Header

पुष्पकमल प्रचण्डका चुनौतीहरु

सुरज दाहाल

"जंगली " ,"आतंककारी ","भारतीय दलाल" जस्ता धेरै टिप्पणी सामाजिक संजालमा छरपस्ट देखिए ।

मलाई कुनै आपत्ति छैन किनकि म र म जस्ता लाखौ झोला झण्डा नबोकेका नेपालीको लागि प्रधानमन्त्रीको फेरबदलले कुनै प्रत्यक्ष सम्बन्ध राख्दैन ।

तर हिजो केपी ओलीको आलोचना हुदा शाब्दिक भद्रता सिकाउनेहरुले आज हठात मानसिक सन्तुलन गुमाएको देख्दा म छक्क परे । बालकोटमा ओली समर्थकको नाराबाजी भयो 'आर्यघाटले के भन्छ प्रचण्डलाई ले भन्छ ।'

लाग्यो - 'प्रचण्ड आफैमा एउटा शक्ति रहेछ ।' अन्यथा आर्यघाट यात्राको शुभकामना जरुरी थिएन जबकी को कतिबेला आर्यघाट जान्छ ठेगान छैन, किनकी अमर कोहि छैन ।

१० - ३० प्रतिशतको मुल्यबृद्धी,0. ७७ प्रतिशतको निराशाजनक आर्थिक बृद्धिदर, आधा बजेट खर्च गर्न नसकेको तितो यथार्थका बिच जोखिमपूर्ण अर्थतन्त्र ओलीको हातबाट प्रचण्डको नव टोलीसित पुगेको छ ।

आर्थिक वर्ष सकिन लाग्दा विकास बजेट सक्नकै लागि विकास गरेजस्तो गर्ने साधारण खर्च अत्याधिक तर पुँजीगत खर्च अति कम हुनेजस्ता बेतिथी रोक्न भर्खरै सुरु भएको नयाँ आर्थिक वर्षलाई सुरुवात देखि संचालन गर्ने अवसर प्रचण्ड नेतृत्वको सरकारसँग छदैछ ।

५ खर्ब भन्दा ज्यादाको 'आकर्षक रेमिट्यान्स ' र विदेशी सहायता मात्र दुई यस्ता क्षेत्र हुन जुन आर्थिक रूपमा सकारात्मक छ्न ।

यो जटिल तथ्यका बिच प्रचण्डको चुनौती हावादारी उखान र भाषणबाट भ्रमित नेपालीहरुलाई वास्तविक आर्थिक समृद्धिको अनुभुती गराउनु हो । सीमांकनको विवाद मिलाउनु र संविधान संशोधन प्रचण्ड नेतृत्व रकारको मुख्य चुनौती हो ।

पुर्ववर्ती सरकारले बढाएको मधेश र पहाड बिचको दुरि राजनितिक रूपमा मात्र हैन मनोसामाजिक रूपसम्म पनि घटाउनु प्रचण्डको अर्को चुनौती हो ।

मधेसी थारु , आदिबासी , जनजाति आदिका जायज माग सम्बोधन गरेर राष्ट्रिय एकताको आधार खोज्नु अर्को चुनौती हो ।

नाकाबन्दीसँगै नेपाली समाजको ठूलो हिस्सा भावनात्मक रूपमा राष्ट्रवादको मामिलामा अत्यन्त संवेदनशिल भावनावादी भएको छ । राष्ट्रवादको मामिलामा अलिकता पनि कमजोर हुने छुट प्रचण्डलाई छैन ।

राष्ट्रवादको मामिलामा संवेदनशिल हुदै भारतसँगको सम्बन्ध दोहोरो सम्मान र स्वार्थको आधारमा स्थापित गर्नु मात्र हैन,फास्ट ट्र्याक स्वदेशी लगानीमा अघि बढाउनु र ओली सरकारले चीनसँग गरेको पारवहन सन्धीमा टेकेर नेपालले इन्धन आयातको वैकल्पिक बाटो खोज्नु प्रचण्डको एउटा कठिन चुनौती हो ।

भुकम्पसँगै भुकम्प प्रभावित क्षेत्रमा गरिबीको स्तर कुन हालतमा छ भन्नेकुरा काठमाडौंका होटलहरुमा भाडा माझ्न आएका सिन्धुपाल्चोक र दोलखाका कलिला बालबालिकाको ओठ हेरेर थाहा हुन्छ ।

आम भुकम्प प्रभावितको एउटा घर नबनाउदै बिदा भएका ओलीले संसदमा 'तीस हजार घर बनाएको र लाखौ घर बन्दैछ्न' भनेर लाखौ भुकम्प प्रभावितमाथि क्रुर व्यङ्ग्य गरेर आफ्नो हावादारी छवि प्रमाणित गरेका छ्न ।

