1478958692 banner ad format

 
 

काठमाडौं। फुटबलको सानो रुप ‘फुटसल’ अहिले देशभर लोकप्रिय बन्दै गइरहेको छ ।

footsal min

बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल भरपर्दो विकल्प बनेको छ । ‘खुला ठाउँको अभावले केटाकेटीदेखि वृद्धवृद्धासम्मका लागि फुटसल खेल अभ्यास उपयुक्त विकल्प भएको छ,’ कुमारी फुटसल ठमेलका सञ्चालक राजनलाल महर्जन भन्छन् ।

शुरुमा काठमाडौंमा केन्द्रित यो खेल अहिले विराटनगर, हेटौंडा, बनेपा, पोखरा, धरान, चितवनजस्ता प्रमुख शहरमा विस्तार भएको छ । एक अध्ययन अनुसार मुलुकभर १०० को हाराहारीमा व्यावसायिक फुटसल सञ्चालनमा छन् । यसलाई कतिपयले ‘फिटनेस सेन्टर’ का रुपमा प्रयोग गर्ने गरेका छन् ।

सन् २०११ मा नवाङ निमा लामाले ठमेलमा एरेना फुटसलको शुरु गरे । यो नै नेपालमा स्थापित पहिलो फुटसल हो ।

‘सन् २००९ मा थाइल्याण्ड जाँदा घरभित्रै फुटबल खेलेको देखे, पछि थाहा भयो यो त फुटसल पो रहेछ,’ उनले भने ।

थाइल्यान्ड, सिंगापुरजस्ता देशमा फुटसल ‘बिजनेस’ धेरै फस्टाएको देखेका उनले नेपालमा पनि फुटसल शुरु गर्ने अठोट गरे र लामो सोचविचारपछि ठमेलमा एरेना फुटसल खोले ।

आफूले थालेको व्यवसाय विस्तार भएकामा खुशी देखिएका उनी अझै अन्तर्राष्ट्रिय मापदण्डअनुसार मैदान बनाउन नसकेकामा भने दुःखी छन् ।

‘अधिकांश मैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेका छैनन्,’ उनी थप्छन् ।

फुटसलको इतिहास र नियम

फुटसल भनेको ‘मिनी’ फुटबल हो । फरक के हो भने यो ‘इन्डोर’ खेलिन्छ । यसको मैदान ४० मिटर लामो र २० मिटर चौडा हुन्छ । प्रत्येक टिममा एक गोलरक्षकसहित पाँच खेलाडी हुन्छन् । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् ।

यो सामान्यतः २० मिनेट प्रतिहाफ खेलाइन्छ । दुई हाफको बीचमा १५ मिनेटको विश्राम हुन्छ । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् । यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ ।

गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ ।

यो खेल सन् १९३० मा उरुग्वेका जुहान कार्लोस सेरियानीले सुरु गरेको इतिहास छ । उरुग्वेको स्थानीय भाषामा यसलाई ‘फुटोबल डे सालोना’ भनिन्थ्यो । फुटबलको नियमलाई आधार मानेर सेरियानीले फुटसलको नियम समेटेर नियम पुस्तिका प्रकाशन गरे । सन् १९३० को पहिलो फुटबल विश्वकप जितेपछि उरुग्वेमा फुटसल खेल्न थालिएको होे ।

फिफाले १९८९ देखि फिफा फुटसल विश्वकप सुरु गरेको पाइन्छ । नेदरल्याण्ड्स आयोजक रहेको पहिलो विश्वकपको विजेता ब्राजिल बन्यो । ब्राजिल फिफा फुटसल विश्वकपको सर्वाधिक पाँच पटकको विजेता हो । फिफाले आठ पटक विश्वकपको आयोजना गरिसकेको छ ।

फुटसल विकासमा सरकारी प्रयास

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पहिलोपटक राष्ट्रिय फुटसल टोली बनाउन सक्रिय छ । आउँदो अक्टोबरमा हुने एएफसी एसियन फुटसल च्याम्पियनसिप छनोट प्रतियोगितालाई लक्ष्य गरी राष्ट्रिय टोली तयार गर्न लागिएको हो ।

गत माघमा एन्फा सदस्य रमेश रायमाझीको नेतृत्वमा लोकबहादुर शाही उपाध्यक्ष (हाल निलम्बित), अन्जु भट्टराई, मेयु थापा र विनोद गुरुङ सदस्य रहेको एक समिति गठन गरिएको थियो । समिति अहिले राष्ट्रिय लिगमार्फत राष्ट्रिय टोली छनोटमा जुटिरहेको छ ।

सबै फुटसल क्लबलाई लिगमा समावेश गराउन नसकिने अध्यक्ष रायमाझीले बताए । सरकारी निकायमा आधिकारिक दर्ता भएका, बलिया पूर्वाधार बनाएका र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी सञ्चालनमा रहेका क्बललाई लिगमा समावेश गरी राष्ट्रिय टोली छनोटको तयारी भइरहेको छ ।

अध्यक्ष रायमाझीले भने, ‘हामी राष्ट्रिय टोली बनाउन राष्ट्रिय लिगको तयारीमा छौँ । फुटसलसँग सम्बन्धित सङ्घ र व्यावसायिक संस्थासँग छलफल जारी छ ।’ अगस्ट दोस्रो हप्तादेखि लिग हुनेछ । लिगपछि राष्ट्रिय टोली निर्माण हुन्छ । छनोट भएको टोली प्रतिस्पर्धाका लागि इरान जानेछ ।

छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा नेपालले उज्वेकिस्तान, किर्गिस्तान र तुर्किमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले फुटसल प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदैछ । त्यसका लागि फेब्रुअरीमा एन्फाले एएफसीमा नामसमेत दर्ता गरिसकेको छ ।

लिगलाई मध्यनजर गर्दै एन्फाले एसियाली फुटबल सङ्घघको सहयोगमा १९ जनालाई उसले फुटसल प्रशिक्षक तालिम दिएको छ र छिट्टै व्यावसायिक रेफ्रीको तालिमसमेत सञ्चालन गर्न लागेको छ ।

बिना राष्ट्रिय टोली तीन फुटसल सङ्घ

फुटसलको विकास तथा विस्तार गर्न तीनवटा सङ्घ सक्रिय छन् तर, राष्ट्रिय टोली भने अझै छनोट हुन सकेको छैन ।

एन्फाद्वारा गठित रायमाझी नेतृत्वको फुटसल सङ्घ, राष्ट्रिय खेलकुद परिषद्मातहत देवकुमार अधिकारी अध्यक्ष रहेको नेपाल फुटसल सङ्घ तथा राज महर्जनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको राष्ट्रिय फुटसल व्यावसायिक सङ्घ अस्तित्वमा छन् ।

अध्यक्ष अधिकारीले एन्फाले राष्ट्रिय टोलीका लागि छनोट लिग सञ्चालन गर्न लागेको आफूलाई जानकारी नभएको बताए । ‘सहकार्य गरी लिग सञ्चालन गर्न तयार छौं, समान प्रकृतिका संस्था स्थापना गरी विवाद बढाउने पक्षमा छैनौं,’ उनले भने ।

राष्ट्रिय फुटसल व्यवसायी सङ्घका अध्यक्ष महर्जनले फुटसलको विकास र विस्तार गर्ने अभियानमा आफूहरूको सङ्घ बाधक नरहेको स्पष्ट पार्दै धेरै सङ्घ भन्दा एउटै छाता सङ्घ बनाउन आफूहरू सकारात्मक रहेको बताए ।

‘फुटसलको विकासमा हामी योगदान गर्न तयार छौं, सम्मानजनक स्थान पाए एक हुन तयार छौ,’ अध्यक्ष महर्जनले भने ।

एन्फा अहिले राष्ट्रिय टोली बनाउन जुर्मुराउनु हास्यास्पद भएको अध्यक्ष महर्जनको टिप्पणी छ । उनले भने, ‘प्रतियोगिताको तालिका आइसक्यो । राष्ट्रिय टोली खोइ ? यो एन्फाको कमजोरी हो । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु गौरवको कुरा भएकाले एन्फाले सहयोग मागेमा जुनसुकै सहयोग गर्न तयार छौं ।’

छोटो समयमै फुटसलको व्यावसायिक लोकप्रियता बढेर गएको छ । सन् २०११ मा एक स्थानबाट सुरु भएको यो खेल उपत्यकाका ७५ भन्दा बढी ठाउँमा सञ्चालनमा आउनु यसको लोकप्रियता र व्यावसायिकताको द्योतक भएको भक्तपुर सूर्यविनायक सुटर्स फुटसल एन्ड गेमजोनका सञ्चालक रमेश सुवाल बताउँछन् ।

व्यवसायीले फुटसल मैदानको प्रतिघण्टा रु एक हजारदेखि दुई हजार पाँचसयसम्म लिने गरेका छन् । बिहान र बेलुकाको समयमा बढी र दिउँसो केही कम शुल्क लिइन्छ । फुटसलमा मात्रै झण्डै रू एक अर्ब हाराहारीको लगानी छ । एउटा फुटसल निर्माण गर्न डेढ करोड रुपैयाँसम्म लाग्छ ।

व्यावसायिक सफलता बढ्नु सकारात्मक भएपनि एउटै व्यवसायमा धेरैले लगानी गर्न थालेपछि जोखिम बढेको व्यवसायी बताउँछन् । पछिल्लो समय खेल्नेको संख्याको तुलनामा धेरै बढी फुटसल खुलिरहेका छन् ।

‘काठमाडौँ उपत्यकामा फुटसलको विकास र चुनौती’ विषयको आफ्नो शोधपत्रमा लेखेको शोधपत्रमा एकेन्द्रबहादुर खड्काले यस खेलप्रति १६ देखि २० वर्ष उमेर समूहका व्यक्ति बढी आकर्षित भएको औँल्याएका छन् । अध्ययनले ६ देखि ५७ वर्षसम्मका व्यक्तिले फुटसल खेल्ने गरेको देखाएको छ ।

चेन्जिङ रुम, आराम गर्ने सुविधा, चिया/कफीका लागि क्याफे, साथीभाइ जम्मा हुने ठाउँ र फुटबलमा चाहिने सामग्रीहरु उपलब्ध हुने भएकाले जनसाधारणको फुटसलप्रति आकर्षण बढेको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood