Header

'यो प्रचण्डको सत्तारोहण हो की जत्थारोहण ?'

इश्वर अर्याल

संबिधानसभाको निर्बाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी भन्ने नारा लिएर जनतालाई नमस्ते गर्न पुगेको नेकपा एमालेले आफ्नो प्रमुख चुनावी एजेन्डा बिर्सेर पहिलो संबिधानसभा बिघटन हुनु अगाडी तेश्रो शक्ति हुनुको बाबजुद पनि दुइ वटा नेताहरुको फोटो सिंहदरबारमा प्रधानमन्त्रीको रुपमा झुण्ड्याएर छोड्यो ।

त्यसको लागि एकपटक कांग्रेसलाई प्रयोग गर्यो, अर्को पटक माओबादीलाई प्रयोग गर्यो । दुवै पटक संसदीय प्रक्रियाबाट प्रधानमन्त्रीको भर्याङ्ग चढेको नेकपा एमालेले चुनावमा जनतासँग गरेको वाचा बिर्स्यो नै, दोश्रो संबिधानसभामा पनि जनतालाई त्यहि एउटा मुद्दामा झुक्यायो । जनता झन् धेरै झुक्किए फलस्वरूप एमाले दोश्रो राजनीतिक शक्ति बन्यो, उही संसदीय प्रक्रियाबाट केपी ओलीले सत्तारोहण गरे । 

झलनाथ खनाल र माधव कुमार नेपालले गुटको प्रतिनिधत्व गरेकै कारणले प्रधानमन्त्री हुने सुवर्ण अवसर प्राप्त गरेका थिए । ओली अध्यक्षमा निर्वाचित भैसकेपछि गुटहरु समाप्त भएको श्रेय पाएको केहि महिना नबित्दै सलबलाउन लागेका गुटहरु नै ओली सरकार ढल्ने प्रमुख कारण बन्यो । ओलीका सपनाहरु ढुंगाको भारी मात्र थिए, प्रचण्डसंग गरेका सम्झौताहरुमा उदासिन हुन सुरु भएको दिनदेखि आफ्नो सरकारको आयु थाहा पाएका ओलीले सो ढुंगाको भारी बिसाउने कुनै चौतारी देखेनन्, बरु अझ थपे, भारी बोझिलो बनाए ।

दोश्रो जनआन्दोलन पछाडिको १० बर्षमा ८ बर्ष सत्ताको स्वाद चाखेको नेकपा एमालेले कुन चाहिं ढुंगाको भारी हो र कुन चाहिँ पुरा गर्न मिल्ने सपना हो भनेर राम्ररी छुट्टाउन जानेको छ । ७ महिनामा केहि पनि पुरा हुन सक्दैनथ्यो, ओलीलाई सपना माथि सपना थपेर कुनै राजनीतिक घाटा भएन । 

बरु जनतालाई प्रत्यक्ष निर्वाचित कार्यकारी भन्दै झुक्याउदै आएको एमाले आफुले जनतालाई हाल्न खनेको खाल्डोमा कसरी पर्यो, त्यो समयक्रमले पुष्टि गरिसक्यो । डाँको छोडेर अरुलाई गाली गर्नु भन्दा एमालेले आफ्नो इमान्दारिताको गहिरो समिक्षा गर्नुपर्ने आवश्यकता छ । 

नेपालको इतिहासमा कम्युनिस्ट नाम धारण गरेर दोश्रोपटक प्रधानमन्त्री बन्ने सौभाग्य पाउनेवाला मध्ये प्रचण्ड पहिलो नेता हुन् । भारतले बारम्बार नेपाली कांग्रेसलाई प्रो-इन्डियन पार्टी भनेर फुकेको फुक्यै छ । त्यहि प्रो इन्डियन पार्टीको मुख्य सहयोगमा प्रधानमन्त्री बन्न लागेका भारत बिरुद्द सुरुंग युद्दका प्रतिपादक प्रचण्ड यो पटक सत्तारोहण गरेका हुन् की जत्थारोहण गर्न खोजेका हुन्, इतिहासले यसको राम्रो मूल्यांकन गर्ने छ । 

बिद्रोह र सत्ता कब्जाको हावाले फुलेको बेलुनलाई भारतले नै तत्कालिन आर्मी चिफ कटुवालको प्रयोग गरेर छिसिक्क टुथपिक घोचिदिएको थियो । त्यतिबेला भारतकै सहयोगमा दुई ठाउँमा हारेर पनि प्रधानमन्त्री हुने सौभाग्य पाएका माधव कुमार नेपालको र केपी ओलीको कस्तो केमेस्ट्री थियो, बच्चा बच्चालाई पनि थाहा छ ।

