Header

९ महिना लामो सत्ता गठबन्धन आजै अन्त्य हुने सम्भावना

shanta

माओवादीले मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी

काठमाडौं, २८ असार । देशका दुई प्रमुख वामपन्थी दलको नौ महिना लामो सत्ता गठबन्धन आज अन्त्य हुने सम्भावना देखिएको छ । बजेटपछि सत्ता हस्तान्तरण गर्ने भद्र सहमति ओलीले कार्यान्वयन नगरे मंगलबार आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी माओवादी केन्द्रले गरेको छ ।

पार्टीको म्यान्डेटअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् । संविधानको कार्यान्वयन, पुनर्निर्माणलगायतका काम एमाले नेतृत्वको गठबन्धनबाट सम्भव नदेखिएको भन्दै प्रचण्डले ओलीसँग बाटो खोलिदिन आग्रह गरेका हुन् । सत्तासाझेदार माओवादीले पहिलोपटक प्रस्ताव गरेको हो ।

राजीनामा दिन ओलीलाई प्रचण्डको आग्रह

बिहान १२ बजेसम्म पार्टी हेडक्वार्टरको बैठकमा सरकारकै एजेन्डामा केन्द्रित रहेर छलफल गरेका प्रचण्डले त्यसपछि कांग्रेस र एमाले शीर्ष नेताहरूसँग छलफल गरेका छन् । प्रचण्ड कांग्रेस सभापति देउवासँग छलफल गर्न दिउँसो ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए । झन्डै आधा घन्टा देउवासँग छलफल गरेपछि साँझ ५ बजे प्रधानमन्त्री ओलीसँग भेट गर्न प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । बालुवाटारमा उनले प्रधानमन्त्रीसँग झन्डै साढे २ घन्टा छलफल गरेका थिए ।

‘आइतबार बेलुकी बालुवाटारमा सत्तापक्षीय दलहरूको छलफल भएको थियो । छलफलले सहमति गरेर आउन दुई पार्टीका दुई शीर्ष नेताहरूलाई आग्रह गरेको थियो, यता पार्टीले पनि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न अध्यक्ष प्रचण्डलाई नै जिम्मा दिएको थियो,’ प्रचण्डका स्वकीय सचिव जोगबहादुर महराले नयाँ पत्रिकासँग भने, ‘त्यहीअनुसार कांग्रेस र एमालेका शीर्ष नेताहरूसँग राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि अध्यक्षले छलफल तीव्र पार्नुभएको छ । छलफल खुला भएको छ, निष्कर्ष निस्केको छैन । मंगलबार पनि छलफल हुन्छ ।’

ओलीलाई प्रचण्डका तीन प्रस्ताव

१. भद्र सहमतिअनुसार सत्ता हस्तान्तरण

एमालेले सरकार गठनका वेलादेखि  भएका सहमति कार्यान्वयन नगरेको आरोप माओवादी केन्द्रले लगाउँदै आएको छ । गत २४ असोजमा ओली प्रधानमन्त्री चयन हुँदै गर्दा भएको आठबुँदे सहमति, २३ वैशाखमा भएको नौबुँदे लिखित र त्यससँगै भएको भद्र सहमति कार्यान्वयन हुनुपर्ने उसको माग छ ।

अहिलेको सत्ता गठबन्धनको निरन्तरताका लागि भद्र सहमतिअनुसार सरकारको नेतृत्व माओवादीलाई हस्तान्तरण गर्नुपर्ने उसको पहिलो माग छ । ओलीको नेतृत्वमा मधेस समस्याको  समाधान ननिस्कने माओवादीको निष्कर्ष छ । त्यसैले भद्र सहमतिअनुसार आफूलाई नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्री ओलीसमक्ष माओवादीको पहिलो प्रस्ताव छ ।

२. ओलीलाई नै राष्ट्रिय सहमति जुटाउन मौका दिने

प्रधानमन्त्री ओलीलाई आफ्नै नेतृत्वमा राष्ट्रिय सहमति जुटाउने पनि माओवादीले विकल्प दिएको छ । अहिलेका राष्ट्रिय समस्याको समाधान कांग्रेससहित मधेसकेन्द्रित दलहरूसँगको सहकार्य र सहमतिमा बन्ने सरकारले मात्रै गर्नसक्ने उसको निष्कर्ष छ ।

३. सहमति जुटाउन नसके बाटो खुला गर्न आग्रह

राष्ट्रिय सहमति जुटाउन नसके नेतृत्व छाडेर मार्गप्रशस्त गर्न माओवादीले तेस्रो विकल्प प्रस्ताव गरेको छ । ‘सहमति–सम्झौता पनि कार्यान्वयन नगर्ने, राष्ट्रिय सहमति पनि जुटाउन नसक्ने हो भने प्रधानमन्त्रीले हात उठाउनुप(यो,’ माओवादी नेता देव गुरुङले नयाँ पत्रिकासँग भने, ‘त्यसपछि जसले सक्छ, उसैले सरकार निर्माणको पहलकदमी लिनेछ । त्यस्तो वेला नेतृत्वको विषयमा भने माओवादी खुला छ ।’

प्रचण्डको पहलबारे एमालेको बुझाइ
१. विकल्पमा अर्को बहुमतीय सरकार

सोमबार प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले उनको नेतृत्वमा कुनै हालतमा सम्भव नभएको बताएपछि वर्तमान गठबन्धनलाई निरन्तरता दिने या कांग्रेससँग मिलेर बहुमतीय सरकार बनाउने विकल्प मात्र माओवादीसामु रहेको एमालेको बुझाइ छ । ‘देउवाको जवाफपछि सहमतिको सरकार बन्दैन भन्ने स्पष्ट भइसकेकाले उहाँहरूसँग एउटा मात्र विकल्प छ, त्यो कांग्रेससँग मिलेर बहुमतको सरकार बनाउने,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘सहमतिका नाममा त्यो बाटोमा जान उहाँहरू स्वतन्त्र हुनुहुन्छ, तर त्यसो हुँदा मुलुकका लागि दुर्भाग्य हुनेछ भन्ने हाम्रो भनाइ हो ।’

२. प्रचण्डको नेतृत्व असम्भव

कांग्रेस राष्ट्रिय सहमतिको सरकार गठनका लागि तयार नभएसम्म प्रचण्डको नेतृत्वमा त्यस्तो सरकार गठन नै असम्भव भएको एमालेको ठम्याइ छ । प्रमुख तीन दल सँगै बसेर संविधान कार्यान्वयनको प्रस्ट खाकामा सहमति गरेपछि कांग्रेसले प्रचण्डलाई लिखित समझदारीका साथ स्वीकार गर्नुपर्ने एमालेको भनाइ छ । तर, त्यो संसदीय प्रणालीविपरीत हुने अडान राख्दै आएकाले तत्कालका लागि उनको नेतृत्वमा सहमतीय सरकार बनाउने कुरा सम्भव नै नभएको एमाले नेताहरू बताउँछन् । ‘यो स्थितिमा अहिलेको गठबन्धनको विकल्प अर्को बहुमतको सरकार नै हो भन्ने माओवादीले नयाँ निष्कर्ष निकालेको हो भने ऊ त्यसअनुसार अघि बढ्दा हामीलाई आपत्ति छैन,’ ज्ञवालीले भने ।

सरकारमा बसेर महत्वपूर्ण क्षणमा सरकार परिवर्तनको मुद्दा उठाएर अस्थिरता मच्चाउन माओवादीले अनैतिक खेल खेलेको एमालेको आरोप छ । सरकारको नीति तथा कार्यक्रम ल्याउने वेला सरकार ढाल्ने खेल खेलेको माओवादीले बजेट पारित नहुँदै फेरि त्यस्तै खेल खेलेर सरकारका कामलाई नै कमजोर तुल्याएको भन्दै एमाले नेतृत्व रुष्ट छ । ‘बजेटपछि नेतृत्व परिवर्तन गर्ने कुरा भएकै हो भने पनि यतिन्जेल त मौन बसेर पूरापूर सरकारको प्रतिरक्षा गर्नुपर्ने र भद्र ढंगले नै प्रतिरक्षा गर्नुपर्ने होइन र ?’ ज्ञवालीले भने, ‘तर, प्रमुख प्रतिपक्षसँग मिलेर सरकार ढाल्ने खेलमा लाग्दा हामीलाई रुष्ट बनायो । यद्यपि, एउटा बिन्दुमा कोर्स करेक्सन भएर मुलुक अघि बढ्न सक्ने स्थितिमा नेतृत्व हस्तान्तरण गर्न एमालेलाई कुनै आपत्ति छैन ।’

