समर्थन गर्नुपर्छ ।

तपाईंका अनुसार सरकार ढाल्न त भारतले यस्तो चलखेल गरेको रहेछ, अनि जोगाउन चाहिँ कसैले चलखेल गरेनन् ?
जोगाउनका लागि कसैले गरेन । हाम्रो त आफ्नो शक्ति हो । हामी त राष्ट्रवादी वामपन्थी देशभक्त शक्ति हौं । जनता छन् । जोगाउन कोही लाग्नै पर्दैन ।

तर चीनको भूमिका ठूलै थियो भन्ने सुनिन्छ नि ?
अहँ होइन । चाइनिजहरूले त मैले वार्ता सकेर टुंगो लगाई हस्ताक्षर गरेपछि बल्ल थाहा पाए । हैन † यस्तो पनि भइरहेको रहेछ ? प्रचण्डले के गरेको होला ? यस्तो भनेर प्रतिक्रिया दिए । उनीहरू यो परिवर्तन गर्ने कुरासित सहमत भएको देखिएन । चीनका निम्ति पनि यो ठूलो चुनौती हो नि । केपी ओली व्यक्तिसँग होइन, नेपालको प्रधानमन्त्रीसँग चीनले ऐतिहासिक सम्झौता गरेको छ ।

लगत्तै यो सरकारलाई गिराउनका निम्ति अर्को छिमेकी देश लाग्छ , यसको अर्थ के हो भने यस्ता सन्धि सम्झौता उसले चाहँदैन भन्ने हो । त्यसको बदला लिनका निम्ति यो सबै कुरा भएको हो भन्ने कुरा चीनलाई अनुमान गर्न गाह्रो पर्दैन ।

त्यसो हो भने यो गठबन्धन जोगाउन चीनको भूमिका छैन ?
छैन । हुँदैन । किनकि यो त दुई रातको कुरा हो । त्यसभन्दा पहिले हामीलाई यस्तो होला भन्ने संकेत थिएन । तीन दिन पहिले मैले प्रचण्डलाई भेटेको थिएँ, त्यहाँ पार्टी एकताको कुरा भएको थियो । बरु प्रचण्डले नै भन्नुभएको थियो ‘सरकार फर्ने शंका उठेको छ, त्यसैले मैले सरकार परिवर्तन हँुदैन भन्दै ठाउँ ठाउँमा भन्दै हिंडेको छु ।’ पछिल्लो दुई दिनमा यस्तो स्थिति देखियो । दुर्घटना हुन लागेको रहेछ तर रोकिएछ भन्ने कुरा चीनले पछि मात्र थाहा पायो ।

एउटा छिमेकी भारतसँग सम्बन्धमा दरार आएपछि अर्को छिमेकीले कुनै ढंगले सहयोग त गरिरहेकै होला नि ?
२१ औं शताब्दीमा पनि भारतले हामीलाई नाकाबन्दी लगायो । भूपरिवेष्ठित मुलुकको समुद्रसम्म जाने अधिकार रोक्यो । हामीलाई अप्ठेरो पार्ने काम गर्‍यो । संसारको कुनै पनि देशले समर्थन गरेन ।

त्यस्तो अवस्थामा हामीले साथ र सहयोग चीनको पायौं । अन्य देश पनि साथ सहयोग दिन तयार थिए । अमेरिका र ईयूबाट पनि पाउन सकिन्थ्यो । आज पनि सात महिनामा सरकार परिवर्तन गर्नका निम्ति कुनै छिमेकी शक्तिले चलखेल गर्छ अनि कसले उसलाई समर्थन गर्छ ।

प्रधानमन्त्री भ्रमणबाट आएपछि भारतसँग सम्बन्ध सुध्रेको कुरा गर्नभएको थियो पछिल्लो प्रकरणले भारतसँग फेरि दूरी बढेको हो ?
हामी दूरी बढाउन चाहँदैनांै । प्रधानमन्त्रीले समस्या समाधान भयो भन्नुभएको थियो तर त्यो उहाँको अतिरञ्जनापूर्ण विश्वास थियो । भारतलाई खुसी बनाउन मात्र भन्नुभएको थियो ।

