annapurna add

जनतालाई युग सुहाउँदो सेवा दिन र प्रविधिमैत्री सरकार सञ्चालन गर्न भन्दै हरेक सरकारी कार्यालय तथा स्थानीय तहले वेबसाइट सञ्चालनमा ल्याए पनि बागलुङका पालिकामा अपडेट हुन नसकेको पाइएको छ ।

websiteआफ्ना नयाँ कार्यक्रम र गतिविधिलाई पारदर्शी, सेवा तथा सूचनामूलक बनाउन सबैजसो कार्यालयको वेबसाइट बनाए पनि अधिकांश स्थानीय तहले आफ्ना वेबसाइट अपडेट छैनन् । जिल्लाको सबैभन्दा महत्वपूर्ण कार्यालयको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयले समेत आफ्नो वेबसाइटमा अपडेट नगरेको पाइएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहले विभिन्न प्रतिवेदन, विद्युतीय सुशासन र सूचना तथा जानकारीमूलक विवरण उल्लेख गरेका छैनन् । अझ कतिपय स्थानीय तहले आफ्नो वेबसाइटमा निर्वाचित जनप्रतिनिधिको समेत विवरण राखेका छैनन् भने सम्पर्क नम्बर पनि गलत छन् ।

स्थानीय तहको सबै विवरण शीर्षकअनुसार हुनुपर्नेमा सामान्य अपडेट मात्रै गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको वबसाइडमा जिल्लाका सरकारी कार्यालय प्रमुखको विवरणमा प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुको नाम छ । जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने आएको पनि चार महिना बितिसक्यो । यस विषयमा जानकारी लिँदा प्रमुख जिल्ला अधिकारीले केही अपडेट नभएको भए सच्चाउने प्रतिबद्धता जनाउनुभयो ।

बागलुङका धेरैजसो स्थानीय तहका वेबपेजमा वडागत प्रोफाइल विवरण, सामाजिक सुरक्षा, मासिक तथा चौमासिक आयव्याय, वार्षिक प्रगति प्रतिवेदनलगायतका विवरण भने अपडेट नै गरिएको छैन । केही अपडेट गरिए पनि पूर्ण छैनन् । वेबसाइट अपडेट नहुँदा सामान्य सूचना लिनका लागि पनि स्थानीय तह र सरकारी कार्यालयसम्मै पुग्नुपर्ने बाध्यता छ । हरेक स्थानीय तहमा वेबसाइट अपडेट गर्ने कर्मचारी भए पनि अपडेट नगरी तलब मात्रै खाएर बसेको सेवाग्राही गणेश शर्माले गुनासो गर्नुभयो ।

निसीखोला गाउँपालिकाको वेबसाइटमा सामान्य जनप्रतिनिधि र वडाको विवरणबाहेक अन्य कुरा वेबसाइटमा राखिएको छैन ।े वेबसाइट तीन महिनाअघिसम्म खुल्दै नखुल्ने समस्या थियो । पछिल्लो समय त्यसमा सुधार गरेर बल्ल वेबसाइट अपडेटमा लागेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत नारायण पौडेलले बताउनुभयो । अहिले निसीखोलाको मोबाइल एपसमेत रहेको छ ।

गलकोट नगरपालिकाले वडा अध्यक्षको समेत विवरण राख्न सकेको छैन । वडा कार्यालय र सम्पर्क नम्बर राखे पनि ११ वटै वडाको सम्र्पक नम्बरमा फोन गर्दा रजिष्टर गरिएको छैन भन्ने जवाफ आउँछ । नगरपालिकाको वेबसाइटमा नगर प्रमुख, उपप्रमुख र केही उच्च कर्मचारीबाहेक जनप्रतिनिधि, वडाध्यक्ष तथा सदस्यको कुनै विवरण पाइएको छैन ।