यो झुटो विकासको क्रमभंग गर्दै भुकम्प प्रभावित र बाढी प्रभावित जिल्लामा अति विपन्नहरु माझ तत्काल राहत लिएर जानु प्रचण्डको एउटा सुन्दर अवसर र गम्भीर चुनौती हो ।

शिक्षा क्षेत्र अस्तव्यस्त बनाएको स्ववियु खारेजी गरे प्रचण्ड नेतृत्वको सरकार इतिहासका स्वर्णिम पानामा लेखिनेछ । डा. गोविन्द केसीको समूहसँग भएका सन्धी सम्झौता कार्यान्वयन , माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन, भर्खरै संसदबाट पारित शिक्षा ऐनको कार्यान्वयन गर्दै समग्र स्वास्थ्य शिक्षा क्षेत्र सुधारमा प्रचण्ड नेतृत्व सरकारले खेल्ने भुमिकाले दुरगामी अर्थ राख्दछ । यो विषयमा गम्भीर नहुने छुट प्रचण्डलाई छैन ।

चरम विवादित लोकमान विरुद्ध संसदमा दर्ता भएको छलफल प्रस्ताव र यसमा प्रचण्डको भुमिका एउटा सानो तर जटिल विषय हो । लोकमान वर्खास्त गर्दै अख्तियारमा स्वतन्त्र निर्विवादित र सक्षम व्यक्ति नियुक्त गर्नु पुष्पकमलका लागि दिवा स्वपन हुन सक्ला तर प्रचण्डको लागि असम्भब छैन ।

वार्षिक पाँच खर्बको हाराहारीमा रेमिट्यान्स भित्राउने नेपालले वैदेशिक रोजगारीमा जीवन गुमाएका साठी - सत्तरी नेपालीको शव तीन चार करोड खर्चेर झिकाउन सक्दैन / चाहादैन । नेपाली नागरिकहरु कतारको जेल परुन. साउदिमा मृत्युदण्डको सजाय भोगुन तर नेपालको शासक वर्गले वैदेशिक रोजगारीमा गएका युवालाई देख्दैन / सुन्दैन ।

तत्काल अनुभुती हुनेगरी , वैदेशिक रोजगारीको क्रममा पिडित हुन पुगेका व्यक्ति र तिनका परिवारलाई राहत दिनु प्रचण्ड नेतृत्व सरकारको एउटा त्यो जिम्मेवारी हो जुन ओली सरकारले कहिले पनी गम्भीरतापुर्वक लिएन।

भ्रष्टाचार नियन्त्रण ,पारदर्शिता र सुशासनको बाटोमा प्रचण्डको प्रयास नभए घटदै गएको लोकतन्त्र प्रतिको जनआस्था अरु कमजोर हुनेछ । राजनितिक नियुक्तिहरुमा निर्विवादित र सक्षम व्यक्ति छनोट गर्नु दलिय भागभण्डाको राजनीतिका बिच प्रचण्डको लागि असहज हुनेछ ।

राजनीतिक दलहरुमा विभक्त कर्मचारीसँग काम गर्नु प्रचण्डको लागि चुनौतीपूर्ण त छदैछ, साथमा कर्मचारीतन्त्रलाई राजनीति मुक्त बनाउन प्रचण्डले प्रयास गरेमा एउटा अर्को प्रभावकारी सुधारको कदम हुनेछ ।

संसारले ध्यानपुर्वक हेरिरहेको - सत्य निरुपण तथा मेलमिलाप आयोगलाई स्वतन्त्रता पुर्वक काम गर्नुदिनु प्रचण्डको निम्ति अर्को चुनौतीको पहाड हो ।

प्रचण्डको निम्ति प्रचण्ड चुनौती

र , नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को निम्ति सबैभन्दा ठूलो चुनौती प्रचण्ड स्वयम् हुन् ।

पार्टी भित्रै अवसरवादीहरुको जटिल चक्रव्यूहमा जेलिएका प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी दिनमा हरेक पाइलामा 'प्रचण्ड' को सामना गर्नुपर्नेछ ।

आफ्नो वर्ग संघर्षको विचारधारा एकातर्फ छदैछ, अर्कोतर्फ प्रचण्डबाट पुष्पकमलमा रुपान्तरित पुजीवादी वर्ग प्रचण्डसँगै छ । कुनैबेला 'नागरिक सर्वोच्चता' माथी प्रहार भएको र सिधै मालिकसँग वार्ता गर्ने भन्दै राजिनामा दिएका प्रचण्डसामु पुष्पकमल रुप पुनः प्रधानमन्त्री बनेको छ्न ।