मैले त्यतिबेला नै उहाँलाई तपाईंले बेठीक भनिरहनुभएको छ भनेको थिएँ । भारतले हामीसँगको समस्याका कारण होइन, उसको प्रवृत्तिअनुसारको व्यवहार गरेको हो । उसले जबरजस्ती हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्नका निमित्त यी सब काम गरेको छ । उसको प्रवृत्ति हिजो पनि अन्त्य भएको थिएन, अहिले पनि अन्त्य भएको छैन ।

भारतले नेपालमा केसम्म गर्ने लक्ष्य राखेको छ त ?
त्यो त प्रस्टै छ नि । इतिहासमा अनेक पटक घटना भएका छन् । भारत स्वतन्त्र भएकै बेलामा हिमालसँग जोडिएका सबै देश भारतमै समेट्नुपर्छ भन्ने प्रस्ताव त संसद्मै छलफल भएकै हो नि । त्यसकै निरन्तरता हो । त्यसबेलाको विचार र दृष्टिकोण भारतीय शासकमा समाप्त भएको छैन ।

भारत अझै पनि पनि त्यो उद्देश्य प्राप्तिमै छ ?
बिल्कुल । उनीहरूका व्यवहार हेर्दा त्यही देखिन्छ ।

त्यसका लागि यहाँका कुनै व्यक्ति, दल प्रयोग भएका छन् ?
होलान् । प्रयोग भएकै छन् भनेर त कसरी भन्न सकिन्छ र ? किनकि कुनै पनि देश टुक्रयाउन समस्या सिर्जना गर्न अनेक घुसपैठ भएका हुन सक्छन् ।

नौ बुँदेमा फर्किउँm, त्यहाँ सहमतिको सरकार बनाउने भन्ने विषय छ ? यो सरकार फेर्ने भनेको हो ?
सहमतिको सरकार बनाउने प्रयत्न हुन्छ । सहमतिको सरकार बन्दैन भने प्रचण्डको नेतृत्वको सरकार बन्छ, खास समयमा । फलानो दिन भन्ने छैन । केपी ओलीले छोडिदिनुहुन्छ र प्रचण्ड त्यो ठाउँमा आउनुहुन्छ । हाम्रो त्यो समझदारी छ । त्यो समय कहिले भन्ने छलफल गरेर टुंंगो हुन्छ । सम्भावना यो पनि छ कि प्रचण्डजीले पुरै कार्यकाल नेतृत्व गर्नुस् भनेर केपी ओलीलाई भन्न पनि सक्नुहुन्छ । होइन मै बन्छु भन्नुहुन्छ भने हामी अहिलेकै समीकरण कायम राखेर उहाँलाई प्रधानमन्त्री बनाउन तयार छौं ।

तर बजेट र नीति तथा कार्यक्रम पास भए लगत्तै नयाँ बनाउने भन्ने कुरा आएको छ नि ?
त्यो प्रस्ताव आएको थियो । त्यो प्रस्तवालाई परिमार्जन गर्‍यौं ।

यो गठबन्धन कहिलेसम्म चल्छ त ?
संघीय निर्वाचन हँुदासम्म चल्छ । त्यो बेलासम्म यो गठबन्धन निरन्तर जान्छ ।

प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्ने लिखित छैन, विगतमा एमालेसँगको यस्तो सहमति कांग्रेसले तोडेजस्तै तपार्इंहरूले पनि तोड्नुहुने हो कि ?
लिखित गर्नका निम्ति एमाओवादी साथीहरू तयार हुनुभएन । त्यसले के सन्देश जान्छ भन्ने कुरा भयो । प्रचण्डले लिखित नगराैं भन्नुभयो । प्रधानमन्त्री पनि तयार हुनुभएन । फेरि कसैले धोका दिए त्यो कुरा जनताले थाहा पाइहाल्न्छन् नि । लिखित नै हुनुपर्छ भन्ने छैन ।

सहमतिमा कानुन संशोधन गर्ने भनिएको छ । के अदालतमा भएका मुद्दा पनि सत्यनिरूपण तथा बेपत्ता आयोगमा ल्याउने गरी संशोधन गर्ने भनेको हो ?
त्यो पनि हुन सक्छ । यदि ल्याउने पर्ने रहेछ भने ल्याउनुपर्छ । यदि शान्ति सम्झौताविरुद्धमा कोही जान चाहन्छ र विद्यमान कानुनले त्यस्तो क्रियाकलापलाई समर्थन गर्छ भने ती कानुन संशोधन गर्नुपर्छ ।

