1478958692 banner ad format

 
 

चितवन । बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ ।

निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नोभेम्बर दोस्रो साताबाट बाघ गणना गर्ने तयारी भएको छ ।

नेपाल र भारतका अधिकारीबीच हालै सम्पन्न बैठकमा दुवै देशमा बाघको गणना एउटै विधि प्रयोग गरी नदोहोरिने गरी गणना गर्ने निर्णय भएको हो ।

खड्काका अनुसार बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने गर्छ । कतिपय बाघ नेपाल र भारतका वन क्षेत्रमा मात्रै रहने भए पनि कतिपयले सीमा क्षेत्रमा दुवै देशको वन क्षेत्रलाई आफ्नो क्षेत्र बनाई बसेकाले दुवै देशमा एकैसाथ गणना गर्दा बाघको संख्या नदोहोरिने खड्काले बताए ।

यसअघि पनि दुवै देशमा एकैसाथ बाघको गणना गरिएको थियो तर प्रविधि पनि एउटै प्रयोग गर्न लागिएको यो पहिलो पटक हो ।

नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षसँगै भारतको वाल्मीकि टाइगर रिजर्ब छ ।

नेपालको बर्दिया राष्ट्रिय निकुञ्जसँगै भारतको कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरी पर्छ ।

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग भारतको दुधुवा टाइगर रिजर्ब जोडिएको छ ।

दुवै देशको निकुञ्ज, आरक्ष र वन क्षेत्रमा बाघ ओहोरदोहोर गर्ने गर्ने हुँदा के कति बाघ ओहोरदोहोर गर्छन् भन्ने यकिन गर्न पनि योपटक दुवैतर्फ एकैपटक बाघ गणना गर्न लागिएको हो ।

नेपालमा सन् २०१३ मा बाघको गणना भएको थियो । त्यो बेला देशभर बाघको संख्या १९८ पुगेकामा चितवन निकुञ्जमा मात्र सबैभन्दा धेरै १२० बाघ थिए ।

चितवन निकुञ्जबाहेक पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा बाघ पाइन्छ । पाटे बाघ विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो ।

सन् २०१० मा बाघ पाइने विश्वका विभिन्न देशका सरकारी अधिकारीको रुसमा सम्पन्न बैठकले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने निर्णय गरेको थियो ।

जसअनुसार सन् २०२२ मा नेपालमा बाघको संख्या २५० पुग्नु पर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।

पाटे बाघ नेपालसहित संसारका १४ देशमा पाइन्छ । नेपाल, भारत, चीन, बंगलादेश, भुटान, बर्मा कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्याण्ड र भियतनाममा हाल लगभग तीन हजार ९०० बाघ रहेको तथ्यांक छ ।

क्यामेरा ट्र्यापिङमार्फत बाघको संख्या यकिन गर्ने गरिन्छ । बाघ ओहोरदोहोर गर्ने सम्भावित ठाउँमा स्वचालित क्यामेरा राखिन्छ ।

बाघ जहाँबाट हिँडडुल गर्छ त्यो क्षेत्रमा दुईतर्फ क्यामेरा राखिन्छ । त्यो क्यामेराको अगाडिबाट बाघलगायत जे गए पनि स्वचालितरुपमा फोटो खिचिन्छ ।

निश्चित समयपछि क्यामेराको फोटो झिकेर विश्लेषण गर्ने काम हुन्छ । बाघको छालाको पाटा मान्छेको औँला छापजस्तो एकअर्कासँग मिल्दैन । त्यसैले फोटोमा छालाको पाटा हेरेर संख्या अनुमान गरिने कँडेलले बताए ।

पछिल्लो समय चोरीशिकारीमा भएको कमी, आहारा प्रजातिका वन्यजन्तुको संख्यामा भएको वृद्धि, वासस्थानमा व्यवस्थापनमा भएको सुधारका कारण बाघको संख्या बढ्दै गएको अनुमान गरिएको छ ।

पर्यटक, गस्तीमा जाने सुरक्षाकर्मी, अनुगमनमा जाने निकुञ्ज कर्मचारीको भनाइका आधारमा संख्या बढेको अनुमान गरिएको कँडेलले बताए ।

नेपालमा चार–चार वर्षमा बाघको गणना हुन्छ । त्यस बीचमा क्यामेरा ट्र्यापिङ विधिबाटै बेलाबेलामा अनुगमन हुने गर्छ ।

सन् २०१३ को गणनामा जम्मा सात वटा बाघ भेटिएका पर्सामा अनुगमन हुँदा १९ वटासम्म देखिएको अधिकारीहरु बताउँछन् ।

यस्तो नतिजाका कारण धेरैले नेपालमा बाघको संख्या दोब्बर हुन गाह्रो नभएको आँकलन गरेका छन् ।

निकुञ्ज र आरक्षहरुले पूरै गणना नहुने वर्षहरुमा पनि आंशिकरुपमा गणना गर्दा देखिएका बाघका कारण पनि नेपालका संरक्षणकर्मी उत्साहित बनेका हुन् । रासस

प्रकासित मिति

Loading...

 

yummyfood