राष्ट्रवादको मामिलामा आफ्नो प्रचण्ड रुपलाई स्वच्छ राख्नु एउटा चुनौती हो भने देशको स्थायी सत्ता नेपाली सेनासँगको सम्बन्ध प्रगाढ बनाउनु प्रचण्डको निम्ति अर्को चुनौती हो ।

आफ्नो निर्णय प्रक्रियामा वैचारिक रूपमा ठ्याक्कै विपरीत ध्रुवको सत्तासाझेधार कांग्रेसलाई चित्त बुझाएर लैजान पुष्पकमलले सक्लान तर प्रचण्डका निम्ति यो अर्को फलामको चिउरा प्रमाणित हुनेछ । आम जनता माझ राम्रो छवि नभएका आफ्ना पुत्र प्रकाशबाट जोगिन प्रचण्डले ठुलै त्याग गर्नपर्ला ।

प्रचण्ड र अस्थिरता

संसदको दोस्रो ठुलो प्रतिपक्षमा रहनु तेस्रो दलको नेता पहिलो दल सहितको समर्थनमा सरकारको नेतृत्व गर्नु आफैमा संसारको संसदिय अभ्यासको इतिहासमा एउटा दुर्लभ घटना हो ।

आकस्मिक रूपमा सत्ता स्वार्थमा आधारित रहेर जुन गठबन्धन बनेको छ त्यो कुनैपनी बेला भत्कन सक्दछ तर गणितीय रूपमा प्रचण्ड नेतृत्वको सरकार त्यति कमजोर र अस्थिर हुने संभावना छैन जति संसदको एक तिहाई भन्दा ज्यादा मत भएको ठूलो दल कांग्रेस प्रतिपक्षमा बस्दा ओली नेतृत्वको सरकार थियो ।

बाहिरी र आन्तरिक चलखेल चामत्कारीक रूपमा परिवर्तन नभए प्रचण्ड नेतृत्वको सरकार नौ महिना मात्र हैन अझ केही लामो समय टिक्न सक्नेछ ।

प्रचण्ड र भारत

निश्चित रूपमा भारतसँगको सम्बन्ध सुधार गर्न पर्ने बाध्यता प्रचण्डको हो भने भारत पनि आन्तरिक राजनीतिमा आफ्नो गुमेको प्रभाव पुन:स्थापित गर्न चाहान्छ ।

ओली सरकार बन्दा पनि भ्रामक राष्ट्रवादको चर्को प्रचारप्रसार भयो भने बिदा हुदा पनि ओलीले स्पष्टसँग भारतलाई चलखेल गरेको भने । संसारका कुनैपनि राष्ट्रको प्रधानमन्त्रीले छिमेकी मुलुकलाई आन्तरिक चलखेल गरेको आरोप लगाउदा आरोपित छिमेकीले प्रतिक्रिया जनाउछ, स्थिति शीत युद्धमा जान्छ तर नेपालका प्रधानमन्त्रीले सरकार गिराएको भन्दा पनि दिल्ली मौन बस्यो ।

अर्कातर्फ दिल्लीले चर्को मिडियाबाजि सुरुगर्दै भन्यो अब प्रचण्डसँगै दिल्लीको प्रभाव फर्कदैछ । यहानेर एउटा गम्भीर गल्ती नेपालमा के गरिदैछ भने प्रचण्डलाई दिल्लीले के भन्यो त्यसका आधारमा हेर्ने काम गरिदैछ ।

प्रचण्डको सामु दिल्लीसँग सम्बन्ध सुधार गर्नै पर्ने बाध्यता छ, तर प्रचण्डको विगत हेर्दा त्यति पनि भारतपरस्त पात्र हैनन, जति दिल्लीले प्रचार गर्दैछ ।

भविष्यमा प्रचण्ड कति भारतपरस्त हुने वा नहुने त्यो प्रचण्डको निर्णय क्षमता र अडानमा भर पर्ने छ, तर दिल्लीले सकेसम्म प्रचण्डलाई दबाब दिनेछ । दिल्लीका विविध शक्तिकेन्द्रका चलखेललाई कुटनीतिक कुशलताले व्यवस्थापन गर्दै जानु प्रचण्डको एक गम्भीर चुनौती हो ।

प्रधानमन्त्री कुनै दल विशेषको मात्र हुदैन ।राष्ट्रको कार्यकारी प्रमुखको रूपमा प्रचण्ड समग्र राष्ट्रको प्रधानमन्त्री बन्न सकुन । कुनैपनी राष्ट्रको राष्ट्र प्रमुखको सफलता वा असफलतासँग राष्ट्रको सफलता वा असफलताले सिधा सम्बन्ध राख्दछ ।आशा गरौ प्रचण्ड नेतृत्वमा नेपालले 'सफलता ' को यात्रा गर्नेछ । शुभमस्तु ।

२० साउन २०७३ मा प्रकाशित ।  

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com