दाङ। पश्चिम नेपालकै अग्रणी तथा पहिलो अत्याधुनिक प्रयोगशाला नेसनल प्याथल्याबले शनिबारदेखि पाँचौँ शाखाका रुपमा घोराहीबाट सेवा शुभारम्भ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी, मेघनाथ काफ्लेले विधिवत् रुपमा सो ल्याबको सेवा शुभारम्भ गरे । चिकित्सकले सिफारिस गरेको रक्तपरीक्षण पैसा नभएर गर्न नसक्ने अवस्था भएमा बिरामीकोसमेत निःशुल्क रगत परीक्षणको व्यवस्था गर्ने सञ्चालकले जानकारी दिएका छन् ।
अत्याधुनिक प्रविधिका मेसिन जडित सो प्रयोगशालामा बिरामीको अवस्थालाई ध्यानमा राखी घरमै गएर नमुना सङ्कलन गर्ने र अनलाइनबाट रिपोर्ट पठाउने समेत व्यवस्था गरिएको छ । त्यसका लागि अतिरिक्त शुल्क लिइने छैन ।
प्रयोगशालामा हर्मोनको परीक्षण, भिटामिनको परीक्षण, क्यान्सर परीक्षण तथा सरुवा रोगको सङ्क्रमणका विषयमा समेत परीक्षण गरिनेछ भने सातामा दुईपटक वायप्सीसमेत परीक्षण हुने ल्याबका सञ्चालक प्रकाश न्यौपानेले जानकारी दिए।
रु एक करोड २५ लाखको लगानीमा सातजना व्यक्तिले प्रयोगशाला सञ्चालनमा ल्याएका छन् भने त्यसमा ११ जना स्थानीय प्राविधिकले रोजगारीसमेत पाएका छन् ।
सो ल्याबका प्रबन्ध निर्देशक पवन जोशीका अनुसार सामान्य जाँचदेखि विशेष प्रकारका बिरामीका लागि आधुनिक प्रविधियुक्त प्रयोगशालामा उच्च प्रविधि, आधुनिक उपकरणसहित दक्ष जनशक्तिको समेत व्यवस्थापन गरिएको छ ।
प्रकासित मिति