Header

मरेकाहरुको रगत र बाचेकाहरुको भत्ता लुटेर देशको नायक बन्यौ क.प्रचण्ड ?

ब्यारेक भित्र को भ्रष्टाचार को बारेमा साथीहरुले कुरा उठाउन थाले । विरोध बढ्न पनि थाल्यो । ब्यारेकभित्र यसरी विरोध हुन थालेपछि प्रचण्ड र प्रभाकर नै हाम्रो तालबन्द ब्यारेकमा पुगे । तालबन्द पुगेर उनीहरुले फेरि घुमाउरो पाराले धम्की दिए । उनीहरुले हामीलाई घुमाउरो पाराले मानसिक यातना दिएको मलाई अहिले पनि याद छ । 

प्रचण्डले त्यो बेला तालबन्द ब्यारेकमा पुगेर भने, ‘कमरेडहरु तपाईहरुलाई ब्यारेकमा हामीले त्यत्तिकै राखेका होइनौ । आरामको लागि बसालेका छौ । क्रान्ति सिद्धिएको छैन । अब नयाँ क्रान्तिको लागि नयाँ हतियारको खाँचो छ । नयाँ युद्ध लड्नको लागि तपाईहरुको प्रत्येक महिनाको तलबबाट २५ सय लिने गरेका छौ । दुःख नमान्नु होला ।’ 

प्रचण्डले ठ्याक्कै यही शब्दमा हामीलाई फकाएजस्तो धम्क्याएजस्तो गरे । रोचक कुरो त के भने युद्धको स्मरण गर्दै प्रचण्डले धम्की दिन पनि पछि परेनन् । प्रचण्डले भने, ‘कमरेडहरु हामी जनयुद्धमा हुँदा मासिक ५०० ले पनि हाम्रो व्यक्तिगत जीवन सम्पन्न भएकै थियो । अहिले नयाँ युद्धको तयारी गर्नकै लागि तपाईहरुको २५ सय पार्टीले लिँदा पार्टीले किन खायो भनेर प्रश्न गर्ने ?’ त्यो बेला उनले ‘खबरदार ! म जस्तो त्यागी कमाण्डरलाई तपाईहरुले शंकाको दृष्टिमा हेर्ने ?’ भनेर धम्की दिएको जस्तो लाग्यो । 

भाषणकै बीचमा प्रचण्ड एकचोटी झोक्किएर आगोको लाभा जस्तै बने । यस्ता सन्दर्भविहीन नाटकका हरफहरु बोल्न प्रचण्ड अति नै सिपालु  । प्रचण्ड र प्रचण्डका जर्णेलहरुको दैनिकी दिनानु दिन बदलिँदै थियो । जसको ओठमा मात्र क्रान्ति थियो तर हृदयमा भने क्रान्तिका सपना बोक्ने नायकहरु प्रचण्डका जर्णेलहरुको दबाबमा प्रतिबन्धित थिए । 

उनीहरुको विद्रोही आवाजलाई दबाइएको थियो । त्यो आवाज बाहिर फुट्न दिइएको थिएन । जब ब्यारेकका दुई वसन्त पूरा भए, त्यसपछि नवधनाढ्यहरुको जंगी शासन चल्न थाल्यो । अनि सुरु भए सच्चा सिपाहीका निम्ति असाध्यै कठिन र नारकीय दिनहरु । 

नयाँ खेलको अभ्यास सुरु भयो । पालको छानोमा आफ्नो कठिन जीवन सुन्दर सपनाका निम्ति पर्खाइरहेकाहरुको जीवन जस्ताको त्यस्तै भयो । तर, प्रचण्डका पिछलग्गु मनुवाहरु भ्ने तिनै इमानदार योद्धाहरुको पसिना चुसेर प्रत्येक योद्धाको २५ सय लेवीमाथि भ्रष्टाचार गर्ने खेलतिर लागे । एउटा भयानक विभेद सुरु गरियो । ब्यारेकमा एउटा नयाँ निर्णय गरियो ।

हिजो एउटै थालीमा भात खाएको एउटै सपनाको निम्ति भनेर एउटै ओछ्यानमा सुतेको, सँगै युद्ध मैदानमा लडेका साथीहरुबीच बरियता छुट्याइयो । बरियता अनुसारको थप भत्ता दिने निर्णय गरियो । यसरी गरियो ब्यारेकमा उठेको रकमको दामासाही 

