Header
Loading...

कथा - "जमानाका कुरा"

लेख कार्की

lekh-karki

 

राम राम राम ! परेवाको भाउ तीनसय । के जमाना आए ? चार रुपैयाँ जोडी परेवा बेच्ने मै हुँ ।

  बिहान बिहान वरिपरि टोलका मान्छे टोलभित्र कसैका पनि घरमा  आगो ताप्दै चिया गफ गर्ने चलन जो छ । आज हाम्रै घर अड्डा जमेछ । त्यहीँ आएर ओखरबोटे बढाउले यति कुरा मात्र के गर्नु भाथ्यो गैराघरका हजुरबाले थप्नु भो - "जमानाका के कुरा गर्नु बाबै गरि साद्दे भापो !  - उ बेला नेपाल भन्ते काठमन्नु पुएर आम्न एक मुईना लाग्थो ।

गाडी हेर्न धरान जान पर्थो । मकैको भात आघाउँजी खान पाईदैन थो । चामलको भात खान दशैं, त्यार, सराद आउन पर्थो । हामी खाली खुट्टा बनमा गुम्तीउँ । स्कुल थेनन् । काठको पाटीमा धुलो राखेर कखरा पढ्तिम् । यस्तो बिजुली काँ थ्यो र ? द्यालो बालेर गोठमा पढ्तिम । आजकाल तो काठमन्नु जान घर बाटै गाडी चड्चन् । साँझै नपरी पूराउँच अरे । चामलको भात पुनि खान मान्दैनन् केट्केटी । यत्रा यत्रा राजा मा'राजाका जत्रा ड्याम्बुट लाएर हिन्चन् । रातभरी बिजुली बालेर सुत्चन् । उज्यालो नभै स्कुल र क्याम्फस भन्दै भट्भटेमा कुद्चन् । बाँचीराखे अनेक देख्न पाईन्च गाँठे !"

  कस्तो हैनत ! सहि थाम्दै माईला बढाबा बोल्नुभो के जमाना आए आए नि । यो गाउँमा पहिलोपटक  रेडियो कप्तान बूढाले ल्या'का । हामी यति साना रेडियामा मान्छे कहाँ हुँदा हुन् ?

कत्रा हुँदा हुन् ? भन्दै कुरा गर्थिउँ। नजिक जान दिदैन थिए । अझै रमाईलो कुरा त के छ भन्देखुन् - एक दिन डल्लेदाईले मताने मामाका बारीका मकै चोरेछन् । मामाले देख्नुभएको रहेछ भन्न अप्ठ्यारो लागेछ । डल्लेदाई लाई घरमा बोलाएर भन्नुभएछ - भान्जाबाबु साइनोले मामा भानिज, खास गरेर हामी छिमेकी पनि ।  छिमेकमा बसेर तिम्ले यस्तो बिगार नगर्न पर्थ्यो ।

डल्लेदाइ आत्तिदै भनेछन् मैले के बिगार गरेर हौ मामा ?

त्यसरी अर्काका घुर्यानका बारीका मकै भाँचेर खुरुक्क आफ्ना घर लान हुँदैन थियो ।

हैन मामा मैले कहाँ  लगेँ  ? मामा पनि त्यत्तिकै चोर लाउने ? के म चोर हुँ  ? भनेर डल्लेदाई जंगिएपछी मामाले भन्नुभएछ - नजंगेउन ए भान्जा मैले पनि त्यत्तिकै चोरेउ भनेको काँ हो र ? कप्तानका रेडियोले भनेको रपोत एक डोको मकै लगेछौ नि ।

अनि डल्ले दाइ राता पिरा भएर भनेछन् - हैन रेडियोले था' पाई हालेछ हगि मामा ! तर त्यो पनि झूट बोल्दो रैछ । एक डोको हैन आधा डोको चाहिँ लगेको हो । मामा माफ पाउँ हल्ला नगरिदिनु । म मकै पनि ल्याईदिन्छु र बरु तीन दिन खेताला पनि सघाउँछु । क्या सोझो जमाना !
   ( हा हा हा .हा हा ) सामूहिक हाँसो गुन्जियो ।

लगत्तै जर्णेल बढाउ बोल्नु भो - हैन जमानाका कुरा गर्दा पनि साह्रै घत लाग्छ हौ । अहिले पो जस्का घरमा पनि टिभी छन् फिलिम् हेर्छन् रमाईलो गर्छन् सवै टाठाबाठा भए । उ बेला यस्ता केही थिएनन् । एकदिन धरानमा फिल्म हेर्न भनेर म र डाँडाको रमेश गएका थियौं । फिल्म शुरु भएको एकछिन पछि पर्दामा यत्रो बडेमानको बाघ आयो । साँच्चै बाघ यहीँ आयो भनेर  रमेशको त सातो गएछ  बिचरा एकहप्ता बिरामी भएर सुत्यो ।

 
फेरि हा हा हा सामूहिक हाँसो ! 