‘कांग्रेसलाई १२ र माओवादीलाई आठ मन्त्रालय’

कांग्रेस–माओवादीका नेताहरूबीच मन्त्रिपरिषद्को भागबन्डाका विषयमा समेत समझदारी बनेको छ । तर, माओवादीले ओलीको निर्णय पर्खने भनेकाले हस्ताक्षर भएको छैन । अन्य राजनीतिक दलका नेताहरूसँग पनि छलफल बाँकी रहेकाले त्यस्तो मस्यौदाको विषयवस्तु सार्वजनिक नगरिएको नेताहरूको भनाइ छ । तर, प्रारम्भिक सहमतिअनुसार कांग्रेसले १२, माओवादीले ८, विजय गच्छदारको फोरम लोकतान्त्रिकले २ र राप्रपाले २ मन्त्रालय पाउनेछन् । बाँकी ८ मन्त्रालय अन्य दलका लागि छुट्याइएको छ । कांग्रेससँगको सो छलफलपछि बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीलाई बाटो छाडिदिन आग्रह गरेका थिए ।

देउवा र प्रचण्डबीच सिंहदरबारमा  आधा घन्टा वार्ता

ओलीलाई भेट्नुअघि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगी झन्डै आधा घन्टा भेटवार्ता गरेका थिए । यी दुई नेताबीचको भेटमा पछि विमलेन्द्र निधि र कृष्णबहादुर महरा पनि थपिएका थिए । कांग्रेस नेता निधिस“ग सोमबार नै माओवादी केन्द्रका नेता महराले छुट्टै भेट गरेको र पछि शीर्ष नतोहरूसँग दुवै नेता छलफलमा मिसिएको कांग्रेसनिकट स्रोतको भनाइ छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सहमतीय सरकार गठनको सम्भावना नरहेको प्रस्ट्याएका छन् । सहमतीय सरकार गठनका लागि आफूलाई भेट्न आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको आफ्नै नेतृत्वमा सहमतीय सरकारको प्रस्तावलाई देउवाले अस्वीकार गरेका हुन् ।

देउवालाई भेट्न कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगेका प्रचण्ड २२ मिनेट भेट गरेर बाहिरिएका थिए । दुई दलको छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा र केन्द्रीय सदस्य विमलेन्द्र निधि तथा माओवादीबाट प्रचण्ड र कृष्णबहादुर महरा सहभागी थिए ।

‘राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भनेर पार्टीमा निर्णय गरेपछि प्रचण्ड आफूलाई सहमतिको प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गर्दै सभापतिलाई भेट्न आउनुभएको थियो,’ निधिले देउवाको भनाइ उद्धृत गर्दै नयाँ पत्रिकासित भने, ‘प्रचण्डले हामीले राष्ट्रिय सहमतिको सरकारका लागि पहल ग¥यौँ, तपाईंहरूको पनि साथ चाहियो भन्नुभयो, तर सभापतिले अहिले सकिँंदैन, प्रधानमन्त्री केपी ओलीले पनि आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको रूप दिऔँ भन्दा पनि गएका छैनौँ । ओलीजीसँग हाम्रा के दुस्मनी छ र, उहाँलाई हुँदैन भन्ने, तर तपाईंलाई दिनुपर्ने ? त्यसैले अहिले यस्तो सम्भावना नै छैन ।’

बहुमतको विकल्पबारे छलफल

कांग्रेस नेता निधिले कांग्रेस–माओवादीबीच सहमतीय सरकारको विषयमा छलफल भएको र त्यो अहिले सम्भव नभएको बताए । ‘यो सरकार अहिलेसम्म बहुमत प्राप्त छ । प्रचण्ड पनि सहमतीय सरकार भन्दै आउनुभएको थियो । तर, अहिले अन्य विकल्पमा पनि छलफल भइरहेको छैन,’ अब बहुमतीय सरकारको प्रयास हुने हो भन्ने प्रश्नमा उनले भने । दुवै दलबीच बहुमतीय सरकारको विषयमा पनि कुराकानी भएको स्रोतले बताएको छ ।

वैशाखको तेस्रो साता प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस सभापति देउवा तयार भएका थिए । तर, आफ्नो प्रस्तावलाई लत्याउँदै माओवादीले एमालेसँग नौबुँदे सहमति गरेपछि कांग्रेस बिच्किन पुगेको थियो ।