वितरणः १. डिभिजन कमाण्डरलाई -  रु. ३०,००० (तीस हजार) प्रतिमहिनाको सञ्चार खर्च । 

२. डिभिजन सहकमाण्डरलाई - रु. २५००० (पच्चीस हजार) प्रतिमहिनाको सञ्चार खर्च ।

३. ब्रिगेड कमाण्डरलाई  २०, ००० (बीस हजार प्रतिमहिनाको सञ्चार खर्च । 

४. ब्रिगेड सहकमाण्डरलाई १५,००० (पन्ध्र हजार) प्रतिमहिनाको सञ्चार खर्च । 

५ बटालियन कमाण्डरलाई  (१०,०००) दस हजार प्रतिसञ्चार सञ्चार खर्च । 

तालबन्द ब्यारेकमा माथि उल्लेखित श्रेणीसम्मका कमाण्डरले मात्र यो खर्च पाए । अरु सबै अवाक भएर बसे । जब यो निर्णय सुनियो, त्यसपछि हामी छाँगाबाट खसेको जस्तै भयौ । समानताका खातिर जीवन युद्धमा समर्पित गरेका लाल योद्धाहरुका बीचमै यस्तो विभेद थोपरिदा पनि सबै मौन भए । 

विरोध गर्ने त के बोल्ने स्थिति पनि थिएन । जसले केही विरोध गर्यो, उसमाथि पत्याउनै नसक्ने संगीन आरोप लगाएर गुम नाम पारिने । जीवनमा चुनौती आउँछन् र जान्छन् तर कतिपय जीवनका परिघटनाले अमिट छाप छोड्दा रहेछन् ।

म मेरो आमा विरामी हुँदा घर भेटघाटको लागि डिभिजन कार्यालयमा छुट्टी माग्न गए । घरमा जाँदा ५ हजार पाउथे । तर, विडम्वना त्यो भत्तामा पनि २५ सय पनि लेवी दिनुपर्ने भयो । आमा विरामी भएका कारण २५ सय भएको भए केही हदसम्म समस्या हल त हुन्थ्यो । तर लेबी काटेर मेरो समस्यामाथि समस्या सिर्जना गरियो । 

घरखर्च नपुग्ने भएपछि मैले  १० हजार  ऋण लिए । त्यही ऋण लिएकै कारण पछि मलाई एक वर्षसम्म मेरो तलब मेरो हातमा पर्न दिइएन । तपाई कल्पना गर्नुस् कतिसम्म मैले यो आधुनिक जेलभित्रको निरङकुशता सहेर बसे होला । यो बर्बर दमनको सत्य आरोपी म एउटा प्रतिनिधि पात्र हुँ । 

दिनहरु बित्दै गए । ब्यारेक भित्रका क्रुर नियमहरु पालना गर्नुपर्ने एउटा सच्चा सिपाहीको जीवन्त अनुभूति यो सबैलाई मैले छातीमा हात राखेर भन्नै पर्छ । परिवर्तनको लक्ष्य बोकेर हिडेको एउटा योद्धा अझ त्यसभित्र पनि कर्णालीको छोरो आफ्नै भनिनेहरुबाट मानसिक यातनाका पीडाहरु खेप्न कतिसम्म संघर्ष गर्नुपर्यो भन्ने मैले पाठकलाई स्पष्ट पार्नैपर्छ ।

ती अझ चर्का पीडा कुनै बेला अझै फुकाऔँला । प्रचण्ड र बाबुराम हाम्रो सपनाको हत्यारा हुन भनेर पटक पटक भनेको छु । यो मेरो सत्य भोगाई हो । प्रचण्ड, बाबुराम नव धनाढ्य र नव संशोधनवादी धारका प्रतिनिधि पात्र हुन् । 

म कल्पना गर्छु मैले प्रचण्डको आधुनिक जेलमा निर्मम यातनाहरु भेगिरहँदा पूर्वी चितवनको एउटा जंगलबाट मेरो प्यारो इमानदार कमाण्डर क. दिपक चलाउनेले विद्रोहको आवाज नउठाएको भए, राजनैतिक हिसाबले प्रचण्डका विरुद्ध विप्लवले भीषण वैचारिक युद्ध नलडेको भए मैले अझ कति निर्ममता सहनुपर्ने थियो । त्यो त भन्नै सकिन्न ।

त्यसरी हामीमाथि अझै कति लुटिन्थ्यो भन्ने अहिले कल्पना मात्र गर्न सकिन्छ । उनीहरु वर्षौ वर्ष आधुनिक लाल बन्दीगृहहरु थापेर ती लालबन्दीहरुको पसिना लुटिरहन्थे । उनीहरुलाई देखाएर कति लुटपाट गरिन्थ्यो होला । तर, क. दिपकले ब्यारेकभित्रै लडेको लडाइँ र क. विप्लवले पार्टीमा लडेको वैचारिक लडाइँका कारण उनीहरुले लामो समय लुटिरहन सक्ने स्थिति देखेनन् । 

ब्यारेकमा विष्फोट आफ्ना लागि घातक बन्ने देखेर हतार हतार ब्यारेकलाई सिध्याउने खेलतिर लागे । अपमानित गराएर सेना समायोजन गराउन आफै हतारिए । उनीहरुलाई इतिहासले शान्त मनले बाँच्न कहिल्यै दिने छैन । २०६८ मा म मेरो पुस्तकको कामका लागि काठमाडौं गए । 

तत्कालीन नेकपा (माओवादी) का वरिष्ठ उपाध्यक्ष क. किरणलाई भेटे । पछिल्लो राजनैतिक घटनाक्रम र मेरो पुस्तकको बारेमा छलफल गर्दै गर्दा पार्टी भित्रको अन्तरसंघर्षका पाटाहरु बाहिर आइसकेका थिए । काठमाडौं बसिरहँदा क. करिण र मेरो दोस्रो भेट एउटा साहित्यिक कार्यक्रममा भयो । त्यहाँ पत्रकारहरुको ठूलो जमात थियो । तर, त्यतिबेला प्रचण्डका भ्रष्ट जर्नेलहरुले मेरो पिछा गरेका रहेछन् । मलाई को कोसँग भेट्छ, कता कता जान्छ भन्ने चियोचर्चो गरिरहेका रहेछन् । जुन कुरा मलाई पत्तो नै भएन । 

जब म काठमाडौंबाट ब्यारेकमा फर्के । त्यसपछि थाहा भयो उनीहरुले मलाई ब्यारेकबाट हिडेदेखि नै पिछा गरेका रहेछन् । को - को नेताहरुसँग भेट गर्यो भन्ने सबै दृष्य उनीहरुले नै फुकाए । अनि चर्को मानसिक यातना दिन थाले । क. किरणलाई भेटेकै निहुमा म सम्पूर्ण हैसियतबाट तीन महिना कारवाहीको भागेदार भए । समयले आफ्नो रफ्तार बदल्दै गयो । समयको रफ्तारसँगै हामी पनि बग्दै थियौं ।

सँगै खाएका सँगै लडेका हिजो एउटउै ओछ्यानमा रात बिताएका केही साथीहरु हाम्रा जेल जर्नेल भएर हप्की र धम्की दिँदै हिडिरहेका थिए । म आफै अचम्मित भएको थिए । ब्यारेकमा जो - जो ले प्रचण्डका बारेमा अन्धाधुन्ध बढाइचढाइ गरेर गुणगान गाउथे, उनीहरुलाई भने मस्ती थियो । उनीहरुले जे चाह्यो त्यो गर्थे ।

तर, पार्टी, क्रान्ति, विचारका कुरा जो -जो ले गथ्र्यो ती सबै मानसिक यातनाका सिकार हुन्थे । उनीहरुमाथि नाकाबन्दी लगाइन्थ्यो । उनीहरुमाथि निगरानी राखिन्थ्यो । उनीहरुलाई घेराबन्दी गरिन्थ्यो । यतिसम्म कि उनीहरुको भौतिक जीवनलाई नै अन्तिम धरापमा पर्ने खतरानाक खेल खेलिन्थ्यो । तर, हामी गलेनौ । 