जैमिनी नगरपालिकाको वेबसाइटमा घटना दर्ता, सामाजिक सुरक्षाको विवरण, विज्ञापन, कर, बडापत्र, जनप्रतिनिधिको विवरण अपडेट छ । बरेङ गाउँपालिकामा अधिकांश कुरा अपडेट भए पनि घटना दर्ताको विवरण छैन । ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकाका वेबसाइटसमेत सामान्य अपडेट मात्रै छन् ।

जनप्रतिनिधि जाडोबाट जोगाउन सक्रिय
सिरहा नगरपालिका–६ बसबिट्टाका सहदेव सदाको परिवारलाई भेट्न नगरप्रमुख सिरक र कम्बल बोकेर पुग्दा केहीबेर गाउँले अचम्ममा परेका थिए ।

केही छिनपछि नगरप्रमुख अशेश्वर यादवले उहाँको परिवारजनलाई सिरक प्रदान गर्दै दिँदै नागरिकलाई जाडोबाट जोगाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
चिसोबाट जोगिन न्यानो लुगा लगाउनु, झोलिलो खानेकुरा खानु, आगो बालेर घुर ताप्दा सतर्कता आउनु जस्ता चेतनामूलक पम्पलेट लिएरै सिरक वितरण गर्न सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख पुगेर पछि स्थानीय दङ्ग परेका थिए । सो अवसरमा प्रदेश कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठको हातबाट सिरक पाएपछि वडा नं ४ का ६५ वर्षीय पुदन सदाको खुशीको सीमा नै रहेन । उहाँ मञ्चमै भावविह्ल हुन भएको थियो । सुखीपुरले वडा नं ४ का दलित, विपन्न तथा ज्येष्ठ नागरिक गरी २०० जनालाई सिरक वितरण गरेको छ ।

विगत केही दिनदेखिको अत्यधिक चिसो र शीतलहरबाट प्रभावित आफ्ना नागरिकको ज्यान जोगाउनु आफूहरुको कर्तव्य हो भने बुझेर न्यानो लुगा वितरणसँगै जनचेतना जगाउन थालिएको नगरप्रमुख रामअवतार यादवले बताउनुभयो ।

यस्तै सिरहा नगरपालिकाले पनि वडा नं ६ बसबिट्टाका २५० परिवारलाई कम्बल वितरण गरेको र अरु वडामा पनि सिरक र कम्बल वितरण गरिने योजना रहेको जनाएको छ । सिरहा र सुखीपुर नगरपालिकाले मात्र होइन, यतिबेला सिरहाका अधिकांश जनप्रतिनिधि आफ्ना नागरिकलाई चिसोबाट जोगाउन सिरक, कम्बल र न्यानो लुगा वितरण गर्दै जनचेतना जगाउन सक्रिय बन्नुभएका छन् ।

शीतलहर र चिसो जस्तो विपद्बाट आफ्ना नागरिकलाई जोगाउन जिल्लाभरीका जनप्रतिनिधि सक्रिय भएपछि जनप्रतिनिधिप्रति नागरिकको भरोसा बढ्दै गएको छ । कोरोना महामारीको सन्त्रासका बेला आफ्ना नागरिकलाई भरोसा दिलाउन सफल भएका जनप्रतिनिधि जनताको दैलोमा पुग्न थालेपछि नागरिकमा थोरै भए पनि आत्मविश्वास बढ्न थालेको छ, सिरहा– ६ का शम्भु सदाले भन्नुभयो, “यसबाट जनतामा रहेको भ्रम केही हदसम्म भए पनि हटेको छ र यसबाट प्रतिनिधिप्रतिको भरोसा बढ्न थालेको छ ।”

जनताका लागि केही गर्दैन, केबल जनप्रतिनिधि कमाउनमै व्यस्त रहेको आरोप जनप्रतिनिधिमाथि लागिरहेका बेला आइपुग्न लागेको कोरानो महाविपद् र अहिलेको शीतलहरको घडीमा जनप्रतिनिधि आफैँ जनताको घरदैलोमा न्यानो लुगा बोकेर पुग्न थालेपछि त्यो भ्रमसमेत हट्ने उहाँको विश्वास छ ।

