annapurna add

digital ecomonu

नेपालमा डिजिटल प्रविधिको उच्चतम प्रयोग, विकास र नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले शनिबार ‘डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ शनिबार हुँदैछ ।

ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको कन्क्लेभमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरणलगायतको सहकार्य छ । विभिन्न आठवटा सत्र रहने उक्त कन्क्लेभमा कहिले हुन्छ डिजिटल नेपाल, डिजिटल बैंकिङ डिजिटल रेमिट्यान्स र डिजिटल मार्केट प्लेसलगायतका विषय समावेश छन् ।

कार्यक्रममा अर्थतन्त्रको डिजीटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा त्यसले सिर्जना गर्ने अवसरका बारेमा सरोकारवालासँग सघन छलफल हुने आयोजक संस्था ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले जानकारी दिए ।

‘कोरोना महामारीले एकातर्फ चुनौती थपेको छ तर यो समयलाई अर्काेतर्फबाट अवसरको रूपमा लिएर डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिनुपर्छ’, गजुरेलले भने । सुलभ इन्टरनेटको उपलब्धताले नेपालको अर्थतन्त्रलाई डिजीटाइजेसनमा लैजाने अवसर प्रदान गरेको छ ।

नेपाली इ–कमर्श इकोसिस्टमका सबै सरोकारवालाहरूको सहभागिता रहने यस कन्क्लेभले नेपालमा डिजिटल इकोनोमीका बारेमा नयाँ बहस सुरु गर्ने विश्वास आयोजकको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले फोन पे डिजिटल इकोनोमी कल्क्लेभलाई गर्नुभएको भर्चुअल सम्बोधन !
१३ मंसिर २०७७
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

निकै अफ्ठेरो र अध्याँरो समयमा उज्यालो, सजिलो र प्रभावकारी पक्ष पनि छ है भन्ने सन्देश दिने गरी फोनपे डिजिटल इकोनोमी कन्क्लेभ आयोजना गर्नुभएकोमा सर्वप्रथम म आयोजकहरुलाई विशेष बधाई र शुभकामना भन्न चाहन्छु ।

कोरोना महामारीका कारण नेपाल मात्रै होइन, संसारका हरेक देश समस्यामा परेका छन् । विश्व अर्थतन्त्र नै संकूचनमा गएको छ । केही देशहरू आर्थिक मन्दीको चपेटामा परिसकेका छन । समग्र एसियाको आर्थिक बृद्धि नकारात्मक हुनसक्ने एसियाली विकास बैकको अध्ययनले देखाएको छ । नेपालको अर्थतन्त्रमा पनि कोरोना महामारीको प्रभाव आँकलन गरिएभन्दा बढी हुने संकेतहरु देखिइसकेका छन् । कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न तथा त्यसका कारण अर्थतन्त्रमा पुगेको क्षति न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनरुत्थान गर्न मेरो नेतृत्वको सरकारले सबै प्रयत्नहरु जारी राखेको छ । मैले निजी क्षेत्रलाई भनिसकेको छु – सरकारको मन गरिब छैन, गच्छे अनुसारको सहयोग र समन्वय गर्न दृढ छ ।

यो समय प्रतिकूल मात्र छैन । यही महामारीका बीच कतिपय क्षेत्रहरुले आशाको किरण देखाएका छन् । अहिले विश्वको ध्यान डिजिटल अर्थतन्त्रको खोज र विकासमा लागेको छ, यस क्षेत्रमा लगानी बढिरहेको छ, नयाँ आविष्कार र नव प्रवर्तन भइरहेका छन । कोरोनाले हरेक मानिसबीच दूरी बढाइदिएको समयमा डिजिटल कमर्श, डिजिटल पेमेन्टलगायतका पक्षहरु तपाईं हामीलाई जोड्ने माध्यम बनिरहेका छन् । समग्रमा, मैले डिजिटल क्षेत्र विश्वकै नयाँ र उच्चदरको आर्थिक बृद्धको माध्यम हुनसक्ने संभावना देखेको छु । जनसंख्याको ५० प्रतिशतको हाराहारी नेपालको युवा जनशक्तिको नवप्रवर्तनप्रतिको बढ्दो लगावले नेपालमा डिजिटल क्षेत्रको विकासमार्फत आर्थिक विकासलाई अगाडि बढाउन सकिने अझ बढी संभावना देख्दछु ।