फेरि संशोधन गरी नयाँ प्रावधान राख्दा अन्तर्राष्ट्रिय कानुन उल्लंघन वा आकर्षित हुँदैन ?
हाम्रो देशमा विद्रोह गर्ने, राजतन्त्र फाल्ने, गणतन्त्र स्थापना गर्ने कुन अन्तर्राष्ट्रिय कानुनमा थियो ? हामीले गरेको हो नि, हामीले गरेपछि हामी कानुन बनाउँछौं, त्यो अन्तराष्ट्रले मान्नुपर्छ । हामीले कतिपय सन्धि सम्झौतामा हस्ताक्षर गरेका छौं, त्यसअनुसारका प्रावधानमा हामी ख्याल गर्छौं । सत्यनिरूपण र बेपत्ताको कानुन बनाउँदा पनि कस्तोलाई मेलमिलापमा ल्याउने भन्ने लामो छलफल भएको हो ।

मेलमिलापका लागि पीडित पक्ष पनि सहमत भएपछि मात्र टुंग्याउनुपर्ने प्रावधान छ । त्यसैले हाम्रो देशमा विदेशीले यो गर्नुपर्छ, यो गर्न पाइँदैन भन्दै हिंड्नुको तुक छैन ।

यहाँ त कानुन सरल बन्लान् । तर विदेशमा जाँदा अन्तर्राष्ट्रिय कानुनअनुसार नेपालीहरू पक्राउ पर्ने अवस्था आयो भने ?
त्यस्तो भएछ भने त्यो देशका हामीकहाँ आएछन् भने हामीले पनि पक्रेर थुनिदिनुपर्छ । त्यसरी पो जाने हो एउटा सार्वभौम मुलुक । हामीले त अंग्रेजलाई समेत ठेगान लगाएका हौं नि इतिहासमा । एकजना कर्णेल कुमार लामा पक्राउ परेका छन् । एउटा सार्वभौम अधिकार सम्पन्न देशको नागरिकलाई यहाँ भएका गल्तीकमजोरीका बारेमा अर्कोले कारबाही गर्न पाउँदैन ।

नौबुँदे सहमतिमा उल्लिखित विषयलाई लिएर द्वन्द्वपीडितले न्याय नपाइने हो कि भन्ने चिन्ता जनाउन थालेका छन् नि ?
न्यायमा तलमाथि हुँदैन । तर, मानव अधिकारवादी भन्नेहरूले उक्साइरहेका छन् । देशमा द्वन्द्व नमच्चाउने हो भने उनीहरूको डलरको खेलो त समाप्त हुन्छ । त्यसैले मान्छेलाई भड्काउने गर्छन् । १५ हजारभन्दा बढी मानिस मारिएको त साँचो हो नि । यो कुरा स्विकार्नुपरेन ? सबैले चित्तबुझ्ने गरी न्याय पाउँछन् ।

नौबुँदेमा त माफी, मिनाहा नै गर्ने कुरासम्म आएका छन् नि ?
सत्यनिरूपण भनेको त माफी मिनाहा गर्नका लागि त हो नि । माफी मिनाहा कस्तोलाई दिनुहुन्छ कस्तो दिनु हुँदैन भन्ने छुट्याइन्छ, त्यो प्रावधान ऐनमै छ ।
ऐनकै प्रावधानअनुसार हुने हो भने अहिले फेरि सहमतिमा त्यही कुरा किन दोहार्‍याउनुपर्‍यो । त्यसले अर्के केही प्रावधान ल्याउन लागेको हो कि भन्ने आशंका उब्जिँदैन र ?
माओवादी युद्ध सुरु गर्नुभन्दा पहिले पनि कैयौं राजनीतिक घटनामा मुद्दा चलाएर जेल परेका व्यक्ति छन् । राजनीतिक क्रियाकलाप गर्दा भएका घटनालाई आपराधिक मुद्दामा फसाउने काम भएका छन् । यस्ता मुद्दा कांग्रेस, एमाले, एमाओवादी र अरू पार्टी र व्यक्तिका पनि छन् । त्यस्ता प्रकृतिका मुद्दालाई परेका व्यक्तिको माफी मिनाहाको कुरा गरिएको हो, सत्यनिरूपण आयोगसँग सम्बन्धित माफी मिनाहाको कुरा होइन ।