देउवा–प्रचण्ड सात मिनेट गोप्य भेट

कांग्रेस संसदीय दलको कार्यालयमा दुई पार्टीका नेताबीच सामूहिक कुराकानी हुनुअघि कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सात मिनेट गोप्य कुराकानी भएको थियो । ‘अरू नेतालाई सहभागी नगराई पहिले देउवा र प्रचण्डबीच सात मिनेट गोप्य कुराकानी भयो,’ कांग्रेस स्रोतले भन्यो, ‘त्यसपछि विमलेन्द्र निधि, कृष्णबहादुर महरा मिसिएका हुन् ।’

कांग्रेसको आँखा बहुमतकै सरकारतिर

सहमतिको सरकार भनेर प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले आफैँलाई केन्द्रमा राखेपछि प्रमुख प्रतिपक्षी कांग्रेस सरकारका विषयमा छलफल गर्न यो सरकारले बहुमत गुमाउनुपर्ने पक्षमा छ । दुवै दलले सहमतीय सरकार भने पनि प्रमुख दल एकैपटक सरकारमा सहभागी हुन नसक्ने बुझाइ कांग्रेसको छ । त्यसैले अब गठन हुने सरकार बहुमतकै हुने कांग्रेस नेताहरू बताउँछन् ।

‘पहिले एकपटक माओवादीलाई प्रधानमन्त्री दिन हामी तयार भएका थियौँ, तर त्यो अध्याय त्यहीँ सकियो,’ देउवानिकट नेता डा. प्रकाशशरण महतले नयाँ पत्रिकासित भने, ‘यो सरकार रहेसम्म सहमतीय बन्न सक्दैन । जबसम्म यो सरकार कायम रहन्छ, तबसम्म सहमतीय र बहुमतीय सरकार भनेर अर्थ छैन । यो सरकार ठीक छैन भनेर निस्किएपछि सहमतीय–बहुमतीय सरकारको विषयमा छलफल सुरु हुन्छ ।’ यही अवस्थामा तत्कालीन गठबन्धनलाई पनि सहयोग गर्ने स्थिति नरहेको र आफू पनि अघि बढ्ने अवस्था कांग्रेससँग नरहेको उनको भनाइ छ ।

बहुमतीय सरकारका लागि देउवालाई दबाब

कांग्रेस र माओवादीका दोस्रो तहका नेताहरू नयाँ सरकार निर्माणका लागि निरन्तर सम्पर्कमा छन् । माओवादीले दुई–तीन दिनभित्र एमाले नेतृत्वको सरकार छाडेर आउँछौँ भन्ने वचन दिइरहेको कांग्रेसका एक नेताले बताए । ‘पछिल्लो समयमा माओवादीले फेरि एमाले छाडेर आउँछौँ भन्ने वचन दिँदै आएको छ । सायद बजेट पास गर्ने दिन कुरेका पनि हुन सक्छन्,’ ती नेता भन्छन्, ‘कांग्रेस मिल्न चाहेको पनि माओवादीस“गै हो । मधेसवादी दल त छँदै छन् । अब माओवादीले सरकार छाडेर आएपछि प्रक्रिया अघि बढ्छ ।’

त्यति सजिलो छैन कांग्रेस नेतृत्व

कांग्रेस नेताहरूले नयाँ सरकारको नेतृत्व ठूलो दलका नाताले आफ्नो दलले गर्नुपर्ने तर्क अघि सार्दै आएका छन् । तर, सरकार गठन गर्न ओली सरकारले बहुमत गुमाउनुपर्ने हुन्छ । बहुमत गुमाउने सीधा बाटो भनेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने हो । यस्तो हुँदा माओवादीले बहुमतीय प्रधानमन्त्रीमा आफ्नो दाबीलाई अडान बनाउने बुझाइ कांग्रेसको रहेको नयाँपत्रिकाले खबर लेखेको छ ।

‘माओवादी ओली सरकारबाट त्यत्तिकै बाहिरिँदैन, उसको आँखा प्रधानमन्त्रीमै छ । सरकार ढाल्न माओवादीलाई मनाउने भनेको प्रचण्डलाई प्रधानमन्त्रीको आश्वासन हो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासित भने, ‘यस्तो हुँदा आफैँले नेतृत्व गर्न सक्ने अवस्थामा कांग्रेस छैन ।’

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com