कोरोना महामारी नियन्त्रण गर्न बाध्यात्मकरुपमा लगाइएको बन्दाबन्दीले भौतिक सम्पर्कलाई निषेध गर्दा ई–कमर्श, अनलाइन सपिङ, डिजटिल बैंकिग र ई–लर्निंग लगायत डिजिटल उपचार, व्यवसाय र क्रियाकलापहरु नेपालका शहरी क्षेत्रहरूमा मात्र होइन, धेरै स्थानमा आम जीवनको अंग बनेका छन् । यी कुराहरुले नै नेपाललाई डिजिटल युगमा प्रवेश गर्न आधार दिएका छन् भन्ने मलाई लागेको छ । ब्रोडब्याण्डमात्र होइन, मोबाइलमार्फत समेत इन्टरनेट प्रयोगकर्ता बढिरहेका कारण डिजिटल प्रणालीमैत्री वातावरणलाई सहज भइरहेको छ ।

दिदीबहिनी तथा दाजुभाइहरू,
मेरो नेतृत्वको सरकारले मन्त्रिपरिष्दको बैठकलाई कागजको प्रयोगरहित अर्थात् पेपरलेस बनाएको छ, सिंहदरबार र बालुवाटारमा एक्सन रुमहरु स्थापना गरी भर्चुअल प्रविधि प्रयोगको शुरुवात र अभ्यास गरेको छ, मैले सिंगापुरमा उपचारको क्रममा रहँदा मन्त्रिपरिषदका सदस्यहरुसँग भर्चुअल मिटिङ पनि गरेको यहाँहरुलाई सम्झना रहेको हुनुपर्दछ । त्यतिबेला कतिपय मानिसहरुले महत्व, औचित्य र आवश्यकता बुझ्न नसके पनि आज त्यसको सान्दर्भिकता र महत्व व्यवहारतः नै पुष्टि भएको छ ।

अहिले हामीले सिंहदरबारबाट ७५३ स्थानीय तह, ७७ जिल्ला र ७ वटै प्रदेशका उद्घाटन, शिलन्यास, अन्तक्रिया, समन्वयात्मक छलफल, परामर्श र सम्बोधन गर्नसक्छौं, यसमा डिजिटल प्रविधिको प्रयोगले हामीलाई धेरै सहज र मितव्ययी बन्न संभव तुल्याएको छ । विदेशस्थित नियोगहरु र नेपालीहरुमाझ मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि डिजिटल माध्यमबाट भर्चुअल सहभागिताको अभ्यास गरिरहेका छौं । यसरी डिजिटल प्रविधिको प्रयोग व्यापक रुपमा भइरहेको छ ।

नेपाल सरकारले पनि डिजिटल नेपालको अभियानअन्तर्गत सबै आर्थिक र गैरआर्थिक गतिविधिलाई डिजिटल माध्यममा रुपान्तरित गर्ने प्रयास गरिरहेको छ ।

दिदीबहिनी तथा दाजुभाइहरू,
मेरो नेतृत्वको सरकारले पहिलो पटक डिजिटल नेपालको खाका तयार पारी ई–गभर्नेन्सका लागि नीतिगत आधार तयार गरी कार्यान्वयनमा ल्याइसकेको म स्मरण गराउन चाहन्छु । नेपाल सरकार मन्त्रिपरिषदले स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको यस डिजिटल नेपाल खाकामा कृषि, स्वास्थ्य, शिक्षा, शहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्त र डिजिटल फाउन्डेसन गरी ८ प्रमुख क्षेत्रहरुको पहिचान र प्राथमिकीकरण गरी कार्यान्वयनको प्रस्ताव गरिएको छ । यसका साथै, यी ८ क्षेत्रलाई समेटने गरी नेपाललाई आर्थिक– सामाजिक प्रगतितर्फ निर्देशित गर्ने उद्देश्यका साथ ८० डिजिटल पहलहरु पहिचान गरिएको छ । डिजिटल प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा बृद्धि गरी अर्थतन्त्रको बृहत्तर आयामको रुपान्तरण गरी आधुनिकीकरण गर्ने लक्ष्यसहित सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको हो ।