दुईवटै खुट्टा गुमाएका घाइते योद्धा पर्वत जस्ताको अन्तिम संघर्षले हाम्रो विचारलाई मार्ने हिम्मत गर्न सकेनन । त्यस्ता मानसिक यातनाले उनलाई छोएन । उनी अडिग रहे । हामी सबै अडिग रह्यौ । ब्यारेकमा भएको भ्रष्टाचार, ब्यारेकमा हुने अवैध धन्धाको मैले एक - एक हिसाब राखेको छु । कुनै दिन त्यो म सार्वजनिक गर्नेछु । 

खेल अन्तिम चरणमा पुग्यो । महान् जनमुक्ति सेनाको इतिहास मेटाउन प्रचण्डहरु लागिपरेकै थिए । जब युएनले अन्तिम इच्छाशक्तिको बारेमा सोध्न थाल्यो । अनि क्रान्ति पक्षधर सिपाहीमा ह्वीप जारी भयो । ह्वीप जारी गर्दै तत्कालीन डिभिजनका जर्नेलहरुले आफ्नो धम्कीयुक्त कासन सुरु गर्न थाले । ‘सबैले समायोजन रोज्नुपर्छ । कोही पनि यो सेनाको घेराबाट बाहिर जान पाउँदैन ।’ भनेर धम्की दिन थाले ।

हामीले भने यस्ता कासनको कुनै वास्ता गरेनौ । हामीले क्रान्तिको झण्डालाई सगरमाथाको देशमा फहराइ छाड्ने लक्ष्यका साथ आफ्नो अस्तित्वको लडाई सुरु गर्यौ । क्रान्तिको यात्रा रोजेकै कारण म लगायत १३ जना योद्धालाई चार घन्टा फेरि बन्दी बनाइयो । 

समायोजन रोज्न बाध्यकारी फरमान जारी गरियो । अहिले नै नाम नखोलौं । प्रचण्डका एक जर्नेल, कुनै समय मेरा हितैसी मित्र, मेरा पूर्व प्रिय कमरेड, जो अहिले नेपाली सेनाको मेजर भएर जीवन धानिरहेका छन्, उनले त्यस्ता फरमान र धम्की जारी गरिरहे ।

यद्यपी म उनको व्यक्तिगत जीवनमा असर पुर्याउन चाहन्न । उनको त्यो ह्वीप, फरमान र धम्कीका अगाडि हामी डराएनौ । उनीहरुले निरन्तर मानसिक यातना दिए तर वर्गमुक्तिको निम्ति हिडेका हामी सिपाहीका निम्ति त्यस्ता वेमौसमी फरमानहरुले असर गरेन । लाजिम्पाट र कोटेश्वरका आलिशान महलहरु त्यसै बनेका होइनन् । त्यतिकै फोडिएका पनि होइनन्, चुनावी अभियानमा ह्वीस्की र बियरका बोतलहरु । 

त्यो सबै सबै एउटा सच्चा सिपाहीलाई पाँच वर्ष ब्यारेक रुपी आधुनिक जेलमा बसालेर उनीहरुलाई बेचेर लुटिएको हो । मैले हिसाब राखेको छु कि त्यतिबेला एक जना सिपाही बराबर १,२६,००० (एक लाख छब्बीस हजार) लेवी भनेर लुटिएको रकम हो त्यो ।

त्यसको सत्यता खोज्न किन प्रयास गरिदैन ? एउटा क्रान्ति समर्थक योद्धाको यो आवाज नसुनिएको हो कि नबुझेझै गरिएको हो । यसको निसाफ खोज्न म मेरो पुस्ताको निम्ति निरन्तर लडिरहने छु । अन्तमा, अन्यायले पिल्सिएको मेरो आत्मा स्वतन्त्र रोजाईको बाटोमा जाँदै गर्दा कति रातहरु कष्ठकर भए । 

कति साथहरु विछोडिए । मेरो मनले हार्न मानेको छैन । मेरो सहयात्रीहरुले फेरि एउटा नयाँ क्रान्तिको थालनी गरिसकेका छन् । त्यसको बाटोमा तालबन्दका बन्दी सिपाहीले हिड्नै पर्नेछ । एकीकृत क्रान्तिको झण्डालाई सगरमाथामा अवश्य पुर्याइनेछ । यो म मात्र बोलेको होइन । मेरो पुस्ता बोलेको हो ।

२०७३ भदौ २८ गते प्रकाशित ।

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com