लामो समयदेखि तपार्इं निष्क्रियजस्तो बस्नुभएको थियो, अचानक अस्ति दुई दिन निकै दौडधुप गर्नुभयो । कसैले परिचालन गर्‍यो कि आफैं लाग्नुभयो ?
म आफंै लागेको होइन । यसको एउटा लामो कुरा छ । झलनाथ खनाल पार्टी अध्यक्ष भएका बेला विभिन्न कुरा उठाएर केपी ओली, माधव नेपाललगायत अन्य केही कामरेडहरूले उहाँलाई चल्न दिनुभएन । माओवादी समर्थनमा झलनाथजीलाई प्रधानमन्त्री बनाइयो । तर पनि उहाँहरूले चल्न दिनुभएन । त्यसका लागि मिलेर जानेगरी केपी ओलीसँग मैले कुरा गरे ।

त्यही बेलादेखि म केपी ओलीसँग यो वा त्यो कारणले सम्बन्धित हुँदै आएको छु । सकारबाट हटेपछि मेरो जिम्मेवारी केही छैन । पार्टीको वरिष्ठ उपाध्यक्ष हुँ, त्यसको काम भनेको अध्यक्ष देश छोडेर बाहरि जानुभयो भने कार्यवाहक बन्ने हो । मेरो निराशा भन्ने कुरा त होइन । तर मजस्तो व्यक्तिले कुनै पनि जिम्मेवारी नपाउनु भनेको एमालेको दुर्भाग्यपूर्ण कुरा हो ।

म त एक/एक मिनेटमा एमाले निर्माण गर्न सक्छु । मेरा धेरै कमजोरी होलान् तर मेरा सबल पक्ष पनि छन् । त्यो पार्टीलाई काम लाग्न सक्छ । म केही काम नपाएपछि अध्यक्षको विरोधमा, महासचिवको विरोधमा जान भएन । प्रधानमन्त्री, अध्यक्ष आफंैले बनाएको हो । पत्रिकामा गएपछि म बोल्ने मान्छे बोलिहाल्छु फेरि समस्या सिर्जना हुन्छ । अनि समस्या सिर्जना किन गर्ने भनेर म चुपचाप थिएँ ।

तर अस्ति प्रधानमन्त्रीले नै मलाई प्रचण्डसँग कुरा गर्न भन्नुभयो । २२ र २३ गते दुई दिन म खटिएँ । प्रचण्ड र मेरो ‘वेभलेन्थ’ मिल्छ । कहिलेकाहीं मैले जे सोच्छु, उहाँले पनि त्यही सोचिरहेको जस्तो भेट्छु । दुइटा पार्टीमा रहे पनि हाम्रो सम्बन्ध त्यस किसिमको छ । पार्टी भित्रबाट धेरै शंका गर्न थालेपछि मैले प्रचण्डसँग भेट गर्न छोडिदिएँ । यसपटक प्रधानमन्त्रीले भन्नुभयो अनि प्रचण्डकहाँ म गएँ र खुलस्त कुरा गरें ।

प्रचण्डले त्यो दिन बुधबार (२२ गते) निर्णय गर्नुअघि तपाईंसँग सरकार परिवर्तनबारे कुरा गर्नुभएको थियो ?
मैले उहाँलाई यो गल्ती नगर्नुहोस् भनें । उहाँले शान्ति प्रक्रियाको कुरा उठाउनुभयो । हेग जाने, अख्तियार जाने कुरा गर्नुभयो । अनि मैले भनें ‘के यो सबै एमालेले गराएको हो त ? एमालेले पठाउँछ हेगमा ? एमालेले अख्तियार लगाएको हो त ? यो सब त होइन ।’ यस्ता काम त बुर्जुवा पार्टीहरूले गर्छन् । अनि त्यस्तो पार्टीसँग सहकार्य गरेर सफल हुनुहुन्छ त ?’ भन्ने कुरा मैले राखें ।