यत्तिकैमा आमाले चिया ल्याउनु भयो लु जाडोछ चिया पिउदै गफ गरौं ।

बिचमा अकबरे ठूलाउ बोल्नुभो - "हन यो फिलिमले त मलाई पनि नमज्जाले झुक्याको छ हौ त्यस्का बाजे ! मावल बस्दा म खाली गोठालो जान्थेँ । एकदिन मामाघर नजिकैको चौधरी साथीले फिलिम हेर्न जाउँ मज्जा हुन्छ टिकस पनि मै काटौला भन्यो । चराउँदै गरेका बस्तु खेतमै लहराले बाँधेर फिलिम हेर्न गयौं । फिलिम शुरु भयो । एकछिन पछि कतै नभएर असिना पानी दर्क्यो । म त आत्तिएछु । ला ... गोरु खेतमा बाँधेका थिए भिजीसके होलान् अब मामाले मार्छन् भन्दै बाहिर कुदेँ  । ए पख् पख् भन्दैथियो चौधरी म नसुनि बाहिर निक्लेकोत केका पानी पर्नु घामपो चर्की राखेका । असिना पानी त फिलिममा पो परेको रैछ । पछी चौधरीले मामागाउँ भरी हल्ला गर्देर लाज मर्नु पार्यो ।
सामूहिक हाँसो हा हा हा ।

यत्तिकैमा भतिजीलाई आमा कराउन थाल्नुभो हैन गफ सुनेर बस्छेस ? टिबिसन् जानू पर्छ भनेको हैन ?

जाउँला नि त  कति मज्जा आईराछ ह्याँ गफ सुन्न । भतिजी नटेरी हाँस्दै सुनिरही ।

यत्तिकै मा आमाको पालो आएछ । 
जमानाका के कुरा गर्नु  माईतमा हुँदा बुवाहरुले पढ्न दिनु हुन्न थ्यो । छोरी पढे छिट्टै पोईल जान्छन् भनेर । अनि हामी दिदीबहिनी  पेवा कुखुरा बेचेका पैसाले मट्टीतेल किनेर राती पढ्थिउँ । एकदिन तेल सक्किएर दिदीले मलाई पठाईन् दोकान । तामाङ मीतबाउको दोकान थियो । सधैं तीन सुका माना तेल पाईन्थ्यो । धेरै दिन भएको थियो दोकान नगा'को मट्टीतेलको भाउ बढेको रहेछ । मितबाउले भन्नूभो कान्छी तेलको भाउ बढेर अहिलेत एक रुपैयाँ मानो भयो तीनसुकामा त आउँदैन त । 


  मैले भने त्यसो भा मिताबाउ पैसा त यतिमात्रैछ एक मानो आउँदैन भने निम्ठो मानो मात्र दिनुन त । 
मितबाउ मूर्छा परेर हाँस्नुभो र भन्नुभो ए लाटी मट्टीतेल पनि निम्ठो र झुसी हुन्छ ? ...( हा हा हा ) सामूहिक हाँसो उसैगरी गुन्जियो । यहाँनेर चाहिँ मेरो पनि हाँस्दा हाँस्दै मुटुनै फुत्केला जस्तो भो ।

यत्तिकैमा भतिजीले हाँस्दै प्रश्न गरि तीनसुका मानो तेल पाइन्थ्यो ?

आमाले थप्नुभो - कुरा गर्छे ! कस्तो पाईदैन थ्यो त ? उतिबेला दुईमोहोर पाथी आलु थिए । आलु बेचेर बुवाले छ आनी सुनको बुलाकी बनाईदिनु भ'को ।

भतिजिलाई मज्जा लागेछ जिस्क्याई - हजुरआमा अचेल पनि आलु बेचेर बुलाकी आउँछ ? 
  आउँछ खुब ! मन् का मन् अलैंची बेच्दा त आउँदैन अचेल त । आमाको जवाफ ।

हैन आज लाहुरे बूढाको छोरो माईलो घरको तलो छाप्ने सघाई द्याओ है भन्दै थियो जाने हैन ? कि सघाईमागेको छैन अरुलाई ?

बुवाको प्रश्न संगै जम्दार बढाउ बोल्नुभयो - जाओ जाओ हाम्रोमा त एक जुग् भो न बोलचाल न आउजाउ केही पनि छैन ।

अरे होर ? किन हौ जम्दार दाइ यस्तो ? लु थाहै पो थिएन ।

यो पनि एउटा कहानी छ ।

के हौ त्यस्तो ?

