Header
Loading...

‘कोही नहुनेलाई दैवले नि हेप्दा रहेछन्'

घोराही, १ पुस |  केही दिनअघि जन्डिसले थलिएका बाबु स्यहार्दै गरेकी १२ वर्षीया रोशनी बादीले बुधबारसम्म ‘नुन' बारिसकेकी थिइन् । ‘औषधि गर्न सकिनँ, बुबा बित्नुभो', केहीबेर पातलो चुन्नीले मुख छोपेर सास रोकेकी रोशनीले भनिन्, ‘कोही नहुनेलाई दैवले नि हेप्दा रहेछन् ।'

तीन दिनअघि १२ वर्षीया छोरी रोशनीकै काखलाई सिरान बनाएर अन्तिम सास लिइरहेका दिनेशले आँसु मात्रै बगाएका थिए, बोली फुट्न सकेको थिएन । ‘त्यसपछि बुबाको सास चलेन, अनि अंकललाई बोलाएँ । पछि पो था भयो, बुबा त गइसक्नुभएछ ।'

दुई महिनादेखि सामान्य जन्डिसले थलिएका उनका बाबु दिनेश बादीको उपचार नपाएर ओछ्यानमै मृत्यु भएपछि अब रोशनी एक्ली भएकी छन् । चार वर्षअघि आमा अर्कैसँग बिहे गरेर गएपछि रोशनीको जीवनमा बाबु मात्रै एक्लो साहरा थिए ।

दुई महिनाअघि बाबु पनि जन्डिसले ढलेपछि रोशनी पढाइसमेत छोडेर स्याहारमा जुटेकी थिइन् । गाउँलेहरूको सहयोगले अस्पताल लगेर सामान्य जाँच गराए पनि औषधि किन्ने पैसा भएन । उनका बाबु ओछ्यानमै थिए ।

रोशनी घरनजिकैको खोलामा दिनभरि ढुंगा फुटाएर गिट्टी बनाउँथिन् । केही दिनसम्म जम्मा भएको गिट्टी बिक्थ्यो । त्यही पैसाले खानेकुरा आउँथ्यो । तर बाबुलाई औषधि गर्ने पैसा जम्मा हुन सकेन । अघिल्लोपटक उनको त्यो ‘झुपडी' मा पुग्दा उनी भर्खरै गिट्टीको थुप्रोमा हथौडा बिसाएर बुबालाई पानी खुवाउन आएकी थिइन् । त्यही बेला उनले याचना गरेकी थिइन् ‘औषधि किन्ने पैसा भए त, बुबा बाँच्नुहुन्छ रे...।' त्यसको दुई दिनपछि उनका बुबाको मृत्यु भयो । उनले तीन दिन नुन बारिन् ।

अब उनको सहारा कोही छैन । घोराही बजारको सिरानमा रहेको मजदुर बस्तीका काका नाता पर्नेको घरमा उनी बसिरहेकी छन् । बुबा हुँदासम्म प्यारो लाग्ने त्यो झुपडीमा अहिले उनलाई बस्न मन छैन । भनिन्, ‘बुबाको यादले डर लाग्छ ।'

रोशनीका काका पनि मजदुरी गर्छन् । उनी पनि अपांग हुन् । एउटा खुट्टाले राम्रोसँग टेक्न र हिँड्न मिल्दैन । त्यही अपांग शरीर उनी दिनभरि मजदुरीमा लतार्छन्, आफ्ना पाँचजना परिवार पाल्न । अब रोशनी पनि उनैको शरणमा छिन् ।

रोगले थला नपार्दासम्म दिनेशले दिनभरि मजदुरी गर्थे, साँझ बिहानको छाक टरेको थियो । रोशनी कक्षा ३ मा पढ्थिन् । आमा अर्कैसँग बिहे गरेर गए पनि उनलाई आमाको कहिल्यै कमी हुन दिएनन्, ५० वर्षीय दिनेशले । छोरीकै लागि उनले दिनभरि मजदुरी गर्थे, बाउछोरीको छाक अनि छोरीको पढाइ खर्च पुगेकै थियो ।

श्रीमती अर्कैसँग गएपछि दिनेशलाई अर्की बिहे गर्ने रहर जागेन, न त रोशनीलाई आमाको कहिल्यै तृष्णा भयो । ‘मैले कहिल्यै आमालाई सम्झिनँ, बुबाले कमाउनुहुन्थ्यो, मैले पढिरहेकी थिएँ, त्यही बेला बुबा बिरामी पर्नुभो' एकछिन रोकिएर रोशनीले भनिन् ‘बुबालाई एक छाक खुवाउन नि सकिनँ, औषधि किन्ने पैसा भएन, मेरौ काखमा बुबाको प्राण गयो ।'

घोराही बजारको शिरानतिर सेवार खोलाको किनारामा एउटा बाक्लो बस्ती छ । धेरैजसो दलित बस्ने त्यो बस्तीका सबैले दिनभरि मजदुरी गर्छन् । त्यो ऐलानी जमिन हो । कसैको लालपुर्जा छैन । सबैको अवस्था उही हो । तर त्यही बस्ती बीचको रोशनीको त्यो झुपडी अहिले सुनसान भएको छ ।

आमा बुबा, सबै सहारा गुमाएकी रोशनीलाई पढ्ने रहर पनि छ । तर कसरी पढ्ने, कोसँग बस्ने उनलाई केही थाहा छैन, न कोही आफ्नो छ अब । ‘बुबालाई पनि बचाउन सकिनँ....' पेटीमा घोप्टिएकी रोशनी त्यसपछि बोल्न सकिनन् । केहीबेरपछि आँसु पुछ्दै टोलाइरहिन् कसैसँग नबोली ।(साभार : अन्नपुर्ण )

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

कला साहित्य

पल्टनको जागिरेको श्रीमती !

उ वेला छोरीहरु स्कुल जाने चलन थिएन । छोरालाई जन्मे देखि नै मिठो, मसिनो,पोसिलो दुध दहि घ्यू दिने चलन थियो भोलि समाजको प्रतिष्ठा जोगाउने समाजको नाक राख्ने छोरा भन्दै खुब चिल्लो लगाउने गर्थे अनि कतिला... विस्तृतमा


यो तिम्रो मनको गीत र मेरो मनको गीत 

यो तिम्रो मनको गीत र मेरो मनको गीत  साथी गाऊँ सँगसँगै ! त्यो तिमी पुग्ने ठाउँ र म नि पुग्... विस्तृतमा
View more

रोचक/ विचित्र

View more

शिक्षा/स्वास्थ्य

View more

विदेश

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com