मालिकसंग वार्ता गर्ने हुंकार गरेर सडक कब्जाको रणनीतिमा अघि बढेका प्रचण्डको काँधमा त्यहि मालिकले भिराइदिएको मादल छ, जसलाई उसैको तालमा बजाउनु पर्ने छ । ताल फरक पर्ने हो भने, प्रो इन्डियन मानिएको नेपाली कांग्रेसले मादलको खरी कोतरेर निकाल्दिन्छ । 

प्रचण्डले देखाउनु पर्ने निर्णय क्षमतालाई प्रभावित पार्नको लागि स्वयम् प्रचण्डकै पार्टीमा एक हुल जत्था तयार भएर बसेको छ भने, प्रो इन्डियन मानिएको पार्टीको अर्को जत्था तयार छ । बिगतमा बाबुरामबाट तेस्रो लिंगीको उपमा पाएको नेकपा एमालेको ओली जत्था बेमौसमी बाजा बजाउन तयार भैसकेको छ । यसकारण प्रचण्डको यसपटकको कुर्ची प्राप्ति सत्तारोहण भन्दा धेरै जत्थारोहण हुने निश्चित छ ।

नीधीपथमा हिंडेको कांग्रेसले प्रचण्डलाई चीनसंग भएका सम्झौताहरु कार्यान्वयन गर्न अप्ठ्यारो पार्ने छ भने ओलीले बोकाइदिएको भारीले प्रचण्डले चाहेर पनि आफ्नै पहलमा भएका चीनसंगका सम्झौताहरुलाई रद्दीको टोकरीमा फ्याँक्ने प्रयास गर्ने छैनन् । सम्भवत नौ महिनासम्ममात्र प्रधानमन्त्री हुने भनिएका प्रचण्डले नौ महिना पछी सत्ताको गर्भबाट नयाँ ढंगको भारतीय हस्तक्षेप जन्माउने छन् या चिनसंगका सम्पूर्ण सम्झौताहरु कार्यान्वयन गरेर समृद्द र आत्मनिर्भर अर्थतन्त्रको जन्म गराउनेछन् यसलाई सरकारले गर्भ बोकिसकेपछी केहि महिना भित्रै अल्ट्रासाउण्ड गरेर पत्ता लगाउन सकिने छ । 

राजनीतिमा जहिलेसम्म स्वार्थहरुको संघर्ष हुँदै गर्छ, त्यहिले सम्म सो राजनीतिले बिकाशको मूल फुटाउन सक्दैन । अहिले बन्ने भनिएको गठबन्धन स्वार्थहरुले मितेरी लगाइसके पछी बाध्य भएर तयार पारिएको हो । ७ महिना सत्ता बाहिर बस्नुको छटपटी र द्वन्दकालका मुद्दाहरु फिर्ता नलिईनुको पीडाको संयोजनको उपज हो यो गठबन्धन । प्रचण्डले भन्न त भनेका छन्, अघिल्लो कार्यकालमा अनुभवहिनताको कारणले गर्दा असफल हुनु पर्यो, अहिलेसम्म प्राप्त गरेको अनुभवले अब सत्मार्गमा लैजाने छ ।

तर परिस्थिति त्यस्तो बन्नु भन्दा पहिल्यै प्रचण्डको दुर्दिन शुरु हुन सक्छ भन्ने ख्याल प्रचन्डले राख्नु जरुरी छ । जसले जे भने पनि अघिल्लो नौ महिनाको सरकारसंग काम गर्ने जुन जोश थियो, अहिलेको जोश नेगेटिभ भाइब्रेसनमा आधारित छ । संसदमा ठुलो पार्टी भएर सरकार हाँक्नु र मसिनो पार्टी भएर सरकार हाँक्नुको बडी ल्याङ्गवेजमा आकाश जमिनको अन्तर हुन्छ ।  