खासै ठूलो निहुँ त हैन । कुरो के भनेर भन्देखुन् ती लाहुरे बूढा भागेर काठमन्नु ग'का बेला आर्मी भएका हुन् नि त । हो त्यतिबेला छुट्टिमा घर आउँदा वरिपरि सबैलाई एक एक जोर लुगा बाँडे मलाई केही पनि दिएनन् । 
मैले भने हैन हौ दाजु मलाई पनि आर्मीको लुगा लाउन मन् छ । छ भने एउटा ज्याकेट भएपनी स्वेटर भएपनि देउन ।
लाउरेले त्यतिबेलै वचन लाए - तँ आफैं जान । तेरा पनि हात खुट्टा छन् आँखा नाक मुख छन् ।

यति भनेसी म केही पनि बोलिन । त्यसैको रिसले म पनि घर छोडेर   हिंडे । एउटा नेवार ( श्रेष्ठ ) का घरमा दुई बर्ष बसेपछी म पनि भर्ना भएँ । 
एउटा ईख मेटियो । तर फेरि लाग्यो ती दाजूले त्यति नभनेका भए म आज यहाँ हुन्न थिएँ । ती दाजूलाई त धन्यवाद भनेर चिठीपो लेख्नु पर्यो भनेर चिठी पठाएँ । बूढाले पाएछन् तर केही जवाफ पठाएनन् । पछी दशैमा गाउँ आउँदा भेट भो । ढोग्न पर्यो भनेर गएँ बूढाले वास्तै गरेनन् । बोलाउँदा पनि बोलेनन् ।गल्ती के छ मेरो अरुलाई सोध्न लाएँ त्यो पनि बताएनन् । 
     अचम्म ! पछी पछी खै किन हो घरका सवै बोल्नै छोडे । त्यहाँ पछी मैले पनि वास्ता गरिन । अबत धेरै पनि भो अप्ठ्यारो पनि हुँदो रैछ हौ बोलाउन । जम्दारबूढा फिस्स हाँसे ।

यति सुन्नासाथ दीपक दाइ बोल्नुभो ( जो वडा नागारिक मञ्चको अध्यक्ष ) पनिहो वहाँ ।  ए कुरो त्यसो पो थियो ? आज सम्म थाहैपो थिएन । त्यो माईलाले यता सवैलाई खेताला भनेकोछ । तपाईंलाई मात्र नभनेको रैछ उसोभा । बाउले वचन लाएर जम्दार हुनुभो । अब छोरोले खेताला नभने पनि एउटा केटो पठाईदिनु सघाउन ।


जम्दार  - मरे पनि पठाउदिन । उस्लाई त्यसरी पुग्छ भने मलाई पनि पुग्छ । आखिर न मेरो गल्ती ! म किन झुक्नु ?

दीपक दाईले भन्नुभो बैगुणीलाई गुणले मार्नेहो । उ मूर्ख भए भनेर अाँफू पनि मूर्ख हुने हैन । एउटै गाउँमा बसेर तपाईंहरु जस्ता मान्छेले नै यसरी सानातिना कुरामा दुश्मनी साँधेर बसेपछी अबका सन्तानले के सिक्ने ?

यत्तिकैमा मास्टर काकाले पनि थप्नुभो । हो हो आज माईलाको घरको तला छापेर पनि सिध्याउनु पर्छ । लाहुरे र जमदारको दुश्मनी पनि सिध्याउनुपर्छ ।

यत्तिकैमा सवै हो मा हो मिलाउदै ताली पड्काउदै हाँसे । 
फकाएर जमदारलाई पनि लिएर गए ।

( केही दिनपछी )
फेरि उस्तै जमघटमा जर्णेल बा ले भन्नुभयो - हन ! अस्ति जमानाका कुरा निकाल्दा निकाल्दै लाहुरे र जम्दारको जमानाको दुश्मनी पनि केटाहरुले मिलाए । अरु कसैको दुश्मनी कसै संग भए भनहै । त्यसैगरी मिलाउनु पर्छ । खिक् खिक् खिक् बूढा हाँसे ।
संगै अरु पनि हाँसे ।

बूढाले फेरि थपे - गाउँभित्रै झगडा भए अर्का गाउँकाले फाईदा उठाउँछन् , देश भित्र झगडा भए बिदेशीले फाईदा उठाउँछन् । हामी मान्छेहौं जहाँ बस्छौं मिलेर एकढिक्का भएर बस्नुपर्छ ! आज हामी राम्रो भएर बसे भोलि सन्तानले यसै गरि जमानाका कुरा गर्दा गर्व गर्दै हाँस्न पाउँछन्।

© लेख कार्की

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मनोरन्जन

चर्चित भारतिय कमेडियन भारती सिंह विवाह वन्धनमा बाँधिने

चर्चित भारतिय कमेडियन भारती सिंह विवाह वन्धनमा बाँधिने भएकी छन्। उनले आफू भन्दा ७ वर्ष कान्छा हर्ष लीमभाचियासँग विवाह गर्न लागेकी हुन्। उनीहरूले लामो समयदेखी एकअर्कालाई डेट गर्दै आइरहेका छन्। यसै वर्ष... विस्तृतमा


गीतकार पुरुषोत्तम बस्नेतको चौथो एल्बमको गीत सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको चौथो एल्बम ‘कयामुदा’ को एउटा अडियो... विस्तृतमा
View more

जीवन शैली

View more

खेलकुद

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com