जिल्लामा १७ वटा स्थानीय तह छन् । ती स्थानीय तहका जनप्रतिनिधिमध्ये अधिकांश यति बेला कि त गाउँगाउँमा चिसोबाट प्रभावित आफ्ना नागरिकलाई कसरी जोगाउनेसम्बन्धी जनचेतना जगाउनमा मस्त छन् कि त सिरक र कम्बल वितरण गर्न सक्रिय बनेका छन् । यसका साथै स्थानीय तहको सक्रियतामा बजार तथा भिडभाड हुने स्थानमा आगो बाल्न दाउरासमेत उपलब्ध गराउन थालिएको छ ।

खलङ्गा समाचार : स्याउका बिरुवा निर्यात गर्दै किसान
जुम्लाका किसान स्याउका बिरुवा जिल्ला बाहिरा निर्यात गर्न लागिपरेका छन् । बाहिर जिल्लाका किसान बिरुवा लिन नर्सरीमै पुग्ने गरेको स्याउ किसान गोपाल रोकायाले जानकारी दिनुभयो ।
यस वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ बिरुवा निर्यात गरेसँगै बाहिरी जिल्लाबाट स्याउका बिरुवा खरीद गर्न नर्सरीमै स्याउ लगाउने किसानको भीड हुने गरेका तिला गाउँपालिका– १ का वरिष्ठ स्याउ किसान महेन्द्र बुढाले बताउनुभयो । यस याममा मात्र करीब छ हजार स्याउका बिरुवा बेचेको सिञ्जा गाउँपालिका स्याउ किसान हंश कठायतले जानकारीदिनुभयो ।

उहाँले भन्नुभयो, “स्याउका बिरुवा लिन कृषि विकास कार्यालय दाङको टोली आइ र नर्सरीबाटै छ हजार बिरुवा लिएर गएको छ ।” रेड, रोयल र गोल्डेन जातका स्याउ जिल्ला बाहिर निर्यात भएको छ । स्याउका बिरुवा रोप्ने मौसम शुरु भएसँगै यहाँका स्थानीयवासी र जिल्ला बाहिरका किसान आउन थालेको यहाँका स्याउ नर्सरीका सञ्चालक बताउँछन् ।

नर्सरीमै रु ४० प्रतिबिरुवा बिक्री हुने गरेको यहाँका किसान बताउँछन् । फाट्टफुट्ट किन्दा प्रतिबिरुवा ५० रुपैयाँ पर्छ । निरोगी बिरुवा उत्पादन गरेर जिल्ला बाहिर पठाउन किसान यस याममा लागिपरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

कार्यालय जिल्लामा सञ्चालन आएदेखि स्याउखेतीमा आधुनिकीकरणदेखि किसानलाई चाहिने सीपमूलक तालीमले यहाँका स्याउ किसानलाई राहत भएको उहाँले बताउनुभयो । अर्गानिक मलखाद्य प्रयोग गरेर हुर्केका स्याउका बिरुवा किन्न व्यापारी गाउँमै पुग्ने गरेका छन् । स्याउका बिरुवा जिल्ला बाहिर निर्यात गर्नका लागि यहाँका किसान सङ्गठिन हुने गरेको किसान परी काकीले जानकारी दिनुभयो ।

जिल्ला बाहिरबाट आएको मागअनुसार सबै किसानले सल्लाह गरेर एकैपटक निर्यात गर्ने वातावरणका लागि पहल भइरहेको छ । यस कार्यका लागि जिल्ला कृषि विकास कार्यालय सकारात्मक छ । हरेक वर्ष जुम्लादेखि स्याउका बिरुवा निर्यात हुने गरेको छ । यहाँको बिरुवा तत्कालीन कर्णालीका पाँच जिल्ला, बझांङ, बाजुरा, दैलेख, सोलुखुम्बु, ताप्लेजुङ, डोटी र जाजरकोटसम्म निर्यात हुने गरेको छ ।