राजनीतिलाई लाजनीति नबनाउने र सत्तारोहणलाई जत्थारोहण नबनाउने शर्त प्रचण्डबाट पालना हुने छाँट देखिएको छैन । यसो भनिरहँदा उनको बिकल्प दिन पनि सजिलो छैन । कुन सपनाको भारी हो र कुन ढुंगाको भारी हो भन्ने मेसो नपाउने ओलीको सरकारको बहिर्गमनलाई उनैको कालोबजार र नश्लबादी राष्ट्रबादले प्रायोजन गरिसकेपछी लघारिएर पेभेलियन फर्केका केपी ओलीहरुले शुरुदेखि नै प्रचण्डलाई भारतपरस्तको आरोप लगाएका छन्, तर त्यसको सम्बन्धमा के सहि र के गलत हो भन्ने कुरा प्रमाणित गर्ने जिम्मा प्रचण्डको नै हुनेछ । तर जत्थारोहण गर्न हौसिएका प्रचण्डले प्रायोजित जत्थाहरुको भिड छिचोलेर आफु भारत परस्त नभएको पुष्टि गर्न भने फलामकै चिउरा चपाउनु पर्ने छ ।

प्रचण्डमा अनुभवको कमी त छैन, त्यसको साथसाथै लहडको पनि कमि छैन । उनलाई गलत बाटो हिंड्न प्रेरित गर्ने र सकेसम्म धकेलेरै गलत बाटोमा लैजाने जत्थाको पनि कमि छैन । उनि प्रधानमन्त्री बन्ने भन्ने बित्तिकै राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा तरङ्ग आउने गर्दछ, त्यसमध्ये सबभन्दा बढी तरंगित भारतीय मिडिया हुने गर्दछ ।

भारतसंग लव हेटको सम्बन्ध भएका मानिएका प्रचण्ड अस्ति भर्खर साइकल चढेर राष्ट्रबाद देखाउने लाइनमा उभिएका थिए । भारतसंग नयाँ परिस्थितिको आधारमा नयाँ सम्बन्ध परिभाषित गर्न सक्ने या नसक्ने कुरा अबको नौ महिनाले प्रष्ट पार्नेछ । इतिहासमा बिलिन हुने या नयाँ इतिहास निर्माण गर्ने भन्ने कुरा प्रचण्डको आगामी नेतृत्वले भन्ने छ, त्यो भन्दा पहिला बजारिया हल्लाहरुको प्रभावले उनको निर्णय क्षमतामा ह्रास आउने देखिएको छ । 

सहिद बिर्सेर संसदका खेलाडी बनेका प्रचण्ड वास्तवमा आशा गर्न नसकिने नेतृत्व बनिसकेका छैनन् । उनलाई कमजोरी सहित स्वीकार्न आज पनि धेरै जनता तयार छन् । मधेशबादी दलहरु संग मोर्चा बनाएर सडक र संसद घेर्ने नीति लिएका प्रचण्ड आइसके पछी ओलीको दम्भ र उदासिनताको कारणले बढेको मधेशसंगको दुरी कम हुने आंकलन गर्न त सकिन्छ त्यो भन्दा धेरै प्रभाव नेपाली कांग्रेसको पर्ने छ, कैलालीको नरसंहारको प्रत्यक्ष सहभागी बनेको नेपाली कांग्रेसले मधेशीहरुको सीमांकन सम्बन्धि मागहरु पुरा गर्न दिने ग्रीन सिग्नलले प्रचण्डको निर्णय क्षमतामा प्रभाव पार्ने छ । 

सत्ताको नेतृत्व गर्ने प्रचण्ड भुलबस जत्थाको नेतृत्व गर्न पुगे भने उनको लागि अब राजनीतिक स्पेस बाँकी रहने छैन । जनताको धरातलबाट बिस्तारै चिप्लिदै गएको माओबादी केन्द्रले अझै पनि सरकारको नेतृत्वबाटै भुलाचुक लेनदेन गरेन भने र माफीसहितको भूल सुधार गरेन भने अबको माओबादीलाई खोज्न गुगलमै टाइप गर्नुपर्ने हुन सक्छ ।

दागहरु पनि भारतबाटै लाग्ने र तिनीहरुलाई मेट्ने ब्लिचिंग पाउडर पनि भारतबाटै आयात गर्नु पर्ने स्थितिको निषेध गर्नु प्रचण्डको लागि अबको प्रमुख चुनौती हुनेछ र त्यसको निराकरण भनेकै निष्कर्ष निस्कने खालको नेतृत्व देशलाई प्रदान गर्नु हो । आशा छ, प्रचण्डको यो सत्तारोहण चाहिँ जत्थारोहण नबनोस ।

 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com