उहाँले शान्ति प्रक्रियाका काममा कांग्रेसलाई साथ नलिईकन हुँदैन । त्यसैले उसलाई साथ लिएर जान खोजेको हो भन्नुभयो । त्यो भए ठीक छ । यदि उसलाई लिएर हिंडेर मात्र तपाईंले भनेका सबै काम हुन्छन् त ? एमालेलाई बाहिर राखेर यी काम गर्न सम्भव छन् ? मैले सोधें । एमालेसँग शक्तिकै हिसाबले पनि २५ सिट मात्र कम छ । एमालेको साथमा अरू ५० सिट बाहिरका दलका पनि हुन्छन् । यस्तो अवस्था संविधान, कानुन संशोधन गर्न सक्नुहुन्छ ? राष्ट्रिय सहमति हुन सक्छ ? पनि भनें । अनि तपाईंको जनाधार के हो ? भनें ।

उहाँले भन्नुभयो, वामपन्थी जनमत हो । त्यसो भए वामपन्थी मत कता छ ? कांग्रेस कि एमालेतिर ? त्यसपछि उहाँले विचार गर्नुभयो । हिजो एमाले पनि जाँदा त शान्ति प्रक्रिया सफल भएको हो, अहिले एमालेलाई बाहिर राखेर हुन्छ ? भन्ने प्रश्न गरेपछि उहाँ कन्भिन्स हुनुभयो ।

दोस्रो दिन २३ गते बिहीबार प्रधानमन्त्रीले पुन: जान र कुराकानी गर्न भन्नुभयो । मैले जान्नँ भनें । किनभने, यस्तो बेलामा जाँदा मैले माओवादी भन्ने आरोप पनि खेपेको छु । म जाने हो भने जान्छु तर जे ठीक देख्छु त्यही गर्छु, मलाई पार्टीले यस्तो भन्छ भने मान्दिनँ । यति भनेपछि सबै साथीले हैन जानुस् भन्नुभयो । अनि फेरि दोस्रो दिन पुन: प्रचण्डकहाँ गएँ ।

त्यहाँ प्रचण्डजीले शान्ति प्रक्रिया टुंग्याउनेबारे एमालेको जिम्मा तपार्इं लिन सक्नुहुन्छ ? प्रधानमन्त्रीको जिम्मा लिनुहुन्छ ? भन्नुभयो । मैले जिम्मा लिन्छु भनें । उहाँले फेरि पार्टीभित्र तपाईंको तागत के छ ? भन्नुभयो । मेरो पार्टीभित्रको मेरो तागत कति मान्छे छन् भन्ने होइन, विचार दृष्टिकोण हो भन्ने जवाफ दिएँ । त्यसपछि प्रचण्डजी तयार हुनुभयो ।

अनि मैले त्यसो भए एउटा ड्राफ्ट बनाउँछु भनेर हिंडें । बाटामा आउँदै गर्दा उहाँले फोन गरेर म पनि मान्छे पठाउँछु, सँगै ड्राफ्ट बनाउनुहोस् भन्नुभयो । अनि वर्षमान पुन, जनार्दन शर्मा पठाउनुभयो । म र अर्थमन्त्री विष्णु पौडेल मिलेर ड्राफ्ट बनायौं । त्यही दिन राति सम्झौता भयो ।

केपी ओलीले संसदीय दलको नेता अध्यक्ष र प्रधानमन्त्री बनाउने बेला गर्नुभएको सहमति पालना गर्नुभएन भन्ने तपाईंको गुनासोचाहिँ के हो ?
होइन, त्यो बेला केही सहमति भएन । दुइटा तीनवटा पक्षबीच विचार मिल्दा सहमति हुने हो । मैले सहमति गरेको होइन । त्यसबेला म अध्यक्ष भएँ भने तपाईंलाई संसदीय दलको नेता बनाउँछु भन्नुभयो । म केही बोलिनँ । किनभने केपी ओलीप्रति मेरो अविश्वास छ । मैले कसैलाई पनि समर्थन यस कारणले गर्ने भन्ने हँुदैन । लेनदेनका कुरा गर्दिनँ ।

