1478958692 banner ad format

 
 

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

Tribhuvan Army Club Cricket

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ लाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो । खेलमा पहिले ब्याटिङ गरेको आर्मीले ४५ ओभर ३ बलमा अलआउट हुँदै २०४ रन बनायो ।

म्यान अफ द म्याच राजेश पुलामी मगरले सर्वाधिक ५६ रन बनाएको इनिङ्समा हरि चौहानले ३० रन जोडे । दिपेश कँडेलले तीन तथा सिद्धान्त लोहनी, फिर्दोश अन्सारी र मुकुन्द यादवले समान दुई विकेट लिए ।

जवाफमा प्रदेश १ ले २६ ओभर ५ बलमा अलआउट हुँदै ९१ रन मात्र बनाउन सक्यो । राजन मगरले सर्वाधिक २६ रन जोडेको इनिङ्सलाई सस्तैमा समेट्ने सुशन भारीले तीन तथा करण केसीले दुई विकेट लिए ।

पहिलो खेलमा आर्मीले प्रदेश २ लाई १७१ रनले पराजित गरेको थियो । 

यता, नेपाल पुलिस क्लबले पनि विजयी सुरुवात गरेको छ । आइतबार भएको अर्को खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले हरायो । खेलमा पहिले ब्याटिङ गरेको पुलिसले म्यान अफ द म्याच दिलिप नाथको ७२ तथा कुशल भुर्तेलको ६२ रनको मद्दतले ४१ ओभरमा अलआउट हुँदै १८५ रन बनायो । सुदन पोख्रेल एक्लैले ७ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ५ विकेट लिए ।

जवाफमा कर्णालीले २७ ओभरमात्र क्रिजमा टिकेर ९१ रन बनाउन सक्यो । ओपनिङ ब्याट्सम्यान सुशान्त थापाले सर्वाधिक २९ रन बनाएको इनिङ्सलाई सस्तैमा समेटने क्रममा आरिफ शेखले ४ तथा ललित राजवंशीले ३ विकेट लिए । 

यो खेलपछि १० टोली सहभागी प्रतियोगिताको समूह ‘बी’मा आर्मी ४ अंकसहित शीर्ष स्थानमा छ भने दुई अंकको पुलिस दोस्रो स्थानमा छ । विभागीय टोलीहरु लयमा देखिने क्रममा उद्घाटन खेलमा समूह एको सशस्त्र प्रहरीको एपिएफ पनि विजयी भएको थियो ।

प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्रले सुदूरपश्चिम प्रदेशसँग तथा प्रदेश ३ ले प्रदेश ५ सँग खेल्ने कार्यक्रम छ । 

प्रकासित मिति

Loading...