मालपोत, विद्युत महशुल, आन्तरिक राजस्व, भन्सार महशुल, सवारी चालक अनुमतिपत्र र नवीकरणजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया शुरू भइसकेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी कामसमेत अगाडि बढाएको छ । सूचना प्रविधिको विस्तारका लागि सबै प्रदेशमा अप्टिकल फाइवर विस्तार, प्रत्येक स्थानीय तहमा इन्टरनेटको पहुँच विस्तारजस्ता सूचना प्रविधिका आधारशीला खडा गर्ने काम पनि भइरहेको छ ।

डिजिटल फाउन्डेसनअन्तर्गत इन्टरनेटको पहुँच विस्तार, डिजिटल साक्षरता र सुशासनका लागि विद्युतीय सेवा उपलब्ध हुनेछ । साथसाथै, डिजिटल प्रविधिको प्रयोगका केही चुनौतिहरु पनि देखिन सक्छन् । जस्तोकि, सबैलाई डिजिटल प्रविधि प्रयोगमा अभ्यस्त बनाउने, डिजिटल नलेज विस्तार गर्ने, करको दायरामा ल्याउने र ह्याकिङलगायतका साइवर सेक्युरिटीसँग सम्बन्धित समस्याहरुमा पनि हामीले उचित ध्यान दिनुपर्ने हुन्छ ।

दिदीबहिनी तथा दाजुभाइहरू,
नेपाली अर्थतन्त्रको डिजिटाइजेसनको हालसम्मको यात्रामा निजी क्षेत्रको भूमिका प्रशंसनीय रहेको छ । पहिलो पुस्ताका सूचना प्रविधि व्यवसायीहरूले शुरू गरेका फिनटेक कम्पनीहरूले नेपालीहरूलाई मोबाइल वालेटमा अभ्यस्त बनाउँदै लगेका छन् । साथै, नेपालीहरूलाई क्यासलेस ट्रान्जेक्सन (नगद रहित कारोबार) बारे सिकाउनुका साथै डिजिटल बैकिङतर्फ डो¥याएका छन् । कोरोना महामारीकै बीचमा नेपाली बैंक तथा वित्तीय संस्थाहरुले घरबाटै खाता खोल्न सक्ने, मोबाइलमार्फत क्वुआर कोडद्घारा चेकबिनै बैंकबाट रकम झिक्न सक्ने खालका नवीनतम डिजिटल बैंकिङ सेवाहरु प्रवाह गर्न थालेका छन् ।

हामीलाई कोभिड–१९ आउला र यस्तो भयावह अवस्थाको सिर्जना होला भन्ने कल्पनासम्म पनि भएको थिएन । तर समयलाई चिनेर डिजिटल प्रविधिको प्रयोग र विकास शुरु गरेका हुँदैंनथ्यौं भनें आज हामीले झन् कति धेरै कठिनार्ईहरूको सामना गर्नुपर्दथ्यो ?

समग्रमा भन्दा अबको हाम्रो युग डिजिटल अर्थतन्त्रकै युग हो । तपाईंहरुले आयोजना गर्नुभएका यस्ता कार्यक्रमहरुले नयाँ युगको प्रविधिमा आधारित अर्थतन्त्र निर्माणमा ईंटा थप्ने काम गरेको छ । यस्ता कार्यक्रमलाई सरकारले समेत स्वामित्व लिने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै फोनपे डिजिटल इकोनोमी कन्क्लेभको पूर्ण सफलताको निम्ति शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार