tealaya add

messi 1 kantipath

एजेन्सी । विवादमा आएका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले अन्ततः माफी मागेका छन् । केही समयअघि ब्राजिलमा भएको कोपा अमेरिका फुटबल दौरान आफ्नो अभिव्यक्तिका कारण उनि विवादमा तानिएका थिए। अर्जेन्टिना सेमिफाइनमा ब्राजिलसँग पराजित भएपछि र तेस्रो स्थानका लागि चिलीसँगको खेल दौरान रातो कार्ड पाएका कप्तान मेस्सीले कोपा आयोजक ‘दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट संस्था भएको’ आरोप लगाएका थिए ।

अर्जेन्टिना सेमिमा ब्राजिलसँग २–० ले पराजित हुँदै उपाधि होडबाट आउट भएको थियो । यता, तेस्रो स्थानका लागि चिलीसँग भएको खेल दौरान मेस्सीले खेलको ३७औं मिनेटमा सोझै रातो कार्ड पाएका थिए । चिलियन कप्तान ग्यारी मेडेल र उनी आपसमा जुधेपछि रेफ्रीले दुवै खेलाीलाई रातो कार्ड देखाएका थिए । अर्जेन्टिना र ब्राजिलको खेल जुलाई ३ र चिलीसँगको खेल जुलाई ७ मा भएको थियो ।

दुवै टिम १० खेलाडीमा सीमित भएकोमा अर्जेन्टिनाले सो खेल २–१ ले जितेर प्रतियोगिताको तेस्रो टिम बनेको थियो । खेल सकिएर मिडियासामु प्रस्तुत भएका मेस्सीले आफूले अनाहकमा रातो कार्ड पाएकोमा आक्रोश पोख्दै आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) लाई ‘भ्रष्ट संस्था’ भनेका थिए । उनले भनेका थिए, ‘दक्षिण अमेरिकी फुटबल महासंघ एक भ्रष्ट संस्था भएको थप प्रष्ट भयो । हामीलाई भ्रष्टाचारको अंग बन्नु छैन ।’

आयोजक संस्थालाई भ्रष्ट संस्था भनेका मेस्सीले अपमानित भएर आफू भ्रष्टाचारको साक्षी नबन्ने बन्दै तेस्रो स्थानका लागि जितेको मेडलसमेत लिन अस्वीकार गरेका थिए । त्यसअघि सेमिफाइनलमा ब्राजिलसँग पराजित हुँदा पनि मेस्सीले खेलका रेफ्रीले ब्राजिललाई जिताउने गरी सघाएको भन्दै रेफ्रीमाथि खनिएका थिए । सो खेलमा आफूहरूले दुई पेनाल्टी पाउनुपर्ने मेस्सीको भनाइ थियो । गम्भीर फउलमा पनि रेफ्रीले भिएआर प्रयोग नगरेको भन्दै मेस्सी रिसाएका थिए ।

अर्जेन्टिनी मिडियाका अनुसार मेस्सीले महासंघसँग लीखित रूपमै माफी मागेका छन् । उनले माफीपत्रमा ‘आफूले खेल दौरान विशेष परिस्थितिबीच आवेशमा आएर बोलेको, आफ्नो आरोप संस्थागत नभएको र त्यसमा आफ्नो थप दाबी नरहेको’ उल्लेख गरेको बताइएको छ ।

पाँच दिनअघि अर्जेन्टिनी फुटबल संघअन्तर्गत उच्च खेल न्यायलयले मेस्सीलाई आफूले लगाएको आरोप फिर्ता लिँदै क्षमा माग्न निर्देशन दिएको थियो । सोहीअनुसार मेस्सीले आरोप फिर्ता लिएर माफी मागेका हुन् । संघले मेस्सी र स्वयं अर्जेन्टिनी फुटबल संघमाथि हुनसक्ने छानबिन र कारबाही रोक्न पनि मेस्सीलाई माफी माग्न निर्देशन दिएको थियो ।

रिपोर्टअनुसार शनिबार अर्जेन्टिनी संघले कन्मेबलको आचारसंहिता विभागलाई मेस्सीको माफीपत्रसमेतलाई सँगै राखेर छानबिन रोक्न माग गर्दै आवश्यक कागजातसहित अनुरोध गरेको छ । संघले आफ्ना खेलाडीले आरोप फिर्ता लिँदै माफी मागेकाले खेलाडी र संघमाथि छानबिन गर्न आवश्यक नरहेको व्यहोराको पत्र पठाएको छ ।

अब मेस्सीले माफी मागेपछि महासंघले उनीमाथि छानबिन तथा कारबाही गर्न सक्ने जोखिम कम भएको छ । तर, अर्जेन्टिनी संघको अनुरोध नस्वीकारी महासंघले आफ्नो अनुसन्धान अघि बढाउन पनि सक्छ । सो दौरान मेस्सी दोषी ठहर भए पनि उनले माफी मागिसकेको अवस्थामा मेस्सी र संघमाथि न्यूनतम् कारबाही मात्रै हुनेछ ।

यदि मेस्सीले माफी नमागेको भए र महासंघले छानबिन गरेर मेस्सीलाई दोषी ठहर गरेको अवस्थामा खेलाडी र संघमाथि कारबाही हुनसक्थ्यो । मेस्सीमाथि न्यूनतम् ६ खेलको प्रतिबन्धदेखि दुई वर्षसम्मको प्रतिबन्धको जोखिम थियो । यता, अर्जेन्टिनी संघबाट सन् २०२० आफैंले कोलम्बियासँग मिलेर संयुक्त रूपमा आयोजना गर्न लागेको कोपा आयोजना अधिकारी खोसिन सक्ने जोखिम थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...