चिसो हावापानीमा निरोगी बिरुवा पाइने भएकाले सबै किसानको ध्यान जुम्लामा केन्द्रित हुने गरेको किसान बताउँछन् । हाल जिल्लामा ११० नर्स फर्म कृषि विकास कार्यालयका दर्ता भएका छन् जसमध्ये करीब ८० नर्सरी धनीले सक्रियरुपमा विरुवा उमारिरहेको कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “साढे पाँच लाख नर्स बिरुवा जिल्लामा उत्पादन भएको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो ।” जिल्ला बाहिर पठाउने तयारीमा रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । स्याउ लगाउने मौसम शुरु भएकाले बिरुवा बिक्री हुने अपेक्षा यहाँका स्याउ नर्सका सञ्चालकले गरेका छन् । योपटक सोचे जस्तो गरेर हिउँ नपरेकाले खाल्डा खन्न गाह्रो हुने भएको छ ।

अगामी फागुनको पहिलो सातासम्म स्याउ लगाउन मिल्ने भएकाले नर्सको माग आउने अपेक्षा गरिएको कार्यालयले जनाएको छ । हाल जिल्लाको सिञ्जा क्षेत्र र गुठीचौर क्षेत्रतिरबाट स्याउ निर्यात भइरहेको जानकारी कार्यालयलाई आएको उहाँले बताउनुभयो ।

स्याउका बिरुवा यहाँका किसानको प्रमुख आम्दानीको स्रोतमध्ये एक हो । जिल्लामा ३८ सय हेक्टरमा स्याउ रोपिएकामध्ये करीब एक हजार ५०० हेक्टर क्षेत्रफलबाट स्याउले फल दिने गरेको सो कार्यालयले जनाएको छ ।

हाँडसिञ्जामा १५ शय्याको अस्पताल

कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिञ्जामा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा पाँच, १० र १५ शय्याका अस्पताल निर्माण कार्यसँगै यहाँको हाँडसिञ्जामा अस्पताल निर्माण हुने गाउँपालिका अध्यक्ष नरवीर रावतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अस्पताल निर्माण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु १८ करोड ५० लाख विनियोजन गरेको छ । अस्पताल बनाउन २२ जना स्थानीयवासी तीन हजार ५०० वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।” निःशुल्क जग्गा उपलब्ध गराउने स्थानीय बासिन्दालाई गाउँपालिकाले सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

नागरिकले निःशुल्क उपचार गर्न पाउने यहाँका आठवटै स्थानीय तहकै ठूलो अस्पताल बन्ने भएपछि यहाँका स्थानीयवासी खुशी भएको गाउँपालिका उपाध्यक्ष उर्मिला भण्डारीले बताउनुभयो ।

सो अस्पताल निर्माण भएर सञ्चालनमा आएपछि नागरिकले सहजरुपमा निःशुल्क उपचार पाउनेछन् । गत मङ्सिर २३ गते तिला–३ कुडारीमा १० शय्याको अस्पताल बनाउनका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले शिलान्यास गर्नुभएको थियो । यसैगरी कनकासुन्दरी गाउँपालिकाको हाँडसिञ्जा स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गरिएको छ ।

यहाँका दुर्गम ठाउँमा स्वास्थ्य परीक्षण प्रयोगशाला सञ्चालन नहुँदा दुई दिन पैदलयात्रा गरी सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएर परीक्षण गर्नुपर्ने बाध्यता थियो । ग्रामीण भेगका स्वास्थ्यचौकीका ल्याब सञ्चालनमा आएपछि दिसापिसाव, खकारलगायत अन्य परीक्षण गर्न सहज भएको हाटसिञ्जा स्वास्थ्यचौकीका प्रमुख वीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...