अध्यक्ष बन्ने बेलामा पनि ‘म अध्यक्ष सधैंका निम्ति होइन, पार्टीको सर्वोच्च स्थानमा पुग्छु’ भन्ने लागेको छ, प्रधानमन्त्री हुने अवसर आयो भने तपाईं प्रधानमन्त्री हुनुहोला भन्नुभयो । म चुप लागें । त्यसबेला मैले कुनै पनि कुरामा सहमति गरिनँ । मलाई विश्वास थियो कि उहाँले यो सब गर्न सक्नुहुन्न । उहाँका वरिपरि जति पनि साथी छन्, उनीहरूले हुन दिँदैनन् भन्ने मलाई थाहा थियो ।

त्यसबेलै पार्टीको सत्ता र राज्यको शक्तिसमेत सँगै लिएर हिंड्न पाउँदा कसले छोड्छ र भन्ने मेरो विश्लेषण थियो । आजसम्म हेर्दा मैले जे अनुमान गरेको थिएँ, त्यो सही भइरहेको छ ।

त्यसो भए अहिले पूरै कामविहीन हुनुहुन्छ ?
खै के गरौं त । कहाँ जाऔं । अर्काको कार्यक्षेत्र उल्लंघन गरेर जान भएन । उपप्रमुख, उपाध्यक्ष उपमहासचिव, उपसचिव भनेका यस्ता पद रहेछन्– ‘मान खाने, काम खान नपाउने ।’

प्रधानमन्त्री बोल्ने बढी काम काम गर्ने कम भन्ने आलोचना भएको छ, तपार्इंलाई कस्तो लाग्छ ?
जे टिप्पणी आएको छ त्यो ठीकै हो । मैले उहाँलाई किन बढी बढी कुरा गर्नुहुन्छ भनेको छु । तपार्इं आफैं किन भन्नुहुन्छ अरूलाई लगाउनुहोस् न भनेको छु । प्रधानमन्त्रीले नबोल्ने भन्ने होइन । तर प्रधानमन्त्री बोल्यो कि त्यो नीति, कार्यक्रम बन्छ । प्रधानमन्त्रीलाई लाग्यो, बोलिदियो, यो ठीक होइन ।
सल्लाहकारको कुरा नसुनेको हो ?

प्रधानमन्त्रीका अगाडि कसैले अलोचनात्मक कुरा गर्न सक्दैन । जुन प्रधानमन्त्री आफू समानको व्यक्ति आउँदा आफ्नो कुर्सी छोडेर साथीसँग तल आएर बस्छ, प्रतिक्रिया सुन्छ त्यो मात्र सफल हुन्छ । उहाँ कुर्सीमा बस्ने जुन कार्यालय छ म त दुई तीन पटकभन्दा बढी गएको छैन ।

प्रधानमन्त्रीले गरेका राम्रा कामचाहिँ केके हुन् ?
पछिल्लो समय काम केही सहज हुन थालेको छ । देशको स्वतन्त्रता, सार्वभौमसत्ता राष्ट्रियता र अखण्डताको रक्षाका निम्ती कसैले हल्लाउन नसक्ने गरी उभिनुभयो । भारत, चीनलगायत सारा संसार अगाडि यसरी उभिनुभयो अरू नेपाली नेता सबै केपी ओलीभन्दा होचा देखिए । ऐतिहासिक योगदान गर्नुभयो । यस्तो बेलामा अरू कोही प्रधानमन्त्री हुन्थे भने झुक्न सक्थे र ठूलो नोक्सानी राष्ट्रले भोग्नुपर्ने थियो । यो कुराको जनताले पनि उचित मूल्यांकन र सम्मान गरेका छन् ।

इकान्तिपुरबाट शाभार

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मनोरन्जन

View more

विदेश

डोनाल्ड ट्रम्पले आजदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै

एजेन्सी, ७ माघ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबारदेखि जिम्मेवारी सम्हाल्दै छन । गत नोभेम्बरमा भएको चुनवामा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै रिपब्लिक... विस्तृतमा


ओबामाको अन्तिम पत्रकार सम्मेलनमा : ‘नागरिक स्वतन्त्रताको पक्षमा लडिरहनेछु’

काठमाडौं, ६ माघ । ह्वाइटहाउसबाट भोलिदेखि बाहिरिंदै गरेका अमेरिकी राष्ट्रपति बराक ओबामाले रुस... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com